विकासन्युज

सिटिजन्स बैंकका सीईओ पोखरेलले बुझे पौने २ करोड पारिश्रमिक, अन्य पदाधिकारीको कति ?

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले वार्षिक पौने २ करोड रुपैयाँ बराबरको पारिश्रमीक बुझेका छन् । बैंकले सार्वजनिक गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार सीईओ पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ कूल पारिश्रमीक बुझेका हुन् । उनले आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत ८४ लाख रुपैयाँ, भत्ता वापत ६० लाख रुपैयाँ, दशैंभत्ता वापत ९ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानल वापत ८ लाख ४० हजार रुपैयाँ, विदा वापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य २ लाख १४ हजार १०९ रुपैयाँ गरी कूल १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बराबर पारिश्रमीक तथा भत्ता बुझेका हुन् । सीईओ पोखरेलको खुद पारिश्रमीक तथा भत्ता ९४ लाख ३८ हजार ९२० रुपैयाँ रहेको छ । यस्तै, बैंकले अन्य पदाधिकारीलाई आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत १ करोड ३४ लाख ८२० रुपैयाँ, भत्ता वापत १ करोड १९ लाख ४३ हजार ८०५ रुपैयाँ, दशैंभत्ता वापत १८ लाख १३ हजार १३५ रुपैयाँ, सञ्चयकोष योगदानल वापत १३ लाख ३१ हजार ३९४ रुपैयाँ, विदा वापतको भुक्तानी १९ लाख ६४ हजार ३ रुपैयाँ र अन्य २१ लाख ३४ हजार ६५६ रुपैयाँ गरी कूल ३ करोड २५ लाख ८७ हजार ८१३ रुपैयाँ बराबर पारिश्रमीक तथा भत्ता बुझेका हुन् । यस्तै, बैंकले सञ्चालक समितिलाई बैठक भत्ता वापत २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, सञ्चालकहरुलाई टेलिफोन तथा मोबाइल खर्च १ लाख ६८ हजार रुपैयाँ, इन्धन खर्च ४ लाख ७६ हजार ९९४ रुपैयाँ र पत्रपत्रिका वापत २ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरिएको छ ।

नुवाकोटमा छ पदका लागि ६६ जनाको मनोनयन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि नुवाकोटका प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको लागि कूल ६६ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ को प्रदेश–१ तर्फ सातजना र प्रदेश–२तर्फ दश जनाले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् । अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरेर कूल १८ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए । सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ र नेकपा (एमाले)का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं १ को प्रदेश–१ तर्फ सात उम्मेदवारले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराइले जानकारी दिए । उनका अनुसार सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेशसभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङलाई उठाएको छ । नेकपा (एमाले)ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पाटी प्रवेश गर्नुभएका सुशील खड्कालाई उम्मेदवार बनाएको छ । नुवाकोटको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएकामा सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ भने नेकपा (एमाले)ले नारायणप्रसाद खतिवडालाई उठाएको छ । रासस

कालिकोटमा मलामी गएका १३ जना पहिराेमा हराएको पुष्टि

फाइल फाेटाे काठमाडौं । कालीकोटको तिलागुफामा मलामी गएका १३ जना हराएको पुष्टि भएको छ । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यलय कालिकोटले मलामी गएका १३ जना हराएको पुष्टि गरेको हो । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु गएका थिए ।

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

अतरिया । वडादशैंको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेकोे उनले बताए । रासस

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर जारी गर्ने, चुक्ता पुँजी ६१ करोड नाघ्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्सले सेयरधनीलाई ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । असोज ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १ बराबर ०.३५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ छ । ३५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्ने छ । प्रस्तावित ३५ प्रतिशत हकप्रद सेयर संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

कता हराए पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा ?

