युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी
बाग्लुङ । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आएका छन् । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताए । उनले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यवसायीक रुपमा अकबरे खुर्सानी उत्पादन गर्छन् र यसको अचार बनाएर ‘ब्राण्डीङ’ समेत गर्दै आएका छन् । ‘मेरो मुख्य पेसा त सुन्तला खेती हो तर सुन्तला खेतीमा सिजनको कामबाहेक अघिपछि फुर्सद हुन्छ, कृषि भ्रमण तथा अवलोकनको समयमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेको देखेर तीन वर्षअघि पर्वत जिल्लाको पातीचौरबाट एक सय बिरुवा लिएर लगाएको थिएँ’, कृषक खड्काले भने, ‘अहिले अकबरे खुर्सानीको हरियो दाना केजीको चार सय ५० र अचार बनाएर ‘प्याकेजीङ’ गरेको आधा केजीको चार सय ५० मा विक्री गर्दै आएको छु, यहाँको अचार कोसेली बनेर युरोप, अमेरिका र अष्ट्रेलिया पुगिसकेको छ ।’ खड्काले खुल्ला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाए । उनले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर विक्री वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने बताए। उनका प्लाष्टिक टनेलमा अहिले करिब आठ सय अकबरे खुर्सानीका विरुवा छन् । उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यवसायिक सहकारी संस्थाको ब्राण्डमा विक्री गर्ने गरिएको छ । उनले सहकारीमार्फत् संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । खड्काले यो वर्षमा एक लाखको अकबरे खुर्सानी विक्री गर्ने लक्ष्य राखेका छन्। अकबरे खुर्सानीको स्वदेश र विदशेमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्कसमेतले अकबरे खुर्सानी उत्पादन गर्न थालेका छन् । तीन जना कृषकलेनै उत्पादन गरेको खुर्सानी सहकारीको ब्राण्डमा अहिले अचार बनाएर बजार पठाउने गरेका छन् । सहकारीले एक हजार आठ सय खुर्सानीका विरुवा आगामी वर्ष वितरण गर्ने र सहकारीमार्फत् ब्राण्ड बनाएर विक्री गर्ने योजनामा सहकारीको रहेको सो सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । यस वर्ष रु ५० हजारको अकबरे खुर्सानीको अचार विक्री गर्ने लक्ष्य रहेको शिव खड्काले बताए । भान्सामा स्वाद र पिरोका लागि रुचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र बिदेशी बजारमा पनि माग बढ्दै गएको उनीहरुको भनाइ छ । अकबरे खुर्सानी बढी पिरो हुने भएपनि स्वास्थ्यमा असर नगरेर फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा उक्त खुर्सानी पर्दै आएको यसका किसानहरुको अनुभव छ ।
यस वर्षको दशैँ वर्षामय हुने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । यस वर्षको दशैँ वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । सोमवार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मंगलवार (आज) पनि देशभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा पनि अहिले मौसम धुम्मिएको छ । यस वर्षको दशैँ वर्षामय हुने भएकाले विज्ञहरुले टिका लगाउन जाँदा खहरे खोलानालहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् । हाल प्रदेश १, मधेश प्रदेश तथा वागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश,वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान वहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन विभागले आग्रह गरेको छ । दशैँको टीकाको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । टिकाको भोलिपल्ट अर्थात् बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बिहीवार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
अफगानिस्तानमा भएको आत्मघाती हमलामा त्रिपन्न जनाको ज्यान गयो
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो । उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ । त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो । सो शैक्षिक केन्द्रमा ठूलो सङ्ख्याका विद्यार्थी जम्मा भएका थिए । उनीहरुले परीक्षाको तयारी गरिरहेका बेला सो आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ । यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको सो हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन । अफगानिस्तानमा गएको वर्षदिन भन्दा लामो समयदेखि तालिवानीहरुको शासन रहेको छ । त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन ।
दसैँमा किन घुम्ने कर्णाली ?
कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाही मौसमका दृष्टिले पनि कर्णाली प्रदेशको यात्रा धेरै उपयुक्त रहेको बताउनुहुन्छ । ‘दसैँ बिदाको उपयोग, उपयुक्त हावापानी जस्ता कारण घुमफिरमा समय छुट्याउन सकिन्छ’, उनी भन्छन्, ‘कर्णाली यस्तो प्रदेश हो, जहाँ अन्यत्र नभएका विशेषता यहाँ छन्, जसले पर्यटकको ध्यान आकर्षित गरेको पाइन्छ ।’ निजी गाडीमा यात्रा गर्नेका लागि पर्यटकीयस्थल अवलोकनमा झन् सहज छ । नौलो विषयवस्तुको अध्ययन/अवलोकन आम मानिसको रुचि हो । कर्णालीमा यस्तै नौला–नौला दृश्य देख्न पाइन्छ । पर्यटन व्यवसायीसमेत रहनुभएका महासङ्घका प्रदेश अध्यक्ष शाही पछिल्ला वर्षयता कर्णाली पर्यटकका लागि एक पटक होइन, बारम्बार आउनुपर्ने क्षेत्रका रुपमा विकास हुँदै गएको बताउनुहुन्छ । चाडपर्वले झन पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ । रत्न राजमार्ग बाँकेको कोहलपुरबाट सुरु भए पनि कर्णाली प्रवेश भने सुर्खेत–बर्दिया सीमा क्षेत्र बबईबाट हुन्छ । बबईमा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सनको सुरुङको निकास र विद्युत् गृह बन्दैछ । विकासको लोभ लाग्दो संरचनाले गर्दा यो आयोजनाले धेरैको ध्यानाकर्षण गरेको पाइन्छ । रत्न राजमार्गका यात्रुले बबईमा रोकिएर यहाँको विकास हेरेर अघि बढ्ने गर्दछन् । वीरेन्द्रनगरमा काँक्रेविहार, बुलबुले ताल, घण्टाघर, सहिद पार्क पर्यटकीयस्थल हुन् । बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्दछ । देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो । काँक्रेविहारको ढुङ्गैढुङ्गाको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । रारा, जुम्ला, हुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थान रोजाइँमा पर्दछन् । सुर्खेत चेम्बर अफ कर्मशका अध्यक्ष चिन्तामणि शर्मा कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ भएको बताउनुहुन्छ । ‘प्रदेश राजधानी भएकाले यहाँको पर्यटकीयस्थलमा चहलपहल बढी छ’ उनी भन्छन्, ‘दसैंले गर्दा पनि आजभोलि होटल पनि भरिभराउ छन्, पर्यटकीयस्थलमा भीडभाड बढी देख्न सकिन्छ ।’ पर्यटकको आवागमन बढेसँगै सुर्खेतमा स्तरीय होटल थपिँदै गएका छन् । वीरेन्द्रनगरबाट दैलेखतर्फ अघि बढ्दा सुर्खेतको गोठीकाँडा, सिद्धपाइला र रातानाङ्ला स्थान बाटोमा पर्दछन् । ती स्थानबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्य देखिन्छ । दैलेखको गुराँसेमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाइएको छ । यात्रुहरुको रोजाइँ ‘भ्यू टावर’ पनि बन्ने गरेको छ । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी आफैँमा अग्लो स्थानमा रहेको गुराँसेको चिसो वातावरण र त्यसमाथि भ्यू टावरले पर्यटकलाई आनन्दित गराएको बताउँछन् । कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका यात्रुका लागि गुराँसे खाना–खाजा खाने ठाउँ पनि हो । ‘खाजा खाने समयमै भ्यू टावरका साथै गुराँसेको अवलोकन गर्न पाउँछौंँ,” अध्यक्ष बिसी भन्छन्, ‘यहाँ उत्पादित अर्गानिक खानेकुरा कर्णालीका यात्रु र पर्यटकले कहिल्यै भुल्दैनन् ।’ पञ्चकोसी क्षेत्र, कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर मध्यपहाडी जिल्ला दैलेखका मुख्य पर्यटकीयस्थल हुन् । पानीमाथि आगाको ज्वाला बलिरहेको दृश्य हेर्न पञ्चकोसी क्षेत्रका शिरस्थान र नाभिस्थानमा पर्यटकको भीड लाग्ने गर्दछ । ऐतिहासिक क्षेत्र दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दरबारको भग्नावेश, पटाङ्गिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् । पञ्चकोसी दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका घुमेर फर्किने गरिन्छ । दुल्लू नगरपालिकाका पूर्व प्रमुख घनश्याम भण्डारी पञ्चकोसी दर्शन गर्ने पर्यटकका लागि दुल्लू आउनै पर्ने स्थान भएको बताउँछन् । ‘पञ्चकोसीको गरिमा त वर्णन गरी साध्यै छैन्, दुल्लू सङ्ग्राहालय बनाएका छौंँ, पुराना राजकाजसँग सम्बन्धित ऐतिहासिक तथ्यदेखि प्राकृतिक सम्पदाले दुल्लू सुन्दर नगरी छ’ उनी भन्छन्, ‘दुल्लू आउने पर्यटकलाई दैलेख बजारसम्म जोड्ने प्रयास गरिरहेका छौंँ, विभिन्न जातिको उत्पत्ति थलोको प्रचारप्रसार, प्रवद्र्धनको काम भइरहेको छ ।’ पूर्व नगर प्रमुख भण्डारीका अनुसार दैलेख जिल्लालाई विभिन्न ३६ जातजातिको उत्पत्ति थलोका रुपमा दाबी गरिँदै आएको छ । कर्णाली राजमार्ग हुँदै कालीकोटको सदरमुकाम मान्म र पिली क्षेत्र अवलोकन गर्न सकिन्छ । पिली युद्ध पर्यटनले चर्चामा छ । त्यहाँ युद्ध स्मारक बनाइएको छ । राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्ती पर्यटकका लागि थप आर्कषण हुन् । जुम्ला खलङ्गास्थित प्रसिद्ध चन्दननाथ मन्दिर, सिञ्जा उपत्यका, तातोपानी, पातारासी हिमाल यहाँका गन्तव्यमा पर्छन् । तातोपानीमा नुहाए स्वास्थ्यलाभ हुने जनविश्वासले मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन् । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ । सिञ्जा खस भाषाको उद्गम स्थल हो । नेपाली भाषाको अध्येताका लागि यो आउनै पर्ने गन्तव्य हो । जुम्लाको सिञ्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी पुग्न सकिन्छ । गमगढीबाट हिँडेर वा गाडीमा रारासम्म पुग्न सकिन्छ । यो नेपालकै ठूलो ताल हो । यहाँ पाइने स्नो–ट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन । मौसम खुलेमा तालको पानीमा देखिने सप्तरंगले आगुन्तकलाई मोहित पार्दछ । सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधैँ मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ । राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिएका थिए। यहाँ रारामा घोडासवार र बोटिङको आनन्द लिन सकिन्छ । मुर्माटपलाई राराको भ्यू टावर भनिन्छ । त्यहाँबाट राराको पूर्ण आकारको फोटो क्यामरामा कैद गर्न सकिन्छ । कर्णाली आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य रारा ताल बनेको छ । मुगु र हुम्लाको सीमानामा चङ्खेली हिमाल छ । जुन हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ । हिन्दू, बौद्धहरुको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौँको सङ्ख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट दुई हजार ९०० मिटर उचाइमा छ । सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ । जहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार हो । डोल्पामा सबैभन्दा गहिरो ताल शे–फोक्सेन्डो ताल छ । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शेफोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा देख्न सकिन्छ । शे–फोक्सेन्डोबाट रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगलापास क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, रुकुम पश्चिममा डिगे्र साइ मन्दिर, स्यार्पु ताल, जाजरकोटको दरबार क्षेत्र तथा सल्यानमा कुभिन्डे दह, छायाँक्षेत्र, खैरावाङ भगवती देवी मुख्य पर्यटकीयस्थलमा पर्दछन् । यी स्थान आन्तरिक पर्यटकको चाप भइरहने क्षेत्र हुन् । विकास पर्यटनको ढोका कर्णालीले विकास पर्यटनको ढोका पनि खोलेको छ । सुर्खेतमा निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । भेरी बबई हेर्नकै लागि मुलुकका विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि दिनहुँ आउने गर्दछन् । छिञ्चु–जाजरकोट सडक खण्डमा अवस्थित भेरीगङ्गा नगरपालिकाको चिप्लेमा आयोजनाकै बाँधस्थल बन्दैछ । नदी डाइभर्सन, बाँध निर्माण कर्णालीका नौला संरचना हुन्। विकास अवलोकन गर्नेहरुको रोजाइँको क्षेत्र हो यो । कर्णालीमा सञ्चालित अन्य ठूला पूर्वाधारका आयोजनाले पनि विकास पर्यटनको सम्भावना बढाइदिएका छन् । पश्चिम सुर्खेतको तातापानी जामु कुइनेमा कर्णाली नदीमाथि बनेको लामो पुलले पनि धेरैको ध्यान तानेको पाइन्छ । जामु कुइने भेरी र कर्णाली नदीको सङ्गमस्थल हो । दैलेखको शिरस्थानमा चिनियाँ कम्पनीले पेट्रोलियम पदार्थ उत्खनन् गर्दैछ । चिनियाँ कम्पनीका क्याम्प र ड्रिलिङ कार्यको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता मात्र होइन्, हिमाली जनजीवन, कला संस्कृति, भेषभुषा पनि सांस्कृतिक पर्यटनका हिसाबले कर्णाली धनी छ । कर्णालीकै अल्पसङ्ख्यक थारु, राजी समुदायको सुर्खेतमा बसोबास छ । वीरेन्द्रनगर उपत्यकामै थारु संस्कृतिको अवलोकन गर्न सकिन्छ । थारु समुदायले घरवास पर्यटन९होमस्टे० पनि सञ्चालनमा ल्याएका छन् । दैलेखको पूर्वी भेगमा दक्षिण एसियाकै लोपोन्मुख आदिवासी राउटे जातिको बसोबास छ । फिरन्ते राउटेलाई कर्णालीका गहना भन्ने गरिन्छ । राउटेसँग साक्षात्कार गर्न, संस्कृति अवलोकन गर्न आउनेहरुका लागि पनि उपयुक्त मौसम हो । यतिबेला राउटे भेट्न दैलेख सदरमुकामबाट मध्यपहाडी राजमार्ग हुँदै भगवतीमाई गाउँपालिकाको मन्घर पुग्नुपर्छ । कर्णाली मुलुककै सबैभन्दा लामो नदी र यसको उत्पतिस्थल मानसरोवर भएर प्रदेश प्रवेश गरेको छ । खसहरुका कूलदेवता मष्टोको उत्पत्ति पनि यही मानसरोवर क्षेत्र भएर कर्णाली हुँदै विश्वभर फैलिएको पुराना ग्रन्थ एवं विभिन्न खोज अनुसन्धानमा उल्लेख गरिएको पाइन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष शाही भन्छन्, ‘प्रर्वद्धनका विभिन्न माध्यमबाट कर्णालीका पर्यटकीय सम्भावनाहरु उजागर भइरहेका छन्, दसैं बिदामा आउनेहरु नयाँ–नयाँ गन्तव्यमा रमाइरहेको दृश्य सामाजिक सञ्जालबाटै थाहा पाइरहेका छौं, पर्यटन प्रर्वद्धनका लागि यो खुसीको कुरा हो ।’ साथै छिञ्चु–जाजरकोट–डोल्पा हुँदै भेरी करिडोर र कालीकोट हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर निर्माणले तीव्रता पाउनसके पर्यटकलाई धेरै सहज हुने उनको धारणा छ ।
नेपालीमा ऋण लिएर भारुमा तिर्नु पर्ने बाध्यता, दशैंभन्दा साहुको चिन्ता
डोल्पा । डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उहाँको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् । नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उनकी श्रीमती जयसरा कामीले बताइन् । उनले भनिन्, “बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरानगरमा जान्छु, त्यहाँ दिनभरि १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ । जाजरकोट र रुकुम पश्चिममा लाग्ने जात्रा तथा मेलामा स्याउ लिनका लागि ग्राहक आउने गर्छन्, अब तीन दिन बिक्री गरेमा साहुको पैसा तिर्ने जम्मा हुनेछ ।” स्थानीय साहुबाट उनका श्रीमान् राजेन्द्रले रु चार हजार स्थानीय साहुबाट सापटी लिएका थिए। दशैंमा जयसराका श्रीमान् घरमा पुग्ने वा नपुग्ने कुनै जानकारी छैन । तर, उनकाे घरमा साहु भने तीन पटक आइसके । चार छोराछोरीसहित घरमा रहेकी उनको श्रीमान्सँग आधा महिनाअघि मात्र फोनमा सम्पर्क भएको थियो । दशैंमा कमाइ भएमा जसरी पनि घरमा आउँछु भन्ने सन्देश