
काठमाडौं । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो ।
अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए ।
उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए । अध्यक्ष शाक्यले दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताए ।
उनले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको बताए । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखेपनि चासो नदिएको गुनासो गरे । अध्यक्ष शाक्यले सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताए ।
उनले भने, ‘चाडपर्वहरु एकपछि अर्को आएता पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा रहेका छन् । सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ ।’
अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पुजा गर्ने प्रचलन रहेको बताए । उनले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए ।
शाक्यले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने बताए । उनले अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताए ।
उनले भने, ‘नेपालीहरुको दोस्रो महान पर्व तिहारको यमपञ्चकको दिनदेखि पाँच दिनसम्म श्रद्धाका साथ धनको पूजा गरिन्छ । पुजा गर्ने क्रममा घरमा भएका धनका विभिन्न साधनहरुलाई पूजा गर्ने चलन रहेको छ । धनको कमी नहोस् । त्यसैको प्रतिक स्वरुपमा लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गरिन्छ । सुनले सबै मानवलाई सधैँ आकर्षण गरेको छ । धार्मिक आस्था अनुसार मानिसहरुको धन प्रतिको लगावका कारण धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास छ ।’
सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।