‘मेड इन नेपाल’ हुण्डाई कारः स्वदेशी औद्योगिकीकरणको नयाँ अध्यायको दिशामा
काठमाडौं । नेपालमा ‘मेड इन नेपाल’ अवधारणालाई व्यवहारमा उतार्दै नवलपरासीमा स्थापना गरिएको हुण्डाई एसेम्बली प्लान्टले देशको औद्योगिकीकरण यात्रामा महत्त्वपूर्ण मोड ल्याएको छ । करिब दुई वर्षअघि सञ्चालनमा आएको उक्त प्लान्टले छोटो अवधिमै आर्थिक, प्राविधिक र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव देखाउन थालेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले हालसम्म करिब दुई हजारभन्दा बढी हुण्डाई गाडी नेपाली इञ्जिनियर र प्राविधिकहरूको सक्रिय सहभागितामा उत्पादन भइसकेको जानकारी दिए । उनका अनुसार यो उपलब्धि केवल उत्पादनको हिसाबले मात्र महत्त्वपूर्ण नभई नेपाली जनशक्तिको क्षमता, दक्षता र आत्मविश्वासको प्रमाण पनि हो । सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्दै आएकाे छ । थपलियाका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् । उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक थपलियाले जानकारी दिए । उनले उत्पादन योजना, गुणस्तर सुनिश्चितता, उपकरण सञ्चालनदेखि अर्ध-रोबोटिक एसेम्बली प्रक्रियासम्मका काममा नेपाली प्राविधिकहरूले प्रत्यक्ष अनुभव हासिल गरिरहेको बताए । यसले नेपाली प्राविधिकहरूलाई आधुनिक औद्योगिक प्रणालीसँग परिचित गराउँदै भविष्यका ठूला औद्योगिक परियोजनाका लागि तयार बनाइरहेको उनको भनाइ छ । थपलियाका अनुसार यस पहलले कार उत्पादन मात्र होइन, औद्योगिक अनुशासन, प्रक्रियागत मानकीकरण र सूक्ष्म इञ्जिनियरिङ जस्ता पक्षहरूलाई पनि स्थानीय स्तरमै स्थापित गर्न मद्दत गरिरहेको छ । यस्तो अनुभवले दीर्घकालीन रूपमा नेपालको आफ्नै औद्योगिक क्षमता निर्माणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने उनले बताए । थपलियाले स्थानीय प्रतिभामा आधारित यस्ता उद्योगहरूले अर्थतन्त्रका विभिन्न तहमा मूल्य अभिवृद्धि गर्दै आपूर्ति शृङ्खलालाई बलियो बनाउने र नेपाललाई क्रमशः आत्मनिर्भर औद्योगिक प्रणालीतर्फ लैजान सहयोग गर्ने उल्लेख गरे । उनका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूको उपस्थितिले लगानीसँगै प्रविधि, व्यवस्थापन प्रणाली र औद्योगिक कार्यसंस्कृति पनि भित्र्याउँछ । जब नेपाली इञ्जिनियर र प्राविधिकहरूले यस्तो संरचित वातावरणमा काम गर्ने अवसर पाउँछन्, उनीहरूले उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण र औद्योगिक सञ्चालनका आधुनिक तरिका प्रत्यक्ष रूपमा सिक्ने मौका पाउँछन् । यसका साथै यस्ता उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने, प्राविधिक सीप विकास गर्ने तथा ढुवानी र सहायक सेवाजस्ता क्षेत्रलाई पनि सक्रिय बनाउने उनले बताए । यसबाट देशको समग्र आर्थिक गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरिएको छ । थपलियाले आगामी दिनमा सीप विकासलाई अझ गहिरो बनाउने, उत्पादन क्षमता विस्तार गर्ने र औद्योगिक उत्पादनको सटीकता सुधार गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनका अनुसार यस्तो मोडललाई निरन्तरता दिन सकिएमा नेपाल व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमुखी, सीप–आधारित र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम अर्थतन्त्रतर्फ अघि बढ्न सक्नेछ । उनले ‘मेड इन नेपाल’ हुण्डाई कार उत्पादनको पहलले नेपालमा औद्योगिकीकरण सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको र स्थानीय जनशक्ति, प्रविधि हस्तान्तरण तथा सीप विकासमार्फत देशको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने समेत बताए । सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ । लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ ।
हुन्डी र क्रिप्टो कारोबार गर्ने दुई युवा १ करोड १६ लाख रुपैयाँसहित पक्राउ
काठमाडौं । हुन्डी तथा क्रिप्टो कारोबार गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । १ करोड १६ लाख रुपैयाँ नगदसहित नागार्जुन नगरपालिका ८ भीमढुङ्गास्थित अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् । जिल्ला काठमाडौं नागार्जुन नगरपालिका ८ भीमढुङ्गा घर बस्ने पक्राउ पर्नेमा २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक तीन थान, व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको तीन थान चेकसमेत बरामद गरिएको छ । विभिन्न बैंकको एटीएम कार्ड चार थान, नागरिकता एक थान, दुई वटा चार पाङ्ग्रे सावरीसाधन, एक थान दुई पाङ्ग्रे सवारी साधन, सवारी दर्ता ब्लु बुक,३१ थान एनसेल र एनटीसीको सीमकार्ड, कम्प्युटर एक थान र बैंक खातामा ७ हजार १७५ युएसडी डलरसमेत बरामद गरिएको छ ।
काठमाडौंमा भीषण हावाहुरी
काठमाडौं । देशका केही स्थानमा यति बेला (सोमबार साँझ ५ः३) बजे) व्यापक हावाहुरी सुरु भएको छ । हावाहुरीसँगै वर्षा पनि सुरु भएको छ ।
बैंककै कर्मचारीद्वारा ५ करोड हिनामिना, प्रहरीमा उजुरी
काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा कार्यरत कर्मचारीहरूले करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । बैंकका कर्मचारीहरूले नै करिब ५ करोड रुपैयाँ हाराहारी रकम हिनामिना गरेको प्रारम्भिक तथ्य फेला परेपछि उजुरी परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले जानकारी दिए । उनका अनुसार शाखामा कार्यरत कर्मचारीहरूको संलग्नतामा बैंकको रकम हिनामिना भएको भन्दै उजुरी आएको र घटनाबारे अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धानको चरणमा छौं, संलग्न व्यक्तिहरूबारे विस्तृत विवरण अझै खुलिसकेको छैन,’ उनले भने । बैंक स्रोतका अनुसार आन्तरिक लेखापरीक्षणका क्रममा उक्त शाखामा करिब ५ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको भेटिएको हो । प्रारम्भिक विवरण अनुसार पाँच जनाभन्दा बढी कर्मचारी यस प्रकरणमा मुछिएको आशंका गरिएको छ । स्रोतका अनुसार शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष आन्तरिक अडिटबाट देखिएको बताइएको छ । बैंक स्रोतले साविक सृजना फाइनान्सबाट आएका केही कर्मचारीहरू यस प्रकरणमा संलग्न रहेको हुन सक्ने आशंका पनि व्यक्त गरेको छ । बैंकले नियमित आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त अनियमितता पत्ता लागेको जनाइएको छ । यसअघि आन्तरिक अडिट बाह्य संस्थामार्फत गरिँदै आएकोमा हाल बैंककै विभागले अडिट गर्दा घटना सार्वजनिक भएको स्रोतको भनाइ छ । घटनामा संलग्न आशंकामा रहेका कर्मचारीहरूलाई बैंक प्रशासनले निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कारबाही गर्न बैंकले प्रहरीमा जाहेरी दिएको बैंकले जनाएको छ ।
सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । सोमवार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकून् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए । परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । उनले सेवाग्राहीको भीडभाड हुने अन्य सरकारी कार्यालयहरुमा समेत उक्त प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याए । यस प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन मद्दत विश्वास गरिएको उनको भनाइ छ । उक्त प्रणालीको सोमवार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले निरीक्षण समेत गरेका छन् ।
बिर्तामोडमा ‘ग्लोबल मनी विक’, २५० भन्दा बढी बैंकर्सको वृहत् प्रभातफेरी
काठमाडौं । नेपाल राष्ट्र बैंकको आह्वानमा विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर झापाको बिर्तामोडमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ आज चैत २ गते सोमबार आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा वित्तीय साक्षरता र सचेतनाको नयाँ लहर ल्याएको छ । बिर्तामोडका विभिन्न स्थानको परिक्रमा गरेको उक्त प्रभातफेरीमा यहाँ सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका करिब २५० जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रभातफेरीका सहभागीहरूले सर्वसाधारणलाई वित्तीय अनुशासन र आधुनिक बैंकिङका बारेमा सुसूचित गराएका थिए । विशेष गरी बचत गर्ने संस्कृतिको विकास, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, जिम्मेवार ढंगले खर्च गर्ने बानी र सही ठाउँमा लगानी गर्ने जस्ता समसामयिक विषयमा प्लेकार्ड र नारासहित सन्देश प्रवाह गरिएको थियो । सन् २०१२ देखि सुरु भएको यो अभियान हाल विश्वका १७० भन्दा बढी देशहरूमा किशोर तथा युवा वर्गलाई लक्षित गरी सप्ताहव्यापी रूपमा मनाउने गरिन्छ, जसको मुख्य उद्देश्य युवा पुस्तामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनु हो । कार्यक्रमको महत्त्वबारे प्रष्ट पार्दै एक्सेल डेभलपमेण्ट बैंकका नायब महाप्रबन्धक अशोक क्षेत्रीले यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए । उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले विशेष गरी युवा वर्गमा स्वस्थ वित्तीय बानीको विकास गर्न, भविष्यमा आउन सक्ने वित्तीय अनिश्चितताहरूप्रति सजग रहन र ठोस वित्तीय योजना निर्माण गर्न ठूलो मद्दत पुर्याउने विश्वास लिइएको छ। बिर्तामोडमा आयोजित यस प्रभातफेरीले सर्वसाधारणलाई औपचारिक बैंकिङ प्रणालीसँग जोडिन र आर्थिक रूपमा सबल बन्न समेत प्रेरित गरेको छ ।
स्वास्थ्य बीमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोग गरिने
काठमाडौं । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्न स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ । बीमा सेवामा राष्ट्रिय परिचय नम्बरलाई प्रविधि मैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र पञ्जीकरण विभागबीच समझदारी भएको हो । समझदारी पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै अब स्वास्थ्य बीमा बोर्डले’ राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ । यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ । राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास लिइएको छ । यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्ने जनाइएको छ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् । यसले तथ्यांक एकीकरणमा सघाउ पुर्याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्नेछ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ । सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेलरपेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ । नेपाल आयल नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ वृद्धि गरेको थियो । यातायात व्यवस्था विभागले कानुनबमोजिम सङ्घीय रुटको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको भन्दै अहिले पनि उक्त व्यवस्था लागू गर्न अनुरोधसमेत गरेको छ । महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।