युकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी
मलेखु । सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छिन् । पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन् । महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले बताइन् । शुक्रबार ती व्यक्तिले छोडेको झोला आज दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ । सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पु¥याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै ११ हजार लिएर गएको होटल सञ्चालक गुरुङले जानकारी दिए । सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ । रासस
राष्ट्र बैंकबाट लाभांश स्वीकृति पाउने दोस्रो बैंक बन्याे कुमारी
काठमाडौं । कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकबाट प्रस्तावित १२।५ प्रतिशत नगद लाभांश स्वीकृत भएको जानकारी दिएको हो । योसँगै कुमारी बैंक राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने दोस्रो बैंक बनेको छ । बैंकले १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिदै आएको छ ।
काठमाडौं उपत्यकामा विशेष सवारी जाँच गर्दै ट्राफिक प्रहरी, एकैदिन १४ सय चालक परे कारबाहीमा
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४०७ चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौं उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ । नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ । कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन् ।
स्मार्ट बन्दैछन् खानेपानी संस्था, उपभोक्ता र व्यवस्थापकमा यसरी आयो परिवर्तन
काठमाडौं । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् । केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेका संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका छन् । हालसम्म देशभरका छ सयभन्दा बढी खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको सरकारी विवरण छ । हाल ६८ जिल्लाका ११ लाख घरधुरी र करिब ४६ लाख जनसङ्ख्यामा यस्तो डिजिटलाइज सेवा पुगिसकेको छ । ती समितिले दियालो टेक्नोलोजीले विकास गरेको वाटरमार्क नामक सफ्टवेयर प्रयोग गर्दै आएका छन् । नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ । दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव संशाधन प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, प्रयोगशाला व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्नेलगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ । यस्तै, कतिपय प्रविधि निर्माणको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरी खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् । देशभित्रै सबैभन्दा ठूलो उपभोक्ता समितिमध्येको एक कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नवलपुरका व्यवस्थापक बाबुराम ज्ञवालीले प्रविधिको प्रयोगले आश्चर्यजनक परिवर्तन ल्याएको बताए । मानिसले गर्नुपर्ने कतिपय काम सहजैरूपमा प्रविधिको प्रयोगबाट भएका छन् । पानी खोल्न वा बन्द गर्न प्रत्यक्षरूपमा जानु पर्दैन भने पानीको गुणस्तरसमेत पत्ता लगाउन सजिलो भएको छ । जमिनमुनिको पानीको सतहसमेत सेन्सरको सहयोगले पत्ता लगाउने गरिएको छ । कति समय पानी तानियोदेखि उपभोक्ताको घरमा के–कति पानी पठाइयो भन्ने विवरणसमेत मोबाइल एपको माध्यमबाटै हेर्न सकिने ज्ञवालीको भनाइ छ । उपभोक्ताले समेत पानीको बिल तिर्न खानेपानीको कार्यालय वा उपभोक्ता समितिको कार्यालय पुग्नु पर्दैन । मोबाइलमार्फत अनलाइन माध्यमबाटै बिल तिर्न सक्छन् । आगामी तीन महिनाभित्र कुनै पनि कामका लागि अब मानवीय उपस्थिति नै नभए पनि हुने गरी प्रबन्ध गर्ने गरी थप तयारी भइरहेको ज्ञवालीको कथन छ । प्रविधिको प्रयोगले खानेपानी संस्थाहरू परदर्शी र उपभोक्ताप्रति जवाफदेहीसमेत हुँदै गएको उपभोक्ताहरूको अनुभव छ । नेपालको वर्तमान नीतिअनुसार कुनै पनि खानेपानी योजना निर्माण गर्दा स्थानीय उपभोक्ता समितिको संलग्नता अनिवार्य रहेको छ । नेपालमा यस्ता उपभोक्ता संस्था ४२ हजार बराबर रहेका छन् । तीमध्ये करिब १६ हजार चार सय संस्था मात्र दर्ता छन् । दर्ता भएकामध्ये ११ हजार आठ सय २८ वटा संस्था सञ्चालनमा छन् । यीमध्ये पनि नियमित बैठक बस्ने, आवधिकरूपमा साधारणसभा गर्ने, संस्थाको हरहिसाब पारदर्शी राख्ने समिति त झन् निकै न्यून छन् । प्रविधिको प्रयोग नभएका समितिमा आवश्यक सही तथ्याङ्क निकाल्न समस्या हुने, निर्णय गर्न ढिला हुनेजस्ता समस्या देखिने गरेका छन् । परम्परागत ढङ्गले सञ्चालन हुँदा संस्थालाई चुस्तदुरुस्त राख्न नसक्ने, पारदर्शी नहुने, समितिमा विवाद हुनेजस्ता समस्या देखिँदै आएका थिए । त्यसलाई सही मार्गमा ल्याउन पनि प्रविधिको प्रयोग नै उत्तम विकल्प हुनसक्ने उपभोक्ता लक्ष्मण जोशीको भनाइ छ । प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिदजस्ता कगजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने खानेपानी समितिका सञ्चालकको अनुभव छ । प्रविधिको प्रयोग भएका खानेपानी समितिले हाल चुस्तदुरुस्त सेवा मात्र दिएका छैनन् कि ती समितिमा पारदर्शिता कायम हुनुका साथै उपभोक्तामा जवाफदेही सेवासमेत भइरहेको छ । प्रविधिको प्रयोग गरेका खानेपानी समितिका उपभोक्तालाई समेत निकै सहजता भइरहेको छ । उपभोक्ताले आफ्नो खानेपानीको महसुलको बिल पनि आफ्नो मोबाइलबाटै जानकारी पाएका छन् । महसुल मोबाइलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको समय र खर्च दुवै बचत भइरहेको छ । हाल मासिक तीन लाख ५० हजारभन्दा बढी घरधुरीले मोबाइलबाटै आफ्नो महसुल भुक्तानी गरिरहेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिकाका केही खानेपानी उपभोक्ता समितिले पनि यस्तै प्रविधिको प्रयोग गरेका छन् । चन्द्रागिरि नगर विकास समिति मातहतको खानेपानी, टोखा खानेपानी, महादेवस्थान र तीनथाना खानोपानीमा यस खालका प्रविधिको प्रयोग गरिएको छ । यसबाट आफूहरूलाई असाध्यै सहज भएको उपभोक्ता जोशीको अनुभव छ । यस्ता छन् खानेपानी क्षेत्रमा प्रयोग भएका सफ्टवेयर १ । मिटर रिडिङ मोबाइल एप मिटर रिडिङ मोबाइल एप हाल खानेपानी समितिमा सञ्चालनमा रहेको छ । मिटर रिडिङ मोबाइल एपले पिओएस मेसिनमार्फत घरघरमै पुगेर थर्मल पेपरमा ग्राहकले तिर्नुपर्ने रकम प्रिन्ट गरेर दिन्छन् । मिटर रिडिङ गरेको र रकम भुक्तानी लिएको विवरण कुनै पनि स्थानबाट सिधै सफ्टवेयरमा अपडेट हुन्छ । यस सुविधाबाट मिटर रिडिङ र महसुल सङ्कलनको कामलाई पारदर्शी बनाएको छ । यसअघि कागजी बिल प्रयोग गर्दा बिल हराउने, कार्यालयको ढड्डामा अपडेट गर्न बिर्सिनेजस्ता समस्या आउने गरेका थिए । सिधै सफ्टवेयरमा अपडेट हुने हुँदा यसबाट ग्राहक र खानेपानी समितिलाई काम गर्न सहज भएको छ । त्यस्तै बिलिङ व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यस प्रणालीमा ग्राहकको सम्पूर्ण जानकारी (केवाइसी) विवरण रहेको हुन्छ । यस प्रणालीमा खानेपानी महसुलको छुट तथा जरिवाना व्यवस्थापन हुन्छ । यसमा खानेपानीको दर पनि समावेश हुन्छ । यसबाट खानेपानीको उपभोग, आम्दानी विश्लेषण गर्नुका साथै ग्राहकको परिचयपत्र बनाउन सकिन्छ । पहिले–पहिले हरेक ग्राहकको छुट्टाछुट्टै फारम रहन्थे । ती फारम कहिले हराउने, कहिले च्यातिनेजस्ता समस्या आउँथे । फारम हराउने, अव्यवस्थित हुँदा आफ्नै ग्राहक हो कि होइन भनेर चिन्न नसक्ने अवस्था पनि आउँथ्यो । तर यस प्रणाली राखिसकेपछि सबै विवरण दुरुस्त हुन्छ । कसैले आफ्ना नजिकका व्यक्तिलाई ग्राहक नै नबनाई निःशुल्क पानी दिनसक्ने, आवश्यकताभन्दा बढी छुट दिनेजस्ता गलत क्रियाकलापलाई पनि यस प्रणालीले नियन्त्रण गर्छ । यो प्रणाली भएपछि ढड्डामा केरमेट गर्ने, हराउने समस्याको निराकरण हुन्छ भने एक क्लिकमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ । यसमा खानेपानीको रकम कति उठ्यो, बक्यौता कति उठ्न बाँकी छ जस्ता कुरा सहजै राख्न सकिने हुँदा पारदर्शी हुन्छ । एसएमएस सिस्टमले ग्राहक र समितिका बीचमा पुलको काम गरेको छ । यसअघि साधारणसभा गर्नुपरेमा अथवा कुनै सूचना ग्राहकका बीचमा पु¥याउनुपरेमा सबै ग्राहकलाई पत्राचार गर्नुपर्दथ्यो । तर अहिले यस सिस्टमले सबै ग्राहकका बीचमा एसएमएसमार्फत एकैपटक सूचना सम्प्रेषण गर्न सकिन्छ । साथै यस प्रणालीले खानेपानीको महसुल नतिरेको अवस्था अथवा जरिवाना लागेको अवस्थामा सिस्टमले नै सूचना उपलब्ध गराउँछ । २ । अनलाइन भुक्तानी अनलाइन भुक्तानी प्रणालीले गर्दा आम उपभोक्तालाई महसुल भुक्तानी गर्नका लागि खर्चनुपर्ने समय र खर्चको बचत भएको छ । खानेपानी समितिका कार्यालय केही किलोमिटरको दूरीमा हुँदा सवारीसाधन चढेर कार्यालयमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । उपभोक्ताले आफ्नो मोबाइलमार्फत सहजै खानेपानीको महसुल भुक्तानी गर्न सक्छन् । हाल ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्था, इसेवा, खल्ती, आइएमईलगायतका भुक्तानी प्रदायकमार्फत सहजै महसुल भुक्तानी गर्न सकिन्छ । खानेपानी क्षेत्रमा रहेका विभिन्न प्रणालीमध्ये लेखा प्रणाली पनि एक प्रमुख प्रणाली हो । हाल यो प्रणाली सञ्चालनमा रहेको छ । यो प्रणालीले संस्थाको आम्दानी खर्च, सम्पत्ति दायित्व, नाफा–नोक्सान, आर्थिक अवस्थालगायतका सबै विवरण हेर्छ । यो प्रणाली नेपाल लेखामानकअनुसार विकास गरिएको छ । यो प्रणाली खानेपानी सफ्टवेयर, एसएमएस, मिटर रिडिङलगायतका सबै प्रणालीसँग जोडिएको हुँदा यसले हरेक विषयलाई पारदर्शी बनाउन सहयोग पुगेको दियालो टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत परशुराम (पीआर) खनालको भनाइ छ । यो प्रणाली क्लाउड बेस टेक्नोलोजीमा आधारित रहेको हुँदा सञ्चालक समिति अथवा खानेपानी व्यवस्थापकले कुनै पनि स्थानमा बसेर संस्थाको हिसाब–किताब हेर्न सक्ने उहाँको भनाइ छ । जिन्सी व्यवस्थापन प्रणालीमार्फत संस्थामा कुन सामान, कति मात्रामा मौज्दात छ, कति खरिद–बिक्री भए, कति फिर्ता भए, कति मर्मतसम्भारमा प्रयोग भएजस्ता सबै विवरण उल्लेख हुने हँुदा जिन्सी तथा सामानको अपचलन हुने कुरालाई निराकरण गर्छ । मौज्दात परीक्षण गर्न सकिने सुविधाले मौज्दात नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको प्रमुख कार्यकारी अधिकृत खनाल बताउँछन् । ३ । भौगोलिक सूचना प्रणाली यसले खानेपानीको प्रसारण र वितरण पाइपलाइन तथा अन्य संरचनाको भौगोलिक अवस्थितिको जानकारी दिन्छ । यसैगरी मर्मतसम्भारका लागि पाइपलाइन गाडिएका स्थान, च्याम्बर, भल्व, ट्याङ्की, ग्राहकको घरजस्ता खानेपानीका सम्पत्तिलगायतका सबै विवरण उपलब्ध गराउँछ । ४ ।