बङ्गुरपालक किसानलाई बजारको अभाव
कञ्चनपुर । कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ । बङ्गुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बङ्गुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना सङ्क्रमण घटेसँगै बङ्गुरको बिक्रीमा कमी आएको बताइन् । तीन करोड रुपैयाँ लगानी गरी फार्ममा उनले चार सयवटा बङ्गुरपालन गर्न छ । ‘वर्षमा झण्डै ५० लाख रुपैयाँ बढीका बङ्गुर बिक्री हुन्थे’, उनले भनिन्, ‘गएको चैतसम्म तीन लाख रुपैयाँ मूल्यका बङ्गुर बेचेका थियौँ, त्यसपछि बङ्गुर बिक्री हुन पाएका छैनन्, दशैं, तिहारलगायतका चाडपर्वमा बङ्गुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।’ उनका अनुसार बङ्गुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बङ्गुर काठमाडौँसम्म लैजाने गरिन्थ्योे । यस वर्ष बङ्गुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै बङ्गुर थन्किएका छन् । बङ्गुरलाई चारोमात्रै खुवाउन हप्तामै एक लाख रुपैयाँ जति खर्च भइरहेको उनले गुनासो गरिन् । उनको फार्ममा ल्याडेस, डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायत उन्नत जातका बङ्गुर छन् । बङ्गुरका प्रतिपाठापाठी पाँच हजार रुपैयाँ र मासु थोकमा तीन सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । ‘कोरोनाको सङ्क्रमण बढेसँगै विदेश गएका युवाहरू घर फर्के’, बङ्गुरपालक गगनराज भट्टले भने, ‘बङ्गुरपालनमा लागे, पाठापाठीको त्यसबेला निकै माग थियो, त्यसमै लागे, मासु दानमा कोही लागेनन्, पाल्ने अधिक भएपछि पाठापाठीको उत्पादन अधिक भयो, मागभन्दा उत्पादन बढी भएपछि बिक्री हुन पाएन ।’ तीन वर्षदेखि बङ्गुर फार्म सञ्चालन गर्दै आएका जोनापुरका दीपक चौधरीले पनि बङ्गुर बिक्री गर्न पाएका छैनन् । वैदेशिक रोजगारीबाट फर्केपछि उनले नौ लाख रुपैयाँ लगानी गरी बङ्गुर फार्म सञ्चालन गरेका छन् । फार्ममा ४५ बङ्गुर छन् । ‘बङ्गुरका पाठापाठीसहित छवटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन्’, उनले भने, ‘चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ ।’ ‘बङ्गुर फार्म सञ्चालन गरी अरुले आम्दानी गरेको देखेपछि नेपाली सेनाबाट सेवानिवृत्त भएपछि बङ्गुरपालन व्यवसायमा हात हाल्यौँ’, फूलराम चौधरीले भने, ‘निकै रकम खर्च गरेर फार्म दर्ता गरी सञ्चालन गरेका छौँ, फार्ममा दर्जन बढी बङ्गुरपालेका छौँ, बङ्गुर बिक्रीका लागि तयार भएको ६ महिना भइसकेको छ, खरिदकर्ता अझै पुगेका छैनन्, बजार चहार्दै हिँडे पनि खरिदकर्ता पाएका छैनौँ, लगानी डुब्ने चिन्ताले सताउन थालेको छ ।’ रासस
घरहरुमा सिसा हाल्न र ढुंगा टाँस्न दिँदा बढ्यो जोखिम
काठमाडौं । पछिल्लो समय काठमाडौंमा अनेकथरीका घर बनेको देखिन्छ । घरलाई आकर्षक देखाउनका निम्ति सिसा हाल्ने र ढुंगा छाप्ने क्रम बढेको छ । माथिदेखि तलसम्म सिसा हालेको घरहरु काठमाडौंमा छ्याप्छ्याप्ती भेटिन्छन् । यता, राम्रो देखाउनका लागि ढुंगा हाल्ने गरेका छन् । तर, यसले जोखिम निम्त्याएको छ । आफ्नो फाइदाका लागि उनीहरुले सिसा र ढुंगा हालेर घर बनाइरहेका छन् । घर आकर्षक देखेपछि बेच्दा पनि मँहगो पैसा आउने भएकाले यस्तो चलन चलेको हो । सिसा र ढुंगा हाल्ने ट्रेण्ड नै चलेको छ । जता हेरे पनि त्यस्तै खाले घरहरु मात्र देखिन्छन् । केही कारणले सिसा फुंगा उम्कियो भने यसले निम्त्याउने क्षति भने ठूलो छ । भूँइचालो गयो भने सबैभन्दा धेरै यस्ता घरहरुमा क्षति हुन्छ । सिसा कच्ची हुने भएकाले सबै झारम झुरुम फुटिहाल्छ । एक करोड पर्ने घरमा ढुंगा टाँसेर र सिसा हालेर तीन करोडमा बेच्छन् । आफू नाफा खानका लागि सिसा र ढुंगा हाल्ने गरेको पाइन्छ । कमशल सामान हालेर व्यापारिक घरहरु बनाउने अनि चर्को रकममा बेच्ने । तर, यसबाट हुने क्षतिबारे उनीहरुले सोचेका छैनन् । सिसा फुटेर बाटो हिँड्नेको माथि पर्यो भने त्यसको जिम्मेवार को ? सिसा लागेर मान्छे घाइते मात्र होइन्, ज्यानसमेत जान सक्छ । ढुंगा त चिप्काएको