विकासन्युज

नबिल बैंकले बिनाधितो फोनलोन दुई लाखसम्म दिने, क्यूआर मर्चेन्टहरुले पनि फोनलोन पाउने

काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको छ । यसका साथै बैंकले यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि बढाइएको छ । यस अनुसार अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आवद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए । यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’को सुविधा तथा लोनवापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुनेछ । ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्नेछन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’ को विकल्प रोज्न सक्नेछन् । बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुने बैंकले जनाएको छ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने जनाएको छ ।

ललितपुरमा १३ सय बढि म्यादी प्रहरी परिचालन हुने

ललितपुर । ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन । उहाँका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ । ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिम पछि उनीहरुलाई आवश्यक्ता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए । सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरुलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

सर्लाहीमा सहकारी प्रमुखलाई गोली हान्ने ३ भारतीयसहित चारजना पक्राउ

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्रका प्रमुख साजन कार्कीलाई गोली प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई गोली हान्ने चारजना अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये तीनजना भारतीय र एक जना नेपाली रहेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य शिवहर जिल्ला छपरा ग्रामपञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार वैशाली जिल्ला सुल्तानपुर ग्रामपञ्चायतका १९ वर्षीय सौरभकुमार यादव, विहार मोतीहारी जिल्ला हजारा ग्रामपञ्चायतका १९ वर्षीय गुलसनकुमार सिंह र अर्का सर्लाहीको धनकौल–१ का ३२ वर्षीय धीरेन्द्र सहनी रहेका छन् । हिजो बुधवार मिलनचोकस्थित सहकारीमा लुटपाट गर्न आएका लुटेराले सहकारी प्रमुख कार्कीले चार राउण्ड गोली हानेका थिए ।

फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई सहज

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो । फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात भएकाे थियो । फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गत सम्म सञ्चालन हुनेछ ।  

प्लाष्टिकजन्य फूल बिक्री गर्नेलाई १ लाखसम्म जरिवाना, शुक्रबारदेखि अनुगमन हुने

काठमाडौ । वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । बिहीबार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए । उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराइसकेकाे जानकारी दिए । ‘तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य छ, गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिबन्ध रहेको छ,’ उनले भने । उनले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताए । ‘अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा ४ को खण्ड क वा ख बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा २० बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ,’ उनले भने ।  

समयमा फूल नफुल्दा भारतबाट २ लाख माला भित्र्याइयो

धरान । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर शतिघरमा भण्डारण गरेका छन् । हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए । यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् । विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम्भावना रहेकोे व्यवस्थापक भट्टराईको भनाइ थियो । उनका अनुसार गत वर्ष एक करोड ६२ लाख रुपैयाँको फूलको व्यापार भएको थियो तर यस वर्ष दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । ‘ती फूलका माला प्रतिगोटा ४०–५० रुपैयाँ पर्न सक्छ । नेपाल यस क्षेत्रमा समयमै फूल नफुलेकाले ती माला प्रतिगोटा एक सय रुपैयाँ सम्म पर्न सक्छ’, भट्टराईले भने । बढी फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ । यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले काम नदिएको व्यवसायी विमल थापाले बताए । रासस

मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का तथा फुकुवा बैंकबाटै हुने

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउन उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको बैंकले जनाएको छ । समन्वयकाे लागि अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा भएकाे सम्झाैतामा मेगा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका छन् । भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेश गरे पुग्ने बैंकले जनाएकाे छ ।  

टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, मूल्य ३ लाख १५ हजार पर्ने

काठमाडौं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २ गते भएको कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए । कम्पनीले यसकाे मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ ताेकेकाे छ । अहिले जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला नामक एक्सचेन्ज मेला पनि संचालन गरिरहेकाे छ । असोज ३१ गतेबाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् । कम्पनीकाे अनुसार यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कनभन्दा ७ हजार बढीको मूल्य पाउने छन् । यसका साथै, ग्राहकले सवारीसाधन नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउन सक्नेछन् । यस मेलामा न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले बताएकाे छ । यस बाहेक मेलामा ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।