विकासन्युज

सात वर्षसम्म पनि मर्मत भएन कालीकोटको विद्युत् आयोजना

कालीकोट । कालीकोटको सान्नीगाड जलविद्युत् आयोजना पहिराले क्षति पु¥याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन । विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्याएको हो । जलविद्युत् आयोजनाको २०६५ सालदेखि सञ्चालनमा आएको थियो । विसं २०७२ को पहिरो क्षति पुर्याएको जलविद्युत् आयोजना करोड ३१ लाख रुपैयाँ लगानी गरी कुलो मर्मत गरिए पनि सञ्चालनमा नआउँदै २०७६ साउन २ मा पुनःपहिरो गएको थियो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा विद्युत् सेवा दिँदै आएको आयोजना बन्द भएपछि अहिले त्यहाका बस्ती विद्युत सेवाविहीन बनेका छन् । बिद्युत आयोजनाले दुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्दै आएकोमा पहिराले क्षति पुर्याएपछि बन्द भएको नेपाल विद्युत् प्राविकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायण पौडेलले बताए । ‘पहिरो पन्छ्याएर आवश्यक मर्मत गरी उत्पादन थाल्न पुनः‘सर्भे रिपोर्ट’ र ‘लागत इस्टिमेट’सहित गत फागुनमा नेपाल विद्युत् प्राधिकरणमा पत्राचार गरिएको थियो’, उनले भने, ‘अहिलेसम्म त्यसको मर्मत तथा पुनःनिर्माणका लागि कुनै पहल भएको छैन ।’ सान्नीगाड जलविद्युत् आयोजना बन्द हुँदा त्यसको विकल्पका रुपमा २०७६ को कात्तिकदेखि विद्युत् वितरण केन्द्रले कालीकोटको खाडाँचक्र–३ ताडी बसपार्कमा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी झन्डै एक वर्ष सुविधा दिएको थियो । अहिले सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइन पुगेका कारणले जेनेरेटर सेवा बन्द गरिएको केन्द्रका प्रमुख पौडेलले बताए । ‘सदरमुकाममा त राष्ट्रिय लाइन जोडिएको छ । अहिले यहीँबाट विद्युत् सेवा दिइरहेका छौँ’, उनले भने, ‘त्योसँगै ग्रामीण बस्तीमा विद्युतीकरण गर्ने कार्यक्रम भएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतमा ध्यान नगएको होला ।’ जिल्ला सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जोडिएको भए पनि ग्रामीण बस्तीमा विद्युत्को पहुँच नभएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा गएर नै आफूले माग गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसीले जानकारी दिए । ‘विद्युत्गृहसम्म पुग्ने कुलो र मेसिन मर्मतको आवश्यकता रहेको छ’, उनले भने, ‘क्षमता विस्तारका लागि हामीले पहल थालेका छौँ ।’ रासस

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले यस पटक पनि ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ । यस कार्यक्रममा मुख्यतः चार चरणहरू हुनेछन । जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन् । यी चरणहरु पार गरेपछि निर्णायकहरुले विजेताको घोषणा गर्नेछन् । विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन् । हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीहरूका लागि दिगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुहरूका लागि १२० देशहरूमा आयोजना हुँदै आएको छ । यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ। यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरि सहभागी हुन पठाएको थियो । द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन्। उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरु रहेका छन् । समितिले कार्यक्रमको तयारी थालिसकेका छन् । तयारीस्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीहरूसँग यौन दुव्र्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उदेश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो । साथै, सेप्टेम्बर २७ मा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय समेत गरेको छ । निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउन सक्नेछन् । टोलीका सदस्यहरु एउटै विश्वविद्यालयको हुनुपर्ने छ तथापी एक जना सदस्य भने अर्को संस्थाको हुनसक्नेछन् ।

कालिगण्डकीमा र्याफ्टिङ शुरु भएसँगै बढे आन्तरिक पर्यटक

काठमाडौं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड १९ का कारण करिव दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन् । उनीहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको जानकारी दिए । शर्माले रानीमहल मात्रे भनेर घुम्न गएपनि र्याफ्टिङ रहेको थाहा पाएपछि र्यायाफ्टिङ चढेको बताइन् । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो । रानीमहलको बायाँबाट बग्ने पवित्र कालिगण्डकीमा दैनिक सयौंको संख्यामा स्थानियदेखि वाह्य पर्यटक र्यायाफ्टिङको मज्जा लिन आउने गरेका छन् । हाल रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा शुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् । गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिव २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको जानकारी गराइन् । उनले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको बताइन् । जल यात्रामा रमाउन लाखौं रुपैयाँ खर्चिएर नेपालीहरु विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै शुरु भएको र्याफ्टिङप्रति वाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ ।

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताए । लेबनानमा केही महिनायता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका विरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ । समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रुप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिनायता इबोलाको प्रकोप बढेको छ ।

‘पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन दिँदैनौं’

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन् । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनले जानकारी दिए । झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनैपनि मतदातालाई प्रभाव पार्ने दुस्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुनबमोजिम कारबाही गरिने तर सोही कारण पुनः मतदान हुन नदिनेमा बताए । कुनै पनि एक मतदातालाई लोभ, लालच, धाक वा धम्कीका कारण मतदान गर्नबाट अफ्ट्यारो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको र सोही सन्दर्भमा झापामासमेत सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने प्रक्रियामा आयोग रहेकाले सामाजिक सञ्जालमार्फत प्रशारण हुनसक्ने मित्थ्या सूचना, दुस्प्रचार र घृणाष्पद अभिव्यक्ति रोक्नसमेत आयोग लागि परेको छ भन्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपूर उपभोग गराई यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बारका पदाधिकारी, उम्मेदवार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजको सहभागतिा थियो । रासस

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बैतडी । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएकोे जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ । जिल्लाभरि एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र छन् । निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेको छ । निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने फुँयालले जानकारी दिए । यसका साथै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन् । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाका दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । रासस

देउराली सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा, भन्यो : समस्या छिट्टै समाधान हुन्छ

काठमाडाैं । केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी गरेको छ । वित्तिय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विवादका बिच सहकारीले सेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको कार्यन्वयन स्वरुप बचतकर्तालाई जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन् । जनताले रातदिन मेहेनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको चौँलागाइले बताएका छन् । चौलागाँइले चालु पुँजी अभावमा जग्गा दिने वचन दुई महिना अघि सदस्यहरुको भेला गरेर गरेका थिए । सहकारी समस्यामा परेपछि केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नवलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको देउरालीले बताएको छ । सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडी नै रविन्द्र चौलागाईंले ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए । साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ । सहकारीले तरलता व्यवस्थापनको लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेको बताएको छ । देउरालीले ठुला बचतकर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटीले आफनै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास गरिसकेको हुँदा सहकारीको तरलता अभाव छिट्टै सहज हुने बताएको छ । ‘हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पुर्ण बचतकर्ताहरुलाई बचत रकम जुनसुकै हालमा फिर्ता हुने कुरामा विश्वास व्यक्त गर्न चाहन्छौ, त्यसको लािग धर्यता र संयमता अपनाइ दिनु हुन विनम्र अनुरोध गर्दछौं, देउरालीले सम्पुर्ण सदस्यहरु संयमित हुनुपर्ने, सहयोगी हुनुपर्ने, उजुरी बाजुरी तथा चेक बाउन्स गर्ने, काम गर्न असहज बनाइदिने, कर्मचारीहरुलाई तनाव सिर्जना गरिदिने जस्ता कामहरु नगरीदिन पनि अनुरोध गरेको छ, सदस्यहरुबाट त्यो खालको गतिविधि अवका दिनमा नहुने कुरामा हामीले विश्वास समेत गरेका छौं,’ प्रेस विज्ञप्तीमा भनिएको छ । संस्था समस्यामा परेपछि गठन भएको बचतकर्ता प्रतिनिधि कमिटीसँग अध्यक्ष चौलागाइले हरक्षण सहकार्य गर्दै अघि बढेका छन् । सोही कमिटीले दर्ता गरेको कम्पनीको नाममा अन्य थप जग्गा पनि धितोको रुपमा पास दिँदै जाने र सो कमिटीसँगको सकहार्यमा यस संस्थाको तरलता संकट व्यवस्थापन हुने चौलागाइले बताएका छन् । अध्यक्ष चौलागाईंले इच्छुक सम्पुर्ण सदस्यहरुलाई पुन नियमित कारोबार गर्न समेत अनुरोध गरेका छन् ।

एकैदिन प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ४०० रुपैयाँले र चाँदी ५० रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।