विकासन्युज

झिनियाँबाट वार्षिक १० लाख आम्दानी गर्छन् गुल्मीका महिला

रेसुङ्गा । उनी बिहान ३ बजे नै उठ्छिन् । त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छिन् । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्छिन् । गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो ।क विशेष गरेर दसैँ र तिहारमा अत्यधिक बिक्री हुने झिनियाँ रोटी आफूहरूले वर्षभरि नै बनाउने गरेको ४३ वर्षीय श्रेष्ठले बताइन् । आफूहरूको मुख्य पेशा नै झिनियाँ रोटी बनाउने रहेको उनको भनाइ छ । ‘हामीले वर्षभर झिनियाँ रोटी बनाएर चाडपर्वहरूमा बिक्री गर्दछौँ’, उनले भनिन् ‘दैनिक दुई सय दर्जन झिनियाँ बनाउँदा पनि बजारको माग धान्न सकेका छैनौँ ।’ झिनियाँ रोटीबाट आफ्नै घरमा बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण विष्णुमतीले प्रस्तुत गरेकी छिन् । आफूले यस वर्ष मात्र झण्डै १० लाख रुपैयाँको झिनियाँ रोटी बिक्री गरेको विष्णुमतीले बताइन् । ‘दसैँ र तिहारको समयमा यस वर्ष आठ लाख रुपैयाँको झिनियाँ बिक्री भयो, अघिपछिका मेलापर्वमा  दुई लाख बराबरको हुने गर्दछ’  उनले भनिन्, ‘वर्षभरको मेहनत र परिश्रमसहित नौ लाख रुपैयाँ बचत हुन्छ ।’ सामान्य लगानीसहित अत्यधिक मेहनत र परिश्रमले धेरै आम्दानी हुने बिष्णुमतीको भनाइ छ । उनले झिनियाँ रोटी घरबाटै फुटकर एक सय रुपैयाँ दर्जन र होलसेल ९० रुपैयाँ दर्जनमा बिक्री गर्छिन् । झिनियाँ रोटी विष्णुमतीले बनाए मात्र पुग्छ । उनलाई बजार र बजारीकरणको कुनै समस्या छैन । जति उत्पादन गरे पनि बजारको लागि पुगेको छैन । चाडपर्वको बेला विष्णुमतीलाई फोन उठाउन भ्याइनभ्याइ हुने गर्दछ । ‘झिनियाँ रोटीको लागि टाढाटाढाबाट फोनहरू आइरहेका हुन्छन्’’ बिष्णुमतीले भनिन्, ‘सकेसम्म मागअनुसार झिनियाँ रोटी पठाउँछु, उनीहरुले मेरो खातामा पैसा पठाउँछन् ।’ उनले अहिलेसम्म गुल्मी, बाग्लुङ्ग, रूपन्देही, अर्घाखाँची, कास्की र मुस्ताङसम्म झिनियाँ रोटी पठाएकी छिन् । अन्य जिल्लाबाट पनि फोन आइरहने गरे पनि झिनियाँ रोटी पु¥याउन नसकेको उनको भनाइ छ । झिनियाँ रोटी बनाउने काममा विष्णुमतीलाई सङ्गीता रानाले पनि सघाइरहेकी छिन् । फोनबाटै सहजरूपका व्यापार भएपछि झिनियाँ रोटी बनाउन प्रोत्साहित भएको विष्णुमतीको भनाइ छ । झिनियाँ रोटी बनाउने आफूहरूको पुख्र्यौंली पेशा भएको विष्णुमतीकी ८८ वर्षीया आमा चम्पाकुमारी श्रेष्ठले बताइन् । आफूहरूले पनि सामान्य झिनियाँ रोटीको व्यापारबाट जीविकोपार्जन गरेको चम्पाकुमारीले सम्झिन । आमाको देखासिकीबाट छोरी विष्णुमतीले १२ वर्षयता झिनियाँ रोटीलाई व्यावसायिकरूपमा अगाडि बढाएकी छिन् । यसको आम्दानीले घरखर्च गर्न सहज भएको उनी बताउँछिन् । झिनियाँ व्यवसायी विष्णुमतीलाई धेरै ठाउँबाट तालिमको प्रशिक्षकका रुपमा आइदिन अनुरोध हुने गर्दछ । गुल्मीसहित अन्य जिल्लाका उद्योग कार्यालय र स्थानीय तहले तालिमको लागि बोलाउने गरेको उनले बताइन् । ‘तालिममा प्रशिक्षकका लागि माग आइरहेकै हुन्छ’, विष्णुमतीले भनिन्, ‘घरमा झिनियाँ बनाउन व्यस्त भएका कारण धेरै ठाउँमा त जान भ्याएकी छैन ।’ अबका दिन झिनियाँ रोटी बनाउने तालिमको लागि आफू जानेसमेत उनले बताएकी छिन् । झिनियाँ रोटी बनाउन मिहेनत र परिश्रम बढी लाग्ने गरे पनि थोरै आर्थिक लगानीबाट पनि गर्न सकिने उनले बताइन् । ‘झिनियाँको व्यवसाय गर्नका लागि केही गर्नु पर्दैन, मिहेनत र परिश्रम भए पुग्छ’, उनले भनिन्, ‘एउटा हाते मेसिन किनेपछि सुरू गरिहाल्न सकिन्छ ।’ मेसिन पनि मात्रै १२ देखि १५ हजार रूपैयाँमा खरिद गर्न सकिने उनले जानकारी दिइन् । आफूले १२ हजार रूपैयाँमा खरिद गरेको मेसिन १२ वर्षसम्म निरन्तर चलिरहेको विष्णुमतीले सुनाइन् । विष्णुमती मात्र होइन, वामिटक्सारका केही स्थानीयहरू पछिल्लो समय झिनियाँ व्यवसायमा आकर्षित भएका छन् । स्थानीयवासी अमृतलाल प्रधानले यही झिनियाँ व्यवसायबाटै वार्षिक तीन लाख रुपैयाँ सम्म कमाउँछन् । उनले तिहारको लागि मात्र झिनियाँ बनाउने गर्छन् । श्रीमती ज्ञानु प्रधानसँगै अमृतलालले यो समयमा बिहादेखि साँझसम्म झिनियाँ तयार गर्छन् । उनको बजारीकरण बाग्लुङ्गको गलकोटमा हुने गर्दछ । त्यस्तै अर्का स्थानीयवासी स्थानीवासी पार्वती श्रेष्ठले पनि १० वर्षदेखि तिहार लक्षित झिनियाँ व्यवसाय गरिरहेकी छिन् । उनले वार्षिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गछिन्। आफ्नो जीविकोवार्जनका लागि पुग्ने गरेर झिनियाँको व्यवसाय गरेको पार्वतीले बताइन् । नेवारी भाषामा झिनियाँ रोटीलाई कसिनकमारी पनि भनिन्छ । झिनियाँ रोटी विशेषगरी दसैँ र तिहारमा धेरै बिक्री हुने गर्दछ । झिनियाँ रोटीको व्यवसायमा धेरै जना आकर्षित भएमात्र बजारको माग पु¥याउन सकिने बिष्णुमतीले बताइन् । थोरै लगानी, बढी मिहेनत र परिश्रम, कुनै सरकारी निकायको भर नपर्नुपर्ने, बजारीकरणको कुनै समस्या नभएको, घरमै बसेर गर्न सकिने र मनग्ये आम्दानी हुने भएकाले धेरैले व्यावसायिकरुपमा गर्न सक्ने अवसर रहेको उनको भनाइ छ । झिनियाँ रोटी बनाउन चामललाई पिसेर बनाएको पिठोलाई पानीमा पकाउँनुपर्छ । । पिठो पकाउने समयमा कुन रङको बनाउने हो, त्यही रङ प्रयोग गर्न सकिन्छ । पिठो पाकेर ठोसको रूपको तयार भएपछि त्यसलाई सानो सानो दानाको रूपमा तयार गरी हाते मेसिनमा राख्ने र त्यसपछि मेसिनलाई एउटा हातले चलाउने अर्को हातले मेसिन तल एकपटकमा ३० वटासम्म झिनियाँ बन्छ । झिनियाँलाई कम्तीमा तीन घण्टा घाममा सुकाएपछि झिनियाँ तयार हुन्छ । झिनियाँलाई तेलमा फुराएर मात्र प्रयोग गरिन्छ । रासस

