विकासन्युज

कृष्णपुर नगरपालिकाको स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा शुरु

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीयास्थीत स्वास्थ्य चौकीमा २४ घण्टे चिकित्सकसहितको निःशुल्क सेवा सञ्चालन गरिएको छ । सर्वसाधारणलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि नगरपालिकाले चिकित्सकसहितको सेवा सञ्चालन गरेको हो । सेवा सञ्चालन भएपछि उपचारका लागि सर्वसाधारणले टाढाको धनगढी र महेन्द्रनगर पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । चौविसै घण्टा आकस्मीकसहित स्वास्थ्य सेवा सञ्चालन गर्ने कृष्णपुर स्वास्थ्य चौकी देशकै पहिलो स्वास्थ्य चौकी भएको नगर प्रमुख हेमराज ओझाले बताए। ‘स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीलाई औषधि, प्रयोगशालालगायत सबै सेवा निःशुल्क गरेका छौँ’ उनले भने, ‘जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीबाहेक अन्य बिरामीको स्वास्थ्य चौकीमै उपचारको व्यवस्था गरिएको छ ।’ स्वास्थ्य चौकीमा आवश्यक उपकरण र औजारको व्यवस्था गर्न आवश्यक प्रकृया पूरा गरिएको नगरप्रमुख ओझाले जानकारी दिए । नगरपालिका क्षेत्रभित्रका सुत्केरी हुने महिलाका लागि बर्थिङ सेन्टरसम्म ल्याउन र पु¥याउनका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क गरिएको छ । ‘सुत्केरी हुने महिलासँगै स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भई उपचार हुन नसकेका बिरामीलाई कैलाली र कञ्चनपुरका अस्पतालमा रिफर गर्दा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएका छौँ उनले भने, ‘नगरपालिकाभित्रका बासिन्दा बिरामी भइ रगतको आवश्यकता परेमा बाँके र कैलाली रेडक्रससँग समन्वय गरी निःशुल्क रगतको व्यवस्था मिलाइएको छ ।’ नगरपालिका क्षेत्रमा रक्तअल्पताबाट ३० देखि ३५ प्रतिशत बासिन्दा पीडित रहेको नगरप्रमुख ओझाको भनाइ थियो । ‘रक्तअल्पता प्राय सिकलसेल एनिमिया भएका बिरामीमा बढी देखिने गरेको छ, त्यस्ता बिरामीलाई चारदेखि पाँच प्वाइन्टसम्म रगत आवश्यक पर्दछ’ उनले भने, ‘विगतमा प्रतिप्वाइन्ट रगतका लागि एक हजार १५० शुल्क तिर्नुपर्ने अवस्था थियो, रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत उपलव्ध गराउने व्यवस्था गरिएको छ ।’ स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा सञ्चालन भएपछि बिरामीको चाप बढदोरुपमा रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रतन बिष्टले बताए । दैनिक ७० देखि १५० बढीको सङख्यामा बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् । नगरपालिका क्षेत्रमा १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । दश वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र पहिले देखिनै सञ्चालन हुँदै आएका थिए । हाल स्वास्थ्य केन्द्रमा दुई करार जनशक्तिको व्यवस्था गरिएको छ । नगरपालिकाका सबै बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको नगरप्रमुख ओझाले बताए । उनका अनुसार निकट भविष्यमै निःशुल्क आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनका लागि प्रकृृया अगाडि बढाइएको छ । ‘दक्ष आँखासम्बन्धी उपचार गर्ने चिकित्सकको व्यवस्था गरी सकेका छौँ’ उनले भने, ‘आँखा जाँचका लागि आवश्यक पर्ने उपकरण गैरसरकारी संस्थासँग समन्वय गरी व्यवस्था गर्न लागेका छौँ, सेवा सञ्चालन भएपछि आँखा उपचारका लागि कैलालीको धनगढी, गेटासम्म पुग्नुपर्ने अबस्था अन्त्य हुन्छ ।’

हुलाकले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो । विभागका महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। द्रुत डाँक सेवा, पार्सल/सामान वा मालवस्तु र चिठ्ठिपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रूत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्बत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ । नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले हुलाकले अन्य कम्पनीले भन्दा सस्तो शुःल्कमा डाँक सेवा सञ्चालन गरेकाले विभागले प्रभावकारी रुपमा यसलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयोे । विभागलाई अझै प्रभावकारी र विश्वासिलो बनाउन हरेक गतिविधि पारदर्शी हुनुपर्ने उनको भनाइ थियो। पूर्वसचिव भुवनेश्वर प्रधानले विभागलाई विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न भ्रष्टारको अन्त्यसँगै कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत विशालराज गौतमले हुलाक सेवालाई प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सुझाव दिए । हवाई मार्गबाट देशभित्रै डाँक ढुवानी गर्न यति एयरलाइन्स, नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र बुद्ध एयरलाईन्ससँग सम्झौता गरिएको छ । महानिर्देशक घिमिरेले नेपालको पुरानो, विश्वसनीय, जनमनमा बसेको संस्था हुलाक सेवालाई पुनःक्रियाशील र पुनःजीवित बनाउने योजना सुनाए। व्यक्तिगत र संस्थागत इएमएस, पार्सल, चिठीपत्र हुलाकमार्फत ढुवानी गर्न केही सुधारका कार्य गर्ने विभागको योजना छ ।

राजमार्ग अवरुद्ध भएपछि हवाई टिकट पाउन मुस्किल हुँदा पैदलयात्रा गर्न बाध्य

सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिदा पनि पाएनन् । एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्र्ने चिन्ताले उहाँ दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुगे। गत हप्ताको अविरल वर्षाका कारण कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकायजस्तै हजारौँ यात्रुले यस्तै सास्ती बेहोर्नुपरेको छ । दसैँ मनाउन घरमा पुगेका हिमाली जिल्लाका व्यक्ति आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णालीको हिमाली जिल्लालाई जोड्ने एकमात्र कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्तिबीच बाटोमै अलपत्र छन् । रोकाय भन्छन्, ‘म तीन दिनको यात्रापछि सुर्खेत आइपुगेँ, मजस्ता हजारौँ यात्रुले सडक नखुल्दा हैरानी बेहोर्नुपरेको छ, केही व्यक्ति बाटोमै अलपत्र छन् भने केही जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’ अहिले कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । कतिपय यात्रु लामो दूरीमा पैदलयात्रा गर्न बाध्य छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् । जुम्लाको तिला गाउँपालिकाका टङ्क न्यौपाने पनि यस्तै अवस्थामा हुनुहुन्छ । सडकअवरुद्ध बन्दा उहाँ आफ्नो कर्मथलो आउन सक्नुभएको छैन । हिमाली भेगका नागरिकलाई हरेक साल यस्तै दुःख हुन्छ। उनी भन्छन्, ‘दशैं तिहार र घर पुग्दा खुसी लिएर जानुपर्ने मान्छे, चिन्ता बोकेर जानुपर्छ, भौगोलिकरुपमा ठगिएका कर्णालीका नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।’ कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । जुम्ला–कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेका छन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी भन्छन् । धेरै ठाउँमा एक्साभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन ’ब्लास्टिङ’ गर्नुपर्ने भएकाले नेपाली सेनालाई खटाइएको छ । स्थानीय प्रशासनका अनुसार बाटो खुलाउन अझै तीन दिनसम्म लाग्न सक्छ । जहाजमा टिकट पाउन पनि सहज छैन कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । जहाजको यात्रा गर्न टिकट पाउन पनि मुस्किल छ । टिकटमा मनोमानी छ, जुम्लाका तपेन्द्र भट्टराई भन्छन्, ‘विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै टिकट पाउने अवस्था छैन, पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्जलगायत ठाउँमा जान पनि विमानस्थलमा यात्रुको खचाखच छ ।’ महँगो भाडा भए पनि टिकट नै नपाउँदा समस्या भएको उनी बताउँछद्धन् । कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउँछन् । जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्लादेखि नेपालगन्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् । ‘बिरामी र लोकसेवाको परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौँ । उनी भन्छन्, ‘पर्याप्त जहाज नहुँदा हामीलाई पनि समस्या छ ।’ जिल्ला प्रशासन कार्यालयले भने हवाई उडान कम हुँदा समस्या रहेको जनाएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी केशरी दशैं र तिहारले गर्दा पनि पहिलेको तुलनामा विमानस्थलमा दैनिक भीडभाड भएकाले बढीभन्दा बढी हवाई उडान गराउन समवन्य भइरहेको बताउँछन् । ‘गत हप्ताको अविरल वर्षाले एक मात्र कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भीडभाड बढेको हो, अहिले पर्याप्त उडान गर्ने जाहाज पनि छैनन् । धेरै उडान गराउने कुरामा हामीले समन्वय गरिरहेका छौं’ उनी भन्छन् । मुगस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष गौतम पनि एयरलाइन्स कम्पनी नै बढी नहँुदा समस्या भएको बताउँछन् । यस्तै सुर्खेतस्थित नागरिक उड्डयन प्राधिकरणले पनि यसै आर्थिक वर्षदेखि हुम्ला सिमकोटको लागि मात्रै उडान भर्दै आएकाले यात्रुले नेपालगन्जनै पुग्नुपर्ने अवस्था छ । कर्णालीका अन्य जिल्लामा उडान पछिल्ला केही समय सुर्खेतबाट शून्य रहेको उक्त कार्यालयका निमित्त प्रमुख प्रतिष्ठा आचार्यले जानकारी दिए । जहाज पूर्वतिर केन्द्रीत छन् । ‘सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा जहाज उडान करिब शून्य जस्तै छ । एक हजार परिवार विस्थापित बाढीपहिरोले प्रदेशभर करिब एक हजार परिवार विस्थापित हुन पुगेका छन् । प्रहरीको तथ्याङ्कअनुसार नौ सय ९९ परिवारका सात हजार सात सय ६८ जना विस्थापित भएका हुन् । तीमध्ये सात सय ७६ घर पूर्णरुपमा क्षति भएको छ भने एक हजार एक सय ६३ घरमा आशिंक क्षति भएको छ । त्यसैगरी चार सय ४० घर उच्च जोखिममा रहेका र बाढीपहिरोमा परी ३६ जनाको मृत्यु २८ जना घाइते भएका र २० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा ठूलो क्षति कालीकोटमा भएको छ । प्रतिकूल मौसमका कारण राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराउन कठिन भएको छ । बाढीपहिरोबाट पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरिरहे पनि सबै परिवारलाई राहत दिन कठिन भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । विस्थापित परिवारका लागि दिने भनिएको राहत सामग्री सुर्खेतमा रहेको र सडक सञ्चालनमा आउने वित्तिकै वितरणमा तीव्रता दिइने सरकारकोे प्रतिक्रिया छ ।

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या, सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताए । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताए । डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताए। डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिए । डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरे । उनले भने, ‘डेंगुमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरुको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ । घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ । धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर । घाँटी दुख्नसक्छ, आँखाको नानी दुख्नसक्छ डेंगुमा पनि । टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरु हामीले बढी देख्नसक्छौँ । अहिले ९० प्रतिशत केस डेंगुका आउनुभएको छ । कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरु हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरु हुनुहुन्छ । डेंगु सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ । उहाँहरु दोधारमा हुनुहुन्छ । घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरु सदस्यलाई पनि हुने सम्भावना छ । सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ । शतर्क हुन जरुरी छ । डेंगुका बिरामीहरुलाई झुलमा राख्ने उचित छैन । लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो । बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिया हुने हो । त्यो बेलामा हामीले लापरवाही गरिरहेको छौँ जस्तो लाग्छ । फुल बाउला भएको लुगा लगाउने । राति झुलमा सुतेर डेंगु लाग्दैन भन्ने सोच त्याग्नुपर्छ । ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस् ।’ डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरुको चाप बढेको बताए । उनले भने, ‘भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरु पाइरहेका छौँ । डेंगुका बिरामीको चाप धेरै छ । त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरु, कोभिडका पनि केही बिरामीहरु पनि हामीले भेटिरहेका छौँ ।’ डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताउनु भयो । उहाँले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताए । भाइरल ज्वरोका बिरामीहरु पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरे । त्यस्तै धेरै घाँटी दुख्ने, शुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिए । उनले भने, ‘हामीले बेसिकल्ली छुट्याउनुपर्ने कमन कोल्ड र फ्लू हो फस्र्टमा । सामान्य रुघाखोकी, सामान्य रुघाखोकीलाई फ्लूबाट छुट्याउनु पर्छ । फ्लूलाई डेंगुबाट छुट्याउनु प¥यो । डेंगुलाई कोभिडबाट छुट्याउने सामान्य एउटा लक्षणको आधारमा शतप्रतिशत यत्तिकै आधारमा छुट्याउन सकिन्छ भनेर सकिँदैन तर लक्षण यति छ भने यो डेंगु हो, यस्तो लक्षण छ भने यो कोभिड हुनसक्छ भनेर छुट्याउनलाई फस्र्ट हामीले के विचार गर्नुपर्छ भने कमन कोल्ड जुन राइनो भाइरसले नै गर्दा हुने हो सामान्य रुघाखोकी । त्यो एउटा परिवारको एउटा सदस्यलाई भएपछि सबैलाई सर्ने, सामान्य हाच्छिउँ आउने, घाँटी दुख्ने हुन्छ । यसमा ज्वरो आउँदैन, पखाला हुँदैन । हामीले छुट्याउनसक्ने लक्षण एउटा यो हो । जुन सिजनल फ्लू वा इन्फ्लूएन्जा वर्षेनी जुन आउँछ । नेपालमा वर्षमा २ पटक यो फ्लू सिजन हुन्छ । बर्खा र गर्मी लाग्ने बेलामा । तर अहिले चाँडोचाँडो मौसम परिवर्तन भइरहेको भएर फ्लूजस्ता बिरामीहरु प्रायः हामीले देखिरहेका हुन्छौँ । फ्लूका बिरामीहरुलाई प्रायः ज्वरो हुन्छ । जाडो भएजस्तो हुने, पखाला लाग्ने हुन्छ । घाँटी दुख्ने, रुघा लाग्ने भयो भने त्यो फ्लू हुनसक्छ । कोभिडमा बास्ना र स्वाद जाने प्रायः लक्षण हुन्छ । अरु लक्षण त प्रायः फ्लूका सबै नै हुन्छन् ।’ चिकित्सक डा. गौतमले फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताए ।

माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनःनिर्माण गरिएको गोरखा दरबारको अवलोकन

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले आज बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए। उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताए । दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए। दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुगेका थिए। जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा रहेका छन्। उहाँले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीव्र पारेका छन् ।

व्यवसायिक प्रतिनिधिले रकम हिनामिना गरेपछि माछापुच्छ्रे बैंक प्रहरीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही आफ्नाे सेवाकेन्द्रबाट दुई व्यवसायिक प्रतिनिधिले रकम हिनामिना गरेको भन्दै बैंकले प्रहरीमा निवेदन गरेको छ । बैंकले रुपन्देही, समरीमाई गाउँपालिका रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका मुजहानाका व्यवसायिक प्रतिनिधि निरन्जन पाठक र सिकन्द्र ठाकुरले ग्राहकहरुको रकम हिनामिना गरेको भन्दै प्रहरीमा निवेदन गरेको जनाएको छ । असोज ३० गते एक विज्ञप्ति जारी गर्दै बैंकले रकम दुरुपयोग गर्ने व्यक्तिहरुमाथि आवश्यक कानूनी प्रकृया अगाडि बढाइएकोले सबै पिडितहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा सहभागी हुन आग्रह गरेको छ । बैंकले रकम हिनामिना भएका सेवाकेन्द्रहरु बन्द भएको उल्लेख गर्दै उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाइममा रकम जम्मा हुने र सिस्टम मार्फत् नै भाौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्ताहरुलाई सोही भौचर प्रदान गर्नुपर्नेमा सेवाकेन्द्र सञ्चालकहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरेको जनाएको छ । अनुगमन गर्ने क्रममा सेवाकेन्द्र सञ्चालकहरुले निक्षेपकर्ताहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकमा रकम नै जम्मा नगर्ने काम गरेको बैंकले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

फाइल फाेटाे पाल्पा । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए । शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जङ्गलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न गएका थिए ।

अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पुर्यायो

बाग्लुङ । बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ । ढोरपाटन नगरपालिका–२ दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ । छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन । सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन् । उनको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ । गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ । तर उनी कहिल्यै त्यो घरमा जानुहुन्छ । घर सम्झिँदा पनि उनी झसङ्ग झस्किन्छन् । उनी झस्किनुको कारण अन्धविश्वास हो । तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जी घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छाडेका हुन् । दर्जी भन्छन्, ‘तीन वर्षमा मेरो तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षको भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ ।’ घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेका उनी बताउँछन् । ‘घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परेको होला त्यो बेला रु”, दर्जीले भन्नुभयो, “अति भयो र काठमाडौँमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरुको पनि मराण लिन्छ भन्नुभयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँ नै छाडेर हिँडेको हुँ ।’ अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जीवितै छन् । छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उनीसँगै बस्दै आएका छन् । दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ । घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ । उनी भन्छन्, ‘आफ्नो भएभरको घर सम्पत्ति सबै छाडेर यहाँ आइयो, यस्तो बाटोको छेऊमा छ छाप्रो पनि, गाडी चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने ?, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बूढेसकाल लाग्यो, काम गरी खान पनि सकिन्नँ ।’ दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताए । छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गरे। ‘अहिले त बूढेसकाल लागेछ, काम गर्न पनि गाह्रो हुन्छ, अहिलेसम्म गिट्टी, बालुवा कुटेर परिवार पालेँ, अब गाह्रो होलाजस्तो लाग्छ, छोरा छ, उसले पनि कामै पाउँदैन, काम पाए त उसले कमाएर ल्याउँथ्यो होला’, दर्जीले भने, ‘म गरिब दुःखी हुँ, मलाई कसैले पनि सहयोग गरेको छैन, परिवार पाल्न गाह्रो भएको छ, केही सहयोग गरे त सजिलो हुन्थ्यो, नगरपालिका भन्छन्, गाउँपालिका भन्छन् तर हाम्लाई कसैले सहयोग गर्दैनन् ।’ दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउँछन् । ‘हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौ, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौँ, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो’, उनी भन्छन्, ‘ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौँ होला ।’ दर्जीले सडक छेऊमा बस्न निकै गाह्रो भएको अनुभव सुनाए। उनी बाटोमा दिनरात गाडी चल्ने हुँदा थाकेर सुत्दा पनि गाडीको आवाजले निदाउन नसक्ने बताउँछन्। ‘यस्तो ठाउँमा छ घर, घर पनि के भनौँ यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउँसभरि काम गरेर थकाइ लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिँदैन’, उनी भन्छन् । उनले घर गतिलो नहुँदा पानी पर्दा चुहिने र हुरी चल्दा छानो र बार सबै उडाइदिने गरेको बताए। सरकारले सानो भए पनि घर बनाइदिए आफूहरूलाई ठूलो राहत मिल्ने उनी बतााउँछन् । दर्जी भन्छन्, ‘घर पानी पर्दा चुहिन्छ, हुरी चले घरको छानो र बार सबै उडाइदिन्छ, यसरी पनि रात–दिन बिताएका छौँ, सरकारले हाम्रो दुःख देखेन, सानो भए पनि ओत लाग्ने घर बनाइदिए हाम्रा लागि निकै ठूलो राहत हुने थियो ।