नवलपरासी पश्चिम–१ मा उद्योगी विनोद चौधरीलाई हृदयेश त्रिपाठीको चुनौती कति ?
नवलपरासी । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो । पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन् । यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो । एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो । जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो । यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ । हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ । २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यसपटक आफ्नै चुनाव चिह्न छ । यसअघि विभिन्न दलमा पुगिसकेका त्रिपाठी अहिले नयाँ दल लिएर चुनावी मैदानमा होमिएका हुन् । यसपटक त्रिपाठीले सूर्य चिह्नमा चुनाव लड्न नमानेपछि मनोनयन दर्ता गराउने दिनको अन्तिम समयमा एमालले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो । उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म त्रिपाठीले एमालेका शीर्ष नेतामार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल भएका छन् । तर अघिल्लो पटक सूर्य चिह्नमा मतदान गरेका एमाले मतदाताले यसपटक फेरि मत हाल्नेमा त्रिपाठी नै विश्वस्त छैनन् । अर्कोतर्फ सूर्य चुनाव चिह्न लिन नचाहेको चर्चाले पनि त्रिपाठीलाई ‘ब्याक फायर’ को त्रास छ । त्यसैले एमालेको साथ पाउँदा पनि स्थिति जटिल बनिरहेको उनको विश्लेषण छ । २०४८, २०५१ र २०५६ मा भएको संसदीय निर्वाचनमा नेपाल सद्भावना पार्टीको चुनाव चिह्नबाट विजयी भएका उनी २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडेका थिए । त्रिपाठी अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन् । उनी २०६४ सालमा वन मन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्ति, २०६८ मा भौतिक योजना तथा सडक यातायात, २०७६ मा संघीय मामिला तथा सामान्य प्रशासन र २०७७ मा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बनिसकेका छन् । यता दुईपटक समानुपातिक सांसद बनेका चौधरी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् । उनी निर्वाचन क्षेत्रको विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताउँछन् । नाम र पैसाका लागि आफूले राजनीति नगरेको चौधरीको दाबी छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको उनी बताउँछन् । क्षेत्र परिर्वतन भए पनि नवलपरासी पश्चिम–१ को समस्याबारेमा आफू जानकार रहेको र समधान गर्न सक्ने दाबी उनको छ ।
मोरङका विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराएका छन् । विद्यार्थीहरूले दिउँसो आकाशमा टेलिस्कोपको मद्दतबाट सूर्य र राति चन्द्रमा, वृहस्पति ग्रहका साथै शनिग्रह हेरेका थिए । विद्यालयकी संयोजक मेलिसा निरौलाले कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिइन् । ‘पाठ्यपुस्तकमा भएका विषय बुझाउन विद्यार्थीलाई रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको विषय हो’, निरौलाले भने । प्याब्सन लेटाङ अध्यक्ष कमल अधिकारीले विद्यालयले गरेको प्रयास सकारात्मक र राम्रो भएको बताए । कार्यक्रममा लेटाङ्ग क्षेत्रका अन्य विद्यालयहरु अमर हर्ट मेमोरियल इङ्गलिस स्कुल, टेन्डर बर्ड बोर्डिङ्ग स्कुल, लेटाङ्ग ग्रीन भ्याली एकेडेमी, जाँते नमूना, पूर्वाञ्चल अल्मामेटर, मोरङ पाथिभरा इङ्गलिस स्कुल, पब्लिक सेन्ट्रल र लिटल फ्लावर्स, ग्यालेक्सी स्कुल तथा मिनरुवा सेकेन्डरी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।
सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा, भैरहवा क्षेत्रमा विद्युत आपूर्तिमा सुधार
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने ९लुप इन० र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ । नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ । टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरुको प्रगति, आगामी दिनमा नपलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ । ‘परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीँबाट विद्युत आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’ औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ । नवलपरासीको सुनवल नगरपालिका–१३मा निर्माण २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ । प्राधिकरणले नयाँ बुटवल –बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनले नवलपरासी, रुपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना अन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने बताए । बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार नेपाल विद्युत प्राधिकरणले योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत आपूर्तिमा सुधार आएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत आपूर्ति दिइरहेको छ । मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीहरुबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । भारतर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउने छ ।
एनआईसी एशिया बैंकमा काम गर्ने अवसर, यी पाँच पदका लागि माग्यो कर्मचारी
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको हाे । बैकले विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारकाे माग गरेको हो । आवेदनका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने छ । बैंकले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
लाभांश पारित गर्ने दोस्रो बैंक बन्यो कुमारी
काठमाडौं । कुमारी बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको छ । सोमबार भएकाे वार्षिका साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गरेको हो ।
एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट निर्णय गरेको हो । कम्पनीको अनुसार व्यतित बीमालेखमा छुट पाउन ग्राहकहरुले मंसिर २१ गतेभित्र नविकरण गरिसक्नुपर्नेछ । जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एकपटक ब्याज छुट लिइसकेका बीमितहरुले भने पुनः ब्याज छुट नपाउने कम्पनीले जनाएको छ ।
लगानीकर्तालाई सेयर धितो कर्जा पाउनै सकस, मार्जिन कलले बढ्यो तनाब
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा परिरहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव रहेकाले कर्जा दिन ठप्प पारेका छन् । गत वर्षदेखि तरलता अभावको समस्या खेपेका बैंकहरुले अहिले पनि सोही समस्याबाट ग्रसित भएका छन् । कर्जा नपाउने समस्याबाट ग्रसित भएका लगानीकर्ताहरुलाई यति बेला कर्जाको ब्याज बढेका कारण पनि तनाव सिर्जना गरेको छ । विगत डेढ वर्षदेखि ओरालो लागेको सेयर बजार माथि उक्लिने संकेत गरिरहेको छ । तर, लगानीकर्ताहरुमा लगानीयोग्य रकम अभाव रहेकाले बजारमा लगानी गर्नबाट बञ्चित छन् । बैंकहरुले कर्जा ठप्प पारेको र केही बैंकले सेयर धितो कर्जा दिएपनि लागत महँगो भएकाले लगानीकर्ता मर्कामा परेका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको भदौ महिनामा बैंकहरुले ८६ अर्ब ४२ करोड १० लाखरुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि उच्च रहेको छ । कर्जाको ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । नयाँ कर्जा पाउन गाह्रो परेको छ भने पुराना ऋणीहरुलाई लागत बढेर थेगिनसक्नु परेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । जसले गर्दा यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । सेयर बजार बढ्ने संकेत गरेपनि बैंकहरुको ब्याजदर नघटेसम्म, सेयर धितोकर्जा सहज रुपमा प्रवाह नगरेसम्म सम्भव नदेखिने लगानीकर्ताको भनाइ छ । लगानीकर्ता कमला गिरी घटेको बजारमा सेयर धितो कर्जा लिने हिम्मत लगानीकर्तामा नहुने बताउँछिन् । अहिले बजारमा ब्याजर उच्च रहेकोले लगानीकर्तालाई दोहोरो मर्का पर्ने उनको भनाइ छ । अहिले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेकाले लगानीकर्ताहरु घटेको बजारमा मार्जिन कर्जा नलिने उनले बताइन् । ‘बजार घटेको बेला लगानीकर्ताहरु