विकासन्युज

तनहुँको छिम्केश्वरी पर्यटन मार्गमा कालोपत्र गर्न सरकारको ५४ करोड लगानी

तनहुँ । आँबुखैरेनी गाउँपालिका ५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् । गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपुरक छ करोड रुपैयाँ र आँबुखैरेनी गाउँपालिकाको एक करोड रुपैयाँ गरी ५४ करोड रुपैयाँ लगानी हुने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने मार्ग कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवा पाएको छ । छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । यहाँबाट हिमशृङ्खला, हरियाली डाँडाकाँडा तथा समथर फाँट सजिलै देख्न सकिन्छ । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित हुँदै आएको अध्यक्ष चुमानले बताए । आँबुखैरेनी–३ गाउँपालिका चोकदेखि छिम्केश्वरी डाँडासम्म करिब १६ किलोमिटरमध्ये ५० लाख रुपैयाँको लागतमा तीन किमी सडक स्तरोन्नती गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।

छ वर्षमा चारपटक मत माग्न आउँदा पनि बनेन जाेरपाटी–सुन्दरीजलकाे सडक

जोरपाटी । छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजाराैँ मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल सात किमी सडक भने ठेक्का भएको नौ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पटक–पटक मत माग्न आउने उम्मेदवारले भने सडक, खानेपानी, ढलको समस्या समाधान गरिदिने वाचा गर्छन् । विजयी भएर जानेले वाचा बिर्संदा दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडक हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा असहज हुनेगर्छ । एक दशकअघिदेखि जोरपाटी–सुन्दरीजल सडकको निर्माण सम्पन्न हुनसकेको छैन । यो सडकमा हिँड्नेलाई लाग्छ यो राजधानी सहर होइन । कुनै दुर्गम जिल्ला हो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का गरेको थियो । जोरपाटी चोकमा गोकर्णेश्वर नगरपालिकाले सानो बजार चलाएर मासिक भाडा लिने ठाउँको सडकसमेत बन्न सकेको छैन । गत जेठमा कालोपत्र भएको केही सडक एक महिना नबित्दै भत्किएको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि रत्न टेलर्स चलाएर बसेका रत्नबहादुर सूचीकार सडक बनाएको केही दिनमै भत्कँदा पनि जनप्रतिनिधिले निर्माण व्यवसायीलाई फेरि बनाउन नलगाएकामा दुःखी छन् । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरअघिको सडक केही दिनमै भत्किँदा यहाँ आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको उनले सुनाए । विसं २०७२ को संविधानपछि राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको छ । यहाँका नागरिकले भने सरकार भएको अनुभूति गर्न नसकेको खड्काको गुनासो छ । उनले भने,’विगत १५ वर्षदेखि यही निर्वाचन क्षेत्रमा मतदान गरिरहेको छु, यहाँका जनप्रतिनिधिले जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानलाई चरितार्थ गरेको मेरो अनुभव छ, राजनीतिमा युवा पुस्ताले ठाउँ पाएनन् ।’ काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा पर्ने यहाँका मूल सडकको यो अवस्था छ भने भित्री सडकमा त हिँड्ने नसक्ने अवस्था छ । यही सडकबाट पर्यटकीयस्थल सुन्दरीजल र चिसापानी पुगिन्छ । विसं २०४६ पछि व्यवस्था फेरिए पनि काठ क्षेत्र धेरै पर्ने यहाँको अवस्था फेरिन सकेको छैन । काठमाडौँ उपत्यकामा वाग्मती स्रोतबाट सबैभन्दा बढी पानी निर्यात गर्दै आएको यो क्षेत्रका स्थानीयवासी भने काकाकूल बन्दै आएका छन् । खानेपानीका सम्बन्धमा यो क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको छ । सुन्दरीजलमा पानीको दह बनाएर वर्षायाममा दैनिक रु १३ करोड र सुक्खायाममा दैनिक नौ करोड पानी काठमाडौं उपत्यकामा पठाउने यो क्षेत्रका मानिस नै धारामा पानी नआउने गरेको गुनासो गर्छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीकी रीता तामाङ चुनावमा मत माग्न आउँदा उम्मेदवारले खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरेपनि विजयी भएपछि कार्यान्वयन नभएको बताउनुहुन्छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ मार्ग भएर ल्याउने पानी पनि यही क्षेत्रमा प्रशोधन हुन्छ । मेलम्चीको पानी पनि यो क्षेत्रका अधिकांशको धारामा वितरण