काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महशुस भएको उनको भनाइ छ । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले बताए ।
वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । उनका अनुसार डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने छ ।
‘गर्मी समय सकिएर जाडो याम सुरु भएको छ, मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ, यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो, अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन, यद्यपी मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरीको तापक्रम घट्दै गएको छ,’ उनले भने, ‘जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ, जुन जाडो बढाउने तापक्रम हो, काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ ।’
उनका अनुसार कुन किसिमले घट्दै घट्दै जान्छ भन्ने त स्पष्ट हुँदैन । ‘कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ, जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरु घट्दै जाने, जाडो हुँदै जाने गर्दछ, यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ,’ उनले भने ।
मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको उनले बताए । आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाई छ ।
‘चिसो लगातार घटेको घटेकै गर्दैन, कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महशुस हुन्छ, दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ, आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ, दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो, तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ, दिनप्रतिदिन गर्मी हुने अवस्था छैन, जाडो बिस्तारै हुँदै जाने गर्दछ, माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन, क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ, वर्षा हुने सम्भावना एकहप्ता यता छैन,’ उनले भने ।