सेयर धितो कर्जा लिन चाँहदैनन किनभने अहिले बजारमा ब्याजदर उच्च भएकाले लगानीकर्तामा हिम्मत हुँदैन, कर्जा लिएर पैसा कमाउन अहिले गाह्रो छ, बुल मार्केटमा सेयर कर्जा सेटलमेन्ट गर्न गाह्रो हुँदैन, घटेको बजारमा सेयर खरिद गर्यो भने घाटामा बिक्री गर्नुपर्ने हुन्छ, अहिले कर्जा लिन कसैले मानिरहेका छैनन्,’ उनले भनिन्, ‘अहिले बैंकहरुले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेको छ भने लगानीकर्ताहरु किन घटेको बजारमा मार्जिन कर्जा लिन्छन् रु जति घट्दै जान्छ त्यति मार्जिन कल आउँछ, अनि आत्तिएर बिक्री गर्छन्, जसले झन् मार्केट डाउन हुन पुग्छ, ठूला लगानीकर्ताहरुले यस्तै अवस्था भोगेको हुनाले सेयर बजार १८ सय अंकमा झरेको हो ।’ लगानीकर्ता राधा पोखरेल बैंकहरुबाट सेयरधितो कर्जा पाउन गाह्रो भएको बताउँछिन् । ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुर्याउँदा पुराना ऋणीहरुलाई गाह्रो भएको उनको भनाइ छ । ‘बैंकहरुबाट सेयर धितो कर्जा पाउन सहज छैन, सेयर धितो कर्जा नै दिइरहेका छैनन्, पहिला ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुगेको छ, नयाँ कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँछ,’ उनले भनिन्, ‘पुरानो कर्जा पनि तिर्न भनेर अफ्ठ्यारो पारिरहेका छन्, सेयर बिक्री गरेर तिरौं भन्दा पनि अन्य आम्दानी पनि छैन, कर्जा नपाउँदा नै बजार घटेको हो ।’ लगानीकर्ता दिपेन्द्र अग्रवाल राष्ट्र बैंकले कडाइ गरेका कारण सेयर धितो कर्जा पाउन गाह्रो भएको बताउँछन् । साना लगानकर्तालाई सेयर कर्जा दिइरहेको भएपनि अब ठूला लगानीकर्तालाई पनि दिनु पर्ने उनको माग छ । ‘अहिले तरलताको अभाव भएकोले सेयर धितो कर्जा पाउन गाह्रो छ तर नपाउने भन्ने अवस्था भने छैन, मैले आफूले लिएको छैन, बैंकरहरुले अहिले बोलाएर कर्जा लिनु भनेको छैन, साना लगानीकर्तालाई २५ लाखसम्मको कर्जा दिए पनि ठूला लगानीकर्तालाई पनि सेयर नदिनुको विकल्प छैन, अरु ब्यापार नभएकाले ठूला लगानीकर्तालाई पनि बोलाएर कर्जा दिने बेला आइसकेको छ,’ उनले भने । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बजारमा कर्जाको माग नै घटेको बताए । उनले बजारमा पैसाको मूल्य हिरा महँगो भएकाले बजारमा कर्जा लिन पटक–पटक चोटी सोच्नु पर्ने अवस्था आएको उनको भनाइ छ । ‘कर्जाको माग धेरै कम छ, आधारदर बढेपछि कर्जाको माग स्वतः घट्यो, सेयर कर्जा मात्रै होइन अन्य कर्जाको माग पनि घटेको छ, १७ प्रतिशतको ब्याजदरमा कर्जा लिएर लगानी गर्न गाह्रो छ, अहिले बजारमा कर्जा लिनलाई पटक–पटक सोच्नु पर्ने अवस्था छ,’ उनले भने, ‘ब्याजदर महँगो भयो भने बजारमा हिरा बेच्न त गाह्रो छ, अहिले पैसा हिरा जस्तै भएको छ, उच्च ब्याजमा कर्जा लिन आएका ग्राहक फर्किनु पर्ने अवस्था छैन, बैंकहरुले ८/९ प्रतिशतमा कर्जामा दिन सक्ने स्थिती छैन, त्यहि लागतमा कर्जा लिन्छु भनेर ग्राहक आयो भने बैंकहरु दिन सक्ने अवस्थामा छन् ।’ यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुदेश खालिङ बैंकहरुले कर्जा प्रवाहलाई ठप्प राखेको बताउँछन् । एभरेष्ट बैंकले सेयर धितो कर्जा नदिएको उनले बताए । मर्जरमा गएका बैंकहरुलाई सीडी रेसियोमा छुट दिएका कारण उनीहरुले कर्जा दिने गरेको भएपनि अन्य बैंकहरुले भने कर्जा नदिएको उनको भनाइ छ । ‘एभरेष्ट बैंकको सेयर धितो कर्जा शुन्य छ, तलिक्वीडिटीको अवस्था हेर्दा टाइटमा छौं, मर्जरमा गएका बैंकहरुलाई २ वर्षलाई सीडी रेसियोमा छुट दिएका कारण त्यो मौकामा कर्जा दिएका हुन सक्छन्, मर्जरमा गएपछि २ वर्षसम्म सीडी रेसियोलाई मेन्टेन गर्नुपर्ने बाध्यता रहेन, ती बैंकसँग केही पैसा छ र दिने अवस्था रह्यो भने गरिरहेका हुन सक्छन्, त्यो बाहेक अन्य बैंकले कर्जा दिन सकेका छैनन्,’ उनले भने । अहिलेराष्ट्र बैंकले प्राथािकता प्राप्त क्षेत्रका रुपमा तोकेको क्षेत्रमा पनि कर्जा लगानीका लागि अपुग भइरहेकाले बैंकहरुले सेयर धितो कर्जामा जोड नदिएको उनले बताए । ‘कृषि कर्जा, हाइड्रो लगायतका क्षेत्रमा कर्जा दिन अपुग भइरहेको अवस्थामा सेयरमा दिने कुरा हुँदैन, बैंकलाई सधैं ब्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, बैंकहरुको ब्याजदर महँगो भएका कारण पनि अहिले ब्यापार बढी हुने थियो तर अहिले हात बाँधेर बस्नु परेको अवस्था छ,’ उनले भने । बैंकहरुले कर्जा दिन नसक्ने अवस्था रहेको हुँदा माग पनि घटिरहेको उनले बताए । उनका अनुसार केही बैंकहरु अझैं पनि ब्याजदर बढाउनु पर्नेमा जोड दिइरहेका छन् । उनले भने, ‘यो अवस्था हेर्दा बैंकिङ क्षेत्र पूर्ण रुपमा सहज भएको छैन, यदि हुने छाँटकाँट देखिने हो भने बैंकहरु त्यति धेरै आँतुर हुन नपर्ने हो ।’ पुराना कर्जा लिएका ऋणीहरुलाई सिस्टमले नै सहज बनाउने उनको भनाइ छ ।
सडक निर्माण अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा
खोटाङ । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन् । दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीका ठेकेदार काम गर्दागर्दै छाडेर सम्पर्कविहीन भएका छन् । निर्माणाधीन सडक अलपत्र पारेर ठेकेदार भागेकाले वार्ता गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको जनाइएको छ । विसं २०७९ पुस २० गतेभित्र सक्ने गरी रु पाँच करोड छ लाख ५५ हजार पाँच सय ९६ लागतमा विसं २०७८ जेठ २० गते सम्झौता भएको भएको थियो तर, कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए । सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्ध व्यक्तिको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरसमेत पुग्नुभएको थियो । त्यसपछि पनि गत कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो । दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । दुई करोड ९६ लाख ३७ हजार पाँच सय ८६ लागतमा विसं २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आरएन जेवीले विसं २०७८ चैत २८ गते सम्झौता गरेको थियो । तोकिएको म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताएका छन् । अलपत्र सडक छिटो सम्पन्न गराउन ताकेता गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले बताए । यसबाहेक भुते चिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजनालाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजिव–आरएन जेभी पङ्खुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध केएम इन्जिनियर विल्डर्सलाई समेत ताकेता गर्न पत्राचार गरिएको जनाइएको छ । प्रदेश १ सरकारको १२ करोड ७२ लाख ९२ हजार चार सय ३७ रुपैयाँको लागतमा निर्माणाधीन हुर्लुङ–जालपा सडक पनि अलपत्रै छ । चार महिनामा सक्ने गरी विसं। २०७८ भदौ ३१ गते रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीले सम्झौता भएको थियो । दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ । ७७ लाख १६ हजार चार सय ४८ रुपैयाँको स्टीमेटमध्ये ४५ लाख १३ हजार नौ सय ६५ रुपैयाँँको लागतमा गत असार १६ गते सक्ने गरी विसं २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पाँचथरले सम्झौता गरेको थियो । म्याद सकिँदासमेत काम भने ४० प्रतिशत मात्र सकिएको छ । लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाँडा–काफ्लेगाउँ–सडक पनि अलपत्रै छ । रु ८५ लाख नाँ हजार नौ सय ४० को योजना स्टीमेटमध्ये ४६ लाख २२ हजार रुपैयाँको लागतमा विसं २०७८ असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौँले विसं २०७८ माघ २० गते सम्झौता गरेको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण थालिएको दिक्तेल–खानीडाँडा–आहाले सडक पनि अपूरै छ । विसं। २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले विसं २०७५ असोज १ गते सम्झौता गरेको थियो । नगर क्षेत्रभित्र सञ्चालित योजनामा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीका दायरामा ल्याउन खबरदारी गर्ने काम भइरहेको नगरप्रमुख भट्टराईले बताए । पन्ध्र वडा रहेको यस नगरपालिकामा ठेकेदार कम्पनीमार्फत निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएका अधिकांश योजना गुणस्तरहीन रहेको स्थानीयवासीले आरोप लगाएका छन् । रासस