विकासन्युज

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]

काठमाडौं । जारी विश्वकपमा अब ३२ टोली मात्र बाँकी छन् । समूह चरणका ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण तय भएको छ ।  १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी ३२ टोली फुटबलको सबैभन्दा ठूलो उपाधिको होडमा छन् । गएरातिबाटै नकआउट चरण सुरु भएको छ । पहिलो नकआउट चरणको खेलमा आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले पराजित गरेको छ ।  अप्टा सुपरकम्प्युटरले प्रतियोगिताको बाँकी यात्राबारे नयाँ भविष्यवाणी सार्वजनिक गरेको छ ।  ३२ टोलीको चरणदेखि फाइनलसम्मको सम्भावित नतिजा अनुमान गर्न सुपरकम्प्युटरले प्रतियोगितालाई २५ हजार पटक सिमुलेसन गरेको हो । यसका आधारमा प्रत्येक टोलीले हरेक चरण पार गर्ने तथा अन्ततः विश्वकप जित्ने सम्भावना निर्धारण गरिएको छ । यसपटकको विस्तारित ढाँचाअनुसार आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीले पनि नकआउट चरणमा स्थान बनाए । यसले समूह चरणको प्रतिस्पर्धात्मक दबाब केही घटाएको देखिएको छ । समूह चरणबाट बाहिरिने ठूला टोलीमध्ये उरुग्वे मात्र प्रमुख नाम रह्यो । प्रतियोगिता सुरु हुनुअघि उपाधिका दाबेदार मानिएका अधिकांश टोली नकआउट चरणमा पुगेका छन् । यद्यपि उनीहरूको आगामी यात्रा निकै फरक बनेको छ । ३२ टोलीको चरणका खेलहरू निश्चित भइसकेपछि अब अप्टा सुपरकम्प्युटरले जुलाई १९ मा उपाधि जित्ने सबैभन्दा बलिया दाबेदार को हुन् भन्ने प्रक्षेपण सार्वजनिक गरेको छ । फ्रान्स शीर्ष दाबेदार प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई १३ प्रतिशत सम्भावनासहित दोस्रो दाबेदार मानिएको थियो । तर उत्कृष्ट समूह चरणपछि उसले १८.७ प्रतिशत सम्भावनासहित पहिलो स्थानमा उक्लिएको छ । फ्रान्स प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली टोली बनेको छ । अर्जेन्टिना र मेक्सिकोसँगै समूह चरणका तीनवटै खेल जित्ने तीन टोलीमध्ये फ्रान्स पनि एक हो । सन् १९९८ को घरेलु विश्वकपपछि पहिलोपटक फ्रान्सले कुनै ठूलो प्रतियोगिताको समूह चरणका सबै खेल जितेको हो । त्यही विश्वकपमा उसले उपाधि पनि जितेको थियो । सुपरकम्प्युटरका अनुसार फ्रान्सले ३२ टोलीको चरणमा स्विडेनलाई हराउने अपेक्षा गरिएको छ । त्यसपछि क्वार्टरफाइनलमा जर्मनीसँग भिड्ने सम्भावना बलियो देखिएको छ । त्यसपछिको यात्रा केही सहज देखिए पनि सेमिफाइनलमा स्पेनसँग भेट हुन सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनालाई अनुकूल ड्र ड्रबाट सबैभन्दा धेरै फाइदा उठाएको टोली अर्जेन्टिना बनेको छ । लियोनेल स्कालोनीको टोली अहिले १६.३ प्रतिशत सम्भावनासहित दोस्रो ठूलो दाबेदार बनेको छ । केप भर्डेको ऐतिहासिक यात्रा प्रतियोगिताकै आकर्षक कथामध्ये एक बने पनि अर्जेन्टिनाको दृष्टिकोणबाट हेर्दा ३२ टोलीको चरणको प्रतिस्पर्धा निकै सहज देखिएको छ । अर्जेन्टिनाले यो चरण पार गरेमा अन्तिम १६ मा अस्ट्रेलिया वा इजिप्टमध्ये एकसँग खेल्ने सम्भावना छ । त्यसपछि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, अल्जेरिया, कोलम्बिया वा घानामध्ये कुनै एक टोलीसँग भेट हुन सक्छ । सुपरकम्प्युटरका अनुसार अर्जेन्टिनाले वास्तविक बलियो प्रतिद्वन्द्वीको सामना सम्भवतः सेमिफाइनलमा मात्र गर्नेछ, जहाँ ब्राजिल वा इङ्ग्ल्यान्ड प्रतिद्वन्द्वी बन्न सक्छन् । स्पेन अझै उपाधिको बलियो प्रतिस्पर्धी प्रतियोगिता सुरु हुनुअघि स्पेनलाई सबैभन्दा ठूलो दाबेदार मानिएको थियो । अहिले उसको सम्भावना घटेर १३.५ प्रतिशतमा झरे पनि उपाधिका प्रमुख दाबेदारमध्ये एकको रूपमा कायम छ । अन्तिम १६ मा पोर्चुगलसँग सम्भावित भेट निकै कठिन हुने अपेक्षा गरिएको छ । यद्यपि त्यस खेलमा पनि स्पेनलाई नै अग्रता दिइएको छ । यदि स्पेन अघि बढेमा क्वार्टरफाइनलमा अमेरिका, बोस्निया–हर्जेगोभिना, बेल्जियम वा सेनेगलमध्ये एक टोलीसँग खेल्नुपर्नेछ । इङ्ग्ल्यान्डको कठिन यात्रा नयाँ प्रक्षेपणअनुसार इङ्ग्ल्यान्डको विश्वकप जित्ने सम्भावना ९.७ प्रतिशत रहेको छ । ३२ टोलीको चरणमा उसले डीआर कङ्गोलाई हराउने प्रबल सम्भावना देखाइएको छ । तर त्यसपछि इङ्ग्ल्यान्डको यात्रा निकै कठिन हुने अनुमान गरिएको छ । अन्तिम १६ मा मेक्सिकोसँग एज्टेका रंगशालामा सम्भावित भेट र त्यसपछि क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने सम्भावना रहेको छ । प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ग्ल्यान्डले ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन (१० जित र १ बराबरी) । तर समूह चरणमा देखिएको अस्थिर प्रदर्शनमा सुधार आवश्यक रहेको सुपरकम्प्युटरको विश्लेषण छ। ब्राजिल स्थिर, नेदरल्यान्ड्सको सम्भावना बढ्यो ब्राजिलको सम्भावनामा खासै परिवर्तन आएको छैन । प्रतियोगिता सुरु हुँदा उसलाई ६.६ प्रतिशत सम्भावना दिइएको थियो भने अहिले ६.५ प्रतिशत रहेको छ । यता नेदरल्यान्ड्सले भने उत्कृष्ट समूह चरणपछि आफ्नो सम्भावना बढाएको छ। प्रतियोगिता सुरु हुनुअघि ३.६ प्रतिशत रहेको सम्भावना अहिले ५.१ प्रतिशत पुगेको छ । समूह चरणमा नेदरल्यान्ड्सले १० गोल गरेको थियो, जुन विश्वकपको समूह चरणमा उसको अहिलेसम्मकै सर्वाधिक गोल संख्या (सन् २०१४ बराबरी) हो । यसले प्रतियोगितामा सबैभन्दा आकर्षक आक्रमणात्मक खेल प्रस्तुत गर्ने टोलीमध्ये आफूलाई स्थापित गरेको छ । आयोजक तीनै टोली अझै प्रतिस्पर्धामा सुपरकम्प्युटरको प्रक्षेपणअनुसार तीनै सह–आयोजक राष्ट्र अझै प्रतियोगितामा टिक्ने सम्भावना राख्छन् । उनीहरू सबै ३२ टोलीको चरण पार गर्ने अपेक्षा गरिएको भए पनि त्यसपछिको यात्रा भने सहज देखिएको छैन । तीन आयोजकमध्ये अमेरिकालाई क्वार्टरफाइनल पुग्ने सबैभन्दा धेरै ४२.५ प्रतिशत सम्भावना दिइएको छ । मेक्सिकोको सम्भावना २८.३ प्रतिशत रहेको छ भने क्यानडालाई अन्तिम आठमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको अनुमान गरिएको छ ।

