काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले विशेष महाधिवेशनवाट निर्वाचित सभापति गगनकुमार थापालाई पहिलोपटक पार्टी सभापति स्वीकार गरेका छन् ।
मंगबार प्रेस विज्ञप्ति जारी गर्दै खड्काले आफूलाई पूर्वकार्यवाहक सभापतिको रुपमा प्रस्तुत गरेका छन् । उनले सरकारले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन स्ववियु खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन् । उनले उक्त कदमलाई लोकतन्त्रविरोधी र अधिनायकवादी भएको टिप्पणी गरेका छन् ।
वक्तव्यमा खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी संगठनहरूको ऐतिहासिक भूमिका स्मरण गर्दै त्यस्ता संस्थामाथि प्रहार गर्नु संविधानले प्रत्याभूत गरेको मौलिक हकविपरीत भएको बताएका छन् ।
उनले पञ्चायती व्यवस्थादेखि २०६२/६३ को जनआन्दोलनसम्म विद्यार्थीहरूले लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् ।
गत वर्षको भदौ २२ र २३ को आन्दोलनपछि कांग्रेसमा विवाद चर्कँदै जाँदा पार्टीभित्र एक समूहले अर्को समूहलाई कारवाहीसमेत गरेका थिए । तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेपछि तत्कालीन कार्यवाहक सभापति खड्काले महामन्त्रीहरुलाई कारवाही समेत गरेका थिए ।
कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले गत वर्ष पुष ३० गते थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो ।
त्यसपछि खड्काले कार्यवाहक सभापतिको रूपमा चैत्र ३० गते प्रेस विज्ञप्ति जारी गरेपछि कांग्रेसको अनुशासन समितिले वैशाख २ गते स्पष्टिकरण सोधेको थियो ।
तर वैशाख ४ गते कांग्रेसको आधिकारिकता विवादसम्बन्धी आदेश सर्वोच्च अदालतले जारी गरेपछि कांग्रेसभित्र नयाँ अवस्था सिर्जना भएको थियो ।
यही मेसोमा खड्काले थापालाई सभापति स्वीकार गरेको राजनीतिक विश्लेषक परशुराम घिमिरेले बताए । उनले भने, ‘यसले कांग्रेसभित्र नयाँ सञ्चार सुरु गरेको छ ।’
अर्का विश्लेषक तथा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले पनि अदालतले न्याय निरूपण गरेर अगाडि बढ्न बाटो खोलिदिएको अवस्थामा आएको खड्काको वक्तव्य पार्टीका लागि कोशढुंगा भएको बताए ।
जारी गरिएको खड्काको विज्ञप्तिको मास्टहेडमै खड्काले आफुलाई निवर्तमान कार्यवाहाक सभापति लेखेका छन् ।