जाडो याम सुरु भएसँगै जुम्ला, जोमसोम, जिरी क्षेत्रमा शुन्य जिरो डिग्रीमा झर्यो
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महशुस भएको उनको भनाइ छ । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले बताए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । उनका अनुसार डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने छ । ‘गर्मी समय सकिएर जाडो याम सुरु भएको छ, मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ, यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो, अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन, यद्यपी मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरीको तापक्रम घट्दै गएको छ,’ उनले भने, ‘जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ, जुन जाडो बढाउने तापक्रम हो, काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ ।’ उनका अनुसार कुन किसिमले घट्दै घट्दै जान्छ भन्ने त स्पष्ट हुँदैन । ‘कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ, जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरु घट्दै जाने, जाडो हुँदै जाने गर्दछ, यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ,’ उनले भने । मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको उनले बताए । आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाई छ । ‘चिसो लगातार घटेको घटेकै गर्दैन, कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महशुस हुन्छ, दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ, आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ, दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो, तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ, दिनप्रतिदिन गर्मी हुने अवस्था छैन, जाडो बिस्तारै हुँदै जाने गर्दछ, माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन, क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ, वर्षा हुने सम्भावना एकहप्ता यता छैन,’ उनले भने ।
मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : निर्वाचन आयोग
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएको हो । आम मतदाताले सुसूचित भई विवेकपूर्ण निर्णय मतदानमार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको आयोगको भनाइ छ । निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सामाजिक सञ्जालमा दल, उम्मेदवार र आम मतदाताले राजनीतिक विज्ञापन गर्न पाउने र प्रचारप्रसारका लागि उपयोग गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन भन्ने आयोगको बुझाई छ । ‘निर्वाचनका समयमा यस्ता खालका राजनीतिक उद्देश्य राखिएका मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने तथा मतदाताको सुुसूचित हुन पाउने अधिकार कुण्ठित हुने, मतदातालाई दिग्भ्रमित पार्ने र सही प्रतिनिधि नचुनिने अवस्था सिर्जना हुन सक्दछ, त्यतिमात्र नभई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले चुनावी बहसलाई धु्रवीकरण गर्ने, मतदाताबीचमा वैमनस्यता सिर्जना गर्ने, समाजमा निर्वाचनका समयमा अनावश्यक द्वन्द्व सिर्जना गरी आम मतदाताको शान्तिपूर्ण वातावरणमा आफ्नो मताअधिकारको प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था समेत आउनसक्छ, यस्तो अवस्थामा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा व्यावधान खडा हुन सक्ने भएकाले आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलताको नीति लिएको सम्बन्धित सबैमा विदितै छ, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचनलाई पार्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै आयोगमा खडा गरिएको संयन्त्रले सामाजिक सञ्जाल नियमनका लागि सम्बन्धित सामाजिक सञ्जालका कम्पनीहरूसँग पनि सहकार्य गर्दै आएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले सामाजिक सञ्जाल उपयोगको नीति, निर्वाचन आचारसंहिताका प्रावधान र संयन्त्रको निर्माण गर्दा प्रचलित कानून, लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र निर्वाचन व्यवस्थापनसम्बन्धी असल अभ्यासबमोजिम नै गर्दै आएको बाएको छ । ‘मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति र लोकतन्त्र सँगसँगै जान सक्दैनन् भन्नेमा आयोग स्पष्ट छ, आयोग संविधानप्रदत्त हरेक नागरिकको सूचनाको हक, सञ्चारको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको अधिकतम् अभ्यासले मात्रै निर्वाचनमा सही जनमत बन्न सक्छ भन्नेमा विश्वास गर्दछ, लोकतन्त्रमा विश्वास गर्ने सबैले आफ्नो हकअधिकार प्रयोग गर्दा अरुको हकहितमा प्रतिकूल असर नपर्नेतर्फ सधैँ सचेत रहनु पर्दछ, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट पर्नसक्ने प्रतिकूल असरबाट आसन्न निर्वाचनलाई जोगाई सुसूचित जनमत बन्ने वातावरण बनाउनु सबैको साझा दायित्व हो,’ आयोगको विज्ञप्तिमा उल्लेख छ । अन्य देशको अनुभवले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गरेको दखाएको र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र लोकतान्त्रिक निर्वाचनका लागि मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति ठूलो चुनौतीका रूपमा रहेको आयोगको भनाइ छ । त्यसैले निर्वाचन आयोगले पनि यस प्रकारका चुनौतीलाई सामाना गर्नको लागि आचारसंहितामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन गर्ने प्रावधानहरू राखेको र आयोगको ध्येय स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित निर्वाचन सुनिश्चित गर्नु रहेको बताएको छ । ‘राजनीतिक दल र सम्बन्धित सरोकारवालाहरूकै परामर्शमा जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचरण पालना गर्नुपर्ने दायित्वमा रहेका बाहेक अन्यले आफ्ना सामाजिक सञ्जालबाट कुनै पनि दल र उम्मेदवारका पक्ष र विपक्षमा आफ्ना सामाजिक सञ्जालमा अभिव्यक्ति दिन कुनै बाधा रहेको छैन तर संगठितरूपबाट सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूका विषयमा विभिन्न मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल छन्,’ अगाडि भनएिको छ, ‘आयोगबाट त्यस्ता पहिचान नखुलेका निहित राजनीतिक उद्देश्यबाट प्रेरित भई निर्वाचनलाई नकारात्मक प्रभाव पार्न उद्देश्यबाट सञ्चालित पेज र ग्रुपहरू कसले सञ्चालन गरेको हो भन्ने नखुलाइ छद्म नामबाट राजनीतिक दल र उम्मेदवारसमेतका विरुद्ध दिइने अवाञ्छित, अनावश्यक र असामाजिकरूपमा प्रस्तुत गरिएका अभिव्यक्तिले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा व्यावधान खडा हुने ठानी यस विषयमा गम्भीररूपमा नियमन भइरहेको छ, आयोगबाट सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्सहान गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको हो ।’
रेल ढिला छुटेकोमा उपभोक्ता असन्तुष्ट, एक घण्टा छिटो गर्ने विभागकाे तयारी
काठमाडौं । नेपाल रेल्वे कम्पनीले रेल कुद्ने समय तालिका परिवर्तन गर्ने योजना बनाएको छ । बिहान छिटो रेल नकुद्दा समयको गन्तव्यमा पुग्न नसकेको भन्दै यात्रु गुनासो धेरै आएपछि कम्पनीले समय तालिका परिवर्तन गर्न लागेको हो । यात्रुको गुनासोको सुनुवाइ गर्दै समय तालिका परिवर्तन गर्ने मनाशाय बनाएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले बताए । हाल सो रेल दिनमा २ पटक ओहोर दोहोर गर्दै आएको छ । झाका अनुसार हाल भने समय तालिका परिवर्तन भएको छैन । छठ पछि लगतै नेपाली रेलको समय तालिका बदलिने छ । ‘समय तालिका परिवर्तन गर्न विषयमा छलफल भइरहेको छ, छठ पर्वपछि समय तालिका परिवर्तन गर्ने सोच बनाएका छौं, यसको लागि भारतीय रेल्वे कम्पनीसँग पनि छलफल गर्नु पर्ने हुन्छ,’ उनले भने । रेल्वे कम्पनीले जनकपुरबाट बिहान ७ बजे जयनगरतर्फ लाग्ने र जयनगरबाट बिहान ८ बजे आउँने समय तालिका बनाउन योजना बनाएको छ । सो समय तालिका माथि पुनः एक चोटि छलफल हुन बाँकी नै रहेको पनि झाले बताए । हाल बिहानको ११ बजेर ५ मिनेटमा जनपुरबाट पहिलो रेल छुट्छ । सो रेल साँझ ५ बजे मात्र जयनगरबाट फर्कँदै आएको छ । समय तालिका परिवर्तन भयो भने कुर्थादेखि जयनगरसम्म बेलुकी ३ बजेअन्तिम रेल हुने र जयनगरबाट सो रेल ४ बजेर ३० मिनेटमा फर्कने छ । रेल कुद्ने समय तालिका परिर्वतन गर्ने बारेमा आधिकारीक निणर्य हुन भने बाँकी रहेको पनि झाको भनाइ छ ।
निर्वाचित भए वीरगञ्जको कायापलट गर्छु : प्रदीप यादव
वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ अन्र्तगत पर्ने विभिन्न टोलका मतदातासँग भेटघाटमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादव व्यस्त छन् । जनताको घरदैलोमा पुग्ने र जनताका समस्या सुन्ने कार्यलाई यादवले निरन्तरता दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नम्बर १ का साझा उम्मेदवार यादवले जनता सचेत भइसकेको बताउँदै कसैको दबाब र प्रलोभनको भरमा भोट नदिने बताए । उनले भने, “जनता अब जागरुक भइसकेका छन् , कसैले दबाब र प्रलोभन देखाउँदैमा भोट पाउने दिन अब गइसक्यो, अब जनताका समस्या सुन्ने र काम गर्नेलाई नै जनताले मत दिन्छन् ।” पहिलो पटक निर्वाचित हुँदा पनि आफुले उल्लेख्य काम गरेको दावी गर्दै यादवले अब पुनः अर्कोपटक निर्वाचित गराएमा विकास निर्माणका काम गरेर वीरगञ्जको कायापलट गर्ने बताए । उनले विकासको सुनौलो ढोका खोलेर वीरगञ्जलाई व्यापारीक हबको रुपमा विकास गर्नुका साथै जनताको जीवनस्तरलाई माथि उकास्ने खालका योजना ल्याउनका लागि पनि यसपटक फेरि आफुले जित्नुपर्ने उनले बताए । छोटो समयका लागि मन्त्री हुँदा पनि वीरगञ्जसहित पर्सा जिल्लाका लागि महत्वपूर्ण योजना ल्याएको बताउँदै उनले ति योजनाले वीरगञ्जको विकास र परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने दावी गरे । जनताले विकास चाहेको हुँदा विकास गर्न सक्ने व्यक्तिलाई नै जनताले निर्वाचित गराउने यादवको भनाई छ । यादवले अहिले केहि बहुरुपियाहरु भेष बदलेर जनतलाई प्रलोभन पार्ने षडयन्त्र गरिरहेको भएपनि जनताले चुनावमा उनिहरुको पर्दाफास गरिदिने ठोकुवा पनि गरे । यादवले भने, ‘अब जनतालाई चिप्लो भाषण होइन , सिरिफ काम चाहिन्छ काम, काम गर्ने नै जनताको रोजाइ बन्छ, त्यसैले बहुरुपियाहरुले दिवा सपना नदेखे हुन्छ ।’
टेस्ला माथि आपराधिक अनुसन्धान, ‘अटोपाइलट’ मा घातक र झुटाे विज्ञापन
काठमाडौं । विश्वको नम्बर वान ब्राण्ड बनेको ‘टेस्ला’ गाडीको उत्पादक कम्पनी टेस्ला इन्कर्पोरेशन माथि संयुक्त राज्य अमेरिकामा आपराधिक अनुसन्धान शुरु गरेको छ । कम्पनीको इलेक्ट्रिक सवारीहरू आफैं चलेर दुर्घट्ना भएको भन्दै तीन जना अनुभवी प्रयोगकर्ताहरुले गरेको दावीका आधारमा यस्तो अनुसन्धान शुरु गरिएको हो । गत वर्ष एक दर्जन भन्दा बढी टेस्लाका गाडीहरु दुर्घटनामा परेपछि अमेरिकी न्याय विभागले अनुसन्धान थालेको थियो । टेस्लाको ड्राइभर सहायता प्रणाली ‘अटोपाइलट’ मा केही घातक बस्तु प्रयोग गरिएको र गाडी दुर्घटनाका बेलामा ती बस्तु सक्रिय हुने गरेको आशंका गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत हप्ता मात्र मस्कले टेस्लामा चाँडै नै “फुल सेल्फ–ड्राइभिङ’’ सफ्टवेयरको अपग्रेड गरिने बताएका थिए । त्यसपछि कानुनको पालना गर्न मात्र गाडीको ड्राभिङ सिटमा मान्छे बस्नु पर्ने तर गाडी गुड्न ड्राइभरको कुनै भूमिका नहुने, कार आफै गुड्ने बताएका छन् । कम्पनीका मालिक तथा प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले टेस्लामा प्रयोग भएको ‘अटोपाइलट’ लाई मानव चालक भन्दा ‘सम्भवतः राम्रो’ भनेर बताएका छन् । सन् २०१६ मा आयोजित टेस्ला मार्केटिङ सम्मेलनमा मास्कले यस्तो व्याख्या गरेको थिए । एलाेन मस्क टेस्ला टेक्नोलोजी स्टेयरिङ, ब्रेकिङ, गति र लेन परिवर्तनहरूमा सहयोग गर्न डिजाइन गरिएको हो तर यसको सुविधाहरूले “गाडीलाई स्वायत्त बनाउन होइन’’ कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ । तर टेस्लाले यो पनि भनेको छ कि चालकले आफ्नो हात सधैं स्टेरिङमा राख्नुपर्छ, ताकि सम्भावित दुर्घटनाबाट बच्न सकियोस् । न्याय विभागले थालेको अनुसन्धानबारे एलोन मस्कले सञ्चार माध्यमहरुसँग बोल्न मानेका छैनन् । टेस्लाको सञ्चार विभागले सन् २०२० पछि सञ्चार माध्यमले सोधेका जिज्ञासामा जवाफ दिन छोडेको पनि समाचारमा उल्लेख छ । अगस्ट २०२१ मा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले दुर्घटनाहरूको शृङ्खलाको अनुसन्धान पनि खोलेको छ । त्यसमा पनि टेस्लाको अटोपाइलत सिस्टममाथि शंका गरिएको छ । यस वर्षको जुलाईमा क्यालिफोर्नियाको साधन विभागले पनि टेस्लामा अटोपाइलट र पूर्ण स्व–ड्राइभिङ क्षमता छ भनी झूटो विज्ञापन भैरहेको आरोप लगाएको थियो । टेस्लाले उक्त आरोपको विपक्षमा अदालत जाने र त्यसको लागि कागजी प्रमाण जुटाइरहेको बताएको छ ।
दहचोकमा जुवातास खेलिरहेका १८ पक्राउ
काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।
मर्जरमा रहेका बैंकमध्ये नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा अग्रस्थानमा, ग्लोबल आइएमई बिओकेको निक्षेप पौने ४ खर्ब पुग्यो
काठमाडौं । पछिल्लो समय हालसम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएर प्रक्रियामा रहेका हुन् । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जर प्रक्रियामा रहेका बैंकहरुको पहिलो त्रैमासका आधारमा मर्जर पश्चात् कस्तो बन्नेछन् भनेर यहाँ उल्लेख गर्न खोजिएको छ । मर्जर पश्चात् कुन बैंक कस्तो बन्ने ? असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार मर्जरपश्चात् चुक्ता पूँजी ग्लोबल आइएमई बिओके बैंकको ३४ अर्ब ४१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३२ अर्ब ८१ करोड रुपैयाँ, कुमारी बैंकको २५ अर्ब ८५ करोड रुपैयाँ, प्रभु बैंकको २२ अर्ब २६ करोड रुपैयाँ र हिमालयन बैंकको २० अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । जसमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बन्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो ठूलो बैंक बन्ने छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बन्नेछ । मर्जर प्रक्रियामा रहेका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा १ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, कुमारी बैंकको १ अर्ब ५१ करोड रुपैयाँ, ग्लोबल आइएमई बिओके बैंकको १ अर्ब ४७ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब २ करोड रुपैयाँ र हिमालयन बैंकको ९४ करोड ७५ लाख रुपैयाँ खुद नाफा पुगेको हो । यस्तै, निक्षेप संकलनमा ग्लोबल आइएमई बिओके बैंकको ३ खर्ब ९१ अर्ब ४३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ, कुमारी बैंकको ३ खर्ब १ अर्ब रुपैयाँ, प्रभु बैंकको २ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ र हिमालयन बैंकको २ खर्ब ६२ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । यस्तै, मर्जरमा रहेका बैंकहरुमध्ये कर्जा प्रवाहमा ग्लोबल आइएमई बिओके बैंक अगाडि देखिन्छ भने खुद ब्याज आम्दानीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छ । त्यस्तै, सञ्चालन नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेट फि तथा कमिशन आम्दानी र कूल सञ्चालन आम्दानीमा ग्लोबल आइएमई बिओके बैंक र वितरणयोग्य नाफामा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ । हिमालयन र सिभिल बैंक गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । प्रभु बैंक र सेञ्चुरी बैंक प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको हो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका हुन् । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । कुमारी बैंक र एनसीसी बैंक एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको हो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।
डलरको तुलनामा युरो मजबुत
काठमाडौं । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ । युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनोरुपमा युरो अगाडि रहेको छ । बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिएको थियो । पछिल्ला दिनमा लगातार अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले घरेलु अर्थतन्त्रमा दबाव परेको थियो । आयातमा केन्द्रित रहेको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव देखिएको छ । विप्रेषणलगायत केही क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भए पनि अधिकांश माल वस्तु आयात हुने देशमा त्यसले नकारात्मक असर पर्ने अर्थतन्त्रका जानकारको भनाइ छ ।