विकासन्युज

दशैं लगत्तै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ ? यस्तो छ तीन दिनकाे मौसम पूर्वानुमान

काठमाडौं । दशैं मनाए लगत्तै धेरै मानिसहरुले आ–आफ्नो गन्तब्यमा पुग्नु पर्ने हुन्छ । कतिपय घुम्न जान्छन् भने कतिपय काममा फर्किन्छन् । टाढाको यात्रा गर्दा मौसमलाई पनि अवश्य नै ध्यान दिनु पर्छ । अहिले पनि  देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मती प्रदेशका केही तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश २ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तो छ आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान: २०७९ असोज १९ गते  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। २०७९ असोज २० गते  प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको एक९दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। २०७९ असोज २१ गते  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक९दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडादशैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दशैंले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । दशैंले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् । प्रकृतिको सुन्दर छटामुनि रहेका हामी नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको बताएका छन् । नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपति पुनले दशैं, तिहार, नेपाल संवत् र छठजस्ता महत्वपूर्ण चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आग्रह गरेका छन् । “दशैंले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न ऊर्जा प्रदान गरोस्”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।”

दशैंमा पनि आएन भत्ता

बागलुङ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैंमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् । “मेरो त दशैं खर्च नै त्यही भत्ता हो तर आएन”, जैमिनी नगरपालिका वडा नं १ का ९० वर्षीय मणिरत्न पाध्याले भने, “बर्सेनि यस्तै गर्छन्, दशैंमा सधैँ हात खाली हुन्छ ।” पाध्या परिवारको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनीहरु दम्पत्तिनै वृद्ध हुनुहुन्छ भने एक मात्रै छोरा बाबुराम अपाङ्गता भएको व्यक्ति छन् । ज्याला मजदुरी गरेर खाने अवस्था परिवारका कसैको पनि छैन । जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भए पनि दसैँ बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । यहाँका अन्य स्थानीय तहले पनि दसैँ बिदाभन्दा एक दिन पहिला मात्रै कर्मचारीको तलब भत्ता बैंक खातामा जम्मा गरेका थिए । बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भए पनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा पैसा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो । बागलुङको काठेखोला गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । समयमा भत्ता नपाएकाले ज्येष्ठ नागरीकको दशैं खल्लो भएको छ । भत्ता आउँछ भनेर आशा गरेका ज्येष्ठ नागरिक अहिले ऋण खोजेर दसैँ मनाउन लागेको बताउँछन् ।

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन्– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् । विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित छन् । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उनी भन्छन्, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।” बाख्रा पालनमा लाग्ने किसान खसीबोका बेचेरै दशैं तिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । दशैं तिहारको समयमा खसीबोकाको कारोबार बढी हुने भए पनि केही वर्षयता कारोबार घटेको मानसिंह बताउँछन् । “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलतोल बढी गर्छन्, मोल नै पाउँदैनौँ ।” उनको गुनासो छ । दशैं–तिहारलगायत वर्ष भरीको खर्च जुटाउन डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन् । पर्शुराम नगरपालिका–८ स्थित जमरानी, कुरेनी, गत्तेगडा, सानखोलाका किसान खसी बोका बेच्न दुई दिनको बाटो हिँडेर महेन्द्रनगर पुगेका छन् । दशैं खर्च जोहो गर्न मलासबाट तराई झरेका किसान यस वर्ष भने खसीबोका बिक्री नहुँदा निराश वनेका छन् । चवन्नवटा खसीबोका लिएर मलासबाट महेन्द्रनगर झरेका कुरेनीका गोरे धामी आउने ग्राहकलाई खसी बोका देखाइरहेका छन् तर मूल्य सोधेर ग्राहक खसीबोका नकिनेरै फर्किरहेका उनको गुनासो छ । “थोरै मात्र बिक्री भएका छन्, बिक्री नहुँदा त्यसै घर फर्काउने पर्ने अवस्था छ”, उनी भन्छन्, “कोरोना पछि खसी बोका बिक्री नै भइरहेका छैनन्, चाररपाँच वर्ष अगाडिसम्म ल्याएका सबै खसी बोका बिक्री हुन्थ्यो, त्यसले वर्षभरिको खर्च धानेको थियो ।” गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसी बोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको अर्का किसान जीतबहादुर धामी बताउँछन् । “खसी बोका केही हामीले पालेका छौँ, केही उधारोमा बिक्री गरेपछि दिने गरेर गाउँलेहरूबाट सङ्कलन गरेर ल्याएका छौँ”, उनी भन्छन्, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ, बिक्री नहुँदा ऋण काढेर पनि गाउँलेको पैसा तिर्नुपर्छ ।” भारतबाट आयात हुने खसी बोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको उनको भनाइ छ । “भारतबाट सहजै आउने हुनाले त्यस्ता खसी बोकाले बजार बिगारेको छ, चाडबाडले धेरै यताउता गएकाले पनि यसपटक बिक्री हुन सकेन ।” धामी भन्छन् । महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको मलासबाट झरेका किसानहरूको गुनासो छ । “अहिले भिनपा–४ को वडा कार्यालयमा आश्रय लिएर बसेका छौँ, बस्ने र खसी बोका राख्ने ठाउँ छैन”, करे धामी भन्छन्, “त्यसले समस्या छ, ठाउँ उपलब्ध गराए त्यस बापतको पैसा तिर्न पनि तयार थियौँ ।” रासस