सफ्टवेरिका कलेजले दियाे २८ लाखकाे छात्रवृत्ति

काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो रकम बराबरको छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउनेमा कलेजका ३०, ३१ र ३२ औं ब्याचका विद्यार्थीहरू रहेको कलेजका प्रमुख प्रमोद पौडेलले बताए । उनको अनुसार छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले सतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका छन्। विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको पौडेलले बताएका छन् ।

घोराही सिमेन्ट किन्दा इ-स्कुटरदेखि मोबाइलसम्म पाइने

काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ । यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरिसकेपछि आउने फारम भरी विभिन्न उपहार जित्न सकिनेछ ।  । कम्पनीको अुनसार पुस मसान्तसम्म संचालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामान लगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ । लक्कि ड्रको नतिजा कम्पनीको सामाजिक संजाल र विभिन्न माध्यमबाट प्रशारण गरिने कम्पनीले जनाएको छ ।  

चितवनकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे । प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिए । उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ । आयुर्वेद थेरापी, दुःखाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी रोग, निद्रा नलाग्ने लगायतका रोगको उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत भइरहेको अधिकारीले जानकारी दिए । केन्द्रमा प्रयोगशाला, भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रस्तावित ५० शय्याको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २५ शय्याको भवन निर्माण भइरहेको छ । केन्द्रले गतवर्ष मात्रै ४० हजार नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । आरोग्यता दिवस तथा आज धन्वन्तरि जयन्तीमा प्रभातफेरी प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको अवसरमा चितवनमा प्रभातफेरी निकालिएको छ । रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभातफेरी निकालिएको हो । केन्द्रको कार्यालय परिसरदेखि सुरु भएको प्रभातफेरी ईलाका प्रहरी कार्यालय हुँदै सौराहा चोक, बकुलहर चोक, हरिहर मन्दिर हुँदै पुनः कार्यालयमा आएर समापन भएको थियो । प्रभातफेरीमा सहभागीलाई विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्ले कार्ड समातेका थिए । दिवसकै अवसरमा कार्यालयमा धन्वन्तरि पूजन एवं धन्वन्तरि मूर्ति प्रतिस्थापन गरिएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सो जयन्ती मनाउने गरिन्छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । रासस

निर्वाचन सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्नेछ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।

कनेक्ट आइपिएस मार्फत तिहार र छठमा निःशुल्क फण्ड ट्रान्सफर

काठमाडौं । तिहार र छठमा मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ती बैंक वित्तीय संस्थासँगको समन्वयमा  एनसीएचएलले यो अफर लागू गरेको जनाएको छ । फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्नेछ । हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानका अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूल खेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फूल खेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्नथरीका १४ करोड रुपैयाँ मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ । यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ । माला एकपटक प्रयोग हुने वस्तु हो । ‘किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन् । तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौँ’, फ्यानका महासचिव विश्वमणि पोखरेलले बताए । प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले ११ करोड रुपैयाँको फूल आयात गरेको थियो । गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो । तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ । नेपालमा व्यावसायिक फूल खेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ४२ हजार रुपैयाँभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताउनुहुन्छ । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ । ‘पुष्प क्षेत्रको लगानीबाट राम्रो प्रतिफूल लिन सकिन्छ । विश्वमा नेपाली फूल ‘हिमालयन फ्लावर’ का नाममा बिक्री हुनसक्छ । तर बृहत् लगानी हुन सकेका छैनन् । ठूला लगानी भित्र्याउन सरकारले नीतिगत सुधारमा ध्यान पुर्याउनुपर्छ’, अध्यक्ष गोल्छाले भने । धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ । फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने सम्भावना छ । सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन । भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ । नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ । नेपालले फूल निर्यात गर्नसक्ने सम्भावना रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका पूर्वध्यक्ष कुमार कसजुले जानकारी दिए । फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ । यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ । कृषि विभागका उपमहानिर्देशक डा हरिबहादुर केसीले सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको जानकारी दिए । वनस्पति विभागका महानिर्देशक डा राधा काफ्लेले नेपालमा वर्षैभरि फूलिरहने गोदावरी फूलको विकास गरेको भन्दै यसको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको जानकारी दिए । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले सङ्घीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गरे । उनले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्छ भने । पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । नीतिको समयसापेक्ष परिवर्तन आवश्यक छ । नेपालमा पुष्पखेतीका लागि हालसम्म ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेकाले बेलाबखतमा आयात गर्नुपरेको हो । रासस

त्रिशूली जलविद्युतको सेयर वापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर वापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर वापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ संकलन भएको छ । साविकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले अन्तिम अगावै आवेदन दिन सेयरधनीहरुलाई आग्रह गरे । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रति कित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी ९२ अर्ब ४७ करोड० र ७० प्रतिशत ऋण ९५ अर्ब ७६ करोड०बाट लगानी जुटाइएको छ ।