घरायसी विवादमा कुटपिट हुँदा छोराले गरे आमाको हत्या
काठमाडौं । भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका- ९ भातेढिकुर चोकस्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको । शुक्रबार साँझ करिब ७: ४५ बजे उदयपुरको कटारी नगरपालिका- ५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्याइएको थियो । चिकित्सकले उनलाई राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । भक्तपुर प्रहरीका अनुसार घरायसी विवाद भई छोराद्वारा आमाको कुटपिट भएको थियो । छोराले मापसे सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 'चौधरीको परिवार सामान्य रुपमा बाहिर-बाहिर काम गरेर गुजारा गरिरहेको थियो,’ भक्तपुर प्रहरी परिसरका एक प्रहरी अधिकृतले विकासन्युजसँग भने ।
साउदीको जागिर छाडेर गाईपालन, मासिक २ लाखभन्दा बढी कमाइ
पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् । विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ । उनले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए । 'गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ', उनले भने । पछिल्लो पटक १५ लाख रुपैयाँ लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थालेका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताए । उनले दूध बिक्रीबाट वार्षिक २४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए । उनले दानापानी, घाँस, परालका लागि मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक १७ लाखदेखि १८ लाख रुपैयाँसम्म बचत गर्ने गरेको जानकारी दिए । उनका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ । सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम ९६ देखि ११० रुपैयाँसम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गरे । घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उनको भनाइ छ । 'नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु', उनले भने । जिसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिए । गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उनको अनुभव छ । जिसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताए । आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै उनले हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गरे । भनेजस्तो कमाई भएपछि जिसी हौसिएका छन् । उनले यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाएका छन् । अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभैँसीको सङ्ख्या २० पुर्याउने योजना रहेको उनले बताए । जिसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए । यसबाहेक दूध ढुवानीमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ । आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जिसीले बताए । उनले आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिए । पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजारको अभाव नहुने बताउँदै जिसीले खाडी मुलुकमा पसिना बगाउनुभन्दा आधा कम कमाई भए पनि स्वदेशमै रमाउन आनन्द हुने अनुभव सुनाए । फर्से गाउँमा जिसी मात्र नभई अन्य ३५ जना युवाले व्यवसायी गाईभैँसी पालन फार्म सञ्चालन गर्दै आएका छन् । यहाँको एउटै गाउँबाट दैनिक ८०० लिटर दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर दूध ढुवानीमा पाँच रुपैयाँका दरले अनुदान दिँदै आएको बताए । यसबाहेक भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्रीसमेत कार्यालयले सहयोग गर्दै आएको उनले बताए । रासस
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी किमलाई भ्रष्टाचारको अभियोगमा ७ वर्षको जेल सजाय
काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ । सोल केन्द्रिय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाउँदै किमले सर्वसाधारणका लागि अप्राप्य विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निःसंकोच ग्रहण गरेको उल्लेख गरेको छ । पूर्वराष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि साढे सात वर्षको जेल सजाय माग गरेको थियो । अदालतको फैसलाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाएबापत घाँटीको हार, ब्रोच र टप (कानमा लगाउने गहना) उपहार स्वरूप लिएकी थिइन् । यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्वप्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने सर्तमा सुनको कछुवा र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाएबापत घडी लिएको अभियोग उनीमाथि पुष्टि भएको छ । अन्य अभियोगहरूमा सन् २०२२ को जुन र सेप्टेम्बरको बीचमा एक पादरीबाट डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्वसरकारी वकिलबाट राजनीतिक मनोनयनका लागि चित्रकला (पेन्टिङ) लिएको विषयहरू समावेश छन् । सन् २०२५ को अगस्टमा हिरासतमा लिइएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् । यसअघि गत अप्रिलमा सोल उच्च अदालतले तल्लो अदालतको २० महिनाको जेल सजायलाई उल्ट्याउँदै सेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय चार वर्ष पु¥याएको थियो । यसबाहेक, सन् २०२३ को पार्टी महाधिवेशनका क्रममा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई सत्तारुढ पिपुल्स पावर पार्टीमा आवद्ध गराउन दबाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ । किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
काठमाडौं । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौं महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो । शान्त र सौम्य भाव झल्किने उक्त मूर्ति १३औँ शताब्दीमा निर्माण भएको मानिन्छ । पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस सम्पदाले तत्कालीन कला, संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना मानिन्छ । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमै फिर्ता गर्नुपर्ने व्यवस्था रहेकाले सोही प्रक्रियाअनुसार उक्त सम्पदा नेपाल ल्याइएको अधिकृत सुवेदीले बताए । नेपालबाट चोरी भएका मूर्ति, कलावस्तु तथा अन्य सांस्कृतिक सम्पदा कुनै पनि मुलुकमा रहेको सूचना प्राप्त भएपछि पुरातत्व विभागले कूटनीतिक माध्यमबाट तिनलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाउने गरेको छ । विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा रहेका नेपाली सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । सम्बन्धित देशमा नेपाली समुदाय तथा सम्पदा संरक्षणमा क्रियाशील सङ्घसंस्थाले पनि यसमा निरन्तर सहयोग गर्दै आएका जानकारी उनले दिए । काठमाडौं उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला तथा वास्तुकलाका उत्कृष्ट नमूना विभिन्न मठमन्दिरमा सुरक्षित छन् । यस्ता सम्पदाले तत्कालीन समाजको कला, संस्कृति तथा निर्माण शैलीको अध्ययनमा महत्वपूर्ण आधार प्रदान गर्दै आएका छन् । रासस
तुलसी सहकारीका १५८ जनाले पाए बचत फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
गिद्ध संरक्षणको नमुना बन्दै अर्घाखाँची, दुर्लभ प्रजातिको सफल प्रजनन
काठमाडौं । अर्घाखाँची जिल्ला दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसंकटापन्न डंगर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेकाे उनले जानकारी दिए । मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख-जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ । यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगंगा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भुसालले बताए । अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको संख्या र प्रजनन सफलता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताए । विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्त्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको सूचना अधिकारी खड्काले बताए । रासस
स्याउ किलोको ३०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १०० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ४० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १५०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला
काठमाडौं । ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशीलताको विकास र लघु, साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममार्फत उद्यमशाला कार्यक्रमको घोषणा गर्दै बैंकले इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ । यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायीहरूलाई दिगो र प्रतिष्ठित व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु हो । बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको जानकारी दिए । ‘लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको हो। सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरूमार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,’ उनले भने । उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतः दुईवटा ढाँचामा सहयोग गर्नेछ । पहिलो, इन्क्यूबेसन र दोस्रो, एक्सेलेरेसन । इन्क्यूबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ । त्यसैगरी, एक्सेलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीलाई समेटिनेछ । यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ । यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाहरूसँगको पहुँचजस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भइसकेको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायत प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । बैंकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।