विकासन्युज

महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत भट्ट पक्राउ

काठमाडौं । सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग प्रदर्शन गर्ने एक व्यक्ति पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोलस्थित सार्वजनिक स्थानमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन् । पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा निज भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत छन् ।  पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । भट्ट बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बसोबास गर्दै आएका छन् ।  

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग सम्बन्धित एक तस्बिर पोस्ट गर्दै उनीप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।      ट्रम्पले आफ्नो ट्रुथ सोसलमा मेलोनीलाई माथितिर हेरिरहेको देखिने एक मीम सार्वजनिक गर्दै ‘निषेध आदेश आवश्यक छ’ भन्ने क्याप्सन लेखेका छन् ।      गत महिना फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले बारम्बार ट्रम्पसँग तस्बिर खिच्ने प्रयास गरेको र संयुक्त राज्य अमेरिकाप्रतिको उनको अडानका कारण घरेलु राजनीतिक असर परेको ट्रम्पले दाबी गरेका थिए ।      एक इटालियन टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले आफूलाई धेरै तस्बिरका लागि अनुरोध गरेको दाबीसमेत गरेका थिए । यता इटालीकी प्रधानमन्त्री मेलोनीले ती दाबीलाई ‘पूर्ण रूपमा बनावटी’ भन्दै अस्वीकार गरेका छन् ।       उनले इटालीले कहिल्यै कुनै पनि देशसँग ‘भिख माग्ने’ नीति नलिने स्पष्ट पार्दै ट्रम्पको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् ।      यस घटनाले दुवै नेताबीच सार्वजनिक रूपमा देखिँदै आएको मतभेदलाई पुनः सतहमा ल्याएको छ ।   

२६ अंकले घट्यो नेप्से, ३ अर्ब ५५ करोडकाे सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार (आज) सेयर बजार २६ अंकले घटेको छ । बजार परिसूचक नेप्से २६.२९ अंकले घटेर  २६२७.११ विन्दुमा झरेको हो ।  आज  ३४ कम्पनीको सेयर मूल्य बढेको छ  भने २३९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ  । आज ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।  ७५ लाख ४० हजार ४१८ कित्ता सेयर ४६ हजार २४६ पटक किनबेच भएको हो । आज स्नो रिभर्स, सनिगाड हाइड्रो र कलंगा हाइड्रोको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ ।  थ्रीस्टार हाइड्रो, नेपाल फाइनान्स, खानीखोला हाइड्रो, एनआईबीएल स्टेबल फन्ड, उपकार लघुवित्तले धेरै गुमाएका छन् । समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह ३.१५ प्रतिशतले घटेको छ । बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटेका छन् ।

