बुद्ध एयर : पब्लिक कम्पनीमा नजाने, ३ जहाज थपेर आक्रामक बन्ने
काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने बताएका छन् । सोमबार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा जाँदैन, फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता छैन,’ उनले भने । यद्यपि, उनले २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताए । बस्नेतले बुद्ध एयरकाे छिट्टै ३ एटीआर जहाज थप गर्ने योजना रहेको जानकारी दिएका छन् । यस्तै, उनले हवाई भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताएका छन् । राज्यले तोकेको हवाई भाडा भन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताउँदै उनले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताए । नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर सोमबार स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।
कर्णालीको बाढीले ८०० भन्दा बढी परिवार डुबानमा
बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । रासस
चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा विशेष छुट, यस्तो छ नयाँ मूल्य
काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा छुट दिने भएकाे छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा उपभोक्ताहरुको लागि कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउने बताए । ‘आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ,’ उनले भने । यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १ हजार, शाओमी १२ सिरिजमा ३ हजार र भर्खरै लन्च गरिएको पाकाे एमफाइभमा ५०० रुपैयाँसम्मकाे कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुने कम्पनीले जनाएकाे छ ।
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले राससलाई जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उनीमा डेङ्गु पुष्टि भई उपचार भइरहेकामा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो । भर्ना भएको सात दिनमा जोशीको स्वास्थ्य सुधार आएको थियो । कमजोरीका कारण उनी अस्पतालमै बसेर उपचार गराइरहेका थिए । १०औँ दिनमा उनले कम खाना खान थालेका थिए । जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आइतबारदेखि नै दैनिकरुपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । एक सय तीन वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । रासस
चितवनका दुई सय तीस जनामा स्क्रब टाईफस
चितवन । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमितमध्ये एक सय आठजना चितवनका रहेका छन् । यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना सङ्क्रमित भेटिएको केसीले जानकारी दिए । अन्य जिल्ला बाहिरका रहेका छन् । गत आर्थिक वर्षमा तीन हजार दुई सय ८६ जनाको परीक्षणका क्रममा दुई सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्ष्यण देखिने गर्दछ । यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए । यस्तै जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये एक हजर एक सय ५५ जनामा डेँङगु रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये सात सय ९९ जना चितवनका रहेका छन् । एक सय ७७ जनाको ठेगाना पहिचान नभएको र दुई सय ९९ जना जिल्ला बाहिरका रहेका छन् । डेँगुका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ । साउन यता ५ हजार ६५५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेँङगु देखिएको हो । रासस
चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो
default साङ्घाइ । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतबार सार्वजनिक गरेको हो । साङ्घाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरु मध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । किर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ राखिएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ । औसत रुखको उचाई भने दुई हजार ८०० रहेको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गत मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इस्ष्टीच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरीको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गत अगस्टमा पुष्टि गरिएको थियो । सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।
भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन
लखनउ । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनलाई उपचार गरिएको थियो । उनकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिएका हुन् । समाजवादी पार्टीको स्थापना स्वर्गिय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए । झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नु भएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उनी सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनु परेको थियो । उनलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो । उनले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिनु भएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्दथे ।भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बन्नु भयो भने एक पटक केन्द्रीय मन्त्री समेत भएका थिए । आम निर्वानचनबाट उहाँ १० पटक निर्वाचित भएका थिए । ती मध्ये सात पटक लोक सभा सदस्य बन्नु भएको थियो । उनी पहिलो पटक सन् १९६७ मा २८ बर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो । रासस
पूर्व प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म चुनावी रिङ्गबाट आउट, यी हुन् जित्ने पक्का भएर पनि ब्याक हुने हस्ती
काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन् । निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् । नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रुपमा देखिएनन् । यसैगरी नेकपा (एमाले) नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल(पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवारका रुपमा देखिएनन् । निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन् । निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई सय ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई सय ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् । यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।