
काठमाडौं । नेपाल रेल्वे कम्पनीले रेल कुद्ने समय तालिका परिवर्तन गर्ने योजना बनाएको छ । बिहान छिटो रेल नकुद्दा समयको गन्तव्यमा पुग्न नसकेको भन्दै यात्रु गुनासो धेरै आएपछि कम्पनीले समय तालिका परिवर्तन गर्न लागेको हो ।
यात्रुको गुनासोको सुनुवाइ गर्दै समय तालिका परिवर्तन गर्ने मनाशाय बनाएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले बताए । हाल सो रेल दिनमा २ पटक ओहोर दोहोर गर्दै आएको छ ।
झाका अनुसार हाल भने समय तालिका परिवर्तन भएको छैन । छठ पछि लगतै नेपाली रेलको समय तालिका बदलिने छ ।
‘समय तालिका परिवर्तन गर्न विषयमा छलफल भइरहेको छ, छठ पर्वपछि समय तालिका परिवर्तन गर्ने सोच बनाएका छौं, यसको लागि भारतीय रेल्वे कम्पनीसँग पनि छलफल गर्नु पर्ने हुन्छ,’ उनले भने ।
रेल्वे कम्पनीले जनकपुरबाट बिहान ७ बजे जयनगरतर्फ लाग्ने र जयनगरबाट बिहान ८ बजे आउँने समय तालिका बनाउन योजना बनाएको छ । सो समय तालिका माथि पुनः एक चोटि छलफल हुन बाँकी नै रहेको पनि झाले बताए ।
हाल बिहानको ११ बजेर ५ मिनेटमा जनपुरबाट पहिलो रेल छुट्छ । सो रेल साँझ ५ बजे मात्र जयनगरबाट फर्कँदै आएको छ ।
समय तालिका परिवर्तन भयो भने कुर्थादेखि जयनगरसम्म बेलुकी ३ बजेअन्तिम रेल हुने र जयनगरबाट सो रेल ४ बजेर ३० मिनेटमा फर्कने छ ।
रेल कुद्ने समय तालिका परिर्वतन गर्ने बारेमा आधिकारीक निणर्य हुन भने बाँकी रहेको पनि झाको भनाइ छ ।