स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग, मधुमेह र रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण
पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्यालगायत नसर्ने रोगका लक्षण देखिएका हुन् । नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, गाउँमा आफ्नै काममा व्यस्त रहेका, आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य जनाको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नगराई बसेका भेटिएपछि त्यस्ता व्यक्तिलाई लक्षित गरी परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए । 'सामान्यतया स्वस्थ देखिने मानिसमा नसर्ने रोगका लक्षण फेला परेका छन्', घिमिरेले भने, 'हामीले गत वर्षदेखि नसर्ने रोग पहिचानको अभियान सञ्चालन गरिरहेका छौँ । यसमा उल्लेख्य मात्रामा बिरामी भेटिएका छन् ।' उनका अनुसार यहाँका स्वास्थ्य संस्थाले विवाह, भोजभतेरलगायत सामाजिक/धार्मिक कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । स्थानीयहरू स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि जाने गर्नाले पनि नसर्ने रोग भयावह बन्दै गएको घिमिरेको बुझाइ छ । 'नियमित स्वास्थ्य परीक्षण नगर्ने चलनका कारण नसर्ने रोगले थप समस्या सिर्जना गरिसकेको हुन्छ । सोही कारणले नियमित स्वास्थ्य परीक्षणमा स्थानीयलाई अग्रसर गराउने उद्देश्यले खोज पड्तालकार्यक्रम सञ्चालन गरिएको हो', उनले भने । गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए । त्यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन नगाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत छुट्टै ‘क्लिनिक’ सञ्चालनको व्यवस्था गरी स्थानीय स्वास्थ्य सङ्स्थाको पहुँचमा नरहेका नागरिकलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आइएको छ । यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए । नसर्ने रोगको खोज पड्तालका क्रममा यहाँका चार जनामा कालाजार र छ जनामा क्षयरोग फेला परेको छ । सामान्यतया कालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा कम हुने भए पनि चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतना कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोज पड्तालकार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेले जानकारी दिए । उक्त कार्यक्रमले बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको उल्लेख गर्दै उहाँले सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट पनि बचेका धारणा राखे । गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत नसर्ने रोगका बिरामी फेला गरेका बताउँदै पालिकाले नियमित रूपमा स्वास्थ्य परीक्षण, खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको जानकारी दिए । रासस
३६ करोडमा सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु
गोदावरी । कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको हो । उक्त सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो । सहजपुर–घरखेडा–निगाली सडक स्तरोन्नतिका लागि गत वैशाख १ गते ढुकेचु एएनके जोशी जेभी महेन्द्रनगरस्थित निर्माण कम्पनीसँग २०८४ जेठ ३ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जोशीले बताए । सम्झौताअनुसार सहजपुदेखि गाउँपालिकाको केन्द्र रहेको घरखेडासम्म ६ किलोमिटर सडकमा कालोपत्र गरिनेछ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।
ललितपुरको हरिसिद्धिमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुर महानगरको हरिसिद्धिस्थित होसना इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । त्यस्तै, घाइते हुनेहरूमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर, दाङकी १९ वर्षीया सुमा कुमाल र सल्यानकी २७ वर्षीया शान्ति कुँवर रहेका छन् । उनीहरूको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
छुट्टै बैठक बोलाउने तयारीमा देउवा पक्ष, होटलमा के भयो छलफल ?
