विकासन्युज

काठमाडौंमा सुन चोरी गर्ने भारतीय नागरिकसहित ५ जना पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित तीनथानाबाट सुनका गरगहना र मोबाइल चोरी गरी त्यसको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार चोरी भएका गहना पगालिरहेको अवस्थामा एक भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो । गत फागुन २८ गते चन्द्रागिरि–१५ तिनथानास्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का, तिलहरी, दुई थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।  उक्त निवेदनका आधारमा सूक्ष्म अनुसन्धान र खोजतलास गर्दा प्रहरीले चैत १० गते काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर अगाडिबाट उनीहरूलाई समात्न सफल भएको हो । पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय प्रसन्न अधिकारी, नवलपरासी पूर्वका २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुङ्गाका २९ वर्षीय लाक्पा शेर्पा, रसुवाका २८ वर्षीय सागर कामी र भारत महाराष्ट्रका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन् । प्रहरीले उनीहरूको साथबाट चोरीका दुई थान मोबाइल, पगालेर ढिक्का बनाइएको २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका पाँचै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमार्फत विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये भारतीय नागरिक मोरेले चोरीका गहना पगाल्ने र स्वरूप बदल्ने काममा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

झापामा वाटर किङडम पार्क खुल्दा पर्यटन र रोजगारीमा आशा

झापा । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।      स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् ।  'अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ', पार्कका सञ्चालक सङ्ग्रौलाले भने, 'पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योष्दान पुर्‍याउने विश्वास लिएका छौँ ।'      सङ्ग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सात वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल छन् । 'कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन् । आफूहरूले हार नमानी पुनरुत्थानमा लागेका छौँ', उनले भने ।      पार्कमा परिवारसहित आएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको धारणा राखे । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उनले बताए ।      स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उनले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गरे ।      सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा तीन करोडको कारोबार गर्ने लक्ष्य राखिएको बताए । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उनले जानकारी दिए । रासस  

विशेष अधिवेशनले सबै पक्षलाई समेटेको छैन : महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पुरै कांग्रेसलाई समेटेर गरिएको महाधिवेशन नभएको बताएका छन् ।  सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै महतले विशेष महाधिवेशनमा जोडिएका  र नजोडिएका सबैलाई समेटेर अगाडि बढ्नु पर्ने बताएका छन् ।  अहिलेको आवश्यकता देखिएका सबै पक्षलाई समेटेर नियमित महाधिवेशन आयोजक समिति बनाउन महतले जोड दिएका छन् ।  पार्टीलाई एक बनाएर लैजान यो मात्रै विकल्प रहेको महतको भनाइ छ । 

संसद भवन भित्रबाट हानेको गोलीले गोलीगाँठो छेडेर वारपार भयो : पत्रकार दंगाल

काठमाडौं । पत्रकार शम्भु दंगालले भदौ २३ गतेको घटना हुनुको मुख्य कारण तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेको बताएका छन् । उनले जेनजी आयोगको जाँचबुझ छानबिन प्रतिवेदनमा यस्तो बताएको उल्लेख छ ।   उनले सडकमा दंगा प्रहरीको संख्या थोरै रहेको प्रतिवेदनमा बताएका छन् । संसद भवनभित्र अत्याधुनिक हतियार बोकेका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘नयाँ बानेश्वर क्षेत्र अश्रुग्याँसले आँखा हेर्न र श्वास फेर्न नसकिने अवस्थामा पुगेको थियो । सुरक्षाकर्मीले अन्धाधुन्ध हानेको गोलीबाट घाइते हुने र मारिनेहरूको संख्या बढिरहेको थियो । यस्ता दृश्यहरु क्यामेराबाट छायाँकन गरिरहेको बेला अढाइ बजे नयाँ बानेश्वर संसद भवनको गेट छेउमा संसद भवन भित्रबाट सुरक्षाकर्मीले हानेको धातुको गोलीले मेरो बायाँ खुट्टामा लागेर गोलीगाँठो छेडेर वारपार भयो,’ उनले भनेका छन् । त्यस्तै उनले घाइतेको अस्पताल आउँदा–जाँदा हुने खर्च, बिरामीका लागि आवश्यक पर्ने अन्य सामग्रीको खर्च सरकारले नबेहोरेको पनि बताए । ‘सरकारले निःशुल्क उपचार गर्ने भने पनि घाइतेले खाने औषधी निःशुल्क गरेको तर अस्पताल जाने आउने खर्च, बिरामीका लागि आवश्यक पर्ने अन्य आवश्यक सामग्रीको खर्च भने सरकारले बेहोरेको छैन,’ उनले भने ।