नहुँदा यस क्षेत्रका मानिस पानी खोज्दै परम्परागत कुँवा, पोखरी, सार्वजनिक धारा एवं वाग्मतीलगायत नदीमा जान समय खर्च गर्न बाध्य छन् । यस्ता परम्परागत पानीका स्रोतमा पानी लिन आउनेको लाम लाग्ने गरेकाले पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता राजधानीमै पनि रहेको छ । निकुञ्जभित्रका चिलाउने, ओखरेनी, मूलखर्क बस्तीको समस्या यो क्षेत्रमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्भित्र रहेको बस्तीवासीले दशकौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने चिलाउने, ओखरेनी, मूलखर्क बस्तीका आदिवासी जनजाति तामाङ समुदायले खेतबारीमा लगाएको उब्जनी जङ्गली जनावरका कारण भित्र्याउन पाउँदैनन् । निकुञ्जभित्रको बस्ती भएकाले पूर्वाधार लैजान अझै कठिनाइ भएको छ । यो बस्तीमा मत माग्न जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बस्ती सार्ने, बस्ती सार्न नसके पूर्वाधार लैजाने वाचा गर्न थालेको दशकौँ हुँदा पनि पूरा नभएको स्थानीय मङ्गली तामाङको गुनासो छ । यो क्षेत्रमा काठमाडौं महानगरपालिका–६ बौद्ध, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ पर्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँ स्वतन्त्रसहित राजनीतिक दलका उम्मेदवार मत माग्न हिँडिरहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् । को को छन् राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट सन्तोष चालिसे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कृष्णबहादुर राई, नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) बाट बद्रीप्रसाद बजगाइँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गणेश गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट मोहनकुमार विश्वकर्मा, नेपाल मजदूर किसान पार्टीबाट विशोक डङ्गोल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपानेले उम्मेदवारी दर्ता गरी प्रचारप्रसारमा लागेका छन् । यसैगरी मङ्गोल नेशलन अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, जनमत पार्टीबाट गोविन्द नेपाल, राष्ट्रियस्वतन्त्र पार्टीबाट दुर्गाविक्रम थापा क्षत्री, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट नुर्पु गेल्जेन शेर्पा, आमूलपरिवर्तन मसिहा पार्टी नेपालबाट नेत्रबहादुर तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहनबहादुर बस्नेत र सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राईले उम्मेद्वारी दर्ता गरी मत माग्दै जनताको घर आँगन डुल्ने गर्नुभएको छ । यो क्षेत्रमा आठ जनाले स्वतन्त्त उम्मेदवारी दर्ता गराएका छन् । छ महिनाअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील पार्टीको गोकर्णेश्वर नगर समिति सभापति भएर काम गरिसक्नुभएका श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । यसैगरी कविता विष्ट सुनार, केदारनाथ मिश्र, जगन्नाथ देवकोटा, दीनेश खनाल, नीरञ्जन पुडासैनी, राजेश विष्ट र विन्दु मगरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्य पद दाबी गर्नुभएको छ । एमालेका राई यसअघि २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । कांग्रेसका चालिसे भने २०७४ सालको स्थानीय तह निर्वावचनमा गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचनमा यी दुई नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस अघि छ । अन्य क्षेत्रमा गठबन्धन भए पनि काठमाडौं ३ मा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेका छन् । यहाँ सत्ता र प्रतिपक्ष दुवैले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा ८९ हजार आठ सय ८९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत मन्दिरा शाही बताउँछिन् । क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र १ मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ का २३ हजार ७५ मतदाता छन् । यो प्रदेश क्षेत्रमा नौ जना चुनावी प्रतिस्पर्धामा छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३, गोकर्र्णेेश्वर नगरपालिकाका–१, २, ३, ४, ६, ७ र ८ भने प्रदेश क्षेत्र २ मा पर्छ । यो प्रदेशसभा क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