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउन शेरबहादुर देउवा पक्ष सक्रिय बनेको छ । देउवा पक्षले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकको तयारी गरिरहेको बुझिएको छ । आइतबार (आज) धुम्बाराहीस्थित एक होटलमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको हो । निवर्तमान कार्यसमितिका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न विभिन्न तरिकाले छलफल भइरहेको छ । ‘ती छलफलहरुले आवश्यक ठाने केन्द्रीय समिति बैठक पनि बोलाउन सकिन्छ,’ डा. महतले भने । उनका अनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । आवश्यकताका आधारमा बैठकको मिति, समय र स्थानबारे शीर्ष नेताहरूसँगको परामर्शपछि तय गरिनेछ । पार्टीभित्र जारी विवादका कारण नेतृत्व संरचना अझै स्पष्ट हुन नसकेको अवस्थामा देउवा समूहले आन्तरिक छलफललाई अघि बढाउन खोजेको देखिन्छ । गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि सो प्रक्रिया अस्वीकार गर्दै देउवा पक्ष अदालत पुगेको छ । उक्त विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले चैत्र २२ गते पेशी तोकेको छ । अदालतको निर्णय नआएसम्म औपचारिक रूपमा कुनै ठोस कदम चाल्न नहुने निष्कर्षमा नेताहरु पुगेका छन् । विशेष महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए । अहिले सोही व्यवस्थाअनुसार पार्टीका नियमित गतिविधि सञ्चालन भइरहेका छन् । अदालतको फैसला अनुसार के गर्ने भनेर तयारी र छलफल चलिरहेको डा. महतले बताए ।
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना
चितवन । कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख गर्दै निर्माण कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना गरेको छ । पटक–पटक म्याद थप गर्दासमेत काम नगरेपछि म्याद थप नगरी जरिवाना गरिएको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार रविना कन्ट्रक्सनले विसं २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी कार्यादेश लिएको थियो । सो मितिमा काम नसकिएपछि नगरपालिकाले चार पटक म्याद थप गरी अन्तिम २०८१ साल कात्तिक ३० गतेसम्म पुर्याएको थियो । खरिद ऐनमा म्याद सकिएपछि काम नसकिएमा जरिवाना लगाएर काम गर्न समय दिन मिल्ने प्रावधान रहेको छ । नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्दासमेत काम नगरेपछि कार्यपालिका बैठकले जरिवानाको निर्णय गरी नगर परिषद्बाटसमेत अनुमोदन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार नगरपालिकाको निर्णय चित्त नबुझाइ उच्च अदालत हेटौँडामा निर्माण व्यवसायीले मुद्दा दर्ता गराएका थिए । उनका अनुसार अदालतले मुद्दा खारेज गरेको छ । निर्माण कम्पनीले काम ९५ प्रतिशत सम्पन्न गरेको छ । ११ करोड ५६ लाख रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । कम्पनीलाई हालसम्म रु सात करोड भुक्तानी गरिएको छ । निर्माण व्यवसायीले नगरपालिकालाई १० प्रतिशत रकम कटाएर भुक्तानी गर्न अनुरोध गरेको छ । चौलागाईंका अनुसार निर्माण कम्पनी मध्यस्थकर्ताकोमा छलफल गराउने प्रयासमा छ । छलफलपछि जरिवाना हटेमा बाँकी रकम पछि लिने गरी भवन हस्तान्तरण गर्ने तयारीमा कम्पनी छ । उनका अनुसार जरिवाना रकम बाँकी राखेर अरु रकम भुक्तानी गर्न नगरपालिका तयार छ । सो भवनमा जेनजी आन्दोलनको समयमा तोडफोड भएको थियो । निर्माण कम्पनीले बिमा दाबी गरेर मर्मत सम्भार सकेको छ । आफ्नो भवन बन्न ढिला भएपछि झण्डै ९ वर्षदेखि नगरपालिकाको कार्यालय भाडाको भवनमा बस्न बाध्य छ । रासस
एनआईसी एशिया क्यापिटलको वित्तीय सचेतना कार्यक्रम मेलम्चीमा सम्पन्न
