साप्ताहिक मौसम : हिमपातदेखि वर्षाको सम्भावना
काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ । रासस
सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गए राति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए । यस्तै बा२५प८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ । अत्यधिक गतिका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे
चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताए । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ । रासस
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जानकारी दिए । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए । रासस
कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे
कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए । उनले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताए । ‘जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ’, उनी भन्छन्, ‘विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।’ मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधाभोगी बन्न थालेका उनको भनाइ छ । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनी मात्र आर्थिक विकास सम्भव भएको बताए । उनले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताए । ‘यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्’, उनी भ्न्छन्, ‘वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।’ वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाए। उनले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताए । ‘एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु ?’, भण्डारी भन्छन्, ‘स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।’ उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकासजति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताए । उनले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताए। ‘यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ’, उनी भन्छन्, ‘यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।’ महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताए। ‘हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ’, उनले भने, ‘लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।
नेपाली फलफूलको बजार घट्दै : तिहारमा भारत र चीनबाट ७० करोडको स्याउ र केरा भित्रियो
काठमाडौं । यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् । काठमाडौं उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउँछन् नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौंका अध्यक्ष अम्मर बानियाँ । कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ । उनका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन् । अध्यक्ष बानियाँ भन्छन्, ‘तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ । हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महङ्गा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ ।’ हाल बजारमा व्यवसायीले भारतीय (कास्मिरी) चकलेटी स्याउ बढी मात्रामा बिक्री गरिराखेका छन् । यसको होलसेल मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँ पर्छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १३० देखि १९० रुपैयाँसम्म पर्छ ।’ तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको छ । अध्यक्ष बानियाँ भन्छन्, ‘२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ । तिहारको लागि १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो । मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।’ अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको बताउँछन् । उनको अनुमानका अनुसार १५ करोडको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् । त्यसैगरी नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोडको नेपाली केरा भित्रिएको छ । पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी) मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ । बजारमा नेपालीभन्दा भारतीय केरा महङ्गोमा भए पनि उपभोक्ताले किन्ने गर्छन् । सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ । त्रिवेणी, टिकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ । तर त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ । भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ । भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको दुखेसो गर्दै बानियाँको छ । ‘अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ । हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ,’ उनले भने । व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँ भन्छन्, ‘भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ । उनीहरुको केरा हेर्दै किनौंकिनौं लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ. तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्वाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन् ।’ त्यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए । उनका अनुसार अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ । त्यस्तै लक्ष्मी पूँजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ । यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच/छ थरिका फलफूल सो बजारमा मात्रै ७५ करोडको आयात भएको भन्दै उनले भने, ‘तिहारमा मात्रै कूल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै ७५ करोडभन्दा बढीको व्यापार हुन्छ ।’ यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ । त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ । अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयको किबीले नेपाली बजार लिएको छ । पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुनेमा उनी विश्वस्त छन् । नेपाली किबीको साइज एकनासको नहुने, सानो–ठूलो सबै एकै ठाउँमा प्याकिङ गरिदिने गर्दा बजारमा विदेशी किबीको प्रभाव बढ्ने देखिन्छ । त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो । अध्यक्षे बानियाँ भन्छन्, ‘बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ । हेर्दा उनीहरुको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन् । भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ ।’ उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ । रासस
म्याग्दीमा आम्दानीको माध्यम बन्यो झिनीया, दशैं तिहारमा मात्रै ७ लाखको बिक्री
म्याग्दी । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दशैं र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताए । ‘अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्’, उनले भने, ‘यसपालीको दशैं तिहारमा हाम्रो समूहले सात लाख बराबरको झिनीया बिक्री गरेका छौँ ।’ गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरुपमा झिनीया उत्पादन गर्छन् । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताए । ‘झिनीया आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।’ बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौं र बागलुङमा झिनीया बिक्री हुने गरेको छ । पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताइन् । उनले हाल ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गरेका छन् । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताए । चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन (प्रति १२ गोटा) झिनियाँलाई आकारअनुसार १३० देखि २०० सम्ममा बिक्री हुन्छ । बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताए । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ । घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताए । हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । रासस
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा यसरी मनाइयो भाइटीका (फोटोफिचर)
काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर टिका लगाएका छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुलेको हाे । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघि भुकम्पको कारण क्षतिग्रस्त बनेपछि बीचमा बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो । यस मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।