काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । उनले त्यसमध्ये १२२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट जानकारी दिए ।
१८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए । ‘आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको छ, ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरिरहेका छाैं, अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेका छाैं, सो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पती आर्जनको रहेको छ,’ उनले भने ।
पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरु मध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस/रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहिन सामान खरिदको १ वटा रहेको उनको भनाई छ ।
प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए ।