विकासन्युज

कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, सात जना घाइते

  मुगु । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए । उनका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, ‘एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।’ घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

प्रचण्डले भने : कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे । जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए। उनले भने ‘’त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’ यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे । उनले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए । अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मङ्सिर ४ पछि सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताए । जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उनले आग्रह गरे । कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए । अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गरेका छन् । जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा क मा ललितजङ्ग शाही र प्रदेश ख बाट नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन् । यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलार्ई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरेका थिए । उनले भनेका थिए ‘गोमाजीलाई जिताएर पठाउनोस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो ।’ रासस

अख्तियारद्वारा १२२ वटा मुद्दाहरुमा पुनरावेदन, घुसकै ११२ वटा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । उनले त्यसमध्ये १२२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट जानकारी दिए । १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए । ‘आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको छ, ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरिरहेका छाैं,  अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेका छाैं, सो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पती आर्जनको रहेको छ,’ उनले भने । पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरु मध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस/रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहिन सामान खरिदको १ वटा रहेको उनको भनाई छ । प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए ।

चिनियाँ कम्पनी बिवाइडीले २०२३ मा झण्डै डेढ लाख डलर पर्ने प्रिमियम इलेक्ट्रिक कार लन्च गर्ने

एजेन्सी । चिनियाँ कम्पनी बिवाइडीले सन् २०२२ मा नयाँ प्रिमियम इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बिवाइडीले २०२३ को पहिलो त्रैमासिकमा नयाँ प्रिमियम ब्राण्ड लन्च गर्ने मङ्गलबार बताएको छ। बिवाइडीका अनुसार उसले उत्पादन गर्ने नयाँ गाडीको न्यूनतम मूल्य १ लाख ३८ हजार अमेरिकी डलर भन्दा बढी हुनेछ । चिनियाँ केन्द्र सरकार र स्थानीय सरकारले इलेक्ट्रिक सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्टेन्सिभ प्रदान गर्ने नीति लिएको छ । बिवाइडीले पनि यस वर्षबाट ग्याँसबाट सञ्चालन हुने सवारी साधनको उत्पादन बन्द गर्ने भएको छ । शुद्ध इलेक्ट्रिक र प्लगइन हाइब्रिड कारहरु उत्पादन गर्ने अटोमेकरमा बिवाइडीले विश्व बजारमा सबैभन्दा धेरै इलेक्ट्रिक सवारी साधन बिक्री गर्ने कम्पनीको रुपमा आँफूलाई स्थापित गरेको छ । चालु वर्षको पहिलो गत वर्षको तुलनामा १० गुणा बढी सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ । रोयटर्सबाट ।

एनसीसीले हरिसिद्धीलाई दिएको कर्जाको चर्चा कुमारी बैंकमा, के हो प्रकरण ?

काठमाडौं । सोमबार कुमारी बैंकको २२औं साधारणसभा सम्पन्न भयो । सो साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको लाभांश पारित गर्यो भने एनसीसी बैंकसँग गरेको मर्जर सम्झौतालाई अगाडि बढाउन अख्तियारी समेत दियो । साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएपनि कार्यक्रममा बोल्ने प्रायः सबै सेयरधनीहरुले हरिसिद्धी इट्टा टायल कारखानाको विषय जोडदारका साथ उठाए । कुमारी बैंक एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले पनि कुमारी बैंकका सेयरधनीले मर्जरमा जानुअघि सबै विषयहरुमा स्पष्ट पार्नु पर्ने धारणा साधारण सभामा राखे । कतिपयले एनसीसी बैंकको खराब कर्जा बढी भएका भन्दै मर्जर गर्नु अगाडि धेरै विषयहरुमा सजगता अपनाएर काम गर्न सञ्चालक समिति र मर्जर समितिलाई सचेत पनि गराए । कुमारी बैंकका सेयरधनी लबराज जोशीले हरिसिद्धी इट्टा टायल कारखनाको विषय उठाउँदै त्यस विषयमा कुमारी बैंक चनाखो बन्नु पर्ने धारणा राखे । ‘एनसीसी बैंकले हरिसिद्धी इट्टा टायल उद्योगमा ठूलो रकम ऋण प्रवाह गरेको छ, जुन ऋण अहिलेसम्म बैंकले उठाउन सकेको छैन, अहिले कुमारी बैंक अधिकांश सूचकमा बलियो बनिसकेको छ, कमजोर र बलियोबीच कसरी तालमेल मिलाउने, यी र यस्तै विभिन्न विषयहरुलाई केलाएर गरेर अगाडि बढ्नु पर्छ,’ उनले साधारणसभामा बोल्दै भने । जोशीले एनसीसी बैंकले हरिसिद्धीलाई ठूलो कर्जा दिएकोले यो विषयलाई एकीकृत कारोबार अघि नै समाधान गर्नु पर्ने धारणा राखे । ‘एनसीसी बैंकको खराब कर्जा बढी छ, बैंकले हरिसिद्धी टायलमा दिएको कर्जा उठाउन सकेको छैन, यसलाई एकीकृत कारोबार अघि नै समाधान गर्नुपर्छ,’ उनले भने, ‘पछिल्लो समय संचालक समितिमा सेयरधनी कमजोर बन्दा कर्मचारीको दबावमा मर्जर गर्नुपर्ने बाध्यता छ ।’ बैंकको साधारणसभामा बोल्दै अर्का सेयरधनी उद्धब घिमिरेले पनि हरिसिद्धीकै विषय उठान गरे । उनले पनि एनसीसी बैंकसँग मर्जर गरेर बलियो हुने विश्वास सबै सेयरधनीहरुको भएपनि यो बिचमा देखिएका अल्झनहरुलाई समाधान गरेर मात्रै मर्जर सम्पन्न गर्नु पर्ने राय राखे । एनसीसी बैंकसँग मर्जर सम्पन्न भएपछि अर्काे बैंक पनि मर्जर गराएर कुमारीलाई बैंकि क्षेत्रमा अझै शक्तिशाली बनाउनु पर्नेमा उनको जोड छ । साधारणसभामा बोल्दै सेयरधनी शम्भु थपलियाले एनसीसी बैंकका सञ्चालकको नियतमाथि पनि प्रश्न उठाए । ‘कुमारी बैंकले मर्जरका लागि अन्य पाटर्नर नपाएर एनसीसीसँग मर्जर गर्ने सम्झौता गर्यो, उनले लक्ष्मी बहादुर श्रेष्ठ र जित बहादुर श्रेष्ठमाथि प्रश्न उठाउँदै भने, ‘जुन कम्पनीमा लाग्यो तिनै कम्पनीलाई कोल्याप्स गर्ने, तिनैले स्थापना गरेको कम्पनी रोज्नु पर्ने कारण के हो ? यसमा म अध्यक्षज्यूको जवाफ चाहन्छु,’ एनसीसी बैंकको विगतको इतिहास कस्तो छ, हामी सबैलाई थाहा छ ।’ योग्यश्वर अमात्यको जग्गा प्रकरणपछि कुमारी बैंकको नियतमाथि पनि प्रश्न गर्नु पर्ने प्रशस्त ठाउँहरु रहेको बताउँदै उनले यसलाई कालोपर्दाले छोपेर ढाकिनेवाला नभएको धारणा राखे । ‘एनसीसीसँग मर्जरपछि काले/काले मिलेर खाऔं भाले जस्तो हुन्छ, यस विषयमा सजग बन्नु पर्छ,’ उनले भने । यस्तै, सेयरधनी भक्ति प्रसाद उप्रेतिले एनसीसीसँगको मर्जरपछि कुमारी बैंक बलियो हुनु पर्ने धारणा राखे । ‘अहिले कुमारी बैंक बलियो बन्दै गएको छ, एनसीसीसँग मर्जरपछि झन बलियो हुनु पर्छ, मर्जरका लागि मात्रै मर्जर गर्नु हुँदैन, सिनर्जी आउनु पर्छ,’ उनले भने । उनले पनि हरिसिद्धीको विषय टुङ्गो लगाएर मात्रै मर्जर प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा राखे । उनले मर्जरपछि २० प्रतिशतभन्दा बढी लाभांश प्राप्त गर्ने अपेक्षा सेयरधनीको रहेको विश्वास व्यक्त गरे । लगानीकर्ता गोगन बहादुर पराजुलीले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदा सेयरधनीहरुले धेरै पीडा खेपेको उदाहरण दिँदै कुमारी बैंकमा पनि सो घटना दोहोरिन दिन नहुने धारणा राखे । साथै उनले बैंकका सेयरधनीहरुले एनसीसी बैंकसँग मर्जरपश्चात् कर्मचारी ब्यबस्थापनमा पनि जोड दिनु पर्ने उनको भनाइ छ । उनले पनि एनसीसीसँग मर्जर गरेर एकीकृत कारोबार गर्नु अगावै एनसीसी बैंकको हरिसिद्धीसँग भएको लफडाको समाधान गर्नु पर्ने धारणा राखे । के हो हरिसिद्धी प्रकरण ? कुनै बेलाको चर्चित इट्टा टायल कारखाना हो हरिसिद्धि । चीन सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको यो कारखाना पछि एनबी समूहले खरिद गर्यो । तत्कालिन नेपाल बंगलादेश बैंकका तत्कालीन सञ्चालक जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले सो कारखाना खरिद गरेर सञ्चालनमा ल्याए । सरकारले सञ्चालन गरिरहेको समयमाचर्चित यो कारखाना एनबी समूहले खरिद गरेपछि भने बिजनेस चौपट जस्तै बन्यो । कम्पनीको बिजनेस बढाउनका लागि श्रेष्ठ दाजुभाइले कारखानाको नाममा रहेको जग्गा धितो राखेर एनसीसी बैंकबाट ऋण लिए । हरिसिद्धिले २०५५ सालमा २०१ रोपनी जग्गा एनसीसी बैंकमा धितो राखेर १५ करोड ऋण लियो । एनसीसी पनि एनबी समूहको केही अंश सेयर रहेको बैंक हो । पछि ऋण तिर्न नसकेपछि एक दशकपछि अर्थात् २०६६ मा एनसीसी बैंकले हरिसिद्धीको ११९ रोपनी जग्गा लिलाम गर्यो । एनसीसी बैंकसँगै अन्य बैंकमा पनि यस कारखनाको जग्गा धितोमा राखिएको पनि बुझिएको छ । तर, एनसीसी बैंकले आफ्नो सम्पूर्ण कर्जा उठाउन भने अहिलेसम्म सकेको छैन । बैंकस्रोतका अनुसार हरिसिद्धीबाट बैंकले २ अर्ब बढी रकम (सावाँ र ब्याज) असुल्न बाँकी छ । हरिसिद्धी कारखानामा कर्जा दुरुपयोग गरी जग्गा लिलाम गराउन खोजिएको भन्दै साधारण सदस्यहरूबाट पनि विभिन्न उजुरी पर्दै आएका छन् । तर, यस विषयमा अहिलेसम्म कुनै पनि सुनुवाई भने हुन सकेको छैन । ऋणी र ऋणदाता एउटै समूहको भएका कारण पनि एनसीसी बैंकले अहिलेसम्म कुनै एक्सन लिन सकेको छैन । यही विषयलाई प्रष्ट पारेर मात्रै मर्जर प्रक्रिया अगाडि बढाउनु पर्ने माग कुमारी बैंकका सञ्चालक तथा सेयरधनीहरुको हो । यही विषयमा सोमबार कुमारी बैंकको २२औं साधारण सभाको मुख्य मुद्दा बनेको हो । यस विषयमा कुमारी बैंकका मर्जर कमिटीका संयोजक तथा बैंकका सञ्चालक कृष्णप्रसाद ज्ञवालीसँग बुझ्दा उनले यो धेरै ठूलो विषय नभएको धारणा राखे । उनले हरिसिद्धीको जग्गा एनसीसी बैंकले आफ्नो नाममा लिइसकेकोले त्यो धेरै चिन्ताको विषय नभएको बताए । ‘एनसीसी बैंकले हरिसिद्धीको जग्गा आफ्नो नाममा लिइसकेको छ, कर्जा लगानीभन्दा बढी मूल्यको जग्गा आफ्नो नाममा आएपछि समस्या भएन, त्यसले झन एनसीसी बैंकलाई नै फाइदा हुन्छ, यस विषयमा कुमारी बैंक र बैंकका सञ्चालक तथा सेयरधनीले चिन्ता मान्नु पर्ने अवस्था छैन,’ ज्ञवालीले विकासन्युजसँग भने ।

गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

काठमाडौं । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन् । युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् । मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ । विश्वव्यापी औसत तापक्रममा १।१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ । रासस

सिद्धार्थ बैंकले सुरु गर्यो भिसा रेमिट्यान्स सेवा, विश्वका १८० देशबाट पैसा पठाउन सकिने

काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । यस नयाँ सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् । स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिट्यान्स सेवामा आवद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् । यसरी भिसा रेमिट्यान्स सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ । यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको जनाएकाे छ । बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।