विकासन्युज

डिजिटल मुद्रा ई-रुपी ल्याउने भारतको तयारी

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) ले डिजिटल करेन्सी अर्थात् मुद्रामा ब्लकचेन प्रविधिको प्रयोग गर्ने सम्भावना छ। केही समयअघि आरबीआईले विशेष प्रायोजनका लागी ई रुपी अथवा सीबीडीसी (सेन्ट्रल बैंक डिजिटल करेन्सी) सुरु गर्ने सङ्केत दिएको थियो। यो खुद्रा र होलसेल कारोबारका लागि प्रयोग हुनेछ। ई-रुपीले भारतमा कारोबारको प्रणालीलाई नयाँ उचाइ दिने ठानिएको छ। सर्वसाधारण र व्यापारीले धेरै प्रकारले डिजिटल मुद्राको प्रयोग गर्न सक्ने ठानिएको छ। आरबीआईको योजना के हो ? आरबीआईले सीबीडीसी अर्थात् सेन्ट्रल ब्याङ्क डिजिटल मुद्रा लेनदेनका लागि जोखिममुक्त भर्चुअल मुद्रा हुने बताएको छ। सीबीडीसीका दुई उद्देश्य छन्, पहिलो डिजिटल मुद्रा तयार गर्ने र दोस्रो कुनै बाधा बिना यसको शुरुवात गर्ने। आरबीआईका अनुसार सीबीडीसीको अफलाइन मोड पनि विकास हुनुपर्छ, जसबाट डिजिटल रुपैयाँको प्रयोग गरी कारोबार गर्न सकियोस्। त्यस्तो भए धेरै मानिसहरूले डिजिटल मुद्राको प्रयोग गर्नेछन् । यो कागजको रुपैँया समान हो, जसको आफ्नै महत्त्व हुन्छ। डिजिटल मुद्राको भौतिक मुद्राकै इलेक्ट्रोनिक रूप हो। डिजिटल मुद्राको मूल्य हाल प्रयोग भइरहेको मुद्राकै बराबर हुनेछ र यो सहज रुपमा स्वीकार्य हुने बताइएको छ। आरबीआई डिजिटल मुद्रा किन सुरु गर्न चाहन्छ ? आरबीआईको अवधारणापत्र अनुसार आरबीआई देशमा भएको भौतिक मुद्राको व्यवस्थापनमा हुने खर्च कम गर्न चाहन्छ। अर्थात्, नोट छाप्ने, परिचालित गर्ने र वितरण गर्नमा लाग्ने खर्च कम गर्न चाहन्छ। यसले कारोबार गर्ने प्रणालीको कार्यक्षमता बढाउन र यसमा नयाँ प्रविधिको प्रयोग गर्न सक्नेछ। यसबाट अन्तर्राष्ट्रिय कारोबारका लागि नयाँ तरिका अपनाउन सकिनेछ। डिजिटल मुद्रा यस्तो भर्चुअल मुद्रा हुनेछ, जुन कुनै पनि किसिमको जोखिमबाट मुक्त हुनेछ र मानिसहरू पूरा भरोसाका साथ यसको प्रयोग गर्न सक्नेछन् । डिजिटल मुद्राले अफलाइन सुविधाका कारण बिजुली र मोबाइल नेटवर्क नभएको ठाउँमा पनि काम गर्नेछ। कस्तो हुनेछ डिजिटल मुद्रा ? आरबीआईका अनुसार डिजिटल मुद्रा दुई किसिमका हुनेछन्। पहिलो टोकनमा आधारित र दोस्रो अकाउन्टमा आधारित। टोकनमा आधारित डिजिटल मुद्रा बैंक नोट जस्तै वाहकले प्रयोग गर्न सक्ने हुनेछ। यसको मतलब जोसँग टोकन छ, उ यसको मूल्यको हकदार हुनेछ। टोकनमा आधारित डिजिटल मुद्राको प्रयोगकर्ता टोकन हुने व्यक्तिले उक्त टोकनमा उसको स्वामित्व रहेको पुष्टि गर्नुपर्ने हुन्छ। अकाउन्टमा आधारित प्रणालीमा डिजिटल मुद्रा हुने व्यक्तिले ब्यालेन्स र लेनदेनको रेकर्ड राख्नु पर्ने हुन्छ। त्यसैले ई रुपी भारतीय मुद्राको डिजिटल संस्करण हुनेछ। आरबीआईले यसको दुईवटा संस्करण जारी गर्नेछ। विभिन्न बैंकहरुबीच हुने कारोबारका लागि होलसेल संस्करण र आम मानिसका लागि ुरिटेलु अर्थात् खुद्रा संस्करण। आरबीआईको अप्रत्यक्ष प्रणालीका अनुसार डिजिटल