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी संस्थाका रूपमा विकसित गरिने छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् ।      राष्ट्रियसभाको सोमबारको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरक्षण मुद्रण केन्द्रका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने 'सुरक्षणसँग सम्बन्धित छपाइ स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने सरकारको ध्येय रहेको छ ।'      सांसद रोश्नी मेचेले  बैठकमा दुर्गम क्षेत्रका विद्यार्थीले अझै कापी–किताब सहज रूपमा प्राप्त गर्न नसकेको अवस्थामा सञ्चार तथा सूचना मन्त्रालयअन्तर्गत ‘मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान’ खरिदका लागि १५ करोड रुपैयाँ तथा सुरक्षण मुद्रण प्रेसका लागि २२ करोड रुपैयाँ विनियोजन गर्नुको औचित्यबारे प्रश्न उठान गरेका थिए ।  उक्त प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चालु आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मन्त्रालय अन्तर्गतका प्रत्येक शीर्षकमा स्वयं सहभागी भई विस्तृत छलफल गरेको उल्लेख गर्दै जनताको करबाट सङ्कलित रकमको एक रुपैयाँ पनि दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । उनले विनियोजित बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्र खर्च हुने बताउँदै खर्चमा मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।      त्यस्तै, शैक्षिक सामग्रीको आवश्यकता र सञ्चार पूर्वाधारमा गरिने लगानी फरक बजेट शीर्षक, फरक प्रकृति र फरक उद्देश्यका विषय भएकाले ती एकअर्काका विकल्प नभएको स्पष्ट पारे । साथै उनले सञ्चार क्षेत्रको प्राविधिक पूर्वाधार सुदृढीकरण गर्नुपर्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका हुन् । २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकटसम्बन्धित निकायलाई उपलब्ध आगामी आर्थिक वर्षका लागि सुरक्षण मुद्रण केन्द्रले पाएको बजेट उपभोग खर्च नभई कानुनले तोकेको दायित्व पूरा गर्न गरिएको पुँजीगत लगानी भएको सञ्चारमन्त्री डा. तिमिल्सिनाले जानकारी दिए । उनले भने, 'सुरक्षण मुद्रणसम्बन्धी कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षण दस्तावेजको मुद्रण तथा उत्पादन गर्ने एक मात्र जिम्मेवार निकाय सुरक्षण मुद्रण केन्द्र रहेको छ । चालु आर्थिक वर्षमा केन्द्रले हालसम्म २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको छ ।'      आगामी आर्थिक वर्षदेखि अन्तःशुल्क टिकट, नागरिकता र राष्ट्रिय परिचयपत्रलगायत थप सुरक्षण दस्तावेजको उत्पादन केन्द्रमार्फत गर्नेगरी तयारी भइरहेको र विद्यमान उत्पादन क्षमताले बढ्दो माग धान्न नसक्ने उनको भनाइ थियो ।      सञ्चारमन्त्री डा. तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई व्यावसायिक रुपमा सञ्चालन गर्नसके हाल विदेशमा मुद्रण भइरहेका सुरक्षण दस्तावेज स्वदेशमै उत्पादन गर्न सकिने, विदेशी मुद्रा बचत हुने, मुद्रण सेवाबाट राजस्व आर्जन हुने तथा लगानी रकमको राम्रो प्रतिफल आउने बताए । यो उपभोगमा खर्च गर्ने परियोजना नभई स्रोत सिर्जना गर्ने लगानी भएको उनको भनाइ थियो ।      सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले यसबाट राज्यको वित्तीय क्षमता अभिवृद्धि भई शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रका प्राथमिकतामा थप लगानी गर्ने आधार बलियो हुने विश्वास व्यक्त गरे ।      त्यस्तै, सञ्चार पूर्वाधारमा गरिने लगानीले दीर्घकालमा राजस्व अभिवृद्धि, प्राविधिक क्षमता विस्तार तथा राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो । सञ्चार मन्त्रालयले आगामी आर्थिक वर्षका लागि खरिद योजना बनाएको ‘मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान’ सामान्य सवारीसाधन नभई ‘रेडियो स्पेक्ट्रम’ अनुगमनका लागि प्रयोग हुने चलायमान प्रयोगशाला रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले रेडियो फ्रिक्वेन्सी वा विद्युतीय चुम्बकीय तरङ्गलाई प्रत्यक्ष रूपमा देख्न वा मापन गर्न नसकिने भएकाले त्यसको अनुगमनका लागि अत्याधुनिक प्रणाली आवश्यक पर्ने बताए ।      अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सिफारिसअनुसार प्रत्येक मुलुकले रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणाली सञ्चालन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै उनले नेपालभर स्थायी अनुगमन प्रणाली स्थापना गर्न तत्काल ठूलो लगानी आवश्यक पर्ने भएकाले आवश्यकताअनुसार देशका विभिन्न स्थानमा परिचालन गर्न सकिने मोबाइल फ्रिक्वेन्सी मनिटरिङ प्रणाली खरिद गर्न लागिएको जानकारी दिए ।      सञ्चारमन्त्री डा. तिमिल्सिनाका अनुसार उक्त प्रणालीबाट सीमित प्राकृतिक स्रोतका रूपमा रहेको ‘रेडियो स्पेक्ट्रम’को प्रभावकारी व्यवस्थापन, इजाजतपत्र विनाका दूरसञ्चार प्रणाली, एफएम, टेलिभिजन तथा वायरलेस उपकरणको पहिचान, वैध सेवा प्रदायकमाथि हुने फ्रिक्वेन्सी हस्तक्षेप नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अन्तरदेशीय फ्रिक्वेन्सी हस्तक्षेप न्यूनीकरण तथा अन्तरराष्ट्रिय दायित्वको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेछ ।      त्यसैगरी, ४जी र ५जी मोबाइल सेवा, ‘डिजिटल’ प्रसारणलगायत आधुनिक वायरलेस सेवाको नियमन तथा अनुगमन, दूरसञ्चार सेवाको गुणस्तर सुधार, अवैध उपकरणको प्रयोग नियन्त्रण तथा लाइसेन्स र स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न उक्त प्रणाली उपयोगी हुने सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए । उनले फ्रिक्वेन्सी तथा स्पेक्ट्रम व्यवस्थापनबाट सरकारलाई प्रत्यक्ष रूपमा वार्षिक करिब रु चार अर्ब १५ करोड राजस्व प्राप्त भइरहेको तथा यस क्षेत्रले अप्रत्यक्ष रूपमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब एक दशमलव पाँच प्रतिशत योगदान पुर्याइरहेको जानकारी दिए । नयाँ प्रणाली सञ्चालनमा आएपछि इजाजतपत्रविनाको फ्रिक्वेन्सी प्रयोग नियन्त्रण भई थप राजस्व सङ्कलन गर्न तथा प्राविधिक मापदण्डविपरीत हुने हानिकारक फ्रिक्वेन्सी हस्तक्षेपको पहिचान र समाधान गर्न सहज हुने उनले उल्लेख गरे ।      सञ्चारमन्त्री डा. तिमिल्सिनाले हाल प्रयोगमा रहेको मोबाइल फ्रिक्वेन्सी मनिटरिङ भ्यान सन् २००१ मा विश्व बैङ्कको ऋण सहयोगमा सञ्चालित दूरसञ्चार क्षेत्र सुधार आयोजनाअन्तर्गत खरिद गरिएको जानकारी दिँदै उक्त उपकरण अहिले प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको तथा त्यसको मर्मतसम्भार र स्तरोन्नतिमा ठूलो खर्च लाग्ने भएकाले उच्च क्षमतायुक्त नयाँ प्रणाली खरिद गर्नु मितव्ययी र आवश्यक निर्णय भएको बताए ।      सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयसँग सम्बन्धित समस्या, सुझाव, गुनासा र सरोकारका विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी समाधानमुखी ढङ्गले अघि बढ्ने बैठकमा प्रतिबद्धता व्यक्त गरे ।  

तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.५१ प्रतिशतले वृद्धि हुने देखिएको हो । कार्यालयका अनुसार यो वृद्धि मुख्यतः विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवा लगायतका क्षेत्रमा भएको विस्तारका कारण सम्भव भएको हो । तेस्रो त्रैमासमा समेटिएका १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक बाँकी अधिकांश क्षेत्रमा सकारात्मक वृद्धिदर देखिएको छ । मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार विद्युत तथा ग्याससम्बन्धी क्रियाकलापमा सबैभन्दा उच्च २४.८८ प्रतिशत वृद्धिदर देखिएको छ । त्यसपछि वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान छ । धान उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ। त्यस्तै, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले बढ्ने देखिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रमा सुधार आएको जनाइएको छ । यद्यपि, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादनमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आयातमा कमी, धानबाली उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादनमा आएको कमीका कारण समग्र त्रैमासिक वृद्धिदर सामान्य स्तरमा सीमित भएको कार्यालयको भनाइ छ । मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार भने चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये ११ वटामा सकारात्मक र सात वटामा ऋणात्मक वृद्धिदर देखिएको छ । मौसमी प्रभाव समायोजित तथ्याङ्कमा पनि विद्युत तथा ग्यास क्षेत्र ६.८७ प्रतिशत वृद्धिसहित अगाडि देखिएको छ । त्यसपछि खानी तथा उत्खनन २.२३ प्रतिशत र थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले बढेको अनुमान गरिएको छ। अर्कोतर्फ, आवास तथा भोजन, औद्योगिक उत्पादन र केही अन्य क्षेत्रमा भने गिरावट देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर त्रैमासिक राष्ट्रिय लेखाका अनुमान तयार गर्दै आएको छ । कार्यालयले प्रत्येक त्रैमास समाप्त भएको ९० दिनभित्र यस्तो अनुमान सार्वजनिक गर्ने अभ्यासअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको हो ।

कांग्रेसको प्रश्न : प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ?

काठमाडाैं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सम्पत्तिको स्रोतमाथि प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्तिको स्रोत खुलाउनु सबैको दायित्व भएको उल्लेख गर्दै बालेनकाे सम्पत्ति र सुनकाे स्राेत खाेज्नुपर्ने धारणा राखे । उनले छानबिन आफूबाटै सुरु गर्न पनि तयार रहेको बताए । 'मबाटै सम्पत्तिको छानबिन सुरु होस् । मेरो घर पाँचथर हो । सुरु प्रधानमन्त्री र प्रतिपक्ष दलको नेताबाट गरियोस्,' उनले भने । आङ्देम्बेले प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति वैध स्रोतबाट भएको हुनुपर्ने कामना गर्दै ठूलो परिमाणमा रहेको सुनको स्रोतबारे प्रश्न उठाए ।  उनले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा सार्वजनिक पदमा रहेकाहरूको सम्पत्तिमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखे । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाहका केही क्षेत्रमा सुधारका प्रयास गरेको स्वीकार गर्दै उनले प्रधानमन्त्री संसदप्रति अझ बढी उत्तरदायी हुनुपर्ने बताए । प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने दायित्व रहेको उनको भनाइ थियो । प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिनु संसदको अवमूल्यन भएको उनको टिप्पणी थियो । उनले  प्रख्यात हुनु र लोकप्रिय हुनु फरक कुरा हो भन्दै भाइरल हुने प्रवृत्तिभन्दा जिम्मेवार नेतृत्व प्रदर्शन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । आङ्देम्बेले लोकतान्त्रिक अभ्यासमा प्रतिपक्ष दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री संसदमा उपस्थित हुनु सामान्य परम्परा भए पनि नेपालमा त्यसो नहुनु आश्चर्यजनक रहेको बताए । 

दर्ताबिना नै मोटो रकम असुल्ने झापाका शैक्षिक परामर्श संस्थाहरू कारबाहीको दायरामा

काठमाडौं । झापा जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् ।       नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा  शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हुँदै आएको दाबी गरेको छ ।  इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ ।        प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् । तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको जानकारी दिए ।      दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् ।   भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो ।

बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्ताका लागि रोड शो कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीले आफ्नो वित्तीय अवस्था, व्यवसाय विस्तार योजना र आईपीओसम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै इच्छुक संस्थागत लगानीकर्तालाई आशयपत्र (इन्डिकेटिभ बिड) सम्बन्धी विवरण उपलब्ध गराएको छ । कम्पनीका अनुसार बुक बिल्डिङ प्रक्रियाअन्तर्गत नेपाल स्टक एक्सचेञ्ज (नेप्से), निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको समन्वयमा आईपीओ प्रक्रिया अघि बढाइएको हो । समन्वय समितिको निर्णयअनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिने कार्यक्रम तय गरिएको छ । टाइम फर्मास्युटिकल्सले ५३ करोड रुपैयाँ जारी पुँजीको २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष डा. जी. नारायणबहादुर क्षेत्रीले करिब २९ वर्षअघि एक करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधि उत्पादनबाट सुरु भएको कम्पनी अहिले ६० करोड रुपैयाँ अधिकृत पुँजी, ३५० भन्दा बढी कर्मचारी तथा २०० भन्दा बढी औषधि उत्पादन गर्ने अवस्थासम्म पुगेको जानकारी दिए । नेपालमै पहिलो पटक क्लिनिकल ट्रायल सुरु गरिएको र त्यसको प्रतिवेदन छिट्टै सार्वजनिक हुने पनि उनले बताए । कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिकित्ता औसत मूल्य ६६६.७८ रुपैयाँ निर्धारण गरेको छ भने योग्य संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरिएको जनाएको छ ।