विकासन्युज

नाट्टाका अध्यक्ष थपलिया विश्वव्यापी संस्था ‘युफ्टा’ को सञ्चालक समितिमा नियुक्त

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया विश्वव्यापी ट्राभल एजेन्सीहरूको सर्वोच्च निकाय, ‘युनाइटेड फेडरेशन अफ ट्राभल एजेन्ट्स एशोसिएशन्स’ (युफ्टा) को बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका छन् । सन् २०२५/२६ का लागि हालै सम्पन्न युफ्टाको वार्षिक साधारण सभाले थपलियाको नियुक्तिलाई आधिकारिक रूपमा अनुमोदन गरेको हो ।  युफ्टाका अध्यक्ष सुनिल कुमार आरको अध्यक्षतामा सम्पन्न उक्त सभामा विभिन्न महादेशका पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्व र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बोर्डमा निर्देशक पद सुरक्षित गर्नु गौरवको विषय मानिएको छ । यो नियुक्तिले विश्व पर्यटन बजारमा नाट्टाको उपस्थितिलाई थप बलियो बनाउनुका साथै नेपालको पर्यटन उद्योगप्रतिको बढ्दो वैश्विक विश्वासलाई समेत प्रतिबिम्बित गरेको छ ।  आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै अध्यक्ष थपलियाले यो अवसरले नेपालको पर्यटन क्षमतालाई विश्वमाझ अझ प्रभावकारी ढंगले चिनाउन र विश्वव्यापी पर्यटन विकासमा अर्थपूर्ण योगदान पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनियुक्त १२ सदस्यीय बोर्डमा अध्यक्ष थपलियासँगै अन्य देशका चार पर्यटन नेतृत्वकर्ताहरू पनि निर्देशकका रूपमा चयन भएका छन् । जसमा टर्कीका सेटिन गुर्कुन, श्रीलंकाका दुमिन्दा कुरुविटार्ची, इजरायलका योसेफ फातेल र फिलिपिन्सकी मारीजेल मानोतोक रहेका छन् । सन् १९६६ मा स्थापना भई मोनाकोमा मुख्यालय रहेको युफ्टाले विश्वभरका ट्राभल एजेन्टहरूको हकहित र उड्डयन क्षेत्रका जटिलताहरू सुल्झाउन नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।  यस्तै, नेपालमा ८०० भन्दा बढी ट्राभल एजेन्टहरूको छाता संगठन नाट्टाले पनि सन् १९६६ देखि नै नेपालको पर्यटन प्रवर्द्धन र व्यवसायीहरूको हितमा काम गर्दै आएको छ । नाट्टा र युफ्टाबीचको यो साझेदारीले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय नीति निर्माण तहमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य सराहनीय : अध्यक्ष  ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यले लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरेका छन् ।   कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको उल्लेख गरे । उनले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कुटनीतिक निकायको सहयोग अपरिहार्य रहेको समेत बताए । ‘महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन  महत्त्वपूर्ण भूमिका खेलेको छ । नीति संवाददेखि लगानी प्रवर्द्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कुटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने छ भन्ने मेरो विश्वास छ,’ अध्यक्ष ढकालले भने । कुटनीतिक समुदायले नेपाल र विभिन्न देशहरूबीच आर्थिक सम्बन्ध विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ढकालले व्यापार, लगानी तथा व्यवसाय–देखि–व्यवसाय सम्बन्ध प्रवर्द्धनमा उनीहरूको योगदानले नयाँ अवसर सिर्जना गरेको बताए । उनले आफ्नो कार्यकालमा विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूको मार्गदर्शन, खुलापन र रचनात्मक संवादप्रति आभार व्यक्त गरे ।   विशेषगरी विकास साझेदारहरूले नेपालको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्यमहरूको विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो । अध्यक्ष ढकालले हरित विकास, सीप विकास, नवप्रवर्तन र समावेशी व्यवसायका क्षेत्रमा भएका संयुक्त प्रयासले सकारात्मक  परिणाम देखाउन थालेको उल्लेख गरे ।   उनले नेपाल उद्योग वाणिज्य महासंघ देशको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन भएको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच पुलको रूपमा महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिए।  उनले आफ्नो कार्यकालमा महासंघले नीति पैरवी सशक्त बनाउने, सरकारसँगको संवाद प्रभावकारी बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको जानकारी दिए । साथै स्टार्टअप, डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको उनले बताए ।   अध्यक्ष ढकालले चुनौतीपूर्ण समयमा समेत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई निरन्तर साथ दिएको उल्लेख गर्दै यसले नेपालप्रतिको विश्वास र प्रतिबद्धता झल्काएको धारणा राखे । साथै नेपाल अहिले आर्थिक विकासको महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि थप लगानी प्रवर्द्धन, साझेदारी र निरन्तर सहकार्यको आवश्यकता रहेको बताए । कार्यक्रममा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदार संस्थाका तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता रहेको थियो ।

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

काठमाडौं । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालय, जुम्लाका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् । आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण संकलन गरिने छ । आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा एक हजार ५६९ व्यापारिक प्रतिष्ठान, एक हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन् । गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० उद्योग दर्ता छन् । यसैगरी, कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए ।  यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ ।

विदेशमा रहेका ४२ हजार ९ सय नेपालीले पाए सोपानको सेयर, सर्वसाधारणलाई वैशाख २ गतेदेखि बिक्री गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि चैत १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर जारी गरेको थियो ।  कम्पनीले उक्त सेयर चैत १७ गतेका दिन बाँडफाँट गरेको जनाएको छ । रितपूर्वक आवेदन दिने ४२ हजार ९ सय जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।  