मात्र हुन्छ । जुनैबेला पनि उप्किएर खस्न सक्छ । ढुंगा टाउको आएर बजारियो भने के हुन्छ ? भुँइचालोले हल्लायो भने सिसा फुट्न त बेर पनि लाग्दैन् । उता, ढुंंगा उप्किएर भटाभट खस्न थालिहाल्छ । बाटोमा सवारी साधन गुडाइरहेकालाई पनि यो बाट उत्तिकै जोखिम छ । एकातिर टल्केको सिसातिर आँखा पर्छ अर्कोतिर सवारी साधन ठोक्किन्छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले सिसा हटाउन र ढुंगा निकाल्न निर्देशन दिएको छैन् । यता, काठ्माडौं उपत्यका विकास प्राधिकरणले यसविषयमा कुनै चासो देखाएको पाँइदैन् । मापदण्डविपरीत बनेका यस्ता घरहरुले सम्पूर्णतताको प्रमाणपत्र पाएका छन् । यसअघिका जनप्रतिनिधिहरुले मोटो रकम लिएर घर सम्पूर्णतताको प्रमाणपत्र दिएको पाइन्छ । यता, अपार्टमेण्टहरुले पनि पैसा खान दिएर सम्पूर्णतताको प्रमाणपत्र लिएको पाइन्छ । काठ्माडौं उपत्यकाका घरहरु हेर्ने हो भने आँखामा काँडा बन्छ । एउटा घरमा सिसा छ, संगैको घरमा ढुंगा । फेरि अर्को घर भने साधारण छ । जसले गर्दा काठमाडौंको सुन्दरतामा ह्रास आएको छ । सिसा र ढुंगा हटाउनका लागि शहरी विकास मन्त्रालयले कुनै नीतिनियम बनाएको छैन् । सिसा र ढुंगा नहटाउने घरहरुलाई राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा बन्द गरिदिने निर्णय गर्नुपर्छ । त्यस्तै, त्यस्ता घरको किनबेचमा पनि प्रतिबन्ध लगाउनुपर्छ । नमानेमा सरकारले नै ती घरहरु भत्काइदिनुपर्छ । न घर बनाउँदा माटो चेक गर्छन् । सरकारको मापदण्डभित्र रहेर घर बनाउँदैन् । एक आना जग्गामा पाँच तलाको घर बनाएका छन् । त्यसमा पनि सिसा र ढुंगा हालेर । सरकारले यस्ता घर बनाउनेलाई प्रतिबन्ध लगाउन सकेको छैन् । मापदण्डभित्र रहेर घर नबनाउनेलाई सरकारले कारबाही पनि गरेको छ । यस्ता घर बनाउन दिँदा शहर अस्तव्यस्त बनेको छ । जनताले शहरी विकासमन्त्री मेटमणिा चौधरीसंग यस्ता घरहरुमा भएको सिसा र ढुंगा हटाउन माग गर्छन् । अवज्ञा गरेको खण्डमा कानूनबमोजिम कारबाही अघि बढाउनुपर्नेमा जोड दिइएको छ । राम्रो र सुन्दर शहर बनाउनका लागि सरकारले कडा कारबाही अघि बढाउन जरुरी छ । सरकारले अझै पनि खुकुलो छोडिदिने हो भने यसको धेरैको ज्यान लिन सक्छ । बाटोमा हिँड्नेमाथि जोखिम बढेको छ । ढुंगा टाँस्ने काम भनेको मान्छे मार्ने काम हो । यता, सरकारले सिसा हाल्न पनि बेलैमा प्रतिबन्ध लगाउनुपर्ने हो । काठमाडौंका मेयर बालेन शाहले ढुंगा र सिसा हटाउन छिटै नै निर्णय गर्छन् भनेर अपेक्षा गरेका छन् । जोखिम बढाउने चीजहरुसंग धेरै बेर खेल्नु हुँदैन् । घर एकदमै बलियो हुनुपर्छ । जस्तोसुकै विपत आएपनि थेग्ने खालका घरहरु बनाउनुपर्छ । यस्ता कच्ची सामानको प्रयोग गरेर घर बनाउनमा रोक लगाउनुपर्छ । यता , बनिसकेका घरहरुलाई अनुगमन गरेर कारबाही गर्नुपर्छ । घरजग्गा व्यापारीहरुले आफ्नो फाइदाको लागि यस्तो काम गरिरहेका छन् । हाम्रो हजुरबुवाको पालामा झिँगटीको घर हुन्थ्यो । झ्यालढोकामा काठकाठै हुन्थ्यो । तर, अहिले यस्तो घर कहाँ पाउनु ? विपत आएपनि यस्ता घरले खासै क्षति पुर्याउदैन्थे । हाम्रो संस्कृति माँसिदै गयो, यस्ता घरहरु पछिल्लो समय बन्न छाडे । ढलान गरेका, सिसा हालेका र ढुंगा टाँसेका घरहरु बनाउन थालियो । अहिलेको घरहरुको तुलनामा पहिलेका घरहरु सयौं गुणा राम्रा थिए । पर्यावरणमा ती घरहरुले खासै असरसमेत पुर्याएका थिएनन् । सरकारले छाडा छोडिदिँदा हाम्रो संस्कृति नै धरापमा पर्यो । चाँडो कमाउनका लागि जथाभावी काम गर्नेहरु बढे । अरुको ज्यान जोखिममा राखेर आफू धनी बन्ने सपना देख्न थालियो । तर, यसविषयमा सम्बन्धित निकाय भने मौन छ । जनप्रतिनिधिहरुले यो काम रोक्न कुनै निर्णय अघि सारेका छैनन् । एकचोटि नक्शा पास गरेपछि र सम्पूर्णतताको प्रमाणपत्र दिएपछि सरकारले अनुगमन गर्दैन् । सयौं वर्षसम्म सरकारले चेकजाँच गर्दैन् । भित्र सबै चर्किएर धरापमा परिसकेको हुन्छ तापनि मान्छे बसिरहेका हुन्छन् । सरकारले वर्षमा दुई पटक घरहरुको चेकजाँच गर्नुपर्छ । सवारी साधनजस्तै नीतिनियम घरहरुमा पनि लागु गर्नुपर्छ । सरकारको स्वीकृतिबिना ढुंगा टाँस्ने र सिसा हाल्ने काम भएको छ । तर, सरकारले अनुगमन गरेर कानूनको दायरामा ल्याएको छैन् । सरकार आफैं पनि टुलुटुलु हेरेर बसिरहेको छ । आफ्नो वडाभित्र कति घरहरुमा सिसा हालिएको छ ? कति घरमा ढुंगा टाँसिएको छ ? यसको विवरण राखिएको छैन् । यति मात्र होइन्, घरधनीहरुले आफुखुश सिसी टिभी क्यामेरा जोडेका छन् । वडा, नगरपालिकाबाट स्वीकृति नलिईकन क्यामेरा राखेको पाइन्छ । पैसा छ भनेर देखाउनका लागि क्यामेरा जडान गर्ने काम भइरहेको छ । ठूल्ठूला व्यापारिक मल, सिनेमा घरहरु पनि छ्याप्पै सिसा टाँसेको पाइन्छ । भाटभटेनीलगायतका सुपरमार्केट र सिनेमा हलहरुमा जतिबेला पनि भीड भइरहेको हुन्छ । त्यस्तो ठाँउमा सिसा हाल्न दिँदा जोखिम झनै बढेको छ । कुन घरले सिसा हाल्न पाउने ? कस्ता घरले ढुंगा टाँस्न पाउने ? सरकारले नियम बनाउनुपर्छ । मान्छे बस्ने घरहरुमा किन सिसैसिसा चाहियो ? धेरै घामले तात्यो भने पनि सिसा फुट्न सक्छ । यस्ता घरका कारणले बाटोमा हिँड्न डर लागेको सर्वसाधारणहरुको धारणा छ । यस्ता घरमा बस्न पनि जोखिम भएको उनीहरु बताउँछन् । सरकारले तत्काल यी जोखिमपुर्ण सामग्रीहरु हटाउन निर्देशन दिनुपर्छ । सवारी साधन चलाउने चालकहरुलाई समेत यसले सास्ती भएको छ । सिसा टल्केर सवारी साधन चलाउन अप्ठयारो हुने उनीहरु बताउँछन् । सिसा र ढुंगा नहटाउने हो भने सवारी साधन दुर्घटना बढ्छ । सरकारले चासो नदेखाउने, घरधनी आफ्नो फाइदाका लागि जे पनि गर्ने । अनि मारचाहि जहिले जनताले भोग्नुपर्ने । भाडाको गाडीको प्रत्येक ६ महिनामा जाँचपास चेक गरिन्छ । प्रदुषण पनि चेकजाँच हुन्छ । तर, प्राधिकरणले घरहरुको चेकजाँच गर्दैन् । घरहरुको चेकजाँच गर्नुपर्ने निर्णय जतिसक्दो छिटो गर्नुपर्छ । इन्जिनियर खटाएर प्रत्येक घरको चेकजाँच गर्न जरुरी देखिन्छ । सरकारले यो निर्णय गरिदिने हो भने राज्यको ढुकुटीमा राजस्व आँउछ । अर्कोतिर जोखिमपूर्ण घर बनाउने क्रम पनि रोकिन्छ । राज्यले ढुंगा टाँस्ने र सिसा हाल्ने घरको नामसारी बन्द गर्नुपर्छ, राज्यले दिने अन्य सेवासुविधामा पनि रोक लगाउनुपर्छ । घरहरुलाई पनि पञ्जीकरण गर्ने व्यवस्था गर्नुपर्छ । लगानी र आम्दानी दुवैको राजस्व राज्यले पाउनुपर्छ ।
२३ बैंकको खराब कर्जा बढ्दा एनआईबिएल र राष्ट्रिय वाणिज्य बैंकको घट्यो, सनराइजको सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ वटा वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । तीन महिनाको वित्तीय विवरण अनुसार २३ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको खराब कर्जा स्थिर रहेको छ भने दुई वटा बैंकको खराब कर्जा घटेको छ । वित्तीय विवरण अनुसार २ प्रतिशतभन्दा बढी खराब कर्जा रहेका बैंकहरु ९ वटा, १ प्रतिशभन्दा बढी खराब कर्जा भएका ११ वटा र १ प्रतिशत भन्दा कम खराब कर्जा भएका ५ वटा बैंक रहेका छन् । तीन महिनाको अवधिमा सबैभन्दा बढी खराब कर्जा सनराइज बैंकको रहेको छ । बैंकको यस अवधिमा खराब कर्जा १.८१ प्रतिशत बढेर २.९४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको १.१३ प्रतिशत खराब कर्जा रहेको थियो । यस्तै, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको २.४८ प्रतिशत पुगेको छ । यस्तै, बैंक अफ काठमाण्डूको खराब कर्जा २.४६ प्रतिशत, एनसीसी बैंकको २.४६ प्रतिशत रहेको छ । यस्तै, कृषि विकास बैंक २.३८, नेपाल बैंक २.३६, नबिल बैंक २.३३, हिमालयन बैंक २.३१, सिद्धार्थ बैंकको खराब कर्जा २.१५ प्रतिशत र ग्लोबल आइएमई बैंक २.१० प्रतिशत रहेको छ । जुन २ प्रतिशत भन्दा बढी खराब कर्जा भएका बैंक हुन् । एक प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंकहरुमा सिटिजन्स बैंकको १.९१ प्रतिशत, एनएमबि बैंकको १.९० प्रतिशत, सेञ्चुरी बैंकको १.८८ प्रतिशत, प्रभु बैंकको १.८६ प्रतिशत, प्राइम बैंक १.८ प्रतिशत, लक्ष्मी बैैंकको १.७२ प्रतिशत, मेगा बैंकको १.६२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकका १.५७ प्रतिशत, सिभिल बैंकको १.४१ प्रतिशत, माछापुच्छ्रे बैंकको १.३ प्रतिशत र कुमारी बैंक १.२८ प्रतिशत खराब कर्जा रहेको छ । एक प्रतिशतभन्दा कम खराब कर्जा भएका बैंकहरुमा सानिमा बैंकको ०.९१ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.७७ प्रतिशत, एनआईसी एशिया बैंकको ०.५९ प्रतिशत, नेपाल एसबीआई बैंकको ०.३६ प्रतिशत र एभरेष्ट बैंकको ०.३३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको ३ महिनामा राष्ट्रिय वाणिज्य बैंकको ०.५३ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबिएल) को ०.७ प्रतिशत खराब कर्जा घटेको छ ।
निर्माण व्यावसायमा उदाहरणीय बनेकी सुमन
रामपुर । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी छिन् । अहिले उनलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध छिन् । एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण गरिरहेकी छिन् । सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गरेकी उनले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यावसायीका नामले आफ्नो पहिचान बनाएकी छिन् । आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमान्सँगै सुमन यस क्षेत्रमा लागेकी हुन् । उनी भन्नछिन्, ‘मैले पढ्न नपाए पनि दुःख गरेर छोरीलाई काठमाडौँमा राखेर उचित शिक्षामा लगानी गरिदिएको छु, छोरीले पनि चारवर्षे कम्प्युटर इञ्जीनियरिङ उत्तिर्ण गरिन्, मैले भोगेको दुःख छोरीले भोग्न नपरोस् ।’ पूर्वी पाल्पा मजदुर व्यवसायी समितिको उपाध्यक्षसमेत रहेकी सुमन घरमा बेरोजगार बसेका महिलालाई आर्थिक उपार्जनका निम्ति आफूले सीप सिकाएर काम दिने गर्छिन् । समय र कामअनुसार मजदुरलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उनी बताउँछिन् । सुमनको नेतृत्वमा काम गर्ने मजदुरले दैनिक आठ घण्टा काम गरेवापत छ सय रुपैयाँ देखि एक हजार रुपैयाँ सम्म ज्याला बुझ्छन् । उनले दैनिक न्यूनतम १० देखि बढीमा २० कामदार परिचालन गर्दै आएकी छिन् । ‘हातमा सीप भएपछि पुरुषसरह नै काम गर्न सकिन्छ, अरुको भरमा रहँदा महिला हेपिनुपरेको छ’, उनले भनिन्, ‘यस कामबाट समाजमा दाम र नाम मिलेको छ, यसमा म एकदमै सन्तुष्ट छु । तर कतिपय सन्दर्भमा भने मजदुर वर्ग भनेपछि गाउँ समाजमा कामको सम्मान छैन ।’ आफूले सकुञ्जेलसम्म यसै व्यवसायमा रहने सुमनको भनाइ छ । विभिन्न स्थानबाट माग आए पनि कामको चापले रामपुर नगरपालिकाभित्रै व्यस्त छिन् । हाल उनी दुईवटा घरको ठेक्का लिएर काम गरिरहेकी छिन् । उनले आवासीय घरमात्र नभई विद्यालय तथा मस्जिद, विभिन्न सङ्घसंस्थाको भवन निर्माण गर्दै आएकी छिन् । सम्बन्धित घरधनी तथा सङ्घसंस्थाले दिएको आकारअनुसार नै जस्ताको तस्तै निर्माण गर्ने उनको कला छ । त्यसकारण पनि सुमन यस क्षेत्रकै निर्माण व्यवसायीमा साहसी, सफल व्यवसायीका रूपमा कहलिएकी छिन् । यस क्षेत्रमा काम सुरु गरेपछि साढे चार आनाको जग्गा किनेर घर बनाउनुभएको छ भने दुई घडेरीसमेत जोड्न सफल भएकी छिन् । अहिले श्रीमान् र श्रीमती नै यसै क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । हातमा सीप भएका कारण कोभिड–१९ को समयमा पनि उनलाई एक दिन खाली बस्नु परेन । यस व्यवसायमा खर्च कटाएर वार्षिक न्यूनतम दुई लाख बराबर रुपैयाँको कमाइ गर्दै आएकी छिन् । घर भवन निर्माणमा आवश्यक पर्ने करिब सात लाख बराबरको विभिन्न सामग्री आफैँ बन्दोबस्त गरेकी छिन् । बर्सेनि एक लाख ५० हजार रुपैयाँ भन्दा बढी सामग्री खरिदमा नै लगानी गर्छिन् । हालसम्म तीन सय बढी घर भवन निर्माण सम्पन्न गरिसकेकी छिन् । निर्माण व्यवसायसम्बन्धी व्यावसायिक तालिम परिषद्बाट छ महिने तालिम लिएकी छिन् । रामपुर क्षेत्रमा मात्रै करिब ६० भन्दा बढी निर्माण व्यवसायी आबद्ध छिन् । पूर्वी पाल्पामै यस क्षेत्रमा उनी एक्लो महिला व्यवसायीका रुपमा चिनिन्छन् । महिलाको नेतृत्वमा आफू ज्यालादारीमा काम गर्ने अवसर पाउँदा धेरै सहज भएको बताउँछिन्, २९ वर्षीया सपना परियार । सुमनकै प्रेरणा र साथ पाएपछि घर बनाउने मिस्त्री काम सिकेकी सपनालाई यतिबेला यस क्षेत्रमा काममा भ्याइनभ्याई नै छ । ‘महिलाका समस्या बुझ्ने महिलाले नै हो रहेछ, कतिपय समस्या आइपरे पनि झट्ट पुरुषलाई भन्न अप्ठ्यारो लाग्ने, सुरक्षाका हिसाबले महिला निर्माण व्यवसायी भएपछि ढुक्कसँग काम गर्न पाइयो, आफ्नै सन्तानसरह व्यवहार पाएकी छु, त्यसैले एक दिन पनि घरमा आराम गरेर बस्नै मन लाग्दैन’, उनले भनिन् । कक्षा ७ सम्मको औपचारिक शिक्षा लिएकी सपनाका १० र १२ वर्षका दुई छोरा छन् । हाल दैनिक मजदुरीबाट छ सय रुपैयाँ ज्याला बुझ्नछिन् । यसैबाट परिवारको जीविका र दुई छोराको पढाइ खर्च चलेको छ । सात वर्ष अगाडि भारतमा रोजगारी गर्न गएका उनका श्रीमान्को मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपश्चात् उनी मजदुरीकै भरमा गुजारा चलाउन बाध्य छिन् । उनले सिमेन्ट घोल्ने, घरको गारो लगाउने, प्लाष्टर गर्नेजस्ता घर भवन निर्माणका सबैजसो सीप सिकेकी छिन् । निर्माण व्यवसायमा महिला भए पनि पुरुषसरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा रहेको कपिलवस्तुको गोरुसिङ्गेका ६० वर्षीय टीकाराम थारू बताउँछिन् । उन पनि सुमनकै नेतृत्वमा अहिले भवन निर्माणमा संलग्न छिन् । रासस
सरकारी कर्मचारीको काम गर्ने शैलीमा आउन नसकेको परिवर्तन !
काठमाडौं । सरकारी कार्यालयमा जहिले पनि भीडभाड हुन्छ । केही न केही काम लिएर सर्वसाधारणहरु सरकारी कार्यालय धाइरहेका हुन्छन् । सरकारी कर्मचारीको सुस्तताका कारण काममा सँधै ढिलाइ हुन्छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्लाको सदरमुकाम आउनुपर्ने, आफ्नो कर्मथलोबाट जन्मथलो धाउनुपर्नेलाई साह्रै सास्ती भएको छ । काममा ढिलाइ हुँदा उनीहरुलाई तीन दिन कुनुपर्ने बाध्यता छ । ढिला काम गर्ने प्रवृत्तिका कारण गाउँबाट सदरमुकाम आउनेहरु थलिएका छन् । एकातिर गोजीमा पैसा हुँदैन् अर्कोतिर दिनदिनै आउनुपर्ने बाध्यता छ । बिहान कमाएर बेलुका छाक टार्नेहरु थप समस्यामा परेको छ । घण्टौंको बाटो हिँडेर आयो अनि रित्तो हात फर्कियो । राजाको पालादेखि चलिआएको यो सिस्टम अझै पनि त्यस्तै छ । सरकारी सेवासुविधा पाउनका लागि हिजो पनि दुःख सहनैपथ्र्यो, आज पनि त्यस्तै छ । सरकारी कामकाजमा कुनै परिवर्तन आएन् । बहुदलीय व्यवस्था आयो तर कसैले जनतालाई राहत दिन सकेनन् । सरकारी कर्मचारीको पारा उस्तै छ । एक दिनमा हुने काम तीन दिन लगाएर गर्छन् । अनि के परिवर्तन आयो ? जनताको दुःख काम भएको छैन् । तर, यसतर्फ सरकारको ध्यान गएको छैन् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको सेवा समय थप गरिदिन जरुरी देखिएको छ । बिहान १० बजेदेखि कार्यालय खोल्ने भनिएको हुन्छ तर १२ बजेसम्म कर्मचारी आइपुगेका हुँदैनन् । बेलुका पनि कर्मचारीहरु छिट्टै निस्किन्छन् । अनि मर्कामा टाढाटाढाबाट धाएका जनता पर्छन् । एउटा कामका लागि दोहोर्याइ तेह्रेर्याइ जान बाध्य छन्, जनता । सरकारी कार्यालयमा बिहानैदेखि एकदमै भीड हुन्छ । भीडलाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कार्यालय खोल्नुपर्छ ।यसो गर्दा जनताले सेवासुविधा पाँउछन्, राज्यले राजस्व । दिनदिनै आउनुपर्ने बाध्यता पनि हट्छ । मालपोत कार्यालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय भनेको राजस्व उठ्ने क्षेत्र हो । तर, सरकारी कर्मचारीको ढिलासुस्तीका कारण सोचेअनुरुप राजस्व आउन सकिरहेको छैन् । सरकारले कर्मचारी थप गरेर काम गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्छ । जति राजस्व उठ्छ, सरकारलाई उति नै फाइदा हो । आज उठ्ने राजस्व साता दिनपछि उठ्छ । काम छिटोछिटो भयो भने एकातिर जनता खुसी हुन्छन् अर्कोतिर उठेको राजस्व लगेर बैंकमा राख्दा ब्याज आँउछ । त्यही ब्याजले थप कर्मचारीलाई तलब खुवाउन सकिन्छ । मुलुकमा रोजगारी नभएर दिनहुँ हजारौं नेपाली बाहिरिरहेका छन् । यो क्रममा पनि केही हदसम्म न्यून हुन्छ । यता, सरकारी कार्यालयमा केही पनि व्यवस्थित छैन् । कुन कोठामा के काम हुन्छ ? सूचना टाँसेर सहज गर्दैनन् । यताबाट उता गर्दै ठिक्क हुन्छ सर्वसाधारणलाई । सूचना पार्टीमा टाँसेर राखिदिने हो भने जनताले त्यत्रो कष्ट पाउन पर्दैनथ्यो । कर्मचारीहरु गैरजिम्मेवार हुँदा लेखनदास र बिचौलियाहरुले कमाउने बाटो पाउका छन् । लेखनदास र बिचौलयाको ठगीधन्दा मौलाएको छ । एउटा सानो काम गरेको पनि मनलाग्दी पैसा उठाउँछन् । आज हुने काम लिएर सिँधै सम्बन्धित व्यक्तिका पुगेपनि विभिन्न बहाना बनाएर त्यो कामलाई अड्काइदिन्छन् । सरकारबाट पाउने सेवासुविधाका निम्ति पनि जनताले कत्रो ‘पापड’ बेल्नुपर्छ । यो पुगेन्, त्यो पुगेन् भनेर विभिन्न कानूनको अवरोध देखाएर अल्झाएर राखिदिन्छन् । जसरी हुन्छ बिचौलियामार्फत फाइल लिएर जान बाध्य बनाइन्छ । हाकिमले हुँदैन भनेको काम लेखनदास र बिचौलियाले तुरुन्त गराउँछ । लेखनदास र बिचौलियाले भने जति पैसा तिर्नुपर्छ, नहुने काम पनि तुरुन्त हुन्छ । आर्थिक चलखेल नभएसम्म सरकारी कर्मचारीले काम नै गर्दैनन् । सरकारी कर्मचारीको पैसामा बिक्ने प्रवृत्तिका कारण जनताले छिटोछरितो सेवा पाएनन् । यता, सरकारी कर्मचारीकै कारण सरकार लज्जित बन्नुपरेको छ । सरकारी कार्यालयमा आएका जनताको अवस्था हेयोै भने देख्नेको मन नै खिन्न हुन्छ । तर, सरकारको कर्मचारीलाई त्यसले केही फरक पर्दैन् । जसरी हुन्छ तिनलाई ठगेर पैसा कमाउनु मात्र छ । खुट्टामा एक जोर चप्पल नभएका, झुत्रा लुगा लगाएर आएकालाई समेत लुट्न छोड्दैनन् । जोसंग एक जोर चप्पल किनेर लाउने पैसा छैन् त्यस्तोसंग पनि घुस माग्छन् । लेखनदास, दलालीले घुस नखाईकन काम गर्दैनन् । सीधासाधी, बोल्न नसक्ने र अशिक्षित जनतालाई सरकारले नै ठग्ने गरेको छ । सरकारी कर्मचारी जनताले तिरेको करबाट सेवासुविधा खान्छन् । जनतालाई सेवा दिन्छौं भन्छन् तर जनता लुट्न छोड्दैनन् । बाहिरबाट जति सफासुग्घर भएर के गर्नु, भित्री नियत मैलो छ । सरकारी कर्मचारीहरु जनताबाट घृणित भएका छन् । आफ्नो कारणले जनताले कति दुःख पाएका छन् ? तिनलाई थाहा छैन् । जनताका लागि सरकारी कर्मचारी सर्प बनेका छन् । देशको अर्थतन्त्र पल्टिने अवस्थामा छ । सरकारी कर्मचारीका कारण मुलुक सिद्धिन लागिसकेको छ । सरकारले विदेशी ऋण लिएर कर्मचारीहरुलाई तलब खुवाइरहेको छ । जनताले तिरेको कर विकासमा भन्दा पनि उनीको सेवासुविधा पूर्ति गर्दै ठिक्क भएको छ । कामचोर कर्मचारीहरुलाई पेन्सन पनि खुवाउनुपर्ने बाध्यता छ । यता, मँहगा गाडी पनि सरकारले नै किनेर दिनुपरेको छ । सरकारी कर्मचारीहरु सेवासुविधाको एकदमै भोगी भए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धीकरण विभाग पनि सरकारी कार्यालय नै हो । यहाँभित्र बस्ने पनि सरकारी कर्मचारी हुन् । अख्तियार र शुद्धीकरण विभागका कर्मचारी पनि घुस्याहा नै त हो । घुस आयो भने तिनीहरु पनि चुप लाग्छन् । नेपालमा भ्रष्ट्राचारको बिगबिगी छ तर गर्ने केही होइनन् । सेवासुविधा पचाउने काम मात्र हो यिनीहरुको पनि । कहाँकहाँँबाट घुस झार्न सकिन्छ, सुँघेर हिँड्छन् । राजनीतिक पार्टीको झोले बन्ने अनि सरुवा बढुवा गर्नुपर्यो भने नेताको गुलामी गर्न पुग्ने । अनि देशमा भ्रष्ट्राचार नमौलाएर के मौलाउँछ ? सरकारी कर्मचारीमाथि देश डुबाएको आरोप लागेको छ । जनताले तिरेको करबाट तलबभत्ता खाने, लुगा लगाउने, गाडी चढ्ने, उपचार गर्ने, देशविदेश घुम्ने गर्दागर्दै देश सकियो । विदेशी ऋण बढेको बढ्यै छ । तर, कर्मचारीलाई केही फरक नै पर्दैन् । जसरी हुन्छ आफ्नो भुँडी भर्न पाए हुन्छ । अरु मरुन कि बाँचून् । सरकारी कर्मचारीहरु जहिले पनि नेतामाथि आरोप लगाएर पन्छिन खोज्छन् । सरकारी कर्मचारीहरु भन्दै आएका छन्,‘देश नेताले बिगारे । देशको यस्तो हालत हुनुमा नेताहरुको हात छ । तर, आफूले के गरिरहेको छु भनेर फर्किएरसमेत हेदैनन् । मुलुकमा परिवर्तन ल्याउनमा नेताहरुकै हात छ । उनीहरु जेल