शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक
तनहुँ । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । ‘एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन’, समूहका एक सदस्य दीपेश पौडेलले भने, ‘त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।’ उनले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताए । त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै थिए । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उनले बताए । पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् । तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताए । ‘कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम छन्,’ उनले भने, ‘धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कने यसरी बजार प्रवद्र्धन हुँदैन ।’ शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताए । ‘म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो’, उनले भने, ‘रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।’ रासस
दक्षिण कोरिया : भागदौडमा मृत्यु हुनेमध्ये ५० जनाको हृदयघात भएको आशङ्का
सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो । योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्निनियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ । उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन् ।
रामलालले बनाए विद्युत्बाट चल्ने स्वचालित घन
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ । फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उनले बताए । ‘फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो’, आरानमा घरेलु औजार बनाउँदै गरेका रामलालले भने, ‘दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।’ मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन् । मेसिन बनाउन करिब ३० हजार रुपैयाँका सामान खरिद गरेको उनले बताए । युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उनले जानकारी दिए । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएका छन् । करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उनले बताए । कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उनको भनाइ छ । चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आएका विश्वकर्माले आरन दर्ता गर्नु भएको छैन । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उनले बताए । निर्वाहका लागि मात्र आफूले आरान सञ्चालन गरेको उनी बताउँछन्। करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आएका विश्वकर्माले घरायसी हतियार अरचापेको धार लगाएको ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्छन् । नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताए । आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उनले जानकारी दिए । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उनको भनाइ छ । ‘ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ।’ सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरेमा आफूले व्यवसायलाई थप विस्तार गर्नसक्ने बताउँछन् । आरनको कमाइबाट घरको दैनिक जर्गो टार्दै आएका छन् । विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताए । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका छ/सात वटा गाउँका बासिन्दाले उनको आरनबाट सेवा लिँदै आएका छन् । रासस
लामो आयु चाहनुहुन्छ भने दैनिक २ कप कफी पिउनुहोस्
एजेन्सी । दिनमा २ वा ३ कप कफी पिउनाले लामो आयु बढ्छ र मुटु रोगको जोखिम पनि कम हुन्छ । अष्ट्रेलियाको बेकर हार्ट एण्ड डायबिटिज रिसर्च इन्स्टिच्युटको टोलीले गरेको एक अध्ययनमा यस्तो देखाइएको हो । अध्ययनमा समावेश भएका २२.४ मानिसले कफी पिएनन् । अनुसन्धानकर्ताहरूले सबैको स्वास्थ्य रेकर्डमा नजर राखे। दैनिक २ देखि ३ कप कफी पिउनेहरूले सकारात्मक नतिजा पाएका छन्, जो मुटु रोगबाट पनि टाढा रहेको देखाएको छ । अध्ययनमा ४० देखि ६९ वर्ष उमेर समूहका ४.५ लाख मानिसलाई समावेश गरिएको थियो । उनीहरूलाई ग्राउन्ड, इन्स्ट्यान्ट र डिक्याफिनेटेड कफी जस्ता सबै प्रकारका कफी दिइयो। जसमा करिब ५५ प्रतिशत महिला रहेका थिए । अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई ६ वर्गमा विभाजन गरिएको थियो । जसमा कफी नपिउनेहरू, एक कप कफी पिउनेहरू, २ देखि ३ कप कफी पिउनेहरू, ४ देखि ५ कप कफी पिउनेहरू र ५ कपभन्दा बढी कफी पिउनेहरू गरेर बर्गिकरण गरिएको थियो । अध्ययनमा संलग्न सबैभन्दा बढी ४४.१ प्रतिशतले तत्काल कफी पिए। ग्राउन्ड कफी पिउनेहरू १८.४ प्रतिशत थिए भने १५.२ प्रतिशत डिक्याफिनेटेड कफी पिउनेहरू थिए। यो अनुसन्धान युरोपियन जर्नल अफ प्रिभेटिभ कार्डियोलोजीमा प्रकाशित भएको थियो । भास्कर दैनिकबाट ।
वर्षमा २ अर्बसम्म कमाउने ग्राण्डी अस्पताल ६८ करोडमा सीमित, एक वर्षमा ५२ प्रतिशतले घट्यो बिजनेस
काठमाडौं । काठमाडौंको धापासीमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यापार घटेको छ । यस अस्पतालको कारोबार अघिल्लो वर्षको तुलनामा गत वर्ष ५२.२२ प्रतिशतले घटेको हो । यस अस्पतालले सन् २०२१ मा ६८ करोड ६० लाख रुपैयाँको विजनेस गरेको देखिएको छ । सन् २०२० मा भने अस्पतालले एक अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै, सन् २०१९ मा अस्पतालले दुई अर्ब ५ करोड ६० लाख र सन् २०१८ मा एक अर्ब ८८ करोड ९० लाख रुपैयाँको विजनेस गरेको देखिएको छ । यस अस्पतालको आम्दानी पनि नियमित घट्दै गएको छ । सन् २०१७ मा यस अस्पतालले एक अर्ब ५३ करोड १० लाख रुपैयाँको बिजनेस गरेको थियो । कम्पनीको विजनेस प्रत्येक वर्ष घट्दै गएको छ । २०० शैय्या रहेको यो अस्पताल काठमाडाैंमा रहेका सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । सन् २०१३ देखि सञ्चालनमा आएको यो अस्पतालमा हेलिप्याडको पनि सुविधा छ । यस अस्पतालले एक अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋण सुविधाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले एलबी रेटिङ पाएको छ । ७ सदस्यीय सञ्चालक समिति रहेको यस अस्पतालको नेतृत्व दिपक कुवँरले गरिरहेका छन् । सञ्चालक समितिको सदस्यका रुपमा विजयराज भण्डारी, साधुराम पाण्डे, सुवर्ण कृष्ण मल्ल, बिरेन्द्र बहादुर श्रेष्ठ र डा. सविना श्रेष्ठ बिजुक्छे छन् । यस अस्पतालका परिकल्पनाकार एवं सेयरहोल्डर डा.चक्रराज पाण्डे र प्रमुख लगानीकर्तामध्येका एक व्यवसायिक समूह ज्योति समूहका डा. रुपज्योतिको तालमेल नहुँदा बढेको किचलो अदालतसम्म पुगेको थियो । डा. पाण्डे र ज्योति समूहको लगानीको लफडा अन्त्य गर्नका लागि सेयर धनीका रुपमा सन् २०१५ मा डा. उपेन्द्र महतो पनि ग्राण्डीमा छिरेका थिए । ५१ प्रतिशत सेयर लिएर ग्राण्डी छिर्ने सहमति गरेर लगानी गर्न सुरु गरेका डा. महतोले कबोल गरेको पुँजी पूरै जुटाउन नसकेपछि फेरि अर्को किचलो थपिएको थियो । पूरा पैसा लगानी गर्न नसकेता पनि डा. महतो पनि ज्योति समूहकै हाराहारीको लगानीकर्ता हुन् ।
२५ दिनदेखि अवरुद्ध कर्णाली करिडोर अझै खुलेन
कर्णाली । गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिकाको लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको छ । ‘निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न सकिएको छैन’, निशान्त निर्माण सेवा कम्पनीका प्रोपाइटर प्रमुख अनन्त बरालले भने, ‘स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन ।’ पहिरो पन्छाउन नसकिए वैकल्पिक उपाय खोज्नुको विकल्प नभएको उनको भनाइ छ । उनले पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने बताए । ‘हावा चल्दा पनि पहिरो खसेकाले ज्यान जोखिममा राखेर माटो पन्छ्याउन सकिएको छैन’, हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बीरेन्द्र यादवले भने, ‘पहिरो रोकिएपछि काम सुरु गर्नका लागि मेसिनसहित जनशक्ति तयारी अवस्थामा छन् ।’ कालिकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरुद्ध हुँदा कालिकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको कालिकोट रास्कोट नगरपालिका ५ स्युनाका रजबहादुर शाहीले बताए । कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर छ । रासस
पोर्न फिल्म हेर्ने बालबालिकामा असुरक्षित यौनसम्पर्क हुने सम्भावना बढी हुने
एजेन्सी । पोर्न फिल्म हेर्ने बालबालिकामा असुरक्षित यौनसम्पर्क हुने सम्भावना बढी हुने देखिएको छ । एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो । अनुसन्धानमा पोर्न फिल्म हेर्ने १२ सय बालबालिकालाई समावेश गरिएको थियो । यी बालबालिकामा फिल्ममा देखाइएको यौन दृश्यको प्रभाव परीक्षण गरिएको थियो। अमेरिकाको डार्थमाउथ कलेज र आइभी लिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले १९९८ देखि २००४ सम्म ६८४ चलचित्रहरूको सर्वेक्षण गरेका थिए। आइज वाइड शट’ जस्ता फिल्मलाई ‘मोर सेक्स सीन’ श्रेणीमा राखिएको थियो भने ‘लर्ड अफ द रिङ्सः द रिटर्न अफ द किंग’लाई ‘लेस सेक्स दृश्य’ श्रेणीमा राखिएको थियो। सर्वेक्षणले यौन दृष्यले भरिपूर्ण चलचित्र हेर्ने बालबालिकामा यौनसम्पर्क र यौन क्रियाकलापको सम्भावना बढी हुने देखाएको छ । यसै क्रममा एउटा नयाँ अनुसन्धानले यौनसम्बन्धमा बनेको फिल्म हेर्ने बालबालिकाले यस्ता फिल्म नहेर्ने बालबालिकाको तुलनामा पहिलो पटक यौन अनुभव धेरै चाँडो हुने खुलासा गरेको छ । यस्ता बालबालिका असुरक्षित यौनसम्पर्कमा पर्न सक्ने देखिएको छ ।
कञ्चनपुरका किसानलाई व्यावसायिक बनाउन अनुदान
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले कृषिको आधुनिककिरण र किसानलाई व्यावसायिक बनाउनका लागि अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरेको छ । उन्नतजातका बिउबिजन, आधुनिक कृषियन्त्र किसानलाई अनुदानमा उपलव्ध गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातको बिउमा अनुदान, उन्नत पशुपालनमा विशेष सहुलियत, कृषि बीमा गर्न प्रोत्साहित गर्न, बगरखेती गर्ने किसान, प्राङ्गारिक मल उत्पादनमा विशेष अनुदान दिने व्यवस्था गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताए । उनका अनुसार कृषिसम्बन्धी प्राविधिक ज्ञान तथा सीपयुक्त तालिम दिने, मासुजन्य पसल सुधारका लागि अनुदान, कृषि सहकारीमार्फत् किसानलाई विशेष सुविधा उपलव्ध गराइने तथा कृषिमा आधारित उद्योगलाई कर छुट दिने नीति नगरपालिकाले लिएको छ । ‘व्यावसायिक डेरी प्रवर्द्धनलाई प्रोत्साहन गरी अनुदान दिने, माछापालन गर्ने किसानलाई प्रोत्साहित गर्ने, सामूहिक खेतीमा आवद्ध किसानलाई कृषिमिटरको शुल्क अनुदान दिने, कृषिलाई थप उत्पादन र व्यावसायिक बनाउन सामूदायिक वनसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालन गरिएका छन,’ शाखा प्रमुख धामीले भने । पशुजन्य खाद्य पदार्थको गुणस्तरीय उत्पादन विविधिकरण र बजारीकरणलाई प्राथमिकता दिँदै विषयगत, प्रशोधन, शाखा र सेवा केन्द्रमा रोग निदानका लागि प्रयोगशाला स्थापना गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । तरकारी खेतीमा आवद्ध किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागि नगरपालिका बाहिर स्टलको व्यवस्थाका कार्यक्रम अगाडि बढाइएको छ । तरकारी, धान, गहँ, च्याउ, आलु लगायतको बिउमा ५० प्रतिशत अनुदान, पुष्पखेती, एक वडा एक कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको नगरपालिकाको भनाइ छ । मकैको पकेट निर्धारण, गँड्यौला मल, केरा तथा केराबाट उत्पादन हुने ‘चिप्स’लगायतका लागि अनुदान कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख धामीले बताए । ‘तरकारी सङ्कलन केन्द्र स्थापना, माटो परीक्षणको कार्यसँगै व्यावसायिक खेतीका लागि मागका आधारमा आवश्यक तालिमको व्यवस्था गरेका छौँ’, उनले भने, ‘कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको छ ।’ कृषिमा अनुदानमा आधारित र किसानको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले चालू आवमा एक करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । रासस