विकासन्युज

नेपाल रिले ७ वर्षमा कमायो पाँच अर्ब बढी नाफा, लगानीकर्तालाई उचित प्रतिफल दिने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले सात वर्षको अवधिमा ५ अर्बभन्दा बढी नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७७/७८ सम्ममा कूल ५ अर्ब ८ करोड ७६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०७७/७८ सम्ममा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । त्यस्तै, जगेडा तथा कोपाको आकार बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने बीमा कोषको आकार २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । समीक्षा वर्षमा कम्पनीले १० अर्ब ४५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, पुनर्बीमा कमिशनबाट २ करोड ६९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । उक्त आवमा कम्पनीले ५ अर्ब २७ करोड रुपैयाँ बराबरको खुद दावी भुक्तानी गरेको छ । आव २०७१/७२मा १४ जना रहेको कम्पनीको कर्मचारी संख्या आव २०७७/७८ मा ४५ पुगेको कम्पनीले जानकारी गराएको छ । कम्पनी आजबाट स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । नेपाल रि वि.सं २०७१ कार्त्तिक २१ गते नेपालमा पहिलो पुनर्बीमा कम्पनीको रुपमा स्थापना भएको थियो । हालसम्ममा कम्पनीले नेपाल भित्रका ३९ बीमा कम्पनी र २९ विदेशी मूलुकका २९ पुनर्बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध बनाइसकेको छ । त्यस्तै, नेपालमा विदेशी मुद्रा आर्जनमा विशेष भूमिका रहेको नेपाल रिले बीमा कम्पनीहरुको जोखिम बहन क्षमतामा समेत वृद्धि गर्दै गएको छ । यो अवसरमा कम्पनीका अध्यक्ष डा. रबिन्द्र घिमिरेले विशाल जोखिमका लागि सहरक्षावरण कोषको स्थापना गर्ने, कम्पनीको वित्तीय अवस्था सबल बनाउँदै लैजाने, व्यवसायीक सम्बन्धलाई थप सुमधुर बनाउने, जोखिम हस्तान्तरणबाट मानव जीवनलाई शान्त र आर्थिक क्षेत्रलाई सक्रिय बनाउने लगायत लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने प्रतिवद्धता गरेका छन् । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले कम्पनीको क्षमता वृद्धि गर्दै स्वदेशी एवं विदेशी बीमक पुनर्बीमकलाई विश्वास दिलाई अगाडि बढ्न कम्पनी तत्पर रहेको बताए । साथै, उनले स्वदेशबाट बर्हिगमन भइरहेको विदेशी मुद्रालाई थप न्यूनिकरण गर्दे पुनर्बीमा व्यवसाय मार्फत विदेशी मुद्रा भित्र्याउन, गुणस्तरीय एवं प्रभावकारी सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको समेत जानकारी गराए ।

आइएमई इलेक्ट्रिकले दशैं तिहारमा बेच्याे १०० बढी राफ्ट स्कुटर

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो कि.मि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनी बताउँछ । कम्पनीकाे अनुसार पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब २ लाख ५० हजार (दुई लाख पचास हजार) बचत गरी व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ । फायरप्रुफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बरी, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् । आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले मूल्य र किलोमिटर दायराको सन्दर्भमा राफ्ट स्कुटर उत्कृष्ट भएको बताए । ‘नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक हो राफ्ट ले एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिन्छ, जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो,’ उनले भने । आइएमई इलेक्ट्रिक अहिले नेपालमा १० भन्दा बढी डिलर छन् । कम्पनीले छिट्टै भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने योजना रहेको जनाएकाे छ ।    