नगएको भए, कुटाइ नखाएको भए, जिब्रोमा करेण्ट नलगाएको भए नेपाली जनताहरु यसरी बोल्न सक्दैनथे । नेताहरुले पदमा बस्दासम्म भ्रष्ट्राचार गर्छन्, त्यो सबै चुनावमा खर्च हुन्छ । तर, सरकारी कर्मचारीहरुले भ्रष्ट्राचार गर्छन्, विदेशी बैंकमा लगेर लुकाउँछन् । सरकार धान्न नसक्ने अवस्थामा आइसकेको छ । सरकार ऋण लिने, कर्मचारी तलबभत्ता र सेवासुविधा लिन नछोड्ने । सरकारी जागिरे श्रीमान् मरेपछि श्रीमतीले पेन्सन पाँउछन् । श्रीमती मरेपनि श्रीमानलाई लगातार भत्ता आइरहन्छ । अनि के चाहियो ? कर तिर्ने जनता भोकभोकै हिँडेका छन् । उपचार गर्न नसकेर रोग पालेर हिँडेका छन् । जिऊमा लुगा नभएर लामखुट्टेलाई टोकाएर बसेका छन् । सरकारलाई जनताप्रति दया जाग्दैन् ? गरिब जनताको छोराछोरीले पढ्न पाएका छैनन् । सरकारी कर्मचारीका छोराछोरी राम्रा शैक्षिक संस्थामा पढ्छन् । यहाँ पढेर बाहिर जान्छन्, उही आरामदायी जिन्दगी बिताउँछन् । जनताका छोराछोरी हिजो पनि भारी बोक्थे आज पनि बोकिरहेका छन् । जागिर खाएको पाँच वर्षमा घर बनाइसक्छन्, सरकारी कर्मचारी । मिठोमसिनो खाइरहेका हुन्छन्, छोराछोरी राम्रै ठाँउ पढाएका छन्, कसरी ? काम छिटोछरितो नगरिदिँदा जनताहरु लोकतन्त्रको व्यवस्था ठिक छैन् भन्न थालेका छन् । नेताहरुले लडेर ल्याए तर कर्मचारीका कारण जनताहरु आजित भएका छन् । लोकतन्त्र नै अप्ठ्यारोमा परेको छ । नेताहरुमाथि हिलो छ्यापेका छन्, कर्मचारीहरुले । सरकारी कर्मचारीहरु राजनीतिक पार्टीको झोला बोक्छन्, सेवासुविधा लिन्छन्, अनि हाजिर गर्नेबित्तिकै घरतिर दौडिन्छन् । सरकारले पूराना कर्मचारी हटाएर नयाँ भर्ती गर्नुपर्छ । अहिले खाइरहेका तलबको आधामा काम गर्ने कर्मचारीहरु भेटिन्छन् । होइन् भने, यस्तै पाराले मुलुकको सुधार सम्भव छैन् ।
छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष सात्विक भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी छठी देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना कोभिड–१९ सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान शास्त्रीय मत भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ घ्यूमा बनाइने खास परिकार, भुसुवा कसार र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को पातगुवो सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत सझुका अरख र सोमबार बिहान पारन समापन, भोरका अरख सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् । रासस
चक्रिय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव
बेनी । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे । काठमाडौँमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए । पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धवलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराएका हुन् । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ । धवलागिरि आधार शिविर क्षेत्रको भ्रमण र धवलागिरि आरोहणका लागि समेत पर्यटक यस पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् । धवलागिरि पदमार्ग प्राकृतिकरूपमा मनोरम रहे पनि पर्यटन विकासको अवस्थामा भने सुधार र परिवर्तन नभएको पाइएको राईले बताए । ‘धेरै हिमालमा पर्यटक लिएर पुगेको छु, धवलागिरि पदमार्गको जस्तो सुन्दरता कमै भेटिन्छ, तर यहाँको पर्यटन पूर्वाधारको विकास भने अन्य क्षेत्रको तुलनामा निकै कम छ’, राईले भने । हङ्कङमा रहेका म्याग्देलीहरूको सामूहिक धवलागिरि पदमार्ग भ्रमणको नेतृत्व गरेका राईले विदेशी पर्यटकले साहसिक यात्राका रूपमा लिने यस क्षेत्रमा पदमार्ग, सञ्चार, होटललगायतका पूर्वाधार र सुविधाको पहुँच बढाउन सकेमा आन्तरिक पर्यटकसमेत ठूलो सङ्ख्यामा भित्र्याउन सकिने बताए । ‘धवलागिरि पदमार्ग पुरानो पदमार्ग हो, सुरु–सुरुमा भिर, पहाडमा जोखिम मोलेरै हिँड्नुपर्ने थियो, पछि सामान्य गोरेटो खनेपछि केही सहज भएको हो, तर पूर्णरूपमा पदमार्ग निर्माणकार्यले अझै मूर्तरुप लिएको छैन, ठाउँ–ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता यथावत छ’, उनले थपे । म्याग्दी सदरमुकाम बेनीबाट मुदीगाउँसम्म सडकको ट्र्याक निर्माण भएकाले त्यहाँसम्म सवारीसाधनमा पुगेपछि एक दिनको यात्रामा बगरगाउँ पुग्न सकिन्छ । बगरबाट–दोभान, दोभानबाट सल्लाघारी–इटाली आधार शिविर हुँदै धवलागिरि आधार शिविर पुग्न करिब चार दिनको पैदलयात्रा गर्नुपर्छ । पछिल्ला वर्षहरूमा पदमार्गका लागि गाउँपालिका, पर्यटन मन्त्रालय र प्रदेश सरकारमार्फत समेत बजेट विनियोजन हुन थाले पनि पर्याप्त नहुँदा पदमार्ग निर्माणले तीव्रता पाएको छैन । अग्ला डाँडाकाँडा, पहाड, घना जङ्गल, झरना, खोलानाला र हिमालको मनोरम दृश्य लोभलाग्दो रहे पनि पर्यटन विकासका आधारभूत पूर्वाधार नहुँदा यात्रा कष्टकर र जोखिमपूर्ण हुने गरेको पहिलोपटक आधार शिविर पुग्नुभएका कर्णबहादुर पुनले बताए । ‘हाम्रो २३ जनाको टोली आधार शिविरसम्मको यात्रामा सफल भयौँ, चक्रिय पदमार्गकै यात्रा गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र उपयुक्त पूर्वाधार नहुँदा हिमालको आधार शिविरबाट फर्र्के, यस पदमार्गमा जाने जो–कोहीलाई यहाँको सुन्दरताले लोभ्याउँछ, तर पर्याप्त पर्यटन पूर्वाधार र सुविधा नहुँदा फेरि भ्रमणमा जाने आँट हराउँछ’, पुनले भने । धवलागिरि पदमार्गले समेटिएका बस्तीमा पर्यटन संस्कृतिको समेत अभाव रहेको उल्लेख गर्दै पुनले स्थानीयवासीमा पर्यटन संस्कारको विकास गर्ने, पर्यटन पूर्वाधार निर्माण गर्ने र पदमार्गलाई व्यापक प्रचार–प्रसार गर्ने कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । यस पदमार्गअन्तर्गत बगरगाउँमा घरबास होमस्टे रहे पनि त्यो प्रभावकारी र व्यवस्थित बन्न सकेको छैन भने दोभान, सल्लाघारी र इटाली बेसक्याम्पमा रहेका होटलको क्षमता पर्याप्त छैनन् । खानामा अग्र्यानिक र आतिथ्यतामा मौलिकतालाई जोड्दै स्थानीय कला र संस्कृतिलाई समेत यस क्षेत्रको पर्यटन विकासको अर्को आधार बनाउनुपर्ने अर्का पर्यटक इन्द्र एलजी थापामगरले बताए । ‘पदमार्ग हुँदै देखिने प्राकृतिक दृश्य र आधार शिविर पुगिसकेपछि देखिने अनौठो र विचित्रको दृश्यले एकपटक पुग्नैपर्ने ठाउँ रहेको कुरा महसुस भयो, तर यसलाई व्यापकता र विस्तार गर्न भने पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्नैपर्छ’, उनले भने । यस पदमार्गको अधिकांश क्षेत्रमा सञ्चारको पहुँच नपुगेको कारण पर्यटक सञ्चार सम्पर्कको अभावले स्वास्थ्य समस्या र आपत्कालीन समयमा तत्काल उद्धार पाउनबाट बञ्चित हुनुपर्ने बाध्यता छ भने इटाली आधार शिविरदेखि माथिको पदमार्ग स्थायी नहुँदा हरेक वर्ष बाटो फेरिररहने समस्या छ । इटाली आधार शिविरबाट अघि बढेपछि म्याग्दी नदीको खोँचमा झोलुङ्गे पुलको अभाव छ । पुल नहुँदा हिउँ जमेर बनेको ग्लेसियरमाथि नै जोखिमपूर्ण तवरले आवतजावत गर्नुपर्ने बाध्यता छ । समुद्र सतहदेखि चार हजार सात सय ६० मिटर उचाइको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात रहे पनि पर्यटन पूर्वाधार तयार भएमा समुद्र सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको इटाली आधार शिविरसम्मको पदयात्रामा आन्तरिक पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलिजा बताउँछन् । रासस
मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार
जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् । पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ । मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् । हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिए । धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पु¥याएको स्थानीयले बताएका छन् । जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताए । कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् । पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै गएको छ । रासस