चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो
default साङ्घाइ । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतबार सार्वजनिक गरेको हो । साङ्घाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरु मध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । किर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ राखिएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ । औसत रुखको उचाई भने दुई हजार ८०० रहेको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गत मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इस्ष्टीच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरीको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गत अगस्टमा पुष्टि गरिएको थियो । सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।
भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन
लखनउ । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनलाई उपचार गरिएको थियो । उनकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिएका हुन् । समाजवादी पार्टीको स्थापना स्वर्गिय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए । झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नु भएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उनी सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनु परेको थियो । उनलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो । उनले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिनु भएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्दथे ।भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बन्नु भयो भने एक पटक केन्द्रीय मन्त्री समेत भएका थिए । आम निर्वानचनबाट उहाँ १० पटक निर्वाचित भएका थिए । ती मध्ये सात पटक लोक सभा सदस्य बन्नु भएको थियो । उनी पहिलो पटक सन् १९६७ मा २८ बर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो । रासस
पूर्व प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म चुनावी रिङ्गबाट आउट, यी हुन् जित्ने पक्का भएर पनि ब्याक हुने हस्ती
काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन् । निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् । नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रुपमा देखिएनन् । यसैगरी नेकपा (एमाले) नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल(पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवारका रुपमा देखिएनन् । निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन् । निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई सय ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई सय ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् । यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
राष्ट्रपतिबाट स्वीकृत बीमा ऐन ३१ दिनपछि मात्रै लागू हुने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको ‘बीमा ऐन २०७९’ ३१ दिनपछि लागू हुने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त ऐन स्वीकृत भएको ३१ दिनपछि मात्रै लागू हुने बताएका हुन् । ‘ऐन स्वीकृत भयो, अब ३१ दिनपछि लागू हुन्छ,’ उनले थपे- ‘यो ऐन अन्तर्गत नियमावली बन्न बाँकी छ, बनेपछि कार्यान्वयनमा आउँछ ।’ प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपति भण्डारीसमक्ष पेश भएका विभिन्न तीन विधेयक एकैदिन प्रमाणिकरण भएका छन् । राष्ट्रपति भण्डारीले असोज २३ गते मात्रै बीमा विद्येयकसहित अन्य तीन विधेयक प्रमाणिकरण गरेकी हुन् । यससँगै राष्ट्रपतिबाट स्वीकृत बीमा ऐनले अधिकांश विषय समेटेको समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘ऐनले गरेको निर्देशन ऐन अन्तर्गत नै हुने छ । र, तोकिए बमोजिम भनिएका व्यवस्थाहरु नियमावलीले ताकिदिन्छ र सोही अनुसार कार्यान्वयनमा आउने छ,’ उनले भने । यो ऐन लागू भएपछि बीमा समिति रहँदैन र बीमा कम्पनीको नियामक निकायको रुपमा बीमा प्राधिकरण स्थापना हुने छ । जसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भित्रै हुने छ र प्राधिकरणले नेपालभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्ने छ । साथै, यो ऐन नेपाल राज्यभर र बीमकले नेपाल बाहिर जुनसकै ठाउँमा खोलेको शाखा कार्यालयको हकमा समेत लागू हुने छ । यता बीमा विज्ञहरुले पनि बीमा ऐन लागू भएपछि बीमा प्राधिकरणको क्षेत्राधिकार फराकिलो भई प्राधिकरणलाई थप जिम्मेवार बनाउने बताउँछन् । साथै, एक पूर्ण रुपको बीमा बजारमा अनिवार्य रुपमा हुनुपर्ने कतिपय अवयवहरुको अभाव पूर्ति यस ऐनद्धारा हुने बीमा विज्ञ डा. रवीन्द्र घिमिरे बताउँछन् । साथै, प्राधिकरणले बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नका लागि अधिकार प्राप्त गरेको छ । बीमा सूचना केन्द्रको स्थापना, बीमामा हुने ठगी र जालसाजीको न्यूनिकरणका लागि संस्थागत संरचना बनाउन सक्नेछ । बीमित हितकोष स्थापना गर्न सक्नेछ । त्यस्तै, यसले तेश्रो पक्ष सहजीकरणको लाइसेन्स दिन सक्नेछ र ब्रोकिङ्ग पेशालाई व्यवस्थित बनाउन मार्ग प्रशस्त गरेको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष समेत रहेका डा. घिमिरेको भनाई छ । नयाँ बीमा ऐन लागू भएपछि धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ । बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ । सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन ।
खसी बिक्री नहुँदा बाँकेका किसान निराश
राँझा । दशैंमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दशैं र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिइन् । उनका अनुसार, यो वर्षको दशैंमा खसीको माग कम भएका कारण बिक्री नहुँदा ग्रामीण क्षेत्रका किसान महिला निराश भएका छन् । बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौंलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आएको छ । विगतमा काठमाडौंका व्यापारीसँग मिलेर खसी काठमाडौं पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएका कारण खसी बिक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घका व्यवस्थापक नवीन साहुले जानकारी दिए । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको साहुको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिए । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । सङ्घमा १७ सामाजिक उद्यमी महिला सहकारी संस्था आवद्ध रहेका छन् । यी सहकारी संस्थामा बाँकेमा मात्रै करिब १४ हजार महिला आवद्ध रहेको महिलाको क्षेत्रमा काम गर्दै आएको महिला उपकार मञ्चकी पूर्व अध्यक्ष बिजुला अधिकारीले बताइन् । रासस
मुगुमा पहिरोले तीनको मृत्यु, आठ बेपत्ता
मुगु । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यस्तै वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन् । यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ । साथै पहिरोको उच्च जोखिम रहेकाले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित भएका छन् ।
असार मसान्तसम्मको लाइसेन्स र ब्लुबुक लिन रामशाहपथ जानुपर्ने
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउन अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले २०७८-७९ सम्म खिचिएका सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्र रामशाहपथमा लिन आउनु अनुरोध गरेको हो । २०७८-०७९ सम्म खिचिएका कागजपत्र असोज ३१ गते भित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएकाले यस्ताे अनुराेध गरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएकाे छ ।
हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ : ऊर्जामन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन् । ‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’, मन्त्री भुसालले भने, ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’ हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको बताउँदै उनले विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गरिन् । मन्त्री भुसालले हाइड्रोजन ऊर्जाका विषयमा नेपाल छिट्टै नीति निर्माण गरी अगाडि बढ्ने जानकारी गरिन् । जलस्रोतलाई जलविद्युत्मा परिणत गर्ने र जलविद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन हुने उनको भनाइ थियो । मन्त्री भुसाले ऊर्जाको स्रोतका रुपमा जलविद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् । सो लक्ष्य पूरा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको उनले जानकारी गराइन् । मन्त्री भुसाले भनिन्, ‘हाइड्रोजन ऊर्जाको विकासका लागि कार्य अगाडि बढाउन मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियोको ग्लोबल ग्रीन ग्रोथ इन्टिच्युटबीच समझदारी भइसकेको छ ।’ उनले सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने तथा सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि सरकारले कृषि, पर्यटन, औद्योगिक क्षेत्रसहित जलविद्युत् आयोजनाको तिव्रतर विकासमा जोड दिएको बताइन् । मन्त्री भुसालले भनिन्, ‘सरकार औद्योगिकीकरण, विद्युतीय यातायात सञ्चालन, लिफ्टमार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्री प्रयोग गरी सक्षम, सबल, उन्नत राष्ट्र बनाउन कार्ययोजनासहित लागेको छ ।’ सम्मेलन दुई दिनसम्म चल्नेछ । रासस