आज खग्रास चन्द्रग्रहण : ५ बजेर ११ मिनेट जाँदा ग्रहण लागेर ६ बजेर ३४ मिनेटमा सकिने

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५ : ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ : १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । बेलुकी ०५ : २७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६ : ३४ बजे ग्रहण सकिन्छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । ग्रहणको सुतक बार्नेले आज बिहान ०८ : ११ बजेदेखि भोजन गरेका छैनन् । शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ : ३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ । भरणी नक्षत्र र मेष राशिलाई कष्ट आजको ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए । ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।। अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर १२ घण्टा र चन्द्रग्रहणमा तीन प्रहर नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । आज शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ । चन्द्रग्रहण तक्षशिला एकेडेमीमा देखाइने खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले राससलाई जानकारी दिए । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिने छ ।

वैदेशिक रोजगारमा जाने महिलाको सेवा र सुरक्षा आवश्यक

पोखरा । रोजगारको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चित्ताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले सो विषयमा जोड दिएका हुन् । वैदेशिक रोजगारका लागि दुबई र कतार गएर फर्किएकी देवी सुनारले वैदेशिक रोजगार अवसरसँगै चुनौती भएकाले यसमा देखिएका समस्याको समाधानमा आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिइन् । आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव उनले सुनाए । कुवेतबाट फर्कनुभएकी पार्वती दमैले आफूलाई वैदेशिक रोजगारसम्बन्धी नीतिनियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाए । घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उनले सरकारका कतिपय नीति नियमबारे आफूहरु अञ्जान रहँदा पनि पीडित हुनुपरेको उनको भनाइ थियो । उनले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडीमुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोखे । जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीतिनियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औँल्याए । उनले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राखे । शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका बाहेकका मुलुकमा जाँदा श्रम स्वीकृति लिएर सीप सिकेर जाँदा समस्या कम हुने बताए । उनले समस्यामाथि छलफल र बहस गरेपछि समाधानको उपाय निस्कने जनाउँदै महिला आयोगको पहिलो पटक वैदेशिक रोजगारमा महिलाको सवाललाई प्राथमिकता दिएर सार्वजनिक सुनुवाइ गरेकोमा प्रशंसा गरे । कार्यक्रमा श्रम तथा रोजगार मन्त्रालयका श्रम अधिकृत लक्ष्मण बरालले गण्डकी प्रदेशमा महिलाको वैदेशिक रोजगारीसम्बन्धी सवाल र महिलाको सुरक्षित तथा मर्यादित रोजगारीका लागि अवलम्बन गर्नुपर्ने उपायको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार गण्डकी प्रदेशको २०७८ ७९ को तथ्याङ्कमा ९६ हजार नौ सय ९८ जनामध्ये पाँच हजार दुई सय ११ जना महिला वैदेशिक रोजगारमा गएका छन् । त्यसैगरी सामी परियोजना गण्डकीका प्रमुख उमा शर्माले वैदेशिक रोजगारीमा गएका महिलाप्रति सकारात्मक दृष्टिकोणको खाँचो रहेको र सकारात्मक भन्दा नकारात्मक विषयले बढी प्राथमिकता पाउँदा वैदेशिक रोजगारमा गएर आएका महिला समाजमा खुल्न नसकेको बताए। आयोगका उपसचिव सीता अधिकारीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलामाथि विभिन्न खालका हिंसा हुने गरेका घटना सार्वजनिक भएसँगै आयोगले २१ वर्षको इतिहसामा पहिलो पटक वैदेशिक रोजगार र महिलाको सवाललाई चासो दिएर कार्यक्रम गरेको बताए । आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारको समग्र विकास गरी लैङ्गिक न्याय कायम गर्न बनेको आयोगले पछिल्लो समय वैदेशिक रोजगारमा रहेका महिलामाथि हुने हिंसाका धेरै घटना बाहिर आएको र यसलाई न्यूनीकरण गर्नका लागि आज उठेका सवाल र सुझावले आगामी रणनीतिक योजना बनाउन सहयोग पुग्ने विश्वास गरे । कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता माल, सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेल, इलाका प्रशासन कार्यालय लेखनाथका कमलराज भण्डारी, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा, नेपाल बारको केन्द्रिय महिला समिति सचिव विनिता नेपाली लगायतले वैदेशिक रोजगारमा महिलाको अवस्था र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा सुझाव राखेका थिए । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा मात्र नभइ यसले सिर्जना गरेको पारिवारिक बेमेल, मानसिक स्वास्थ्यमा देखिएको समस्या लगायतका विषयमा पनि अध्ययन जरुरी रहेको उनको भनाइ थियो ।