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा अन्तिम १६ मा

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा क्यानडाले अन्तिम १६ मा स्थान बनाएको छ ।  क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै ऐतिहासिक रूपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।  ५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गोल गर्दै क्यानडाकाे जित सुनिश्चित गरे ।  दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए । खेलमा जित हासिल गरेसँगै क्यानडाले अब क्वाटरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।  

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

काठमाडौं । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि हिलोमा उत्रिए । पर्यटक अनुहार र शरीरभर हिलो दलेर रमाएका थिए ।  खेतमै धान रोप्दै, असारे भाका गाउँदै र हिलो खेल्दै रमाएका उनीहरूको सहभागिताले असारे रोपाइँ महोत्सवलाई कृषि र पर्यटनको सङ्गमका रूपमा फेरि एकपटक जीवन्त बनायो ।  पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । २१ औं संस्करणको महोत्सवमा छिमेकी मुलुक भारतसहित अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायत विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी आगन्तुक सहभागी थिए । सहभागी पर्यटकले स्थानीय कृषकसँगै धान रोपे, हिलो खेले, हिलोमै फुटबल खेल्ने र असारे गीतमा नाच्दै नेपाली ग्रामीण संस्कृति नजिकबाट अनुभव गरे ।  परिषद्का अनुसार पोखरा सबै मौसमका लागि भन्ने नारासहित पोखरालाई कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो । हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाइँ महोत्सव गर्ने गरिए पनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिनअघि महोत्सव गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखराको प्राकृतिक सौन्दर्यसँगै कृषि तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो । ‘यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली जीवनशैली, कृषि परम्परा र मौलिक संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउन महोत्सव गरिएको हो । रोपाइँलाई उत्सवका रूपमा मनाउने परम्पराले कृषि र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ ’, पहारीले भने ।  महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपालको प्रमुख खाद्यबाली धानको व्यावसायिक उत्पादनका लागि महानगरले कृषकलाई अनुदानलगायत सहयोग गर्दै आएको बताए ।  पोखराको पहिचान बनेको ‘पोखरेली जेठोबुढो’ धानको ‘ब्रान्डिङ’ गर्न सुरु गरिएको उनले बताए । ‘परम्परागत खेती प्रणालीले गर्दा उत्पादनलगायत बढेको छ । हामीले आधुनिकीकरणमा जोड दिनुपर्छ । केही मौलिक र परम्परागत संस्कृतिलाई जोगाउँदै  चक्लाबन्दी र आधुनिक कृषिखेतीमा कृषकलाई उत्प्रेरित गर्न लागत साझेदारीमा अनुदान, कृषि उपकरण, मल, बीउमा सहयोग गरेका छौं,’ प्रमुख आचार्यले भने । महोत्सवका संयोजकसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले महोत्सवले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराएको बताए ।  ‘कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवद्र्धनमा महोत्सवले योगदान पुग्नुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाएको छ’, सापकोटाले भने ।  पोखरामा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवद्र्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाइँ महोत्सवमा आन्तरिकसहित विदेशी पर्यटकसमेत सहभागी हुँदा अझ महोत्सवको छुट्टै रौनक हुने गरेको छ । 

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

काठमाडौं । रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।  आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका-१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए । दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको बागमती नदीमा गएका थिए । नुहाउने क्रममा बालक हराएको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वको प्रहरी टोलीले खोजीकार्य गरेको प्रनाउ गौतमले बताए ।

