
काठमाडौं । धर्मशालाभित्र व्यापार गर्न थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपाललाई गौशलाबाट हटाउने तयारी गरेको छ । मारवाडी सेवा समितिले तत्काल गल्ती स्वीकार गरेर अबैध कृयाकलाप बन्द नगर्ने हो भने कोषले समितिलाई दिएको ९ रोपनी जग्गा खाली गराउने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।
पशुपति क्षेत्रको स्वामित्वमा रहेको ९ रोपनी जग्गा मारवाडी सेवा समिति नेपालले बिक्रम संम्वत १९९७ देखि भोगचलन गर्दै आएको छ । हिन्दुहरुले लक्ष्मीमाताको रुपमा पुज्दै आएको गाई पालन गर्ने मुल कार्यको लागि पशुपति क्षेत्रले मारवाडी सेवा समितिलाई ९ रोपनी जग्गा भोगचलन गर्न दिएको थियो । गाइपालन गर्ने भएकोले उक्त क्षेत्रलाई गौशाला भनिन्छ । पछि समितिले उक्त क्षेत्रमा धर्मशाला पनि चलाउँदै आएको थियो ।
पछिल्लो समय मारवाडी सेवा समितिले धर्मशाला क्षेत्रभित्र अस्पताल पनि सञ्चालन गरेको छ । हस्पिटलभित्र स्वास्थ्य सेवा बिक्री भइरहेको जानकारी पाएपछि पशुपति क्षेत्र विकास कोषले त्यस्तो कार्य बन्द गराउन लागेको कार्यकारी निर्देशक खतिवडाले बताए ।
‘गौशालामा मुलतः गाईपालन गर्ने, खाना, बस्न नपाएका गाई गोरुलाई यहाँ पालन गर्ने सहमतिको आधारमा ९ रोपनी जग्गा मारवाडी सेवा समितिलाई कोषले उपलब्ध गराएको हो । तर यहाँ सेवाभन्दा व्यापार बढी हुन थाल्यो । कोषसँग भएका सहमति विपरित भौतिक संरचनाहरु बनाइएको छ’ खतिवडाले भने–‘पशुपति क्षेत्र धर्म संस्कृत प्रवद्र्धन गर्ने कार्य मात्र गर्न पाइन्छ । घाटसेवा, कृयापुत्री सेवा गर्न पाइन्छ । अन्य काम गर्न निषेध गरिएको छ ।’
गौशलामा पालिएको गाई र गोरुको अवस्था पनि नाजुक रहेको कार्यकारी निर्देशक खतिवडाले बताए । ‘गाई–गोरुले खान पाएका छैनन् । उनीहरु दुब्ला र खानै नपाएर थलिएको अवस्थामा छन् । सरसफाई पनि भएको छैन । गाईहरु हिरोमा ढुबेर बाँचेका छन्’ उनले भने ।

अध्यक्ष गाेयल
गौशलामा पालिएका गाई गोरुको अवस्थाबारे फोटो र भिडियो खिच्न गएको विकासन्युज प्रतिनिधिलाई उक्त क्षेत्रभित्र प्रवेश गर्न दिइएन । उक्त क्षेत्रभित्र फोटो, भिडियो खिच्न निषेध गरिएको भन्दै कर्मचारीले रोक लगाएको विकासन्युजका फोटो पत्रकार रिसब चौधरीले बताए । फाेटाेपत्रकारलाई धर्मशालाकाे मुल गेटबाट भित्र प्रवेश गर्नै नदिएकाे उनले बताए ।
मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले यस विषयमा कुराकानी गर्न चाहेनन् । ‘तिहारभित्रै हामीले सुधारका काम गर्दैछौं । तिहारपछि यस विषयमा बोल्छु’ उनले भने । बास्तुस्थितिको फोटो खिच्न नदिएको विषयमा उनले भने–‘तिहारपछि फोटो खिच्न पनि दिउँला ।’
कानुनी रुपमा नै गर्न नपाइने काम मारवाडी सेवा समितिले गरेको पाइएकोले ती काम बन्द गर्न, सम्झौता र मापदण्डा विपरित बनेको संरचना हटाउन कोषले निर्देशन दिएको छ । निर्देशनसहित कोषले ३५ दिने सूचना पनि पत्रिकामा प्रकाशित गरेको छ ।
यसअघि पशुपति क्षेत्र भित्र बतास समूहले क्रियापुत्री सेवाको नाममा होटल चलाएर व्यापार गर्न थालेपछि बतास ग्रुपलाई पशुपति क्षेत्र विकास कोषले बतास समूहसँगको सबै सम्झौता भंग गरी व्यवसायिक कारोबार बन्द गराएको थियो ।