स्वास्थ्य विज्ञानमा नयाँ विकास : पहिलो पटक प्रयोगशालामा बनेको रगत मानिसमा चढाउन सफल

एजेन्सी । विश्वमा पहिलो पटक प्रयोगशालाबाट उत्पादन भएको रगत मानिसलाई ट्रान्सफ्युज गरिएको छ । बेलायतमा गरिएको क्लिनिकल परीक्षणमा यो सफलता हासिल भएको हो । क्याम्ब्रिज र ब्रिस्टल युनिभर्सिटीलगायत धेरै संस्थाका वैज्ञानिकहरू यस परीक्षणमा संलग्न रहेका थिए। विज्ञहरू भन्छन् कि यसले रक्त विकार र दुर्लभ रक्त समूह भएका मानिसहरूको उपचारमा मद्दत गर्नेछ। कसरी बनाइयो कृत्रिम रगत ? प्रयोगशालामा रगत बनाउने यस प्रक्रियामा रातो रक्त कोशिकाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। रक्तकोषिकाले फोक्सोबाट अक्सिजन लिएर शरीरको हरेक भागमा पुर्‍याउने काम गर्दछ । वैज्ञानिकहरूले पहिले व्यक्तिमार्फत थोरै मात्रामा रगतको डोनेसन गराउँछन् । यसको मात्रा लगभग ४७० एमएल मात्रै हुन्छ । यसपछि ती स्टिम सेलहरूलाई चुम्बकको माध्यमबाट अलग गरिन्छ, जुन रातो रक्त कोशिका बन्न सक्छ। स्टिम सेलहरू बोनम्यारोमा पाइन्छन्, जसबाट रगतका तीन महत्त्वपूर्ण कोशिकाहरू ( रातो रक्त कोशिका, सेतो रक्त कोशिका र प्लेटसहरु बन्दछन् । त्यसपछि अर्को चरणमा वैज्ञानिकहरूले प्रयोगशालामा ठूलो संख्यामा स्टिम सेलहरूको संख्यालाई वृद्धि गर्छन् । त्यसपछि यी रातो रक्त कोशिकाहरूमा रूपान्तरण हुनको लागि निर्देशित गरिन्छ । यसको सम्पूर्ण प्रक्रिया लगभग ३ हप्ता जति समय लाग्छ । यस अवधिमा ५ लाख स्टिम सेलबाट ५० अर्ब रातो रक्त कोशिका बन्छन् । सो संख्या मध्ये १५ अर्ब रातो रक्त कोशिकालाई छनोट गरिन्छ, जुन मानिसमा प्रत्यारोपण गर्नको लागि योग्य हुन्छ । रगतमा रहेको रेडियोधर्मी पदार्थ अनुसन्धानले बताएअनुसार अनुसन्धानमा अहिलेसम्म २ जना मानिसलाई समावेश गरिएको छ । यद्यपि सम्पूर्ण परीक्षण १० स्वस्थ व्यक्तिहरूमा गरिनेछ। उनीहरुलाई ४ महिनाको अन्तरालमा ५ देखि १० एमएलको दुईवटा रक्तदान दिइनेछ । तीमध्ये एउटा सामान्य रगत र अर्को प्रयोगशालामा बनाइने रगत हुनेछ । प्रयोगशालाको रगतमा रेडियोधर्मी पदार्थ पनि छ, जसबाट यसको कार्यसम्पादन ट्रयाक गरिनेछ। रातो रक्त कोशिकाको आयु १ सय २० दिन हुन्छ सामान्यतया रातो रक्त कोशिकाहरू शरीरमा १ सय २० दिनसम्म रहन्छ। यस पछि नयाँ सेल्सले सो ठाउँ लिन्छ। सामान्य रक्तदानमार्फत प्राप्त हुने रगतमा नयाँ र पुरानो रातो रक्त कोशिकाहरू हुन्छन्। तर प्रयोगशालामा बनाइएका रक्त कोशिकाहरू पूर्णतया नयाँ मात्रै हुन्छन्। त्यसैले वैज्ञानिकहरूले प्रयोगशालाबाट बनाइएको रक्तकोशिकाले शरिरमा पूर्ण रुपमा १ सय २० दिनसम्म काम गर्ने अपेक्षा गरेका छन् । जसका कारण भविश्यमा अहिलेको तुलनामा कम रक्तदान भए पुग्ने अनुमान गर्न सकिन्छ । नयाँ रगतको मूल्य कति पर्ला ? बेलायतको नेशनल हेल्थ सर्भिस ब्लड एण्ड ट्रान्सप्लान्टका अनुसार औसत रक्तदानको लागत १४५ युरो वा १३,६६६ रुपैयाँ पर्छ। प्रयोगशालामा तयार हुने रगतको मूल्य योभन्दा बढी हुनेछ । यस प्रविधिको अहिलेसम्म कुनै मूल्य तोकिएको छैन तर प्रविधिको विकाससँगै यसको लागत घट्दै जान सक्नेछ । भास्कर दैनिकबाट ।

