काठमाडाैं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ ।
नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए । उनले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यवसाय गरेको बताए ।
उनले आफूले उत्पादन गरेका कुचोहरु नेपालमाभन्दा धेरै भारतमा पठाउने गरेको बताए । यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताए । उनले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताए । उनकाे अनुसार बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गर्दछ ।
त्यस्तै, गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताए । उनकाे अनुसार नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको छ । उनले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताए ।
‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ । काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ । पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ,’ उनले भने ।
तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।