विकासन्युज

१४ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ । आइतबार एकैदिन प्रतितोला ५ हजार ७ सय रुपैयाँले उकालो लागेको सुन सोमबार भने प्रतितोला एक हजार ४ सय रुपैयाँले घट्दै दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य सोमबार केही घटेर दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

हरेक हप्ता बजारको ब्रिफिङ दिन सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन

काठमाडाै । अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई हरेक हप्ता बजारको बिफिङ मागेका छन् । सोमबार भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई बजारको ब्रिफिङ मागेका हुन् । ‘पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्, अर्थभन्त्रीले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।’ शपथपछि अर्थमन्त्री डा वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री डा वाग्लेको भनाइ छ । ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका  लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्, अर्थमन्त्री डा वाग्लेले भने, ‘म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।’ अर्थमन्त्री डा वाग्लेले पुँजीबजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए । नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीज्यूको योजनाअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए । आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।  पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाई छ ।  यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

८१०० एमएएच ब्याट्री भएको भिभो वाई५०० नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा नयाँ भिभो वाई५०० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार स्मार्टफोनमा ८१०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री, १.५के एमोलेड डिस्प्ले र ५० मेगापिक्सेलको मुख्य क्यामेरा जस्ता विशेषता समावेश गरिएका छन् । भिभो वाई५०० पर्ल ह्वाइट र मिडनाइट ब्लु गरी दुई रंगमा उपलब्ध छ । स्लिम र एर्गोनोमिक डिजाइनमा तयार गरिएको यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार भिभो वाई५०० मा रहेको ८१०० एमएएच ब्लुभोल्ट ब्याट्री अहिलेसम्मकै भिभोको सबैभन्दा ठूलो ब्याट्री क्षमता हो। यसमा ६ वर्षसम्मको ब्याट्री हेल्थ ग्यारेन्टी र ५० महिनासम्मको स्मुथ एक्सपेरियन्स सर्टिफिकेसन उपलब्ध गराइएको छ। एकपटक चार्ज गरेपछि लगातार १० घण्टासम्म गेम खेल्न सकिने कम्पनीले जनाएको छ। स्मार्टफोनमा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ५ हजार निट्ससम्मको पिक ब्राइटनेस दिइएको छ। साथै, डुअल स्टेरियो स्पिकरले भिडियो हेर्दा र गेम खेल्दा उत्कृष्ट अडियो–भिजुअल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। भिभो वाई५०० मा ६ न्यानोमिटर प्रोसेसर जडान गरिएको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ र गेमिङलाई सहज बनाउने कम्पनीले जनाएको छ। फोनमा आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा रहेको छ। साथै, अन्डरवाटर फोटोग्राफी मोड, ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। भिभोले ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ६१ हजार ९९९ रुपैयाँ तोकेको छ। स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोर तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

बिनास्वीकृति गाडीमा कालो सिसा राखे १५ हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएको कालो सिसा (टिन्ट ग्लास) विरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ ।  सुरक्षा जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीलाई रोक्दै हटाउन लगाउने र कानुनी कारबाही गर्ने अभियान तीव्र पारेको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार पछिल्लो समय निजी गाडी, माइक्रोबस र ट्याक्सीमा समेत कालो सिसाको प्रयोग बढेपछि निगरानी कडा पारिएको हो ।  अभियानअन्तर्गत हालसम्म ३७ वटा सवारीसाधनका धनीलाई कालो सिसा हटाउन लगाइएको छ भने उनीहरूमाथि आवश्यक कारबाहीसमेत गरिएको उनले बताए। ट्राफिक प्रहरीका अनुसार कालो सिसाले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले यसलाई अपराधका लागि दुरुपयोग गर्ने जोखिम बढेको छ ।  यस्तो सिसाको प्रयोगबाट लागुऔषध, अवैध हतियार, सुन तथा अवैध मुद्रा ओसारपसार गर्न, फरार अभियुक्त लुकिछिपी हिँड्न तथा हिंसा र दुव्र्यवहारका घटना गराउन सहज हुने प्रहरीको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीको रंग, स्वरूप, सिट संख्या, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन ।  यस्तो परिवर्तन गरेको पाइएमा सवारीलाई यातायात व्यवस्था विभागमा पठाइने र विभागले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।  यद्यपि, टिन्ट ग्लास जडान गरिएका सवारीका हकमा ट्राफिक प्रहरीले तत्काल कालो सिसा हटाउन लगाउने र आवश्यकतानुसार थप कारबाही गर्ने गरेको जनाएको छ ।  ट्राफिक प्रहरीले सवारीधनीलाई कानुनविपरीत कालो सिसा प्रयोग नगर्न आग्रह गर्दै अभियान आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ ।  प्रहरीले यस्तो अभियानले सडक सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । 

पूर्वप्रधानमन्त्री भट्टराईमाथि गम्भीर आरोप, विवादमा परराष्ट्र मन्त्रालय

काठमाडौं । वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनालको स्मृतिमा परराष्ट्र मन्त्रालयले हरेक वर्ष आयोजना गर्दै आएको यदुनाथ खनाल लेक्चर सिरिज यस वर्ष वक्ता चयनलाई लिएर विवादमा परेको छ । यस पटक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएपछि सामाजिक सञ्जालदेखि कूटनीतिक वृत्तसम्म बहस सुरु भएको हो । परराष्ट्र मन्त्रालयले असार १४ गते आयोजना गर्ने लेक्चरमा डा. भट्टराईले नेपालको विदेश नीति भूराजनीतिक र भूआर्थिक प्रवृत्तिको दिशाबोध विषयमा प्रवचन दिने कार्यक्रम तय गरेको छ । यदुनाथ खनाल नेपालका प्रतिष्ठित कूटनीतिज्ञका रूपमा परिचित छन् । विशेषगरी राजा महेन्द्रको शासनकालमा नेपालको परराष्ट्र नीतिलाई आकार दिन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, राजा महेन्द्रको राजनीतिक भूमिकाप्रति लामो समयदेखि आलोचनात्मक धारणा राख्दै आएका डा. भट्टराईलाई खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइएको विषयलाई लिएर केही व्यक्तिले असन्तुष्टि जनाएका छन् । पत्रकार कनकमणि दीक्षितले कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्दै सार्वजनिक रूपमा असहमति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्ता छनोटलाई गलत निर्णय भन्दै यदुनाथ खनालप्रतिको सम्मानसँग मेल नखाने टिप्पणी गरेका छन् । दीक्षितले आफ्नो पोस्टमा निमन्त्रणाका लागि परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिँदै लेखेका छन्, ‘परराष्ट्र मन्त्रालयको वक्ता छनोट गलत हो । र, यदुनाथ खनालको अपमान हो ।’ उनले डा. भट्टराईमाथि विभिन्न राजनीतिक आरोपसमेत लगाएका छन् । आफ्नो धारणा व्यक्त गर्दै उनले नेपालमा भारतीय गुप्तचर निकायको प्रभाव बढाउन भूमिका खेलेको, माओवादी द्वन्द्वकालीन गम्भीर घटनासँग जोडिएको र त्यसको नेतृत्व गरेको लगायतका आरोप उल्लेख गर्दै यस्ता व्यक्तिलाई यदुनाथ खनालको स्मृतिमा आयोजित कार्यक्रममा वक्ता बनाइनु उचित नभएको बताएका छन् । सोही कारण आफू कार्यक्रममा सहभागी नहुने निर्णय गरेको पनि उनले सार्वजनिक गरेका छन् । यद्यपि, परराष्ट्र मन्त्रालयले डा. भट्टराईलाई वक्ता चयन गरिएको विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । वक्ता चयनलाई लिएर देखिएको विवादका बीच कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार आयोजना हुने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय औपचारिक प्रतिक्रियाबाट जोगिन खोजे पनि अनौपचारिक कुराकानीमा भने देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई आमन्त्रण गर्दा विवाद श्रृजना गर्न नहुने बताउँछ । मन्त्रालयका एक अधिकारीका अनुसार जनमतले अनुमोदित भएर प्रधानमन्त्री भइसकेका व्यक्तिबारे अन्य प्रचार गर्नु सोभनप्य हुँदैन । उनले भने, ‘एक दुइजना मान्छे नआउँदैमा केहि हुँदैन ।’  

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे । यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो । प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिकरुपमा महत्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।  पात्लेखेतको वाखेत टोलको शिरमा समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा अवस्थित भंकासेको प्रचारप्रसार आवश्यक रहेको स्थानीय लोकबहादुर पुनको भनाइ छ । ‘पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा भ्वाङ खसेको भन्दा भन्दै अप्रभंश भएर भंकासे नाम रहने गएको जनविश्वास छ,’ उनले भने । भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ छ । भ्वाङको नजिकै करिब १० रोपनी समथर खाली जमिन छ । भंकासेको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छे« हिमशृङ्खला देखिन्छ । म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयवासीहरुको भनाइ छ । भंकासेदेखि करिब २०० मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरुले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनिहरु ध्यान तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वी रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिए । भंकासे र सिद्धथानमा आश्रमहरु छन् । वाखेतदेखि ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिडेर भंकासे पुगिन्छ । रघुगङ्गा, मङ्गाल गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल टोड्केदेखि ४० मिनेटको पैदलयात्रापछि भंकासेमा पुगिन्छ । बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए । वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग, सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिँदै ऐतिहासिक तथ्यहरु जुटाउनका लागि धर्मगुरुमार्फत खोज अनुसन्धान थालिएको उनले दिए । 

