पर्यटनको उत्कृष्ट गन्तब्य ‘टिकापुर पार्क’
कैलाली । दशैं–तिहारपछि कैलालीको टीकापुर उद्यान पार्क पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज पिकनिक खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्कटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन् । पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन् । झापाबाट पार्क घुम्न आएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताए । ‘तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौँ, टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौँ’, उनले भने, ‘पार्कमा पुगेपछि स्व राजा महेन्द्र बसेको आवास पनि हेर्यौँ, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ, यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो ।’ कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाएका थिए । ‘कति रमाइलो ठाउँ रहेछ, राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ’, उनले भने, ‘राजा बसेकोे घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो, गर्न पाइएन । साथै घरहरू रङ्गरोगन गरेको भए हुन्थ्यो ।’ नेपालगञ्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो । उनीहरूले पार्कमै पकाउने खाने गरे । पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्दछन् । यसका साथै कर्णाली नदीमा र्याफ्टिङको आनन्द लिएर फर्कन्छन् । निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आएकी थिइन् । उनीहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताए । ‘स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो’, उखेडाले भनिन्, ‘त्यसैमाथि र्याफ्टिङको आनन्द । धेरै साथीको यात्रामा टाउको दुखेको थियो, यहाँ पुगेपछि सञ्चो भयो ।’ बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी–सम्धिनी घुमाउन पार्क आए । उनीहरूले दिनभरि पार्कमा रमाइलो गरे । ‘पार्क सुन्दर छ । उनीहरूलाई घुमाउनकै लागि यहाँ ल्याएको हुँ’, रामबहादुर भन्छन्, ‘पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ, बगैँचामा फूल थप्न आवश्यक छ, पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ स्थानीय भुवनेश्वर अधिकारी पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउँछन् । ‘पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कँदा पीडा हुन्छ’, उनी भन्छन्, ‘पार्कमा पूर्वाधार विकास गर्न सकिएन, गेट हेर्दा राम्रो छ तर भित्र सरसफाइलगायतका कार्यमा पछाडि छौँ । राजनीतिक दलले पनि पार्क विकासमा ध्यान दिएको देखिँदैन ।[‘ गुलाबको बगैँचा भनेर चिनिने टीकापुर पार्कमा यतिखेर स्थानीय तथा बाह्य पर्यटक भरिभराउ भएका छन् । दसैँ–तिहारपछि टीकापुर पार्कमा दैनिक सयौँ नागरिक पिकनिक खान र घुम्न आउने गरेका छन् । पार्कमा आउनेहरू पार्कमा पकाउने खाने, नाचगान गर्ने, फोटो खिच्ने र बेलुका घर फर्कने गर्दछन् । कतिपय नागरिक पार्क हेर्नकै लागि यहाँ पुग्छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् । मुटुरोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ मा टीकापुरमा आएर करिब डेढ महिना शयन गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फररकेका र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएको स्थानीय बताउँछन् । विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो । नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी भने सोचेजति हुनसकेको छैन । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौँ रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो । पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ । करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउण्टर, पिकनिकस्थल बस्ने चौतारीलगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन । प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही पार्क व्यवस्थापनमा असुविधा नहोस् भनी टीकापुर नगरपालिका लागिरहेको बताउँछन् । ‘पूर्वाधार निर्माणमा प्रयासरत छौँ, पार्क हाम्रो गौरव मात्र होइन पहिचान पनि हो । पूर्वाधार विकास गर्दै लैजाने हो’, शाहीले भने, ‘गत वर्ष महेन्द्र आरोग्य गृह पुनःनिर्माण गर्याैँ, यस वर्ष ऐश्वर्य उद्यान पुनःनिर्माण हुन्छ ।’ उनी पार्क प्रदेश, सङ्घको पनि गौरव भएकाले पार्कमा सङ्घ, प्रदेशको पनि सहयोग हुनुपर्ने बताउँछन् । ‘सबैले सहयोग गरुन् भनी नगरपालिका लागिरहेको छ’, उनले भने, ‘लगानी भएमा पार्कलाई थप व्यवस्थित गर्न सकिन्छ ।’ रासस
कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा एकै दिन ५ हजार पर्यटक पुगे
तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । ‘यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ’, उनले भने, ‘आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।’ व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याएको बताए । ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ’, उनले भने, ‘हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्यौँ ।’ केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए । चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला । पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । मानुङकोटबाट धवलागिरि, माछापुछ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए । रासस
करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २०७९/०६/२७ गतेको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ । ‘निर्वाचनको सम्मुखमा आचारसंहिता लागू रहेको अवस्थामा यसप्रकारबाट करको दरमा छुट दिने जस्ता नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुको साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को विपरीतसमेत देखिएको पत्रमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारबाट करका दरहरूमा हेरफेर गर्ने गरी भएको निर्णय निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९२० बमोजिम २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन’ निर्देशन दिइएको आयोगले जनाएको छ । आयोगले करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा ‘निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को खण्ड (ख) को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम निजहरूलाई कारबाही किन हुनु नपर्ने हो ? आफ्नो तर्फबाट २४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेश गर्न’ निर्देशन दिइएको छ ।
पर्यटकीय क्षेत्र गाजाको दह