छोडेका राजेन्द्रसँग आधा महिनादेखि श्रीमतीसँग सम्पर्क भएको छैन । उता श्रीमान् आए पनि, नआए पनि नेरु रुपैयाँको भारु रुपैयाँ असुल्न साहु पटकपटक घरमा आउँदा रिन कसरी तिर्ने भन्दै हैरान भएको जयसराको भनाइ छ । स्याउ बिक्री गरेको पैसाले दसैँमा नयाँ कपडासहित केही आवश्यक सामग्री खरिद गर्नेभन्दा पनि साहुको रिऋ सताउँदा दसैँ आउनु र नआउनुमा आफूलाई केही फरक नभएको उनले पीडा पोखिन् “परिवार साथमा छैन, अर्कोतिर रिनले च्यापेको छ”, उनले भनिन् ,‘ गरिबलाई चाडपर्व नआएकै राम्रो ।” छिमेकीका छोराछोरीले रङ्गीचङ्गी कपडा लगाउँदा आफ्ना छोराछोरी खाली हुने हुन् कि भन्दै जयसराले दुखेसो गरिन् । “गाउँमा विकास निर्माणका कामहरु भइरहेका छन्, तर त्यहाँ पनि पहुँचवालाकै चुरीफुरी छ”, उनले थपिन्। दैनिक पाउने ज्यालामा समेत महिला भएकै कारण कम रकम दिने गरिएको उनले बताइन् । जयसराभन्दा कम पीडा छैन, मुड्केचुला–१ का सीता बोहराको पनि । वर्षैपिच्छे जन्मिएका छ छोराछोरी पालन गर्न दैनिक हैरानी हुँदै आएको उनी बताउँछिन्। छोराको आसमा वर्षैपिच्छे छोरी जन्मिदा अन्तिममा छोरा भएको बोहरा परिवारमा अहिले दैनिक खर्च चलाउन मुस्किल छ । सीताका श्रीमान् दत्तबहादुर भारत गएको सात महिना भयो । सबै छोरीहरु विद्यालयमा पढ्छन् । “अन्तिममा जन्मिएको छोरा बल्ल नौ महिनाको भयो”, सीताले भनिन् । नेरु रुपैयाँ दिएर भारु रुपैयाँ लिने गाउँका साहुबाट सीताका श्रीमान्ले पाँच हजार रुपैयाँ रिऋ काढेर भारत गएका थिए । दशैंमा फिर्ता गर्ने गरी लिएको उक्त पैसा दशैंका केही दिन बाँकी रहँदा साहुले घरमा दैनिक छिटो दिन ताकेता गरिरहेको सीताले बताइन् । श्रीमान् आएपछि दिइहाल्नुहुन्छ नि ! भन्दा साहुले ‘तिम्रो पोइ (श्रीमान्) कहिले आउँछ थाहा छैन, हामीलाई अरु ठाउँमा ब्याजस्वरूप ठेकी लगाउनु छ ।” छिटो गरिदिनु भन्दै हैरान बनाएको सीताले दुखेसो पोखिन् । “दशैं तिहार त सबैलाई आएको छ भन्दै सिताले भनिन्, “रमिताका बाबासँग फोनमा कुरा भएको थियो मङ्गलबार बिहान, उनले यो पटक कमाइ राम्रो नभएकाले तिहारपछि आउने कुरा गर्नुभएको छ । मसँग पैसा छैन कसरी साहुलाई दिनु ।” यी दुइ जना प्रतिनिधिमुलक पात्र भए पनि जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश भारत गएर कमाइ गरी (पारिश्रमिक) घरको खर्च चलाउने परिवारको समग्र पीडा हो यो । हुने खाने भन्दा पनि हुँदा खाने बीचको ठूलो खाडल पहाडी जिल्लामा व्याप्त छ । छोराका आसमा धेरै सन्तान जन्माउनेदेखि थोरै जमिन भएर आफूले उत्पादन गरेको अन्नले चार महिना पूरा खाना नपुग्ने निम्नस्तरका परिवारलाई ठूला चाडपर्वमा समस्या बनाउँदै आएको छ । दशैं तिहारले भावनात्मकरूपमा पीडा दिने गरेको निम्न वर्गका सर्वसाधाणले बताउँदै आएका छन् । घरमा ठूला व्यक्तिलाई पैसाको अभाव भएकाले धनी व्यक्ति जति चाड पर्वमा खर्च गर्न नसक्ने थाहा भए पनि साना बालबालिकालाई त्यो जानकारी हुँदैन । अभिभावकलाई ठूला पर्व, मेला, जात्रामा बालबालिकाबाट समस्या पर्दै आएको जाजरकोट नलगाड नगरपालिका–११ का कालिबहादुर विकले बताए। दशैंपछि आउने असोज २३ गतेको पूर्णिमाको दिनदेखि तीन जिल्लामा मेला तथा जात्रा सुरु हुन्छन् । जाजरकोटको पूर्वमा रहेको सबैभन्दा ठूलो जात्रा रामिडाँडा, रुकुम पश्चिम आठबीसकोटको राडीमा लाग्ने चौतारा मेला, अनाहमेला, दामाचौर, छिनखेत मेला, चिसापानी मेला लाग्ने गर्दछन् । जाजरकोटको नलगाड नगरपालिकाको तल्लु स्थित (साविक भगवती गाविस) डाँडामाथि मेला र अन्तिम जाजरकोट सदरमुकाममा लाग्ने रमाइली मेला गरी यस क्षेत्रमा दुइ दर्जन ठूला जात्रा, मेला लाग्ने गर्दछन् । यी सबै