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रका रुपमा चिन्ने धेरै छन् । डा. खतिवडामा शक्तिकेन्द्रलाई प्रभावित पार्न सक्ने खुबी र क्षमता भएको व्यक्तिका रुपमा पनि धेरैले चिन्छन् । त्यसैले पनि उनले धेरै संघर्ष गर्नु पर्दैन । संघर्ष यस मानेमा कि उनले अन्यको जस्तो फिल्डमा मरिमेटी काम गर्नु पर्दैन । उनले चाहेको काम वा पद पाउनकै लागि सम्बन्धित निकाय वा व्यक्तिलाई मोहनी लगाउन सक्ने उनमा क्षमता रहेको उनी निकटहरु बताउँछन् । माथिका विषयकाे पुष्टि उनले पाएको पद र संघर्षको तुलना गर्दा पनि प्रष्ट पार्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थमन्त्री हुनुले पनि उनको शक्तिकेन्द्रलाई प्रभावित फार्न सक्ने खुवी प्रष्ट हुन्छ । उनको राजनीतिक यात्रा त्यति धेरै लामो छैन । तर, उनले संघर्ष र राजनीतिक हानथापविनै अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय हाँक्ने सुवर्ण अवसर पाए । वि.स. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ती गरेको थियो । योजना आयोगको उपाध्यक्षको भूमिका निर्वाह गर्दागर्दै खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर बने । गभर्नरको पदावधी सकिएको केही समयपछि नै खतिवडालाई ०७२ सालमा ओली नेतृत्वको सरकारले पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायो । बामगठबन्धनको तर्फबाट ओलीको नेतृत्वमा सरकार बनेपछि तिनै खतिवडालाई पहिला अर्थमन्त्रीमा नियुक्ति गरेर पछि राष्ट्रपतिमार्फत् राष्ट्रिय सभा सदस्यको सपथ ग्रहण गराइयो । राजनीतिक पृष्ठभूमी नभएको व्यक्ति नेपाल सरकारको अर्थमन्त्री भएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी भित्र एक किसिमको मतभेद पनि सिर्जना भएको थियो । तर, उनी ओलीले रुचाइएको पात्र भएकै कारण पदमा टिकिरहे । पछि संवैधानिक रुपमा अर्थमन्त्रीमा रहिरहन नसक्ने अवस्था भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाए । त्यसलगत्तै उनलाई फेरि अमेरिकाको राजदुत बनाए । नेपाल सरकारको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री भई ७औं मर्यादा क्रममा रहेर काम गरिसकेका खतिवडा १२ औं मर्यादा क्रमको राजदूूतमा सिफारिस हुँदा धेरैले आश्चर्य मात्र मानेन् डा. खतिवडा पदकै लागि जे र जस्तो पनि गर्न सक्ने रहेछन् भन्ने स्वयम् उनैले पुष्टि गरे । हुनत त्यस अघि पनि उनी पदकै लागि कुनै मर्यादा क्रम नहेर्ने व्यक्तिका रुपमा परिचित भइसकेका थिए । नेपाल सरकारको अर्थमन्त्रीबाट बाहिरिएको १० दिनमै उनी मन्त्रीसरहको सेवा र सुविधा पाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहाकार नियुक्त हुँदा मात्र होइन ८ औं मर्यादा क्रममा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेकोे व्यक्ति नेपाल राष्ट्रबैंकको ११ औं मर्यादा क्रममा नियुक्त भएर काम गर्नुले पनि उनी पदकै लागि कतिसम्म गर्छन् भन्ने कूरा पनि विगतका विभिन्न घटना क्रमहरूले पनि उनलाई प्रष्ट्याइसकेको थियो । अर्थमन्त्रीबाट राजीनामा दिएको २७ दिनपछि उनी फेरि अमेरिकाकोे राजदुुतमा सिफारिस भए । जुन नेपाल सरकारको मर्यादाक्रममा १२औं नम्बरमा पर्छ । जुन उनी नेतृतवमा रहेको मर्यादा क्रमको हालसम्मको तलको मर्यादाक्रम हो । अध्यक्ष ओलीका विश्वासपात्र हुनु नै खतिवडाका लागि एकपछि अर्को महत्वपूर्ण पद सुरक्षित हुने आधार भएको धेरैको बुझाइ छ । अहिले देश चुनावी माहोलमा होमिएको छ । नेताहरु जनताको घरदैलोमा व्यस्त छन् । जित आफ्नो पक्षमा पार्नका लागि नेताहरुले आफ्नो एजेण्डा लिएर जनतामाझ जान थालिसकेका छन् । तर, अर्थमन्त्री समेत भइसकेका एमालेका नेता डा.खतिवडा अहिले गुपचुप छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकमा सिट बाँडफाँड पनि गरिसकेको छ । एमालेमा कतिपय चर्चित अनुहारले पनि टिकट पाएका छैनन् भने कतिपय समानुपातिकमा परेका छन् । तर, पूर्व अर्थमन्त्री खतिवडाको नाम न प्रत्यक्षमा नत समानुपातिकमा । निर्वाचनमा आम जनतामा जाने, चुनौती मोल्ने र संघर्ष गर्ने विषय बिना नै लाभको पद पाउने शुनिश्चित भएपछि खतिवडाले उम्मेद्वारीको रुपमा आफूलाई अगाडि बढाउन नखोजेको एमाले स्रोत बताउँछ । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० जनाको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ । त्यस्तै एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३९ स्थानमा उम्मेद्वारी दिएको छ । लामो समयदेखि राज्यको विभिन्न निकायको उच्च तहमा एमालेको तर्फबाट नियुक्ति भएर लाभ लिँदै आएका खतिवडा आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुन चाहेनन् वा उनलाई एमालेले उम्मेद्वार बनाएन ? उनी न कुनै नेताको उम्मेदवारी दर्तामा देखिएका छन् नत कुनै जनताको घरदैलोमा व्यस्त देखिन्छन् । आखिर कता हराए डा. युवराज खतिवडा ?

ग्यापुलाई बिजी होल्डिङले अक्वायर गर्यो, सुजनी केसी बने डेपुटी सीइओ

काठमाडौं । लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सीइओ ज्ञानेन्द्र खड्काले राजीनामा दिएका छन् । यस्तै, बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सीइओको रुपमा नियुक्त गरेको छ । ग्यापुले अहिले नेपालभरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्याइरहेको छ । ग्यापुले अहिले दशैंलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् । ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ । हाल ग्यापुमा हजारबढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एपमार्फत ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजार भन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।

९ कम्पनीको लाभांश घोषणा, यी ३ कम्पनीका सेयरधनीले तिहार अघि पाउने

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ९ वटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म कुमारी बैंक, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), अरुण काबेली पावर, रु रु जलविद्युत परियोजना, नेपाल ल्युब आयल निगम, बोटलर्स नेपाल बालाजु र तराइ र सानिमा माई हाइड्रोपावर कम्पनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । जसमध्ये विभिन्न ३ कम्पनीले तिहारअघि नै आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छन् । नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजनाले तिहारअघि नै सेयरधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । यी कम्पनीहरुले तिहार अघि नै वार्षिक साधारण सभा बोलाएका छन् । यसपटक तिहार कात्तिक १० गते परेको छ । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ता गरेको हो । बैंकले बोनस सेयर वितरण नगर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । साथै बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाल बिहान ११ बजे काठमाडौंमा हुनेछ । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत गरी सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यी तीन वटै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यस्तै, अरुण काबेली पावर कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, रु रु जलविद्युत परियोजनाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले लाभांश पारित गर्न कार्तिक ४ गते १७ औँ वार्षिक साभारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । यस्तै, नेपाल ल्युब आयल निगमको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित असोज २८ गते ३१ औं वार्षिक साधारण सभा आह्वान गरिसकेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यस्तै, बोटलर्स नेपाल (बालाजु) को सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, बोटलर्स नेपाल (तराई) को सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् । यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ११ औं वार्षिक साधारण सभा कार्तिक २ गते बोलाएको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरिसकेको छ । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।