काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराएका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टिकरण सोधेको बताए । उनले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘तपाई नो नट अगेन भन्नुस अथवा नो नेभर अगेन भन्नुस् तपाईँ इलेक्ट अगेन भन्नुस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नुस, इलेक्ट वान्स अगेन भन्न पाईन्छ भन्ने कुरा पनि आएको छ, सबैथोक भन्नुस तर भन्दा सभ्य भाषा भनिदिनुस, कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनुस, के यसो भन्नु पनि लोकतन्त्रकलाई खण्डित पार्नकै लागि हो भनेर आरोपित हुनुपर्छ भनेर त जति आरोप लागेपछि सहन्छौं नि, निर्वाचनलाई मिथ्या सूचना, दुश्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दुषित पार्ने नगरिदिनुस भनेको यति मात्रै हो ।’
सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् भन्ने चाहेको उनको भनाइ छ । आयोगले गर्न सक्छ कि सक्दैन त्यो आफ्नो ठाउँमा छ तर प्रयास गरेको उनले बताए ।