‘बैंकबाट लुटिएको सुन धितोकर्ताले आधामात्रै पाए, मूल्य पुरानै’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनका धितोकर्तामाथि बैंकले अन्यायपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बैंकले धितोमा राखिएको सुन फिर्ता गर्ने विषयमा एकतर्फी निर्णय गरेको बताए । उनले बैंकले सुन त्यतिबेलाकै मूल्यका आधारमा फिर्ता गर्ने र ५ तोला धितो राखेकालाई २ तोलामात्रै सुन दिने निर्णय गरेको भन्दै त्यसको विरोध गरे ।

उनले भने, 'बैंकको तर्फबाट एकतर्फी निर्णय भएको छ। त्यही बेलाको सुनको मूल्यअनुसार सुन दिने र ५ तोला धितो राखिएको थियो भने २ तोलामात्रै सुन दिने निर्णय भएको छ। यो गलत हो ।' 

सांसद राईले धितोमा सुन राखेका सर्वसाधारण अहिले पनि न्यायको पर्खाइमा रहेको उल्लेख गर्दै बैंकको निर्णय पुनरावलोकन गरी पीडितलाई उचित क्षतिपूर्ति र न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद् भवन परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको थियो । उक्त घटनामा करिब ३८ करोड रुपैयाँ बराबरको नगद तथा १८ किलोग्राम सुन लुटिएको थियो । 

Share News