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, विद्युत २.३ प्रतिशत

काठमाडौं । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आईआईपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । उक्त क्षेत्रमा ६ प्रतिशत वृद्धि भएको छ, जसले उद्योग तथा कारखानाहरूमा उत्पादन विस्तार भइरहेको देखाउँछ । त्यसैगरी, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि भएको छ । यो वृद्धि कच्चा पदार्थको उपलब्धता र ऊर्जा स्रोतको उत्पादनसँग सम्बन्धित रहेको मानिन्छ । विद्युत् उत्पादन क्षेत्रमा पनि २.३ प्रतिशत वृद्धि देखिएको छ, जसले औद्योगिक तथा घरेलु ऊर्जाको माग बढ्दै गएको सङ्केत गर्दछ । विश्लेषकहरूका अनुसार औद्योगिक उत्पादनमा आएको यो समग्र वृद्धि भारतको आर्थिक गतिविधि विस्तारको सकारात्मक सङ्केत हो । उत्पादन क्षेत्रमा सुधार आउनुले रोजगारी सिर्जना, लगानी वृद्धि तथा निर्यात विस्तारमा पनि सहयोग पुर्‍याउन सक्छ । यद्यपि, केही चुनौतीहरू अझै कायम छन् । कच्चा पदार्थको मूल्य, आपूर्ति शृङ्खला व्यवस्थापन र विश्वव्यापी आर्थिक अवस्थाले भविष्यको औद्योगिक वृद्धिमा प्रभाव पार्न सक्ने बताइएको छ । सरकारले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन पूर्वाधार विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ ।  विशेषज्ञहरूले दीर्घकालीन स्थिर वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, प्रविधि प्रयोग र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

काठमाडौं । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार हाल साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढीले वृद्धि भएको हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो । विभिन्न राज्यहरूमा मूल्य फरक-फरक रहेको छ, जसका कारण आपूर्ति, कर दर र स्थानीय अवस्था हुन् । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो । पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन् । दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर रूपमा चिन्तित रहेका छन् । इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ । डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूमा थप भार परेको छ । विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ । मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ । अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ । युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै, गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५८२ रोपनी क्षेत्रमा शैक्षिक र आवासीय भवन बनाउँदै

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले चन्दननाथ नगरपालिका-३ स्थित चेरेचौर क्षेत्रमा ठूलो शैक्षिक तथा आवासीय भवन निर्माण गर्ने भएको छ । प्रतिष्ठानका अनुसार करिब ५८२ रोपनी (२ लाख ९६ हजार ७८ वर्गमिटर) क्षेत्रफलमा फैलिने परियोजना अन्तर्गत करिब १६ हजार ७३९.६९ वर्गमिटर भुइँ क्षेत्रफल ओगट्ने विभिन्न संरचनाहरू निर्माण गरिनेछ ।  प्रस्तावित संरचनामा प्रशासनिक भवन, इन्डोर खेलकुद हल, एनिमल हाउस, आवास गृह, छात्रावास, सङ्ग्रहालय तथा खेल मैदान लगायतका संरचनाहरू समावेश छन् । साथै भवन, पार्किङ स्थल, प्रवेशद्वार तथा बगैँचा निर्माणको योजना पनि रहेको छ । हाल चन्दननाथ नगरपालिका-२ को खोलीकोट क्षेत्रमा प्रतिष्ठानअन्तर्गत ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको छ । नयाँ संरचना निर्माणसँगै स्वास्थ्य तथा शैक्षिक सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ । यस परियोजनाले स्थानीय प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पार्ने सम्भावित प्रभाव मूल्याङ्कन गर्न आवश्यक भएकाले सरोकारवालाबाट सुझाव संकलन प्रक्रिया सुरु गरिएको हो । प्रतिष्ठानले चन्दननाथ नगरपालिका-२ र ३ का स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सम्बन्धित व्यक्ति वा संस्थालाई ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । स्थानीय सहभागितामार्फत वातावरणीय असरलाई न्यून गर्दै दिगो विकास सुनिश्चित गर्ने लक्ष्यसहित अध्ययन प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

कर्णालीमा हुलाक महत्त्वपूर्ण छ, ​​​​​​​कुरियरमा रुपान्तरण गरी घरमै सेवा दिन सकिने

काठमाडौं । कर्णाली जस्तो विकट भू-गोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौंद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बा/खरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले  हुलाक सेवालाई परिष्कृत एवं प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने बताए । प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवालाई उपेक्षित गरिएको अवस्थामा नवगठित सरकारले एक सय बुँदे कार्यसूचीमा राखेर नयाँ ढङ्गले अगाडि बढाउने नीति लिएको बताए । उनले चैत १४ गते सरकारले सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरेको बताए ।  ‘सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायत कागजात/सामग्री घरमै पुर्याउने लक्ष्य राखेकाले यसको उपादेयता बढेको छ,’ प्रशिक्षक आचार्यले भने ।  उनले कर्णालीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको अभिमुखीकरण प्रशिक्षणले कर्मचारीको कार्यसम्पादन, नवीन ज्ञान, सीप, सोच र उत्प्रेरणामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले संसारका कुनै पनि देशले हुलाकको उपादेयतालाई कम हाक्न नसकेको बरु परिष्कृत बनाउँदै लगेको बताए । जापानमा सरकारलाई सबैभन्दा बढी राजस्व उपलब्ध गर्ने पाँच उत्कृष्ट संस्थामा हुलाक नै रहेकोले नेपालको हुलाक सेवालाई पनि थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।  ६ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण तथा प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका नायब सुब्बा र खरिदार तहका कर्मचारीको सहभागिता रहेको छ ।