कडाइका बीच पनि बैंकहरुले घरजग्गा कर्जा बढाउँदै, ब्याज पनि सस्तो

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् घरजग्गा क्षेत्र केही कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थाहरुले भने घरजग्गा कर्जा बढाउँदै लगेका छन् । सरकार र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पनि घरजग्गा कर्जामा कडाइ गरेपनि बैंकहरुले पनि मासिक रुपमा कर्जा बढाउँदै लगेका हुन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भनेपनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा व्यवसायमा मासिक रुपमा लगानी बढाउँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा नै बैंकहरुले घरजग्गा व्यवसायमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसअघि साढे १ खर्बको हाराहारीमा घरकर्जा लगानी गर्ने बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा २ खर्ब बढी लगानी गरेका हुन् । यसले पनि घरजग्गा व्यवसायीहरुले कर्जा पाइरहेको र खासै समस्या पनि नभएको देखिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले भदौमा २ खर्ब २७ अर्ब २५ करोड ९० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । गत वर्षको भदौको तुलनामा यो कर्जा ३७.२० प्रतिशत बढी हो । गत वर्षको भदौमा बैंकहरुले १ खर्ब ६५ अर्ब ६४ करोड १० लाख रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका थिए । यस्तै, साउन महिनामा पनि बैंकहरुले २ खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका थिए । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा बैंकहरुले २८ प्रतिशतले कर्जा बढाएको देखिएको छ । गत वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा १ खर्ब ६५ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्जा लगानीको बढाएसँगै भदौमा बैंकहरुले ब्याजदर पनि घटाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको साउनको तुलनामा भदौमा बैंकहरुले घरजग्गा कर्जाको ब्याज घटाएको देखिन्छ । साउन महिनामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा दिएकोमा भदौमा भने औसतमा ११.८५ प्रतिशतमै कर्जा लगानी गरेको देखिएको छ । सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले घरजग्गा कारोबारमा सुस्ताता आएको व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले हालका लागि कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा अनिवार्य वर्गीकरण गरेर मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा जाने कर्जामा केही कडाइ गरेको छ । यी नीतिगत व्यवस्थाले आफुहरुलाई बैंकको ऋण पाउनेदेखि घरजग्गा खरिदबिक्रीमा समस्या भएको उनीहरुको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कारोबारको कुल मूल्याांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत धितोमा कर्जा पाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा लगानी गर्न बन्द गरेसँगै कारोबार ठप्प भएको गुनासो उनीहरुको छ । तर, तथ्यांकले कर्जा बढी नै लगानी भएको देखिन्छ । नेपाल जग्गा तथा आवास विकास संघका महासचिव पुरुषोत्तम पौड्याल भने घरजग्गा व्यवसायीले ऋण नपाएको बताउँछन् । उनले राष्ट्र बैंकको तथ्यांकमा कर्जा लगानी बढेको भएपनि आफुहरुले कर्जा नपाएको उनको भनाइ छ । एक वर्षको अवधिमा बैंकहरुले २५ खर्ब ९६ अर्ब १८ करोड ९० लाख रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका छन् ।

झापाको दुना–टपरी उद्योगमा आगलागी, दुई करोडको क्षति

झापा । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, भद्रपुर, विर्तामोड, कमल र दमकको दमकलले आज बिहान मात्र आगलागी नियन्त्रण गरेका थिए । आगलागीबाट दुई करोड रुपैयाँको क्षति भएको उद्योगका सञ्चालक हरि दाहालले बताए । उद्योगले सुपारीको सुकेका पातलाई कच्चापदार्थका रुपमा प्रयोग गरेर आकर्षण दुना, टपरी, थाल, बटुका, चम्चा लगायतका सामान उत्पादन गर्दै आएको थियो । यहाँको उत्पादन युरोपका विभिन्न देशमा निर्यात हुने गरेको थियो । ‘राति साढे १२ बजेतिर कारखाना भवनका छिमेकीले आगलागी भयो भन्दै गाउँलेहरुलाई बोलाएपछि हामी हतारहतार पुग्यौँ’, सञ्चालक हरि दाहालले भने, ‘हामी पुग्दा उद्योगका सबै सामान जलेर सत्यनाश भइसकेको रहेछ ।’ झापामा सुपारी खेती हुने गरेको छ । खेर गइरहेको सुपारीको पातलाई मेसिनमा राखेर दुना र टपरी उत्पादन हुन थालेपछि स्थानीयवासीले समेत यसबाट मनग्य फाइदा पाएका थिए । सञ्चालक दाहाल, स्वाभिमान आचार्य, विधान पोखरेल र कोविदसिंह बानियाँले पाँच कट्ठा जग्गामा २०७४ सालमा स्थापना गरेको लिफ प्लस प्रालिबाट १६ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने पात सङ्कलन कार्यमा सयौँले काम पाउँदै आएका थिए ।

देउसी भैलोको रकमले खजुरा गाउँपालिकामा बत्ती जडान

बाँके । बाँके जिल्ला खजुरा गाउँपालिका–३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ । क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो । रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए । स्थानीय नारायण थापाका अनुसार रमाइलोका लागि खेलिएको भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ । खेलकुदसँगै गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडानमा ७५ हजारभन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।