निजी साधनले तोकिएको भाडा कार्यान्वयनमा समस्या

बलेवा । बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मिशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्र भएको छ । पक्की सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ? जो–कोहीलाई लाग्न सक्छ पक्की सडकको भाडा सरकारले तोकेबमोजिम नै हुन्छ, तर यो सडक खण्डमा गुड्ने सवारीले तोकिएको भाडाभन्दा दोब्बर भाडा उठाउँछन् । केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जैमिनी नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश गर्यो । नगरको सूचनाअनुसार बागलुङ बजारदेखि कुश्मिशेरा बजारसम्म यात्रा गर्दा दुई सय १० रुपैयाँ मात्रै भाडा लाग्नुपर्ने हो । अधिकांश निजी सवारी गुड्ने यो रुटमा यात्रुले एकतर्फी चार सय भाडा तिर्दै आएका छन् । यो त एउटा उदाहरण मात्रै हो । सार्वजनिक सवारी एकाध मात्रै चल्ने र निजी बोलेरो जिपहरु धेरै चल्ने बागलुङका अधिकांश ग्रामीण सडकमा भाडाको समस्या एकै खालको छ । बागलुङका १० वटै स्थानीय तहका यात्रुले तोकिएको भाडा तिर्न पाएका छैनन् । घरघरमै सुविधा पु¥याउने भएकाले यात्रु भाडाको विषयमा खुलेर बोल्दैनन् । निजी सवारीलाई निरुत्साहित गर्दा सार्वजनिक सवारीको पहुँच नभएकाले अप्ठयारो पर्ने यात्रुहरु नै बताउँछन् । यात्रुले महङ्गो भाडा मात्रै तिरेका छैनन् उनीहरुको यात्रा जोखिमपूर्णसमेत छ । अधिकांश निजी सवारीसाधनले यात्रु बोक्ने गरेकाले दुर्घटना बीमा, उपचार सुविधा लगायतका सुविधा यात्रुले नपाउने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा बताउँछन् । कार्यालयले पछिल्लो समय अनुगमन गर्ने र निजी सवारीसाधनलाई यात्रु नबोक्न आग्रह गर्ने गरेको छ । ‘हामीले अनुगमन गर्दा यात्रु बोकेको भेटेपछि कि त सार्वजनिक यातायात बनाउने वा यात्रु नबोक्ने गर्न अनुरोध गरेका छौँ’, थापाले भने, ‘रातो प्लेट बनाउने र भाडा लिएर यात्रु बोक्नेहरु धेरै छन् ।’ थापाका अनुसार बागलुङ जिल्लाभर चल्ने तीन सय ५० बढी पिकअप भ्यानमध्ये अधिकांश रातो प्लेट भएका छन् । ‘निजी सवारीले न त तोकिएको भाडा लिन्छन्, न त हामीलाई अनुगमन गर्न सम्भव हुन्छ’, थापा भन्छन्, ‘व्यक्ति व्यक्ति पुगेर अनुगमन गर्न सकिँदैन्, त्यसैले सरकारले तोकिएको मापदण्डमा चल्नुस् भनेका छौँ ।’ थापाले निजी प्रयोजनका लागि दर्ता गरेका सवारीले भाडाका यात्रु बोक्न निरुत्साहित गरिने बताए । कार्यालयले जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, ट्राफिक प्रहरीसँगको सहकार्यमा अनुगमन र सचेतना थालेको छ । पहिलो चरणमा नियम विपरीत यात्रु बोकेका २७ वटा पिकअप भ्यानका कागजात कार्यालयले लिएको छ । ‘रातो प्लेटमा भन्दा कालो प्लेटलाई राजस्व पनि कम लाग्छ, सरकारको आँखा पनि पुग्छ, यात्रुको जीवनसँग खेलबाड गरेर किन निजी गाडीले यात्रु बोक्नु’, कार्यालय प्रमुख थापा भन्छन्, ‘तत्कालै कम्पनीमा दर्ता भएर सार्वजनिक यातायातका रुपमा नआए वा रातो प्लेटमै यात्रु बोके कारबाही गर्छौं’ । निजी सवारीले यात्रु बोक्न रोक लागउने र ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी पनि सक्रिय रहेको छ । कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने, तोकिएभन्दा धेरै यात्रु बोक्ने कार्यमा सवारी चालकहरु सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाएको हो । ‘हामीले नियमानुसारको कारबाही गर्छौं, निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन र बढी भाडा उठाउन पनि पाइँदैन्’, ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले भने, ‘यातायात व्यवस्था कार्यालयले निजीलाई सार्वजनिक सवारीमा रुपान्तरण गर्न सहजीकरण गर्ने छ ।’ कच्ची र पक्की सडकमा भाडामा रहेको मनोमानी निजी सवारीले यात्रु बोक्न छोडेपछि स्वतः समाधान हुने केसीको विश्वास छ । विधि मिचेर व्यक्तिले निजी सवारीमा भाडा कायम गर्ने भएकाले समस्या भइरहेको केसीले बताए । रासस

डडेल्धुराका मतदातालाई देउवाले सुनाए मेडिकल कलेजदेखि विमानस्थल निर्माण गर्ने योजना