मेला, जात्रामा एकथरीको धेरै खर्च हुन्छ भने व्यापारीले यथेष्ठ लाभ उठाउने गर्दछन् । गरिब परिवारलाई यी मेला पर्वमा खर्च धान्न धौधौ हुने गरेको छ । डोल्पा र जाजरकोटका निम्न आर्थिक अवस्था भएका स्थानीयवासीहरुको सङ्ख्या ठूलो रहेको छ । बर्सेनि कमाइका लागि भारत जाने परिवारको सङ्ख्या अत्यधिक बढिरहेको पाइएको छ । आयआर्जनको गतिलो बाटो नदेखेपछि यहाँका सर्वसाधाणहरुले भारत नै आफ्नो कमाइ गर्ने उपयुक्त गन्तव्य बनाउँदै आएका छन् । दशैं तिहारका लागि भन्दै घर फर्कने सर्वसाधारणको सङ्ख्या धेरै हुन्छ । आगामी मङ्सिरमा हुने चुनावभन्दा अगावै उनीहरु फेरि कमाइका लागि भारत जाने बताएका छन् । नेता, कार्यकर्ताहरु गाउँगाउँमा भोट माग्नका लागि पुगे पनि भारबाट कमाइ गरेर फर्कनेहरुले हाम्रो लागि के हुन्छ भन्दै प्रश्न गर्न थालेका छन् । रासस
आइएमई लुटपाट गर्ने एक जना पक्राउ, तीन जनाको खोजी कार्य जारी
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नगद ६ लाख र सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो। फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन । अन्यको खोजी भइरहेको छ । लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी छ । तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ। लुटेराहरुले साढे ११ लाख र गरगहना लुटेर लिएको बुझिएको छ ।
सुनसान बन्यो काठमाडौं, सडक खाली
काठमाडौं । बडादशैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ । अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो । अघिपछि ट्राफिक व्यवस्थापनमा चाररपाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् । त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलङ्कीमा गाडी कुरेर बस्नुभएका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताए । उनले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गरे । सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्ला सोझ¥याइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ । “अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भने, “दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।” आजसम्म सुरक्षित यात्रा भएको छ । ठूला दुर्घटना निम्तिएका छैनन् । यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् । यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् । प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरु आज र भोलि उपत्यका छाड्ने बताए । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफट्ट पसल खुलेका छन् । आइतबार एक लाख ५६ हजारले राजधानी छाडे ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । आइतबार एक लाख ५६ हजार यात्रुले राजधानी छाडेको पाइएको छ । त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ । यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो । प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधानमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए । असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए । त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ । यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए । त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए । यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । रासस
राष्ट्रपतिको हातबाट टिका लगाउने सोचमा हुनुहुन्छ ? यस्तो छ समयतालिका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।