मधेस प्रदेशलाई उद्योग प्रशासनको अधिकार: २५ करोडसम्मका उद्योगको सेवा प्रदेशबाटै

काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेशका २५ करोड रुपैयाँ सम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमनलगायत सेवा प्रदेशभित्रै कार्यान्वयन गर्ने भएको छ ।  संघीय सरकारले २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक अधिकार मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले उद्योग दर्ता, नवीकरण, नियमनलगायत सेवा अघि बढाएको हो ।  नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट स्पष्ट रूपमा गरेको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ ले निश्चित मापदण्डभित्रका उद्योगको प्रशासनिक जिम्मेवारी प्रदेश सरकारलाई दिने व्यवस्था गरेको थियो ।  तर कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन सात वर्षभन्दा बढी समयसम्म हुन नसक्दा उद्योगी-व्यवसायी सामान्य प्रशासनिक कामका लागि काठमाडौंस्थित उद्योग विभाग धाउन बाध्य थिए ।  यसले सेवा प्रवाहमा ढिलाइ, अतिरिक्त खर्च र प्रशासनिक जटिलता सिर्जना गरेको थियो । उद्योग विभागबाट मधेस प्रदेशअन्तर्गत रहेका १८८ उद्योगका अभिलेख प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै अब ती उद्योगसम्बन्धी सेवा प्रदेशबाटै सञ्चालन मधेस प्रदेश सरकारअन्तर्गत उद्योग विभाग वीरगञ्जका निमित्त निर्देशक रीना साहले जानकारी दिए । ‘उद्योगका फायलहरू विभागमा हस्तान्तरण भइसकेको छ’, निमित्त निर्देशक साहले भने, ‘सङ्घीय सरकारको उद्योग विभागबाट प्रदेश मन्त्रालयमार्फत हस्तान्तरण भएका उद्योगको फायलहरू हामीले अध्ययन गरिरहेका छौं, अध्ययन गरेर सेवा प्रवाहलाई अघि बढाउने तयारीमा जुटेका छौं।’  पहिलो चरणमा कार्यालयबाट दर्ता, नवीकरण, लगत कट्टालगायतको काम सुरु गर्छाैं र त्यसपछि अनलाइन प्रणालीबाट पनि सेवा प्रवाह गर्ने निमित्त निर्देशक साहको भनाइ छ । प्रदेश सरकारको पहुँच बढेसँगै उद्योग दर्ता, नवीकरण तथा नियमनका प्रक्रिया थप छरितो र सहज हुने अपेक्षा गरिएको छ । यसबाट सेवा प्रवाहलाई नागरिकको नजिक पुर्‍याउने संघीय शासनको मूल मर्मलाई व्यवहारमा उतार्ने विश्वास गरिएको छ । संघीय शासन व्यवस्थाको उद्देश्य केवल राजनीतिक अधिकार बाँडफाँट गर्नुमात्र नभई विकास र सेवा प्रवाहलाई विकेन्द्रीकरण गरेकाले प्रदेशबाट उद्योग दर्ता, नवीकरण लगायतका सेवा सुरु गर्न लागिएको मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले बताए ।  नागरिकले आफ्नो प्रदेशमै आवश्यक सेवा पाउने व्यवस्था हुँदा प्रशासनिक दक्षता बढ्नुका साथै सरकारप्रतिको विश्वाससमेत मजबुत हुने उनले बताए । यसबाट प्रदेश सरकारलाई आर्थिक विकासको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ ।  उद्योग प्रशासन आफ्नै मातहत आएपछि प्रदेशले उद्योगमैत्री नीति कार्यान्वयन, लगानी प्रवद्र्धन, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई स्थानीय आवश्यकताअनुसार अघि बढाउन सक्ने सचिव घिमिरेको भनाइ छ ।  यद्यपि अधिकार हस्तान्तरणसँगै प्रदेश सरकारको जिम्मेवारी बढेको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति, सूचना प्रविधिमा आधारित प्रशासन, पारदर्शी कार्यप्रणाली र उत्तरदायी संस्थागत संयन्त्र निर्माण आवश्यक हुन्छ । 

नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार नेपाल-भारत संसदीयमैत्री समूह , नेपाल-अमेरिका संसदीयमैत्री समूह, नेपाल अष्ट्रेलिय संसदीयमैत्री समूहलगायत समूह गठन गरिएको हो ।

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।  महाशाखाले आज (आइतबार) साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।  देशका पहाडी तथा तराई क्षेत्रका धेरै  र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ । 

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख २३ हजार पाँच रुपैयाँ र २२ बुक ताससहित पक्राउ गरेको हो । यस्तै, चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ ।  वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४६५ र चार रुपैयाँ बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।