काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिए देशव्यापी आन्दाेलन गर्ने जनाएकाे छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।
उनले राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा कात्तिक १४ गतेका दिन ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिए बताउँदै उक्त आक्रमणको भत्सर्ना गरेका छन् ।
‘शान्तिपूर्ण र सुरक्षित वातावरण बिना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धाराशायी हुने र यसमा आवद्ध हजारौ व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ, विगतमा झै हाम्राे सहिष्णुतालाई कमजोरीको रुपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुनेछाैं,’ विज्ञप्तिमा भनिएकाे छ ।
विज्ञप्तिकाे अनुसार ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्शन काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका वडा नम्बर-२ मा अज्ञात समुहबाट आगजनी भएकाे थियाे ।
महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समुहलाई कडा कानूनी कारबाहीकाे लागि सरकारसँग माग पनि गरेको छ ।