बलेवा । हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह । गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ । गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो । जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन् । सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गर्छ । मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह संरक्षण, सांकृतिक तथा खेलकुद विकास मञ्च लागेको छ । मञ्चका अध्यक्ष शेरबहादुर पुनका अनुसार गाजाको दह दक्षिण बागलुङको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर यहाँ राज्यका संयन्त्रको नजर कम पुग्ने गरेका कारण गाजाको प्रचार हुनसकेको छैन । गण्डकी प्रदेश सरकारले तयार गरेको पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । तर प्रचार–प्रसार र संरचना निर्माणको अभावमा गाजाको दहमा अन्य पर्यटकीय क्षेत्रमा जस्तो पर्यटक पुर्याउन नसकिएको पुन बताउँछन् । ‘गाउँ, पाखा र वन हुँदै सवारी चढेरै गाजाको दह आउन सकिन्छ, बास बस्न आउनेका लागि यहाँ घरबासको पनि व्यवस्था छ’, उनले भने, ‘बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकको रेश, बरेङको धुल्लुबास्कोट र जैमिनी नगरपालिकाको दमेकको बाटो भएर यहाँ आउन सकिन्छ ।’ उनका अनुसार गाजा दहलाई पहिले–पहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ । हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका भए पनि सन्तोषजनक नरहेको जैमिनी–३ का वडाध्यक्ष कृष्ण भुजेल बताउँछन् । ‘केही समय पहिला गाजाको विकासका लागि पहल भए, रोकिए, पछिल्लोपटक हामीले सीमा जोडिएका सबै वडासँगको समन्वयमा यहाँ पूर्वाधार विकास गर्ने भनेका छौँ’, उनी भन्छन्, ‘वैकुण्ठ चतुर्दशीमा मात्रै होइन यहाँ सधैँ मेला लागेजस्तै पर्यटक भित्र्याउने गरी काम गर्नुछ’ त्यहाँबाट धवलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ । खेती किसानी गरेर जीविका चलाउँछन् गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ । व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरू स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । अहिले तीन घरमा मात्र होमस्टे सेवा छ । पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको सञ्चालकहरू बताउँछन् । कोदो, मकै, भटमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुने गरेको उनले बताए । सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि गाजा दहमा बढ्न थालेको पर्यटकीय आकर्षण कोरोना महामारीपछि थला परेको छ । ‘पहिले थेगिनसक्नु भीड लाग्थ्यो, कोरोनापछि निकै घटेको छ’, उनले भने, ‘घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै आउँथे, अहिले त्यस्तो छैन ।’ गाजाको दह क्षेत्रमा पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने उनले बताए । पाँच वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ । गाजा क्षेत्रको जङ्गल जडीबुटीका लागिसमेत प्रख्यात छ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यूटावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार बनाउने उल्लेख छ । रासस
तीर्थालुलाई सुविधा दिन तीन दिन ‘अनटाइम्ली’ रेल चल्ने
जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली निर्धारित सिफ्टभन्दा बाहेक रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिएका छन् । कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताए । “जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँ”, उनले भने, “यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ, रेल अनटाइम्ली चलाउँछौँ”, उनको भनाइ थियो । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेलमार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए । त्यसयता निर्धारित समयतालिकाअनुसार नै नियमित रेल चल्दै आएको प्रबन्ध सञ्चालक झाको भनाइ छ । उनका जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने गरेको छ । लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग छन् । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने स्थानीयको विश्वास छ । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट रहेका छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब दुई वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जीनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसीका लागि भने त्यसको पाँच गुणा अर्थात् चार सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ । रासस
आम्दानीको मुख्य स्रोत तरकारी खेती, घरखर्च चलाउन सहज
कञ्चनपुर । अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए । ‘विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ’, विगत सम्झिँदै उनले भने, ‘अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पु¥याएको छु ।’ यहाँका किसानले दुई कठ्ठादेखि दुई/तीन बिघासम्ममा तरकारी खेती गरिराखेको उनले बताए । ‘हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो’, उनले भने, ‘यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौँ ।’ डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताए । ‘मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ’, उनले भने, ‘कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ‘ भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उनले गुनासो गरे । त्यसैगरी तरकारी खेतीमा लाग्नुभएका मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताए । ‘बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ’, उनले भने, ‘हामीले विषादीरहित तरकारी उत्पादन गर्छौ यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्’, उनले विभिन्न समस्याका बावजुत पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उनको भनाइ छ । तरकारी खेतीमा लाग्नुभएका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताउँछन् । ‘तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ’, उनले भने, ‘तरकारीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म फाइदा हुने गरेको छ ।’ यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उनीहरु बताउँछन् । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् । रासस
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न
काठमाडौं । अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्नन आयोजित समापन कार्यक्रममा फेस्ट सम्पन्न भएको घोषणा गरिएको हो । स्टार्टप एण्ड आईडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी २ जनाले आफ्नो अनुभव समेत शेयर गरेका थिए । मधेश प्रदेशबाट आफ्नो अनुभव शेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट एउटा राम्रो कदम भएको बताइन् । गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसअघि भएको ३ दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट १५ हजार बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैं सहयोग गर्ने जानकारी दिए । २ दिनसम्म चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो । रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ । द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कशप पनि आयोजना भएको थियो । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ । कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।
बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो
काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ । यस्तै प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।