परिवार र समाजको साथले डाउन सिन्ड्रोम बालबालिकामा सकारात्मक परिवर्तन सम्भव

काठमाडौं । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाइटीको सहकार्यमा डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, एवनका सदस्य, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, अस्पतालका चिकित्सक, डाउन सिन्ड्रोम भएका बालबालिका तथा उनीहरूका अभिभावकको सहभागिता रहेको थियो । बेबी हेल्थकेयर उत्पादन क्षेत्रमा नेपाली बजारमा अग्रणी अष्ट्रेलियन ब्रान्ड आईविवीले समेत आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सहकार्य र समर्थन जनाएको थियो । कार्यक्रममा बोल्दै ग्राण्डि इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको माया, पारिवारिक गतिविधिमा सक्रिय सहभागिता र जीवनोपयोगी सीप विकासमा ध्यान दिन सके सकारात्मक परिवर्तन सम्भव हुने बताए । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएका बच्चा जन्माएकै कारण आमाहरूले भोग्नुपरेको सामाजिक पीडा दुःखद भएको उल्लेख गर्दै यस विषयमा चेतना अभिवृद्धि र सामूहिक सहयोग आवश्यक रहेको बताइन् ।  उनले भनिन्, 'समाजका सबै मानिस फरक–फरक छन्, त्यसैले संसार सुन्दर छ । डाउन सिन्ड्रोम भएका बालबालिकाको फरक क्षमता पहिचान गरी त्यसलाई सम्मान र अवसर दिनुपर्छ ।' डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका अनुभव सुनाउँदै अन्य अभिभावकलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी दिइन् । विश्वमा जन्मने प्रत्येक ७०० बालबालिकामध्ये एक जनामा डाउन सिन्ड्रोम देखिने तथ्य प्रस्तुत गर्दै सहभागीहरूले यस्ता बालबालिकाको आवश्यकता सम्बोधन गर्न राज्यस्तरबाट आवश्यक पूर्वाधार विकास र लगानी अझै अपर्याप्त रहेको औँल्याए । पर्याप्त सहयोग अभावका कारण उनीहरू तथा परिवार सामाजिक भेदभावको सामना गर्न बाध्य भएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो । कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले डाउन सिन्ड्रोमसम्बन्धी सचेतना अभिवृद्धिका लागि गरिएको पहलप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

काठमाडौं आसपासका गुम्बामा निगरानी बढाउन कार्की आयोगको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा निर्माण भएका विशाल तथा आलिशान गुम्बाहरूको गतिविधिमा नेपाल सरकारले सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने देखिएको गौरीबहादुर कार्की आयोगको निष्कर्ष रहेको छ । त्यस्तै, मदरसा तथा चर्चहरूमा भइरहेका फण्डिङ र तीव्र गतिविधिहरू पनि सुरक्षा निकायको चासोको विषय बन्नुपर्ने आयोगको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनले यी सबै गतिविधिले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने संकेततर्फ सचेत हुनसमेत भनेको छ ।  प्रतिवेदनमा यस्ता विषयलाई गुप्तचरको राडारमा ल्याउने सुझावसमेत दिइएको छ । मुलुकले आफ्नो गुप्तचर तथा निगरानी क्षमता तत्काल सुदृढ गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनले भदौ २३ गते संसद भवन परिसरमा घटेको घटनाले झन् चिन्ता बढाएको बताएको छ । तिब्बतीयन ओरिजिन ब्लड (टीओबी) लेखिएको ज्याकेट लगाएका मोटरसाइकल सवार युवाहरूको सक्रियताले नेपाल मात्र होइन, चीनसमेत सतर्क बनेको प्रतिवेदनमा उल्लेख छ ।  यदि छिमेकी मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुने अवस्था सिर्जना भयो भने त्यसले नेपाललाई गम्भीर कूटनीतिक र सुरक्षा संकटतर्फ धकेल्न सक्ने जोखिम पनि रहेको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ बानेश्वरको वाणिज्य बैंकबाट भल्ट फुटाएर १८ केजी सुनचाँदी र ५ करोड लुटियो

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट भदौ २४ गते ५ करोड नगद र १८ केजी सुनचाँदी लुटपाट भएको बैंकका सुरक्षागार्ड हरिराम थापा मगरले बयान दिएका छन् । २४ गते साँझ करिब साढे ७ बजे प्रदर्शनकारीहरूले आगजनी गरेर कार्यालयको भल्ट फुटाई करिब ५ करोड नगद १८ केजी सुनचाँदी लुटेर लगेको जेनजी आयोगको जाँचबुझ प्रतिवेदनमा उनले यस्तो बयान दिएका हुन् । ‘२३ गतेको प्रदर्शनपश्चात हामीलाई २४ गते सिभिलमा ड्युटी बस्नु र आपतकालीन अवस्था आइलागे आफ्नो ज्यान जोगाउनु भन्ने आदेश थियो । २४ गते साँझ साढे ७ बजे प्रदर्शनकारीहरूले आगजनी गरी कार्यालयको भल्टसमेत फुटाई ५ करोड नगद र १८ केजी सुनचाँदी लुटपाट गरे,’ उनले भने । संसद भवनको ३ नम्बर गेटबाट प्रदर्शनकारीहरू २४ गते बिहान करिब साढे ११ बजे बजेतिर तोडेर संसद भवन प्रवेश गरेको पनि उनले उल्लेख गरेका छन् । संसद भवनबाट उनीहरूले ल्याटपट, ग्यास, जार, टेबलजस्ता सामग्रीहरू ओसारी रहेको पनि थापा मगरले बयानमा उल्लेख गरेका छन् । २३ गते प्रदर्शनको क्रममा आन्दोलनकारीहरूको गोली लागेर मृत्यु भएको कुरा सामाजिक सञ्जालबाट सुनी थाहा पाएको उनले प्रतिवेदनमा खुलाएका छन् ।

स्वास्थ्य बीमामा भइरहेको ठगीको गम्भीर खुलासा

काठमाडौं । स्वास्थ्य बीमामा भइरहेको अनियमितता र आर्थिक चलखलेको खुलासा भएको छ । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले स्वास्थ्य बीमामा भइरहेको अनियमितताको खुलासा गरेको हो ।   आयोगले स्वास्थ्य बीमालाई कमाइ खाने भाँडोको रुपमा स्वास्थ्य संस्थाहरूले प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ ।  आयोगको प्रतिवेदनमा बिरामीलाई नचाहिने जाँच गराई धेरै दिन उपचार गराउने र बीमाबाट अनावश्यक पैसा लिन (ओभर ट्रिटमेन्ट फ्रड) अभ्यास रहेको उल्लेख गरेको छ । यस्तै, नक्कली बिल बनाएर बीमाबाट पैसा लिने बिरामीलाई सानो उपचार गरे पनि कागजमा ठूलो उपचार गरेको देखाएर बिल बढाउने लगायतका अभ्यास रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  बिरामीको सानो समस्या भएपनि एक्सरे, सिटी स्क्यान तथा एमआरआई लगायत अनावश्यक जाँच गराई बीमा रकम दाबी गराउने प्रवृत्ति रहेको प्रतिवेदनमा लेखिएको छ । सस्तो औषधी दिने तर कागजमा महँगो औषधी देखाई गलत दाबी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।  औषधी बिरामीसँग नगदमा किन्न लगाउने तरपछि सोही औषधीको नक्कली बिल पेस गरी बीमा भुक्तानी लिई दोहोरा फाइदा लिने अभ्यास पनि रहेको प्रतिवेदनमा लेखिएको छ ।  ‘वास्तविक उपचार नभएका बिरामीलाई फेस प्यासेन्ट क्लेम कागजमा उपचार गरेको देखाएर र कहिलेकाहीँ पुरानो बिरामीको नाम प्रयोग गरी बीमामा दाबी गरी भुक्तानी लिने, बीमा बोर्डमा राजनैतिक नियुक्ति र हस्तक्षेपका कारण उल्लेखित समस्याहरू प्रमुख रूपमा रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।  यी समस्याहरू समाधान गर्न सरकारले डिजिटल भेरिफिकेसन गर्नुपर्ने, निगरानी प्रणाली प्रभावकारी बनाउने, पेश गरेका कागजात माथि अनुसन्धान गर्न स्वतन्त्र नियमन निकाय बनाइनुपर्ने, स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको नियुक्ति पारदर्शी ढंगले गर्नुपर्ने र उल्लेखित कार्यमार्फत ठगी गर्ने व्यक्ति तथा संस्थाहरूलाई फौजदारी कानून बमोजिम कडा कारवाही गर्नुपर्ने उल्लेख गरेको छ ।  यस्तै, विशिष्ट पदमा आसिन भएका र रहेका व्यक्तिहरूलाई राज्यकोषबाट उपचारको लागि जति पनि खर्च गर्ने तर आम नागररिक सिटामोल नपाएर मर्नुपर्ने प्रणालीको अन्त्य गर्न विशिष्ट व्यक्तिको उपचारको बीमा गर्ने र विदेशमा गरिने उपचार खर्च राज्यकोषबाट नदिने कानूनी प्रावधान जरुरी रहेको आयोगको सुझाव छ ।  स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताहरूको नियन्त्रण गर्न कठोर कदम चाल्नु आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा पारदर्शिता र जवाफदेही प्रणाली लागु गर्नुपर्ने राय दिएको छ ।  काठमाडौं उपत्यका लगायत मुख्य सहरी क्षेत्रमा भएका सुविधासम्पन्न ठूला अस्पतालमा सामान्य खालको सर्जरी गर्नको लागि धेरै दिन पछिको पालो कुर्नपर्ने अवस्था रहेको उल्लेख गर्दै जटिल खालको सर्जरी गर्नुपरेमा महिनौं कुर्नुपर्ने तर अलि पहुँचवाला व्यक्तिहरूले भनसुनको भरमा तुरुन्तै पालो पाइहाल्ने प्रवृत्ति रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  स्वास्थ्य बीमा पद्धतिमा समयानुकूल परिवर्तन गरेर सकेसम्म सबै अस्पतालबाट सेवा लिने व्यवस्था गराउने, सरकारले खर्च भइसकेको रकम पनि शोधभर्ना नगरेकाले बीमा सेवा विभिन्न अस्पतालले बन्द गरेको तर्फ सरकारले उचित नीति बनाउनु र कार्यान्वयन गर्नुपर्ने र सरकारी बीमा पनि बीमा कम्पनीबाट गराउनेतिर पनि सोचिनु पर्ने राय प्रतिवेदनमा छ ।