अपाचे आरटीआर १६० फोरभी नेपालमा, मूल्य ४ लाख २९ हजार रुपैयाँ

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १६० सीसी श्रेणीमा प्रोजेक्टर हेडल्याम्प, युएसडी (अपसाइड–डाउन) सस्पेन्सन र ५ इन्चको टीएफटी डिस्प्ले क्लस्टरसहितको पहिलो मोटरसाइकल भएको दाबी गरेको छ । काठमाडौंको सतुंगलमा आयोजित कार्यक्रममा मोटरसाइकल सार्वजनिक गरिएको हो । कार्यक्रममा सञ्चारकर्मी, अटोमोबाइल समीक्षक, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर तथा बाइक पारखीहरूको सहभागिता रहेको थियो । सहभागीहरूका लागि विशेष राइडिङ सेसन र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो । नयाँ अपाचे आरटीआर १६० फोरभीमा १५९.७ सीसी इन्जिन जडान गरिएको छ । स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस शक्ति उपलब्ध हुन्छ । मोटरसाइकलमा पाँच–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड रहेका छन् । कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख पेम्यान कारगरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै नयाँ मोडलले राइडरलाई अझ सुरक्षित, सहज र उत्कृष्ट राइडिङ अनुभव दिने बताए । नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ अपाचे आरटीआर १६० फोरभीमा समावेश गरिएका प्रोजेक्टर हेडल्याम्प, युएसडी सस्पेन्सन र टीएफटी डिस्प्लेले राइडिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार मोटरसाइकल हाल नेपालका छनोट गरिएका डिलरशिपमा उपलब्ध छ भने आगामी जुलाईभित्र देशभर बिक्रीका लागि उपलब्ध गराइनेछ । म्याट ब्ल्याक, रेसिङ रेड र मरीन ब्लु गरी तीन रंगमा उपलब्ध मोटरसाइकलको एक्स–शोरुम मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

मृत्युदण्डको सजाय पाएकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले गरिन् स्वदेश फर्किने घोषणा

काठमाडौं । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन् । उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गरेकी छन् ।  उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहेकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उनी छिमेकी भारततर्फ भागेकी थिइन् ।  त्यसपछि नयाँ दिल्लीको एउटा पत्रकार सम्मेलनमा जनवरीमा प्रसारित सम्बोधनमा बाहेक उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।  भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताएकी छन् । उनले  आफूलगायतका आफ्ना सहयोगीविरुद्धको फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ प्रक्रियाको एक भाग भनेकी छन् ।  हसीनाले भनेकी छन्, ‘मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन् । तर, हरेक षड्यन्त्रको जाल तोड्दै मलाई जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएको छ र मैले लामो समय देशको अभूतपूर्व विकासमा काम गरेको छु ।’ पूर्व प्रधानमन्त्री हसीनाले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, हरेक बाधा र हरेक षड्यन्त्रलाई पार गर्दै यो वर्ष म आफ्नो देश फर्किनेछु ।’ गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई उत्तेजना फैलाउने, हत्या आदेश दिने र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । एक समय देशको सबैभन्दा लोकप्रिय दल उनको पूर्व सत्तारूढ दल अवामी लिगलाई कुनै गतिविधि गर्न अहिले प्रतिबन्धित गरिएको छ । हसीनाको भारत पलायनपछि बनेको अन्तरिम सरकारका समय नेतृ हसीनालाई सुपुर्दगी गर्न तत्कालिन सरकारले भारतमाथि दवाव दिएपछि बिग्रिएको भारत र बङ्गलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिएको छ ।  फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको प्रधानमन्त्री बन्न भारी मतले चुनाव जितेपछि यो सुधार भएको हो । यद्यपि, तनाव अझै कायम छ । बङ्गलादेशले बारम्बार हसीनाको सुपुर्दगीको माग गरिरहेको छ । एजेन्सीको सहयोगमा