डडेल्धुरा । पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ । त्यसो त भौगोलिक रुपले पनि सात पहाडी जिल्लाको पायक पर्ने स्थानमा अवस्थित छ डडेल्धुरा । विसं २०४८ संसदीय निर्वाचनदेखि अनवरतरुपमा जिल्लाको प्रतिनिधित्व गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल यही जिल्ला हो । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गरेका देउवा अहिले माउ पार्टी कांग्रेसकै सभापति हुन् । उनी नै आगामी मङ्सिर ४ मा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । प्रतिनिधिसभामा यो उनको सातौँ पटकको उम्मेदवारी हो । यसअघि छपटक उनले यसै क्षेत्रबाट निर्वाचित भएको छ र मुलुकको गृह हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसैले आसन्न निर्वाचनमा पनि यहाँका जनताले उनलाई नै चयन गर्नेमा उनी ढुक्क छन् । सात स्थानीय पालिका रहेको डडेल्धुरामा यस पटक निर्वाचन लक्षित चारदिने कार्यक्रम सकेर धनगढी फर्किएका प्रधानमन्त्री देउवाले गृह जिल्लाको समग्र विकासका जनआकाङक्षानुसार अघि बढ्ने योजना मतदाताहरुलाई चुनावी सभाका क्रममा सुनाए । गत बिहीबार डडेल्धुरा सदरमुकाम खलङ्गामा पहिलो चुनावी सभामा सम्बोधन गरेका देउवाले सत्तागठबन्धनका उम्मेदवारसहित सबैजसो पालिका पुगेर मत मागे । आइतबार भित्रीमधेसस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट बिदा भएर धनगढी आएका प्रधानमन्त्री देउवाको चुनावी भेटघाट नियमित छ । विसं २०४८ को संसदीय निर्वाचन जितेपछि जितको यात्रालाई साताैँ पटक निरन्तरता दिने तयारी रहेका देउवाललाई यस पटक भने विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको दरिलो साथ रहेको छ । सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलसम्म रहेका छन् । चुनावी सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीयस्तरमा रहेका समस्या समधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमानस्थल निर्माणको विषय मतदातासामु राखे । डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा देउवाको सभामा सहभागी भएका आलिताल गाउँपालिका–४ का ९० बर्षीय बलभद्र बोहराले देउवालाई सुदूरपश्चिमको खम्बाका रुपमा चित्रण गर्छन् । ‘देउवाजी सुदूरपश्चिमको अभिभावक र हाम्रो खम्बा नै हो’, उनले भने, ‘डडेल्धुरावासीले राखेका माग उहाँले पूरा गर्दै आउनुभएको छ, उहाँप्रति नै हाम्रो आशा र भरोसा रहेको छ ।’ उनले देउवाले राज्य तथा राजनीतिमा प्राप्त गरेको सफलता सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए । ‘भित्रीमधेसमा राम्रो अस्पताल भइदिए बिरामीहरुले उपचारका लागि तराई झर्नुपर्ने थिएन’, बोहराले भने, ‘यहाँ पानीको स्रोत भए पनि सिँचाइका लागि व्यवस्था गरिदिए हुन्थ्यो, यसपालि उहाँलाई जनताले राम्ररी माग राखेका छन्, हेरौँ यो पनि उहाँले पूरा गर्नुहुनेछ ।’ उनले स्थानीय खोलाको तटबन्ध निर्माण बाँकी रहेको सो विषय नेताहरुलाई दबाब दिइने बताए । ‘निष्ठाको राजनीतिमा खडेरी परिरहेका बेला डडेल्धुरावासी एकताबद्ध भएर लामो समयदेखि देउवालाई नै जिताउँदै आएका छन् र उनले पनि यहाँका नागरिकको आशा र भरोसाको सम्मान गर्दै आउनुभएको छ, बोहराले भने, ‘अहिले त बुवा/छोराको विचार नमिल्ने बेला देउवाजीले ठूला पार्टीबीच गठबन्धन गरेर कुशल क्षमता प्रर्दशन गर्नुभएको छ यसलाई हामीले सम्मान गर्नुपर्छ ।’ चुनावी सभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिँडे । ‘मै सित माओवादी नेता खगराज भट्टजी तीनपटक निर्वाचन हारे’, देउवाले भने, ‘यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ ।’ उनले विगतको राजनीति लडाइँ बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको विषयमा मतदातालाई आश्वस्त पारे । चुनावी सभाका क्रममा यहाँको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाँचदलीय गठबन्धनलाई नै मत मागे । डडेल्धुरामा नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही पनि प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा माओवादी नेता खगराज भट्ट र (ख) मा नेपाली कांग्रेसका नेता प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज जोशी उम्मेदवार छन् । आलितालका गाउँपालिकाका ७६ बर्षीय रामसिंह बोहराले देउवाले सुदूरपश्चिमलाई मूलधारसित जोड्न कर्णाली पुल बनाउनेदेखि यहाँका ठूला विकासमा पहल गरेको बताए । ‘सुदूरपश्चिमलाई देश चिनाउनेदेखि यहाँको विकासका लागि उहाँको ठूलो भूमिका छ’, उनले भने, ‘अहिले पनि डडेल्धुराको विकासका धेरै योजनाहरु जारी छन् ।’ बुबाका पालामा टनकपुरबाट भारी बोकेर नुन यहाँ पु¥याउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । ‘सडक पूर्वाधार गाउँगाउँसम्म बने र घर–घरमै नुन पुगिरहेको अवस्था छ’, बोहराले भने, ‘उपचारका लागि मात्रै यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छैन ।’ ९१ हजारभन्दा केही बढी मतदाता रहेको डडेल्धुरामा आसन्न निर्वाचनका लागि एक सय ३९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसक्नुभएको छ र पाँच पटकसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालि सकेका छन् । सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचन यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला नेतासमेत हुन् देउवा । डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, विद्युत्, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन् । भने अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेको नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए । रासस

बिजनेस विस्तारमा राष्ट्रिय बीमा कम्पनी आक्रामक, ५ वटामा देखियो मन्दी (सूचीसहित)

काठमाडौं । पछिल्लो समय राष्ट्रिय बीमा कम्पनी बिजनेस विस्तारमा आक्रामक बन्दै गएको छ । नेपाल सरकारको स्वामित्व प्राप्त कम्पनीले अन्य कम्पनीको तुलनामा सर्वाधिक प्रतिशतले प्रिमियम बढाएर आक्रामक देखिएको हो । कम्पनीले चालु आवको तीन महिनामै एक अर्ब २६ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म ४४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, उक्त बीमाशुल्क अन्य १८ कम्पनीको तुलनामा सर्वाधिक पनि हो । त्यसैगरी, बिजनेसमा आक्रामक देखिनेको दोश्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स छ । गत आवको तुलनामा कम्पनीले आफ्नो बिजनेस ३८.१४ प्रतिशतले बढाएर ५० करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएको छ । रकमको आधारमा राष्ट्रिय बीमा कम्पनीलाई शिखर इन्स्योरेन्सले पछ्याएको छ । शिखरले पनि तीन महिनामै १ अर्ब बढी अर्थात एक २ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले बढी हो । तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने ६.०२ प्रतिशतले घटी हो । गत वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले ९० करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो । समितिको तथ्याङ्क अनुसार अधिकांश निर्जीवन बीमा कम्पनीको बिजनेस बढेको छ । तर ५ वटा कम्पनीमा भने मन्दी देखिएको तथ्यांकले देखाउँछ । गत वर्षको तुलनामा यूनाईटेड, एनएलजी, प्रिमियर, सगरमाथा र जनरल इन्स्योरेन्सको बिजनेस चालु आवमा घटेको छ । जसमध्ये यूनाईटेड इन्स्योरेन्सको सर्वाधिक अर्थात २६।५८ प्रतिशतले घटेको छ । गत वर्ष ४४ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीले चालु आवमा भने ३२ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ । गत वर्षको तुलनामा चालु आवमा निर्जीवन बीमा कम्पनीको व्यवसाय औसतमा निर्जीवन बीमा व्यवसाय ११.८५ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार कम्पनीहरुले तीन महिनामै १० अर्ब ८४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन गत वर्ष ९ अर्ब ६९ करोड रुपैयाँ थियो ।