पानी चुहावट विश्लेषण गर्ने प्रविधि पानी चुहावट विश्लेषण गर्ने प्रविधि पनि हाल सञ्चालनमा छ । यसमा स्रोतबाट खानेपानी कति उत्पादन भयो, ट्याङ्कीमा पानी कति जम्मा भयो, उपभोक्ताले कति उपभोग गरे र कति चुहावट भयो भन्ने सबै कुरा उल्लेख हुन्छ । यसले दिने तथ्याङ्कका आधारमा चुहावट भइरहेको स्थानसमेत सहजै पत्ता लगाउन सकिने खनालको भनाइ छ । त्यस्तै पानी ट्याङ्की सफा गर्दा कति पानी खेर गयो, उत्पादन र उपभोगको विश्लेषणलगायतका सबै विवरण हेर्न सकिन्छ । पानी चुहाहट नियन्त्रण गर्न सहज हुने हुँदा घर–घरमा खानेपानीको आपूर्ति बढाउन सहयोग पुग्छ । ५ । प्रयोगशाला व्यवस्थापन प्रणाली प्रयोगशाला व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यसले खानेपानीको स्रोत, वितरण प्रणालीका विभिन्न खण्डमा खानेपानीको गुणस्तर स्वचालितरूपमा मापन, विश्लेषण तथा सम्प्रेषण गर्दछ । यसमा आम उपभोक्ताले मोबाइबाटै आफूले प्रयोग गरिरहेको पानीको गुणस्तर हेर्न सक्छन् । जसले गर्दा हरक्षण खानेपानीको गुणस्तर मापन भइराख्छ भने शुद्ध र सफा पानी उपभोग गर्न पाइन्छ । ६ । पम्प कन्ट्रोल प्रणाली पम्प कन्ट्रोल प्रणालीले स्वचालितरूपमा पम्प अन र अफ गर्छ । यसअघि पम्प खोल्न वा बन्द गर्न निरन्तररूपमा जनशक्ति लाग्थ्यो । तर यो प्रणाली जडान गरेपछि पम्प अन अफ गर्न कुनै मानिसको आवश्यकता पर्दैन । यसले ट्याङ्की खाली हुँदा अटोमेटिकरूपमा पम्प अन हुन्छ भने ट्याङ्की भरिएपछि आफैँ अफ हुन्छ । जसले गर्दा पम्प सञ्चालन नहुँदा पानी नपाइने र पानी भरिएपछि खेर जानेजस्ता समस्याको निराकरण हुने गरी प्रविधिको विकास गरिएको दियालो टेक्नोलोजिजको भनाइ छ । यस प्रणालीमा पम्पबाट कति पानी उत्पादन भयो, पम्प कति घण्टा चल्योजस्ता सबै विवरण हेर्न सकिन्छ भने पम्प सञ्चालन खर्चमा समेत कमी आउँछ । पम्पलाई मोबाइल र सफ्टवेयरबाट नियन्त्रण गर्न सकिन्छ । ७। ग्राहक गुनासो व्यवस्थापन प्रणाली ग्राहक गुनासो व्यवस्थापन प्रणालीले मोबाइल एपमार्फत नै ग्राहकले आफ्ना गुनासो राख्न सक्छन् भने कर्मचारीले गुनासाको समाधान गर्छन् । समितिले संस्थामा के–कति र कस्ता गुनासा आएका छन्, कति सम्बोधन भए भनेर सबै विवरण हेर्न सक्छन् । यसले गर्दा संस्थालाई जवावदेही बन्न सहयोग पु¥याउँछ । ८ । भूमिगत पानीको तह विश्लेषण यस प्रणालीले जमिनको सतहमुनि कति पानी छ, यो पानीले कति समयसम्म पुग्छ, जमिनमा पानी पुन जम्मा भइरहेको छ कि, छैन जस्ता कुराको विश्लेषण गर्छ । पानीको स्रोत कति घटिरहेको छ, हरेक महिना, वर्ष कति पानी घटिरहेकोे छ, पानी सुक्दै गइरहेको छ या पुनः जम्मा पनि भइरहेको छ भन्ने कुराको विश्लेषण हुने हुँदा पानीको स्रोत कहिले सुक्न सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । यसले गर्दा भविष्यमा आउने पानीको सङ्कट समाधान गर्न वैकल्पिक स्रोत व्यवस्थापनमा रणनीति बनाउन सकिन्छ । ९ । मोबाइल एप ग्राहक र खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एप्लिकेशनको विकास गरिएको खनालले बताउनुभयो । ग्राहकका लागि ग्राहक सूचना प्रणाली र सञ्चालक तथा व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको छ । ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एपबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्नेजस्ता कुरामा सहजता ल्याएको उहाँको भनाइ छ । खानेपानी ज्ञान प्रणालीले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिन्छ । १० । इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर जस्तो प्रविधि पानीको स्रोतमा जडान गर्दा स्वचालितरूपमा प्रतिसेकेण्ड कति पानी उत्पादन भएको छ भनेर वास्तविक समयमै जानकारी पाउन सकिन्छ । जसका आधारमा उत्पादनको मात्रा विश्लेषण गरी पानी आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ । ११ । ट्याङ्कीको पानी तह मापन प्रविधि ट्याङ्कीको पानी तह मापन प्रविधिले खानेपानी ट्याङ्कीमा कति पानी छ भनेर हेर्न सकिन्छ । यस आधारमा कति वितरण गर्ने, कति पानी स्रोतबाट थप्ने, घटाउने आदि कुराको नीति बनाउन सहज बनाउँछ । खानेपानी क्षेत्रका संस्थालाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउन दियालो टेक्नोलोजीले निकट भविष्यमै स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मतसम्भार प्रणाली, गेटभल्भ अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । रासस
चितवनमा एक अर्ब लगानीमा खुल्यो ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’, सोल्टी समूहले व्यवस्थापन गर्ने
चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो । भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारी दिए । सोल्टीको पहिलो द सोल्टी काठमाडौं, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज, तेस्रो सोल्टी वेस्ट इण्ड इटहरी सञ्चालनमा छन् । उनका अनुसार ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको बताए । नेपालका अन्य पर्यटकीयस्थलमा पनि सोल्टीले आफ्नो लगानी एवं व्यवस्थापन गर्ने योजना बनाएको उहाँले जानकारी दिए । पाँचतारे सुविधा दिने यो रिसोर्ट नेपालका व्यवसायीको एक अर्ब लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार होटलको व्यवस्थापन सोल्टीले गर्ने भएको हो । रिसोर्टमा १० अत्याधुनिक भिल्ला छन् । यीबाहेक दुई सुपरियर भिल्ला र ४० डिलक्स कोठा छन् । पाँच सय जना अट्ने एउटा, एक सय ५० जना अट्ने दुई, ७५ जना अट्ने तीन र २५ जना अट्ने दुई हलसमेत छन् । रेष्टुरेन्टमा एकपटकमा तीन सय जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै दुई सय ५० जना अट्ने सुविधासम्पन्न बार पनि छ । यससँगै हेल्थ क्लब रहने छ । बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा जमिनमा निर्मित रिसोर्ट नजिकै विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउने गर्न सकिने उनको भनाइ छ । यससँगै पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उनले बताए । शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटसमेत रहेको छ । रासस
शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधन
काठमाडौं । शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो । मुटु र प्रोष्टेटमा समस्या रहेका जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण भएको र केही दिन सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । अस्पतालमा जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी र नेफ्रोलोजी का चिकित्सकले संयुक्त जाँच गर्दै आएका थिए ।
गौरादह नगरपालिकाले बुहारीलाई नि:शुल्क स्नातक पढाउने
झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई नि:शुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ । नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस भनेर यो कार्यक्रम ल्याइएको बताए। उनका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो । यस्तै नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाअन्र्तगत ५५ महिलाले अस्पतालसम्म पुग्न यो सेवा लिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । यस्तै गौरादह नगर अस्पतालसमेत नगरपालिकाले सञ्चालन गरेको छ । पन्ध्र बेडको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ ।
पौडीतर्फ नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त
पोखरा । विभागीय टोली त्रिभूवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गरेका छन् । विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतिष्पर्धामा नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे । यस्तै महिला २ सय मिटर मिड्लेतर्फ आर्मीकै सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनेट ३२ सेकेण्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेण्डको नयाँ समयको किर्तिमान कायम गरेकी हुन् ।