गोरखा १ मा माओवादी–कांग्रेस मिल्दा व्यवसायी बजगाईं सहज स्थितिमा

गोरखा। प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं र नेकपा एमालेका नेता रामशरण बस्नेत चुनावी प्रतिस्पर्धामा छन् । गोरखा क्षेत्र नम्बर १ मा बजगाईं र बस्नेतंसहित ८ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका र एमालेबीच नै हुने देखिएको छ । उनीहरू २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । गोरखामा एमालेको तुलनामा कांग्रेसको संगठन निकै बलियो छ । तर माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । तर यसपटक ठीक उल्टो माओवादीको समर्थन कांग्रेसका उम्मेदवार बजगाईंलाई रहेकोले चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका छन् । गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका रामशरण बस्नेत र लाभको पद अहिलेसम्म नलिएका बजगाईंबीचको चुनावी भिडन्त रोमाञ्चक बन्दै गएको छ । विगतका निर्वाचनहरू र ३० बैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेस हाराहारीका दल हुन् भने एमालेको निकै मत कम छ । ३० बैशाखको स्थानीय तह निर्वाचनमा स्थानीय तहका वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो । कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले २७५४ मत पाएको छ र गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ । एकीकृत समाजवादी पार्टीले ७० मत पाएको छ । बजगाइँ कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रमा आफू परिचित रहेको र गठबन्धनको उम्मेदवार भएकाले सहज जित्ने बजगाइँको दाबी छ । ‘गठबन्धनका कारण पनि म पहिलेभन्दा बलियो छु’, बजगाईंले भने, ‘पहिले देखिनै विकासका लागि राजनीति भन्ने नारा नै तय गरेको विकासलाई जनताको घरसम्म जोड्ने काममा लाग्ने दाबी बजगाइँको छ। रोजगारी, विकास र समृद्धिनै हो, बुढीगण्डकी आयोजना मेरो मुख्य प्राथमिकतामा रहेको छ,’ उनले भने । एमाले सरकार गोरखाको समृद्धिसँग जोडिएको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अलपत्र पार्ने काम गरेकोले अव सोही कार्यलाई अगाडि बढाउने आफ्नो प्रमुख काम भएको समेत बजगाइँले बताए । चीनको सिमानादेखि ठोरीसम्मको बाटो निर्माण गरेर व्यापरिक केन्द्र बनाउने र पर्यटन क्षेत्रको विकासमा मुख्य जोड दिने बजगाइँले बताए । गोरखा–१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् । बजगाईंले बालुवाटारमा होटल वर्णवास निर्माण गरिरहेका छन् । १ अर्ब १६ करोड लगानीमा निर्माण भइरहेको होटल अबको केही महिनामै सञ्चालनको तयारी रहेको छ । बजगाईंले वर्णवास म्युजियम होटलको रुपमा निर्माण गरिरहेका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएपछि एमालेका बस्नेत गण्डकी सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए । चुनाव जित्ने उनको पनि दाबी छ । गोरखामा केही विकास निर्माणका योजना पनि ल्याएको बताए पनि सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर पछिल्लो समय उनी आलोचितसमेत भएका थिए । ‘गठबन्धनको सरकार बनेको पनि ढेड वर्ष हुन लागिसक्यो तर जनताले नयाँपन र राहत अनुभूति गर्न पाएका छैनन्,’ बस्नेतले भने । मन्त्री हुँदा जिल्लाको भौतिक संरचनाको विकासमा कुनै कमी राखेका बताउँदै बस्नेत शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि थुप्रै काम गरेको जनताले मूल्यांकन गरेर मत दिने बस्नेत बताउँछन् । बुढीगण्डकी आयोजना निर्माणलाई प्राथमिकता दिनेसमेत बस्नेतको दाबी छ । विगतमा पनि उत्तरी दुर्गम बस्तीमा तीन महिनामा एकपटक जसरी पनि पुग्ने, दुर्गम बिकट क्षेत्रको बिकासमा आफु लागि पर्ने बताए पनि मन्त्री हुँदा समेत विकास निर्माणको काममा भने लाग्न सकेनन् । जसका कारण पनि उत्तरी क्षेत्रका मतदाता समेत बस्नेतसँग रुष्ट छन् । यता दक्षिण क्षेत्रमा पनि एमालेकै कार्यकालमा राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणलाई गती दिनुको सट्टा चिनियाँ कम्पनीलाई बुझुाएको आरोप लागेको छ । एमालेको मतदातासमेत कम भएको क्षेत्रमा जनतासमेत रुष्ट हुँदा फाइदा कांग्रेसका उम्मेदवार बजगाइँले लिने देखिएको छ । अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।

अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुसी भएको यात्रुहरुको भनाइ छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताए । सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर तीन हजार दुई सय रुपैयाँ पर्छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताए । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ । काठमाडौँमा एसी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा विस्तार गरेको प्रालिका रुट सल्लाहकार भानुभक्त भुसालले बताए । उक्त कार्यक्रममा उपभोक्ता हिस संरक्षण मञ्चका अध्यक्ष सहयोगी विसी, पत्रकार महासङ्घका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठ, उक्त प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठलगायतले बस सेवा सञ्चालनले यात्रुहरुलाई सुविधा पुगेको जानकारी दिए । रासस

‘मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’

काठामाडौं । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन् । उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन् । लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमति मीरा आचार्यको निधनपछि करिब एक वर्ष सक्रिय जीवन बिताएनन् । अर्थात्, करिब उक्त अवधिभर चलचित्र लगायतमा काम गरेनन् । तर रमिला पाठकसँग दोस्रो विवाहपछि भने उनी पुरानै लयमा फर्किएका छन् । काममा उसैगरी जोश र जाँगरका साथ काम गरिरहेको उनको भनाइ छ । मह सञ्चारबाहेकका प्रोजेक्टमा निकै कमै देखिने आचार्य अभिनित पछिल्लो चलचित्र ‘महापुरुष’ प्रदर्शनरत छ र यसले दर्शकहरुबाट सकारातमक प्रतिक्रिया समेत पाइरहेको छ । ‘महापुरुष’ चलचित्र एकलपुरुषको कथामा आधारित छ । कथाका केही प्रसङ्गहरु आचार्यको जीवनसँग पनि मेल खान्छ । ‘मेरो दोस्रो विवाह हुने प्रसङ्गबाहेक फिल्मको कथा फरक छ । एक्लोपनले निम्त्याउने समस्या भने मिल्न सक्छ’, उनले भने, ‘वास्तविक जीवनमा मेरो सन्तानले नै दोस्रो विवाहप्रति देखाएको सद्भाव मेरो लागि प्रेरणा बन्यो ।’ सन्तानले पनि आफ्नो अभिभावकको इच्छा बुझे अभिभावक सुखीसँगै खुसी रहन सक्ने उनको भनाइ छ । आचार्यले एक्लोपनले जीवनमा समस्या ल्याउने र आफू पनि शोकमा हुँदा झन्डै एक वर्ष काम गर्न नसकेको बताउँछन् । ‘तर अहिले मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’, अभिनेता आचार्यले भने, ‘उनको साथ र सहयोगले नै म अहिले सक्रियतापूर्वक काम गर्न सकेको छु ।’ महापुरुष चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफूले दोस्रो विवाहको समय स्मरण गरेको उनले बताए । “दोस्रो विवाहको निर्णय लिन कठिन हुन्छ । आफ्नो खुसी हेर्ने हो कि सामाजिक प्रतिष्ठा भन्ने प्रश्नले द्विविधा उत्पन्न गराउँछ”, उनले भने, “यो द्विविधामा म मात्रै होइन अन्यमा पनि रहेको पाएँ ।” अभिनेता आचार्य प्रायः कार्यक्रममा श्रीमतिसँगै पुग्छन् । उनी हालै मात्रै सपत्नी संयुक्तराज्य श्रीमतिसँगै अमेरिका पुगेका छन् । महापुरुष चलचित्रमा उनले दुई छोराको पिताको भूमिका निभाउनु भएको छ । कान्छो छोराको विवाहको तयारी हुँदै गर्दा आफै प्रेममा परेपछि आउने परिस्थितिलाई मुख्य कथा बनाइएको छ । परिवारसँगै हुँदा पनि सन्तानले समय नदिँदा बुबाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने विषयवस्तुलाई चलचित्रमा उठान गरिएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले शीर्षक छनोटपछि हरिवंश आचार्य बोहक अरु कलाकारलाई उक्त भूमिका दिन नसकिएको बताए । चलचित्रमा आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतका कलाकारको अभिनय छ ।