मुद्रा एउटा यस्तो वालेटमा हुनेछ जुन कुनै ब्याङ्क वा सेवा प्रदायकसँग जोडिएको हुनेछ। के ई-रुपी क्रिप्टोकरेन्सी हो ? क्रिप्टोकरेन्सीमा जुन प्रविधिको प्रयोग गरिएको हुन्छ, त्यही प्रविधि डिजिटल रूपीमा प्रयोग गर्न सकिन्छ तर आरबीआईले अहिलेसम्म यसको प्रयोग हुने वा नहुनेबारे केही बताएको छैन। बिटकोइन वा इथिरिअम निजी क्रिप्टोकरेन्सी हुन्। तर ई-रूपी आरबीआईको नियन्त्रणमा हुनेछ। ई-रुपीलाई बिटकोइन जसरी माइनिङ गर्न सकिँदैन। यसको अर्थ अत्यधिक ऊर्जा प्रयोग र वातावरणीय क्षतिका लागि बिटकोइन जसरी आलोचित भइरहेको छ, ई-रुपी त्यस्तो आलोचनाबाट बच्ने छ। यसलाई कसले जारी गर्नेछ र यो कसरी वितरण हुनेछ ? आरबीआइले ई(रूपी जारी गर्नेछ तर वाणिज्य बैंकहरूले यसलाई वितरण गर्नेछन्। डिजिटल मुद्राको खुद्रा रुप टोकनमा आधारित हुनेछ। ग्राहकले ई-मेल जस्तो लिङ्क पाउनेछन्, जसमा पासवर्डको प्रयोग गरी पैसा पठाउन सक्नेछन्। के ई-रुपीमा ब्याज पाइनेछ ? आरबीआईको कन्सेप्ट नोटका अनुसार ग्राहकहरूको वालेटमा राखिएको ई(रुपीमा ब्याज दिने पक्षमा छैन। किनकि यसले गर्दा मानिसहरू बैंकमा राखिएको पैसा निकालेर डिजिटल रूपीको रूपमा राख्ने छन्। जसका कारण बैंकहरु असफल हुने जोखिम बढ्नेछ। के ई-रुपी अरू डिजिटल कारोबारभन्दा राम्रो साबित हुनेछ ? यदि ग्राहकले सीबीडीसी प्लेटफर्म अर्थात् ई(रुपीको प्रयोग गर्छन् भने अन्तर(बैंक कारोबारको जरुरत पर्दैन। यसमा वास्तविक समय र कम लागतमा लेनदेन हुनेछ। यसबाट आयातकर्तालाई निकै फाइदा हुनेछ। उनीहरू कुनै मध्यस्थकर्ता बिना नै अमेरिकी निर्यातकर्तालाई वास्तविक समयमा डिजिटल डलरमार्फत भुक्तानी गर्न सक्षम हुनेछन्। आम मानिसलाई के फाइदा हुनेछ ? विदेशमा काम गर्ने र डिजिटल मुद्रामा तलब लिएर कम शुल्कमा आफ्ना आफन्त वा अन्य देशमा रहेकालाई पैसा पठाउन सकिनेछ। बाहिर पैसा पठाउँदा हुने खर्च आधाभन्दा कम हुने विश्वास गरिएको छ। कति वटा देशले डिजिटल मुद्रा ल्याउने तयारी गर्दै छन् ? वर्ल्ड इकोनोमिक फोरमले अट्लान्टिक काउन्सिल सेन्ट्रल मुद्रा ट्रयाकरलाई उद्धृत गर्दै १०० भन्दा बढी देशले सीबीडीसी ल्याउने योजना बनाएको जनाएको छ। अहिलेसम्म नाइजेरिया र जमाइका सहित १० देशले डिजिटल मुद्रा सुरु गरिसकेका छन्। चीनले २०२३ मा डिजिटल मुद्रा गर्ने बताएको छ। जी-२० समूहका १९ देश केन्द्रीय बैंकले डिजिटल मुद्रा सुरु गर्ने योजना बनाइरहेका छन्। डिजिटल मुद्रा कति सुरक्षित ? युरोपियन केन्द्रीय बैंकका अनुसार सेन्ट्रल बैंक डिजिटल मुद्रा जोखिममुक्त पैसा हो जसको सुरक्षा राज्यले दिने छ। चाडैँ नै युरोपियन युनियन आफ्ना २७ सदस्य देशहरूमा डिजिटल मुद्रा सुरु गर्दै छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले यदि उसले डिजिटल मुद्रा लन्च गरेमा यो मानिसहरूका लागि सबैभन्दा सुरक्षित मुद्रा हुने बताएको छ। यसमा कर्जा र तरलताको जोखिम नहुने बताइएको छ। बीबीसीबाट ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाए

एजेन्सी । सन् २०२२ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् । द रोयल स्वीडिस एकेडेमीले यो वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीलाई दिने निर्णय गरेको हो । अमेरिकी अर्थशास्त्री बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगले उक्त पुरस्कार प्राप्त गर्न सफल भएका छन् । बैंक र वित्तीय संकटको विषयमा अध्ययन गरेकोमा सो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।

देउवाको उम्मेदवारी विरुद्ध उजुरी, आयोगले भोलिसम्ममा निर्णय गर्ने

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाविरुद्ध उजुरी परेको हो । देउवाका प्रतिस्पर्धी कर्ण मल्लले जन्ममिति फरक परेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् । प्रतिनिधि सभा सदस्यमा डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ रहेकाे छ भने मतदाता नामावलीमा भने ३१ जेठ २००२ लेखिएको छ ।

मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

क्वालालमपुर । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको पनि जानकारी दिनु भएको छ । सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ । सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ ।’ देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उहाँले जोड दिनु भएको छ । निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । निर्वाचनबाट प्रतिनिधि सभाका दुई सय २२ सदस्य निर्वाचित हुनेछन् । यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई बर्षका लागि महाथिर मोहम्मद प्रधानन्त्री निर्वाचित भएका थिए । त्यसपछि मुह्यीद्धिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए । उनको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रिले सन् २०२१ को अगस्त २१ मा सपथ ग्रहण गरेका थिए । रासस

पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको बताएका छन् । आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न सङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् । विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्कटमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए । उनले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताए । अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताए । आफूले चालु आर्थिक वर्षको बजेटमा नै हाइड्रोजन र एमोनियाका बारेमा उल्लेख गरेको उनले जानकारी दिए । उनले कोइलाको स्थानमा ग्रीन हाइड्रोजनको प्रयोग गर्न सकिने र यसमा थप लगानी गर्दै काम प्रारम्भ गर्ने अवसर आएको स्पष्ट पारे । नेपालले अब विद्युत् बिक्री गर्नु नपर्ने बरु हाइड्रोजन र एमोनिया बनाएर बिक्री गर्न सकिने उनले उल्लेख गर्दै उनले यसमा लगानीको विस्तार, प्रविधिको खोज गर्ने बेला आएको बताए । पेट्रोलियम पदार्थको विकल्पका रुपमा मात्रै ग्रीन हाइड्रोजनलाई प्रयोग गर्न सकियो भने पनि ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने अर्थमन्त्रीको भनाइ छ । उनले समिटबाट प्राप्त हुने सुझावलाई सरकारले ग्रहण गर्ने र नीति निर्माणको तहमा समावेश गर्ने विश्वास दिलाए । उनले नेपालमा यससम्बन्धी कामको थालती गर्ने गरी काम अगाडि बढाउन आग्रह गर्दै त्यसका लागि सरकारको तर्फबाट विशेष सहयोग रहने बताए । विश्वभर नै ग्रीन हाइड्रोजनका बारेमा छलफल मात्रै शुरु नभई लगानी र ऊर्जाको वैकल्पिक स्रोतका रुपमा उपयोग हुन थालेको तथ्य पेश गर्दै उनले यसमा प्रक्रिया अगाडि बढाउन ढिला भइसकेको उल्लेख गरे । उनले सरकारको तर्फबाट यस कार्यका लागि महत्वपूर्ण सहयोग रहने र केही कठिनाइ भए प्रधानमन्त्रीसँग छलफल गरेरै भए पनि गाँठो फुकाउने विश्वास दिलाए ।

राताम्य सेयर बजारमा हिमालयन एभरेष्टको सर्वाधिक कारोबार

काठमाडौं । दशैं पछिको पहिलो दिन खुलेको सेयर बजारमा हरियाली छाएको थियो । तर, सेयर बजार बढेको दोस्रो दिन नै फेरि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ अंकमा बन्द भएको छ । यस्तै, सोमबार दिनभरिमा २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर १७ हजार ८७६ पटक खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ लाख ७१ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह ०.८४ प्रतिशत बढेको छ । सोमबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५८ लाख ७७ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ । हालै आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएको अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, गरिमा डिवेञ्चर २०८५ को सेयर मूल्य ८.१३ प्रतिशत घटेर ७४५ रुपैयाँमा सिमित भएको छ ।

बुद्ध एयर : पब्लिक कम्पनीमा नजाने, ३ जहाज थपेर आक्रामक बन्ने

काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने बताएका छन् । सोमबार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा जाँदैन, फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता छैन,’ उनले भने । यद्यपि, उनले २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताए । बस्नेतले बुद्ध एयरकाे छिट्टै ३ एटीआर जहाज थप गर्ने योजना रहेको जानकारी दिएका छन् । यस्तै, उनले हवाई भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताएका छन् । राज्यले तोकेको हवाई भाडा भन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताउँदै उनले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताए । नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर सोमबार स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।

कर्णालीको बाढीले ८०० भन्दा बढी परिवार डुबानमा

बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । रासस