विजया दशमीको टिका लगाउने शुभ साइत बिहान ११:५१ मिनेटमा, पश्चिम दिशा फर्केर ग्रहण गर्नुपर्ने

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, उनले भने। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ । लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

एजेन्सी । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो । क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरु सम्मानित हुने भएका हुन् । उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लङ्घन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत् सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । क्वान्टम कम्प्युटर, नेटवर्क र सुरक्षित इन्क्रिप्टेड सञ्चारका लागि मार्ग प्रशस्त गर्ने क्वान्टम मेकानिक्सको क्षेत्रमा भएका खोजका लागि उनीहरू पुरस्कृत भएका हुन् । खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि एउटै इकाईको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ । प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कणहरू अलग हुँदा पनि एउटै एकाइ जस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ । “खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रबिधिको लागि मार्ग प्रशस्त गरेको छ । भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकले भने, ‘नयाँ प्रकारको क्वान्टम प्रबिधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ ।’ ‘क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो’, भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भने। उनले थपे, ‘यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रभावहरू छन् ।’ फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन्। अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन् । त्यसैगरी ७७ वर्षका एन्टोन साइलिङ्गर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन् । यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए ।

टिमुरे खोलामा उत्कृष्ट बन्यो रेन्बो ट्राउट माछापालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ । कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन् । दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमूना माछापालन बनेको हो । टिमुरेखोला नजिकै बनाइएको पोखरीमा पाँच हजार माछाका भुरा हुर्किएपछि उत्साहित युवाहरू थप पोखरी निर्माणमा जुटेका छन् । विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताउनुभयो । ‘माछाका अण्डा ल्याएर व्यवसाय सुरु गरेका थियौँ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दैछौँ’, उनले भने । उनले दूधजस्तै सङ्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिए । खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा व्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना युवा उत्साहित छन् । अहिले पोखरीमा दुई सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । सामान्य तालिम लिएर सुरु गरेको माछापालनलाई थप व्यवस्थित बनाउन युट्युब, विभिन्न जानकारीमूलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का युवा पूर्णबहादुरले बताए। ‘माछापालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन, दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ’, उनले भने। हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि दुई वर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछाको विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजनासमेत बनाएको व्यवसायी पूर्णबहादुरले जानकारी दिए। उनले माछापालन, रेष्टुरेन्टसहित अन्य कृषिजन्य उत्पादनको सोचसमेत बनाएका छन् । हालसम्म सात लाख लगानी भएको छ भने थप २० लाख लगानी थप्ने योजना रहेको उनले बताए। ट्राउट माछा लोकप्रिय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादिलो, बीचबाहेक काँडा नहुने र प्रोटिनयुक्त पोषिलो माछाका रूपमा ट्राउटलाई लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ । यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछापालन सफल भएपछि अन्य युवाहरुलाई समेत व्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका युवा सङ्गम पुनमगरले बताए। यता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाको रूपमा लिने गरिएको बताए । उनले चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने भएकाले सम्भावना भएका क्षेत्रका युवाहरुलाई तालिम दिने गरिएको बताए। रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ । उक्त हावापानी खहरेखोला र बाह्रै महिना चिसो भएको क्षेत्रमा रहेको उनले बताए। रेन्बो ट्राउट माछा प्रतिकेजी रु एक हजार दुई सयमा पोखरीबाटै बिक्री हुन्छ ।

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

फाइल फाेटाे उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए।