इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोली अन्तिम दिन
काठमाडाैं । इष्टर्न हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओमा आवेदन दिने समय बढाइएकाे छ । आज (मंगलबार) सार्वजनिक विदा परेपछि आइपीओमा आवेदन दिने समय एक दिन थप गरिएकाे छ । कम्पनीकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै आइपीओमा आवेदन दिनका लागि एक दिन समय थप गरेकाे जानकारी दिएकाे हाे । इष्टर्न हाइड्रोपावरले छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
ढुक्क हुनुस्, पश्चिम सेती परियोजना समयमै बन्छ : सुशील भट्ट
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी अनुसार उक्त कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गरिसकेको छ । गत भदौ २ गते एनएचपीसी र बोर्डबीच पश्चिम सेती र सेती नदी–६ परियोजनाको क्रमशः ४५ दिन र ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गर्ने र दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गरी बोर्ड समक्ष पेस गर्ने समझदारी भएको थियो । पश्चिम सेती जलविद्युत् परियोजना विकासको लागत एक खर्ब ६८ अर्ब रुपैयाँ र सेती नदी–६ को एक खर्ब एक अर्ब रुपैयाँ अनुमान गरिएको छ । ती जलविद्युत् परियोजना विकासका लागि बोर्ड र एनएचपीसीबीच समझदारी पश्चात् भएका विकासक्रम, परियोजनाका लाभ, वातावरणीय प्रभाव न्यूनीकरणलगायतका विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग गरेकाे कुराकानी : गत भदौ २ गते लगानी बोर्ड र भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडबीच समझदारी भएयता पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको काम कसरी अघि बढिरहेको छ ? राष्ट्रिय गौरवको पश्चिम सेती र प्राथमिकता प्राप्त परियोजना सेती नदी–६ दुवै परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढिसकेका छन् । पश्चिम सेती सात सय ५० मेगावाट र सेती नदी–६ चार सय ५० मेगावाट गरी कूल एक हजार दुईसय मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माणका लागि भारत सरकारको एनएचपीसीसँग समझदारी हुनु आफैंँमा उपलब्धिपूर्ण छ । यसले पश्चिम सेती विकासका लागि करिब चार दशकदेखि भइरहेका प्रयासलाई सार्थकतातर्फ डो¥याएको छ । यससँगै, विकासकर्ताले ८४ करोड रुपैयाँ बराबरको ‘पर्फमेन्स बन्ड’ सहित पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको छ । त्यस्तै, विकासकर्ताले यस परियोजनाका सम्बन्धमा यसअघि तयार भएका अध्ययन दस्तावेजका लागि अतिरिक्त एक करोड ३९ लाख रुपैयाँ बुझाएको छ र सेती नदी–६ को सन्दर्भमा यसअघि विद्युत् विकास विभागले गरेको अध्ययन प्रतिवेदनका लागि ३० करोड ९० लाख रुपैयाँ निर्धारित समयभित्र बुझाउनेछ । समझदारीका प्रावधानअनुसार अनुमतिपत्र जारी गर्ने प्रक्रियामा रहेको छ । सेती नदी–६ को हकमा भने समझदारी भएको मितिले ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन प्राप्त हुनेछ । सर्वेक्षण अनुमति प्राप्त भएपश्चात् एनएचपीसीले दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर, वातावरणीय अध्ययन प्रतिवेदन बोर्डसमक्ष पेस गर्नेछ र सोको मूल्याङ्कन पश्चात् परियोजना विकासका लागि सम्झौता प्रक्रिया अघि बढ्नेछ । यसअघि पनि पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीबाट प्रस्ताव आएका थिए । यद्यपि ती प्रयास सार्थक हुन सकेनन् । ती प्रयास र अहिलेको पहलमा के फरक छ, जसले यी जलविद्युत् परियोजना विकास हुनेमा आश्वस्त हुन सकिन्छ ? परियोजनाका बारेमा यस अघिका पहलका सम्बन्धमा म धेरै टिप्पणी गर्न चाहन्न । परियोजना विकास गर्ने अभिप्रायले नै ती अघि बढाइएका थिए भन्ने लाग्छ । यसअघि भए/गरेका प्रयासका विवरण समेटिएको श्वेतपत्र लगानी बोर्डको कार्यालयले सार्वजनिक गरिसकेको छ । श्वेतपत्रले विस्तृत घटनाविवरण समेट्नुका साथै वस्तुस्थितिको यथार्थ चित्र प्रस्तुत गरेको छ । नेपालको जलविद्युत् क्षेत्रको विकासले यसको सम्भावित बजारसँग अन्योन्याश्रित सम्बन्ध राख्छ र बजार महत्वपूर्ण पक्ष पनि हो । यसका अतिरिक्त ऊर्जा निर्यातमा केन्द्रित परियोजना सहजीकरण एवं व्यवस्थापनको हाम्रो अनुभवका आधारमा एनएचपीसीसँग सहकार्य अघि बढेको हो । भारत सरकार स्वामित्वको एनएचपीसी प्राविधिक र वित्तीय दुवै हिसाबले सक्षम कम्पनी देखिएको छ । सो कम्पनीले भारतमा सात हजार मेगावाट भन्दा धेरै क्षमताका जलविद्युत् परियोजना कार्यान्वयन गरिसकेको छ । साथै, त्यसको दोब्बर क्षमताका परियोजना कार्यान्वयनका क्रममा छन् । एनएचपीसीले स्वच्छ र नवीकरणीय ऊर्जाका क्षेत्रमा दायरा विस्तार गर्न इच्छुक भई आएकाले नेपालमा यी दुई परियोजना विकास गर्न एनएचपीसी प्रतिबद्ध देखिन्छ । एनएचपीसीको वित्तीय क्षमता, प्राविधिक दक्षता र प्रतिबद्धतामा कुनै प्रश्न छैन । यी परियोजना ऊर्जा निर्यातमा केन्द्रित रहेर एनएचपीसीले कार्यान्वयन गर्दैछ र यसका लागि विकासकर्ता कम्पनी आफैँले बजार सुनिश्चित पनि गर्छ । यस सम्बन्धमा एनएचपीसीले समझदारी भएलगत्तै भारतको पीटीसी इन्डिया लिमिटेडसँग प्रारम्भिक विद्युत् बिक्री सम्झौता भइसकेको पनि जानकारी गराएको छ ।लगानी बोर्डले यी ठूला परियोजनासहित हालसम्म कूल पाँच हजार मेगावाटका जलविद्युत् आयोजनालाई परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढाइसकेको छ । विगतमा यस्ता ठूला परियोजना विकासको कार्यान्वयन तथा सहजीकरण कार्यमा लगानी बोर्डले हासिल गरेको अनुभवले पश्चिम सेती विकासका क्रममा आउन सक्ने सम्भावित जोखिमलाई उचित ढङ्गले व्यवस्थापन गर्दै परिणाममुखी तवरले परियोजनालाई सम्पन्न गराउन सक्षम रहेको छ । त्यसकारण पश्चिम सेती परियोजना विकासमा कुनै सन्देह राख्नुपर्दैन । परियोजना विकासका लागि स्थानीय सरोकारवालाले सहज र अनुकूल वातावरण निर्माणमा सहयोग गर्नुपर्छ र हुनेछ भन्ने विश्वास गरेको छु । दुबै निर्यात केन्द्रित जलविद्युत् आयोजना हुन्, यसले परियोजना क्षेत्र र खासगरी स्थानीयवासीलाई हुने लाभ के–के छन् ? पश्चिम सेती र सेती नदी–६को विकाससँगै नेपालको आर्थिक–सामाजिक विकासमा ठूलो रूपान्तरण ल्याउनेछ र यसको प्रत्यक्ष तथा पहिलो लाभग्राही भनेको परियोजना क्षेत्रका बासिन्दा नै हुन् । विकासका दृष्टिले तुलनात्मक रूपमा पछाडि देखिएको सुदूरपश्चिम प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउन यो परियोजना रूपान्तरणकारी हुनेछ भनेर नै पश्चिम सेतीलाई राष्ट्रिय गौरवको परियोजनामा सूचीकृत गरिएको हो । यस परियोजनाबाट नेपाललाई निःशुल्क ऊर्जा, राजस्व/आयकर साथै स्थानीय समुदायको लागि रोजगारी, तालिम, आयआर्जनका क्रियाकलाप, सामुदायिक पूर्वाधार विकास, स्थानीय शेयर लगायत प्रत्यक्ष–अप्रत्यक्ष लाभ हुनेछ । परियोजना विकासबाट प्राप्त हुने निःशुल्क ऊर्जाले औद्योगिकीकरणका साथै ऊर्जाका अन्य स्रोतमाथिको निर्भरता न्यूनीकरण भई इन्धन आयात कम गर्न सकिन्छ । अथवा, स्वदेशमा विद्युत् उपभोगका लागि माग सिर्जना गर्न कठिन भएको खण्डमा हामीले निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यी परियोजना विकासका क्रममा प्राप्त हुने औद्योगिक लाभकोे अनुभव विगतमा गरिसकेका छौँ । नेपालमा रहेका सिमेन्ट, छडलगायत निर्माण सामग्री उद्योगले समेत लाभ प्राप्त गर्नेछन् । सुदूरपश्चिमको औद्योगिकरणको साथै आर्थिक उन्नतिमा यी परियोजनाको कार्यान्वयन कोशेढुङ्गा हुनेमा दुई मत छैन । ठूला परियोजनाको कार्यान्वयनका क्रममा हुनसक्ने सामाजिक तथा वातावरणीय प्रभाव व्यवस्थापन तथा न्यूनीकरण महत्वपूर्ण पक्ष मानिन्छ । यस सम्बन्धमा लगानी बोर्डको योजना के छ ? सामाजिक तथा वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्रमा नेपालमा प्रचलित असल अभ्यास अनुशरण गर्दै सम्भावित सामाजिक र वातावरणीय प्रभाव व्यवस्थापन तथा न्यूनीकरणका लागि विकासकर्ताले सुक्ष्म ढङ्गले योजना तर्जुमा, स्वीकृति र कार्यान्वयन गर्नुपर्नेछ । यस प्रयासबाट यसप्रकारका ठूला परियोजना कार्यान्वयनका क्रममा आइपर्नसक्ने सम्भावित सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणमा सहयोग पुग्ने र परियोजनाको स्थायित्व कायम हुनेछ । विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् परियोजनाका ‘फुटप्रिन्ट’ पहिचान भई सम्भावित असरको आँकलन हुनेछ । परियोजना विकास सम्झौतासँगै पहिचान भएका विभिन्न विषयगत योजना तर्जुमा भई कार्यान्वयन हुनेछ । सेती बेसिनको बहुआयमिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ? भौगोलिक हिसाबले पनि जटिल सेती करिडोरको विकासले विस्तारै गति लिएको छ । पश्चिम सेती र सेती नदी–६ विकासको प्रक्रिया अघि बढेसँगै यसको माथिल्लो तटीय ९अपस्ट्रिम०सेती नदी–३ जलविद्युत् परियोजनामा चिलिमे जलविद्युत् कम्पनीले लगानी प्रस्ताव गरेको छ । यसले स्वतन्त्र ऊर्जा उत्पादकको सेती बेसिनमा स्वतः आकर्षण बढेको देखिन्छ । सो क्षेत्रको प्रसारणलाइन निर्माणका लागि भारत सरकारको लाइन अफ क्रेडिट एलओसीमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी प्रसारण लाइन निर्माण कार्य अघि बढ्ने भएको छ । एक सय ५० किलोमिटरको यो प्रसारणलाइन सेती करिडोरका जलविद्युत् परियोजनाका लागि महत्वपूर्ण आधार हुनेछ । यस क्षेत्रमा विद्युत् उत्पादन वृद्धि भएसँगै आगामी दिनमा लम्की–बरेली अन्तरदेशीय विद्युत् प्रसारणलाइनमार्फत् विद्युत् व्यापारको बाटो खोल्नेमा आशावादी हुन सकिन्छ । यसलगायत सडक, विद्युत्, खानेपानी, शिक्षा, सञ्चारप्रविधि जस्ता आधारभूत पूर्वाधार समेतको स्तरोन्नतिले सेती करिडोर सुदूरपश्चिमको विकासमा रुपान्तरणको सम्बाहक हुनेछ । म व्यक्तिगत रुपमा सेती करिडोरको भविष्य अरुण करिडोरमा जस्तै देखिरहेको छु । उक्त बेसिनमा अरुण तेस्रोको कार्यान्वयनसँगै तल्लो र माथिल्लो अरुण जलविद्युत् परियोजना विकासले गति लिएको छ । दुवै परियोजनाको सर्वेक्षण अनुमतिपत्र जारी हुने चरणमा रहेको हाे भने यसपश्चात् दुवै परियोजनाको भावी मार्गचित्र के हुन्छ ? पश्चिम सेतीको सर्वेक्षण अनुमतिपत्र जारी गर्ने अन्तिम चरणमा छौँ । र, सेती नदी–६ को सन्दर्भमा समझदारीको ६ महिनाभित्र सोही प्रक्रियाबाट अघि बढ्नेछ । एनएचपीसीलाई सर्वेक्षण अनुमतिपत्र जारी भएको तीन महिनाभित्र प्रारम्भिक प्रतिवेदन लगानी बोर्डसमक्ष पेस गर्नुपर्नेछ र सो पश्चात् २१ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय अध्ययनसमेत पेस भई स्वीकृतिपश्चात् परियोजना विकास सम्झौताको चरणमा प्रवेश गर्नेछ । यसबीचमा, लगानी बोर्डले परियोजना प्रभाव क्षेत्रका बासिन्दा तथा सरोकारवालाको राय तथा परामर्श लिने र प्राप्त राय/सुझावलाई सम्बोधन गर्नका निमित्त परियोजना विकासका विभिन्न चरणमा समावेश गर्दै लैजाने योजना रहेको छ । रासस
प्रभु बैंकले ३ करोड रुपैयाँसम्मको कर्जा सुरक्षण गर्ने
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकले कृषिकर्जा वापत कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । तीन करोडसम्मको यस्तो कर्जा मध्ये १ करोडभन्दा माथिको कर्जा प्रवाहको हकमा भने बैंकले कोषको पुर्व स्वीकृति लिनुपर्नेछ । कोष मार्फत सुरक्षण हुने कर्जामध्ये कृषि कर्जा सुरक्षण शुल्क मध्य ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकि ५० प्रतिशत मात्र दुई किस्ताको रुपमा अषाढ मसान्त र पौष मसान्तमा बैंकले कोषमा बुझाउनेछ । कोषमा सुरक्षित गरिएको कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना क्षति भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेको अवस्थामा बैंकले कोषमा दाबी गर्न सक्ने र उक्त दाबी बापत कोषले ५० लाखसम्मको कर्जामा ८० प्रतिशतसम्म र ५० लाखभन्दा माथि ३ करोडसम्मको हकमा ५० प्रतिशतसम्म दाबी भुक्तानी गर्नेछ ।
तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा
काठमाडौं । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि याे समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।
जोरपाटीमा साथीमार्टको ११५ औं आउटलेट
काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११५ औं आउटलेट जोरपाटीको आरुबारी चोकमा सञ्चालनमा आएको छ । रुपेश थिङले सञ्चालनमा ल्याएको उक्त आउटलेट ७ सय ५० स्वायरफिट क्षेत्रफलमा फैलिएको छ । आउटलेट खोल्नुको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने रहेको रुपेशले बताए । ‘राष्ट्रिय स्तरको रिटेल चेनसँग जोडिएर लोकल लेभलमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नै यो आउटलेट सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘रिटेल चेनको क्षेत्रमा साथीमार्टसँग हातेमालो गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित र विकास गर्ने योजना छ ।’ यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा मगाउन सक्नेछन् ।
एक सय मिटर बत्तीको मूल्य ११ हजार रुपैयाँ
काठमाडौं । यतिबेला बजारमा तिहारका लागि सामान खरिदबिक्री गर्नेको भीड लागेको छ । तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स पसलहरूमा पनि बत्ती खरिद बिक्री गर्नेहरुको संख्या बढ्न थालेको छ । अहिले धेरैले बत्ती खरिद गरेर घर सजाइसकेका छन् भने कतिपय तयारी गरिरहेका छन् । अहिले विभिन्न किसिमका झिलिमिली बत्ती बजारमा उपलब्ध छन् । बजारमा उपलब्ध बत्ती खरिद गर्न ग्राहकहरुको भीड पसलपसलमा देखिन्छ । व्यापारीहरुका अनुसार अहिले सबैभन्दा बढी माग भइरहेको झिलिमिली बत्तीमध्ये पाइप लाइट बत्ती हो । अहिले यो बत्तीको सबैभन्दा बढी कारोबार भइरहेको न्यूरोडमा बत्तीको व्यपार गर्दै आएका उमेश मण्डल बत्ताउँछन् । उनका अनुसार पाइपलाइट बत्ती झिलिमिली बत्तीमध्येको सबैभन्दा बढी माग र मूल्य भइरहेको बत्ती हो । पाइपलाइट बत्तीको एक सय मिटरको मूल्य न्यूनतम ११ हजार रुपैयाँ पर्ने उनले बताए । सो बत्तीको एक मिटरको भने १५० रुपैयाँ पर्ने उनको भनाइ छ । यसको मुल्य पसल अनुसार फरक–फरक परे पनि न्यूनतम भने ११ हजार पर्छ । पाइपलाईट बत्ती ‘मल्टीकलर’ मा भएको उनीहरु बताउँछन् । ‘पाइपलाईट बत्ती तिहारमा बल्ने बत्ती मध्यको सबै भन्दा महँगो हो, यसको ग्यारेन्टी वारेन्टी हुँदैन, वाटर प्रुफ हुने भएकाले लामो समयसम्म टिक्छ,’ उनले भने । परम्परागत दियो बाल्ने चलन कम हुँदै गएकाले आधुनिक बिजुली बत्तीको प्रयोग बढ्दो छ । तिनै बत्ती, फूल र मानिसहरूको चहलपहलले काठमाडौं उपत्यकामा तिहार सुरु भइसकेको झल्को हुन्छ । तिहारमा घरमा सजाउने बत्तीको न्यूनतम १२० रुपैयाँदेखि लाखौंसम्म हुने व्यापारीहरु बताउँछन् । न्युरोडका अर्का व्यापारी रमेश शर्मा अघिल्ला वर्षको तुलनामा ग्राहकको उपस्थिति यस पटक कम भएको बत्ताउँछन् । उनका अनुसार बजारमा डाईमन, रकेट, रुफ लगायतका लाइट उपलब्ध छन् । ‘अहिले बत्ती धेरै मात्रामा बिक्री भएको छैन, तिहार नजिकिँदै छ, त्यो समयमा धेरै लाइटको माग आउला, केही दिन पछिबाट मात्र बत्तीको व्यापार राम्रो हुने हाम्रो अनुमान छ,’ उनले भने । बजारमा झिलिमिली बत्ती खोज्न ग्राहक आए पनि सो बत्तीको अभाव रहेको व्यापारीहरु बताउँछन् । चाइनाबाट बत्ती आयात गरेता पनि समयमा नै समान आउन नसक्दा बजारमा बत्तीको अभाव भएको उनीहरुको भनाइ छ । ‘आयातकर्ताले बत्ती आयात गरेता पनि सामान चीनियाँ नाकामै छ, आयात कर्ताका डिलरबाट हामीले सामान ल्याउने हो, तर सामान आउन नसक्दा महँगो हुने देखिन्छ,’ उनले भने । नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड बढी रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघले जनाएको छ । यो वर्ष झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगो बन्नसक्ने अनुमान महासंघको छ ।
महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक छुटका साथै उच्च ब्याज
काठमाडौं । महालक्ष्मी विकास बैंकले विशेष ९महा बचत० खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् । बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड ९कास्कीं० शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ ।
टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा पुकार बमलाई सोधियो स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमलाई स्पष्टीकरण सोधेको छ । आयाेगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण सोधेको हाे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं १ का उम्मेदवार हुन् बम । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख गर्दै स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईँले निर्वाचन प्रचार–प्रसारका क्रममा आफ्नो नाम अङ्कित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ ? स्पष्टीकरणपत्रमा अगडि भनिएको छ, ‘तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो ? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला ।’