विकासन्युज

११ वर्षपछि नगद मात्रै वितरण गरेको कुमारी बैंकको १६ वर्षे लाभांश इतिहास

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कायम चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतपश्चात् आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् । बैंकले ११  वर्षपछि नगद लाभांश मात्रै वितरण गरेको हो । यसअघि बैंकले आर्थिक वर्ष २०६८/६९ मा ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६७/२०६८ मा बैंकले ८ प्रतिशत बोनस र ०.४४ प्रतिशत नगद गरी कूल ८.४४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको लाभांश इतिहास हेर्दा सेयरधनीहरुलाई प्रत्येक वर्ष लाभांश वितरण गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६९/२०७० मा १४ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/२०७५ मा ८.५ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद गरी कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन बैंकको लाभांश इतिहासमा सबैभन्दा धेरै लाभांश थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७२/२०७३ मा २१ प्रतिशत बोनस र १.१ प्रतिशत नगद गरी कूल २१.१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा बैंकले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६६/२०६७ मा १२ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कूल २४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६५/६६ मा १०.५८ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरी कूल ११.३३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६३/६४ मा बैंकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

क्रिकेटर सन्दिप लामिछानेलाई पक्राउ गर्न विमानस्थल पुग्यो प्रहरी, सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं ।  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए । लामिछाने केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदैछन् । अहिले प्रहरी विमानस्थलमा गाडी सहित पुगेको छ । विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।  

प्रतिकुल मौसमका कारण हवाई उडान अवरुद्द, दशैं मनाएर काठमाडौं फर्किनेहरु समस्यामा

काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार बिहीबर बिहानका लागि निर्धारित सबै ठाउँका हवाई उडान प्रभावित भएको हो । काठमाडौंबाट विभिन्न ठाउँमा जाने उडान प्रभावित भएको छ । पहाडी भेगमा बाक्लो हुस्सुका कारण समेत हवाई उडान प्रभावित बनेको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन् । हिजोदेखि निरन्तर वर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार २१ गतेसम्म निरन्तर वर्षा हुने देखिएको छ । निरन्तर वर्षा हुँदा दशैं मनाउन गाउँ गएकाहरु गाउँबाट फर्किन समस्या भएको छ ।

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

चितवन । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ । यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् । चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले राससलाई दिएको जानकारीअनुसार जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ ।

कालीगण्डकी करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

बाग्लुङ । अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए। दसैँका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारी साधान सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् । जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पु¥याउन नपाएको गुनासो गरे ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

चितवन । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्यु सेक पुगेको छ । गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमीलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उनको भनाइ थियो। पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उनले आग्रह गरे । गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा कतिबेला रोकिन्छ ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ । वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ । “उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ” उनले भने, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।” उनले यो प्रक्रिया अझै २/३ दिन रहने जानकारी दिँदै भने, “पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै २/३ दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ ।” उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ ।