विकासन्युज

नेपाली कांग्रेसद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेशले ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु सार्वजनिक गरेको छ । कांग्रेसले शनिबार पार्टी मुख्यालयमा एक कार्यक्रमको आयोजना गदैं चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले घोषणापत्र तयार गरेको हो । घोषणापत्र समितिमा विभिन्न विज्ञहरुको सहभागितामा उपसमितिहरु पनि बनाइएको थियो ।

चितवनमा खुकुरी प्रहार गरी एकको हत्या

फाइल फाेटाे चितवन । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो । नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

काठमाडौं । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । नेपाल पक्षघात सङ्घका अध्यक्ष डा. राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउँछन् । । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँगसहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ । यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघात सम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ । देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा. पौडेल पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन् । ‘विश्वमा हरेक चारजनामा एक जनालाई र छ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनको भनाइ छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा. पौडेल जोड दिन्छन्। नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा. पौडेल बताउँछन् । पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा. पौडेल बताउँछन् । नेपाल पक्षघात सङ्घले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलगायत विभिन्न अस्पतालसँगको सहकार्यमा अक्टोबर १९ मा विभिन्न कार्यक्रम आयोजना गरी विश्व पक्षघात दिवस मनाइरहेको छ । यसै अवसरमा आजै काठमाडौँको महाराजगञ्ज चोकदेखि सामाखुसीसम्म पदयात्रा गरिएको थियो ।

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट, आन्तरिक पर्यटक बढे

  चितवन । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ । यसबर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए । उनले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको अध्यक्ष मल्लले जानकारी दिए। विसं २०७६मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखी मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति २५० र लामो दूरीमा प्रतिव्यक्ति ५०० तोकिएको छ । त्यहाँबाट उठेको रकमको २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए। उनले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताए। बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ । नदी किनारमा घुम्न आउने अधिकाँस आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव दुई डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

बाग्लुङमा कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व सङ्कलन

बाग्लुङ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए । कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा नौ सय ७९ मोटरसाइकलबाट ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार र जीपबाट तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट दुई लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट तीन लाख ४२ हजार, चार सय १९ बसबाट दुई लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो । पछिल्लो तीन महिनाको राजस्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै आठ लाखभन्दा बढी हो । ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताए। ‘ट्राफिक सेचतानासँगै कारबाही हाम्रो अभियान हो, अहिले यातयात व्यवस्था कार्यालयको परीक्षास्थलमै ट्राफिक सचेतना गरिएको छ’, उनले भने, ‘ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई विशेष कारबाही गरेका छौँ, नो पार्किङ, एकतर्फी पार्किङ तथा पार्किङ व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरणमा हाम्रो ध्यान छ ।’ ट्राफिक प्रहरी प्रमुख केसीले मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, दु्रत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाही गरिएको बताए । उनले चाडपर्वको समयमा मापसे परीक्षणलाई बढी प्राथमिकता दिएको पनि जानकारी गराए ।

जाडो याम सुरु भएसँगै जुम्ला, जोमसोम, जिरी क्षेत्रमा शुन्य जिरो डिग्रीमा झर्यो

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महशुस भएको उनको भनाइ छ । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले बताए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । उनका अनुसार डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने छ । ‘गर्मी समय सकिएर जाडो याम सुरु भएको छ, मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ, यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो, अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन, यद्यपी मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरीको तापक्रम घट्दै गएको छ,’ उनले भने, ‘जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ, जुन जाडो बढाउने तापक्रम हो, काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ ।’ उनका अनुसार कुन किसिमले घट्दै घट्दै जान्छ भन्ने त स्पष्ट हुँदैन । ‘कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ, जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरु घट्दै जाने, जाडो हुँदै जाने गर्दछ, यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ,’ उनले भने । मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको उनले बताए । आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाई छ । ‘चिसो लगातार घटेको घटेकै गर्दैन, कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महशुस हुन्छ, दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ, आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ, दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो, तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ, दिनप्रतिदिन गर्मी हुने अवस्था छैन, जाडो बिस्तारै हुँदै जाने गर्दछ, माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन, क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ, वर्षा हुने सम्भावना एकहप्ता यता छैन,’ उनले भने ।

मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : निर्वाचन आयोग

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जनाएको छ । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएको हो । आम मतदाताले सुसूचित भई विवेकपूर्ण निर्णय मतदानमार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको आयोगको भनाइ छ । निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सामाजिक सञ्जालमा दल, उम्मेदवार र आम मतदाताले राजनीतिक विज्ञापन गर्न पाउने र प्रचारप्रसारका लागि उपयोग गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन भन्ने आयोगको बुझाई छ । ‘निर्वाचनका समयमा यस्ता खालका राजनीतिक उद्देश्य राखिएका मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने तथा मतदाताको सुुसूचित हुन पाउने अधिकार कुण्ठित हुने, मतदातालाई दिग्भ्रमित पार्ने र सही प्रतिनिधि नचुनिने अवस्था सिर्जना हुन सक्दछ, त्यतिमात्र नभई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले चुनावी बहसलाई धु्रवीकरण गर्ने, मतदाताबीचमा वैमनस्यता सिर्जना गर्ने, समाजमा निर्वाचनका समयमा अनावश्यक द्वन्द्व सिर्जना गरी आम मतदाताको शान्तिपूर्ण वातावरणमा आफ्नो मताअधिकारको प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था समेत आउनसक्छ, यस्तो अवस्थामा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा व्यावधान खडा हुन सक्ने भएकाले आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलताको नीति लिएको सम्बन्धित सबैमा विदितै छ, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचनलाई पार्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै आयोगमा खडा गरिएको संयन्त्रले सामाजिक सञ्जाल नियमनका लागि सम्बन्धित सामाजिक सञ्जालका कम्पनीहरूसँग पनि सहकार्य गर्दै आएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले सामाजिक सञ्जाल उपयोगको नीति, निर्वाचन आचारसंहिताका प्रावधान र संयन्त्रको निर्माण गर्दा प्रचलित कानून, लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र निर्वाचन व्यवस्थापनसम्बन्धी असल अभ्यासबमोजिम नै गर्दै आएको बाएको छ । ‘मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति र लोकतन्त्र सँगसँगै जान सक्दैनन् भन्नेमा आयोग स्पष्ट छ, आयोग संविधानप्रदत्त हरेक नागरिकको सूचनाको हक, सञ्चारको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको अधिकतम् अभ्यासले मात्रै निर्वाचनमा सही जनमत बन्न सक्छ भन्नेमा विश्वास गर्दछ, लोकतन्त्रमा विश्वास गर्ने सबैले आफ्नो हकअधिकार प्रयोग गर्दा अरुको हकहितमा प्रतिकूल असर नपर्नेतर्फ सधैँ सचेत रहनु पर्दछ, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट पर्नसक्ने प्रतिकूल असरबाट आसन्न निर्वाचनलाई जोगाई सुसूचित जनमत बन्ने वातावरण बनाउनु सबैको साझा दायित्व हो,’ आयोगको विज्ञप्तिमा उल्लेख छ । अन्य देशको अनुभवले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गरेको दखाएको र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र लोकतान्त्रिक निर्वाचनका लागि मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति ठूलो चुनौतीका रूपमा रहेको आयोगको भनाइ छ । त्यसैले निर्वाचन आयोगले पनि यस प्रकारका चुनौतीलाई सामाना गर्नको लागि आचारसंहितामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन गर्ने प्रावधानहरू राखेको र आयोगको ध्येय स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित निर्वाचन सुनिश्चित गर्नु रहेको बताएको छ । ‘राजनीतिक दल र सम्बन्धित सरोकारवालाहरूकै परामर्शमा जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचरण पालना गर्नुपर्ने दायित्वमा रहेका बाहेक अन्यले आफ्ना सामाजिक सञ्जालबाट कुनै पनि दल र उम्मेदवारका पक्ष र विपक्षमा आफ्ना सामाजिक सञ्जालमा अभिव्यक्ति दिन कुनै बाधा रहेको छैन तर संगठितरूपबाट सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्ताबाट फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूका विषयमा विभिन्न मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गर्नु अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलित कानून र निर्वाचन आचारसंहिता प्रतिकूल छन्,’ अगाडि भनएिको छ, ‘आयोगबाट त्यस्ता पहिचान नखुलेका निहित राजनीतिक उद्देश्यबाट प्रेरित भई निर्वाचनलाई नकारात्मक प्रभाव पार्न उद्देश्यबाट सञ्चालित पेज र ग्रुपहरू कसले सञ्चालन गरेको हो भन्ने नखुलाइ छद्म नामबाट राजनीतिक दल र उम्मेदवारसमेतका विरुद्ध दिइने अवाञ्छित, अनावश्यक र असामाजिकरूपमा प्रस्तुत गरिएका अभिव्यक्तिले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा व्यावधान खडा हुने ठानी यस विषयमा गम्भीररूपमा नियमन भइरहेको छ, आयोगबाट सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्सहान गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको हो ।’