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले सोही अभियानलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा चैत्र ६ गते ‘मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले ग्लोबल मनी वीक २०२६ को मुख्य थिम ‘स्मार्ट मनी टक्स’ मा आधारित प्रस्तुति दिएका थिए । उनले विद्यार्थी जीवनदेखि नै बचत गर्ने बानी विकास गर्ने तरिका, स–सानो बचतलाई सरल रूपमा लगानी गर्ने उपाय तथा वित्तीय अनुशासनको महत्वबारे विस्तृत जानकारी गराए । त्यसक्रममा बैंक खाता तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आईपीओ), धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, एसआईपी तथा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे समेत जानकारी प्रदान गरिएको थियो । साथै पूँजी बजारको पछिल्लो अवस्था सम्बन्धमा छलफल समेत गरिएको थियो । कार्यक्रममा रायमाझीले एएमएल/सीएफटी सम्बन्धी आधारभूत जानकारी तथा वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सहभागीलाई अवगत गराएका थिए । अन्त्यमा विद्यार्थी, शिक्षक तथा क्याम्पसका कर्मचारीहरूको सक्रिय सहभागितामा मुद्रा तथा पूँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २२० भन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
बहुमतसहित रास्वपा सरकार गठनको अन्तिम तयारीमा, बालेन्द्र प्रधानमन्त्री बन्ने लगभग निश्चित
काठमाडौं । आम निर्वाचन २०८२ को परिणाम सार्वजनिक भएसँगै मुलुकको राजनीतिक ध्यान सरकार गठनतर्फ केन्द्रित भएको छ । स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारी तीव्र पारेको हो । दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेकाले १३ गते सरकार गठनका लागि औपचारिक दाबी प्रस्तुत गर्ने तयारी भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । यससँगै दलभित्र संसदीय दलको नेता चयन, मन्त्रिपरिषद् गठनको ढाँचा र सरकारका प्राथमिकता निर्धारणजस्ता विषयमा आन्तरिक छलफल तीव्र बनेको उनले बताए । पार्टीभित्रको सहमतिअनुसार संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन हुने लगभग निश्चित देखिएसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेतासहितको टिम मन्त्रीहरूको नामावलीलाई अन्तिमस्वरूप दिन बैठकमा बसिरहेका छन् । बुर्लाकोटीले ११ देखि १६ सदस्यीय मन्त्रिपरिषदको तयारी रहेको जानकारी दिए । संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलका नेताले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्न पाउने व्यवस्था छ । सोही प्रावधानअनुसार रास्वपाले आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बुर्लाकोटीले बताए । यसबीचमा सम्भावित मन्त्रिपरिषद् गठनबारे पनि विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । रास्वपाले स्वच्छ छवि भएका र कार्यक्षमता देखाएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्दै नयाँ अनुहारसहितको मन्त्रिपरिषद् बनाउने दावी गर्दै आएको छ। पार्टीभित्र टेक्नोक्र्याट र युवा नेतृत्वलाई अवसर दिने विषयमा पनि छलफल भइरहेको नेताहरूले बताएका छन् । समावेशितालाई ध्यानमा राख्दै महिला, मधेशी, आदिवासी जनजाति तथा पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि एजेण्डामा रहेको महामन्त्री बुर्लाकोटीको दाबी छ ।
एकल कृषि कर्जा सुरक्षण योजनाबारे सुर्खेतमा कार्यशाला, नमुना परियोजना लागू गर्ने तयारी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चैत्र ५ गते बिहीबार वीरेन्द्रनगरस्थित होटल स्क्वायरमा आयोजित कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा छनोट भएका नौ स्थानीय तहको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने तथा आम नागरिकको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित एकल (ऋणीगत) कृषि कर्जा सुरक्षण कार्यक्रम नमुना परियोजनाका रूपमा लागू गर्ने तयारी भइरहेको जनाइएको छ । सोही परियोजनाबारे स्थानीय तहबाट पृष्ठपोषण र सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो । नमुना कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी गाउँपालिका तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका गरी चार स्थानीय तह छनोट भएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशबाट बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिका गरी चार स्थानीय तह र बाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका छनोटमा परेका छन् । कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले परियोजनासम्बन्धी विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । प्राप्त सुझावमाथि थप छलफल गरी उपयुक्त सुझाव समेट्दै योजनालाई अन्तिम रूप दिइने निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।