धुलिखेल जिपलाइनमा अब विदेशीलाई पनि नेपाली सरह शुल्क
काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए । नेपाली र अन्य सवै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठले बताए । यसअघि क्लासिक ९साधारण० जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो । यसैगरी टेन्डम ९जोडी० जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकः ६० डलर तोकिएको थियो । कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जिपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।
नेपाल रिले जीवन र निर्जीवन बीमा कम्पनीको जोखिमाङ्कन क्षमता बढाएको छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको स्थापना र विकासले जीवन र निर्जीवन बीमा कम्पनीको जोखिमाङ्कन क्षमता बढेको बताएका छन् । कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो बताएका हुन् । साथै, कम्पनीहरुको जोखिमाङ्कन क्षमता बढ्दा बीमा बजारको विस्तारमा थप मद्दत पुगेको उनको दावी छ । अर्थमन्त्री शर्माले प्राकृतिक र मानव सिर्जित जोखिमबाट जीवन, व्यवसाय, सम्पत्ति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, बीमा प्रतिको जनविश्वासलाई अझ मजबुत बनाउन शीघ्र बीमा दाबी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने उनको भनाई छ । नेपाल सरकारले पर्न्धौं योजनाको अन्त्यसम्ममा जीवन बीमा तथा स्वास्थ्य बीमामा आवद्ध जनसंख्या ६० प्रतिशत पुग्ने र कृषि बीमाको पहुँच १० प्रतिशत कृषकमा पुग्ने अपेक्षा गरेको छ । यो लक्ष्यलाई पूरा गर्न यस कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ समेत उनको विश्वास छ । नेपाल पुनर्बीमाले हरेक वर्ष नेपालबाट बाहिरिने पुनर्बीमा शुल्क बापतको ठूलो रकमलाई रोक्दै देशको आर्थिक विकासमा समेत टेवा पुर्याइरहेको छ ।
नवलपरासी पश्चिम–१ मा उद्योगी विनोद चौधरीलाई हृदयेश त्रिपाठीको चुनौती कति ?
नवलपरासी । प्रतिनिधिसभा निर्वाचनमा यसपटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन क्षेत्रका खेलाडी मानिएका हृदयेश त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई मैदानमा उतारेपछि प्रतिस्पर्धा रोचक हुन लागेको हो । पहिलोपटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका चौधरी ६ पटक चुनाव लडेका त्रिपाठीसँग भिड्दै गर्दा जित निकाल्ने आत्मविश्वासमा देखिन्छन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन् । यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो । एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो । जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो । यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ । हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ । २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनावमा उत्रिएका त्रिपाठीसँग यसपटक आफ्नै चुनाव चिह्न छ । यसअघि विभिन्न दलमा पुगिसकेका त्रिपाठी अहिले नयाँ दल लिएर चुनावी मैदानमा होमिएका हुन् । यसपटक त्रिपाठीले सूर्य चिह्नमा चुनाव लड्न नमानेपछि मनोनयन दर्ता गराउने दिनको अन्तिम समयमा एमालले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो । उम्मेदवारी फिर्ताको अन्तिम दिनसम्म त्रिपाठीले एमालेका शीर्ष नेतामार्फत बुढाथोकीको उम्मेदवारी फिर्ता गराउन सफल भएका छन् । तर अघिल्लो पटक सूर्य चिह्नमा मतदान गरेका एमाले मतदाताले यसपटक फेरि मत हाल्नेमा त्रिपाठी नै विश्वस्त छैनन् । अर्कोतर्फ सूर्य चुनाव चिह्न लिन नचाहेको चर्चाले पनि त्रिपाठीलाई ‘ब्याक फायर’ को त्रास छ । त्यसैले एमालेको साथ पाउँदा पनि स्थिति जटिल बनिरहेको उनको विश्लेषण छ । २०४८, २०५१ र २०५६ मा भएको संसदीय निर्वाचनमा नेपाल सद्भावना पार्टीको चुनाव चिह्नबाट विजयी भएका उनी २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट लडेका थिए । त्रिपाठी अहिलेसम्म ६ पटक मन्त्री भइसकेका छन् । उनी २०६४ सालमा वन मन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्ति, २०६८ मा भौतिक योजना तथा सडक यातायात, २०७६ मा संघीय मामिला तथा सामान्य प्रशासन र २०७७ मा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बनिसकेका छन् । यता दुईपटक समानुपातिक सांसद बनेका चौधरी तेस्रोपटक सांसद बन्ने प्रयासमा छन् । उनी निर्वाचन क्षेत्रको विकास आफ्ना लागि प्रतिष्ठाको विषय भएको बताउँछन् । नाम र पैसाका लागि आफूले राजनीति नगरेको चौधरीको दाबी छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको उनी बताउँछन् । क्षेत्र परिर्वतन भए पनि नवलपरासी पश्चिम–१ को समस्याबारेमा आफू जानकार रहेको र समधान गर्न सक्ने दाबी उनको छ ।
मोरङका विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराएका छन् । विद्यार्थीहरूले दिउँसो आकाशमा टेलिस्कोपको मद्दतबाट सूर्य र राति चन्द्रमा, वृहस्पति ग्रहका साथै शनिग्रह हेरेका थिए । विद्यालयकी संयोजक मेलिसा निरौलाले कार्यक्रममा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी दिइन् । ‘पाठ्यपुस्तकमा भएका विषय बुझाउन विद्यार्थीलाई रचनात्मक अभ्यासमा सहभागी गराउनु खुसीको विषय हो’, निरौलाले भने । प्याब्सन लेटाङ अध्यक्ष कमल अधिकारीले विद्यालयले गरेको प्रयास सकारात्मक र राम्रो भएको बताए । कार्यक्रममा लेटाङ्ग क्षेत्रका अन्य विद्यालयहरु अमर हर्ट मेमोरियल इङ्गलिस स्कुल, टेन्डर बर्ड बोर्डिङ्ग स्कुल, लेटाङ्ग ग्रीन भ्याली एकेडेमी, जाँते नमूना, पूर्वाञ्चल अल्मामेटर, मोरङ पाथिभरा इङ्गलिस स्कुल, पब्लिक सेन्ट्रल र लिटल फ्लावर्स, ग्यालेक्सी स्कुल तथा मिनरुवा सेकेन्डरी बोर्डिङ्ग स्कुलका विद्यार्थीहरु पनि सहभागी थिए ।
सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा, भैरहवा क्षेत्रमा विद्युत आपूर्तिमा सुधार
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने ९लुप इन० र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ । नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ । टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरुको प्रगति, आगामी दिनमा नपलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ । ‘परासी क्षेत्रका सिमन्ट, स्टीललगायतका ठूला उद्योगहरुलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीँबाट विद्युत आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’ औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ । नवलपरासीको सुनवल नगरपालिका–१३मा निर्माण २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ । प्राधिकरणले नयाँ बुटवल –बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनले नवलपरासी, रुपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना अन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने बताए । बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार नेपाल विद्युत प्राधिकरणले योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत आपूर्तिमा सुधार आएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत आपूर्ति दिइरहेको छ । मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीहरुबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । भारतर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउने छ ।
एनआईसी एशिया बैंकमा काम गर्ने अवसर, यी पाँच पदका लागि माग्यो कर्मचारी
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारीको माग गरेको हाे । बैकले विभिन्न पदका लागि जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारकाे माग गरेको हो । आवेदनका लागि स्नाकोत्तर तह उर्तिण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने छ । बैंकले यी विभिन्न पदको लागि अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
लाभांश पारित गर्ने दोस्रो बैंक बन्यो कुमारी
काठमाडौं । कुमारी बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको छ । सोमबार भएकाे वार्षिका साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गरेको हो ।
एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले २०७७ कार्तिक २० गते देखि २०७९ कार्तिक २१ गते भित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कका ५० प्रतिशत छुट निर्णय गरेको हो । कम्पनीको अनुसार व्यतित बीमालेखमा छुट पाउन ग्राहकहरुले मंसिर २१ गतेभित्र नविकरण गरिसक्नुपर्नेछ । जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भएपश्चात एकपटक ब्याज छुट लिइसकेका बीमितहरुले भने पुनः ब्याज छुट नपाउने कम्पनीले जनाएको छ ।