काठमाडौं । सोमबार कुमारी बैंकको २२औं साधारणसभा सम्पन्न भयो । सो साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको लाभांश पारित गर्यो भने एनसीसी बैंकसँग गरेको मर्जर सम्झौतालाई अगाडि बढाउन अख्तियारी समेत दियो । साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएपनि कार्यक्रममा बोल्ने प्रायः सबै सेयरधनीहरुले हरिसिद्धी इट्टा टायल कारखानाको विषय जोडदारका साथ उठाए ।
कुमारी बैंक एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले पनि कुमारी बैंकका सेयरधनीले मर्जरमा जानुअघि सबै विषयहरुमा स्पष्ट पार्नु पर्ने धारणा साधारण सभामा राखे । कतिपयले एनसीसी बैंकको खराब कर्जा बढी भएका भन्दै मर्जर गर्नु अगाडि धेरै विषयहरुमा सजगता अपनाएर काम गर्न सञ्चालक समिति र मर्जर समितिलाई सचेत पनि गराए ।
कुमारी बैंकका सेयरधनी लबराज जोशीले हरिसिद्धी इट्टा टायल कारखनाको विषय उठाउँदै त्यस विषयमा कुमारी बैंक चनाखो बन्नु पर्ने धारणा राखे । ‘एनसीसी बैंकले हरिसिद्धी इट्टा टायल उद्योगमा ठूलो रकम ऋण प्रवाह गरेको छ, जुन ऋण अहिलेसम्म बैंकले उठाउन सकेको छैन, अहिले कुमारी बैंक अधिकांश सूचकमा बलियो बनिसकेको छ, कमजोर र बलियोबीच कसरी तालमेल मिलाउने, यी र यस्तै विभिन्न विषयहरुलाई केलाएर गरेर अगाडि बढ्नु पर्छ,’ उनले साधारणसभामा बोल्दै भने ।
जोशीले एनसीसी बैंकले हरिसिद्धीलाई ठूलो कर्जा दिएकोले यो विषयलाई एकीकृत कारोबार अघि नै समाधान गर्नु पर्ने धारणा राखे । ‘एनसीसी बैंकको खराब कर्जा बढी छ, बैंकले हरिसिद्धी टायलमा दिएको कर्जा उठाउन सकेको छैन, यसलाई एकीकृत कारोबार अघि नै समाधान गर्नुपर्छ,’ उनले भने, ‘पछिल्लो समय संचालक समितिमा सेयरधनी कमजोर बन्दा कर्मचारीको दबावमा मर्जर गर्नुपर्ने बाध्यता छ ।’
बैंकको साधारणसभामा बोल्दै अर्का सेयरधनी उद्धब घिमिरेले पनि हरिसिद्धीकै विषय उठान गरे । उनले पनि एनसीसी बैंकसँग मर्जर गरेर बलियो हुने विश्वास सबै सेयरधनीहरुको भएपनि यो बिचमा देखिएका अल्झनहरुलाई समाधान गरेर मात्रै मर्जर सम्पन्न गर्नु पर्ने राय राखे । एनसीसी बैंकसँग मर्जर सम्पन्न भएपछि अर्काे बैंक पनि मर्जर गराएर कुमारीलाई बैंकि क्षेत्रमा अझै शक्तिशाली बनाउनु पर्नेमा उनको जोड छ ।
साधारणसभामा बोल्दै सेयरधनी शम्भु थपलियाले एनसीसी बैंकका सञ्चालकको नियतमाथि पनि प्रश्न उठाए । ‘कुमारी बैंकले मर्जरका लागि अन्य पाटर्नर नपाएर एनसीसीसँग मर्जर गर्ने सम्झौता गर्यो, उनले लक्ष्मी बहादुर श्रेष्ठ र जित बहादुर श्रेष्ठमाथि प्रश्न उठाउँदै भने, ‘जुन कम्पनीमा लाग्यो तिनै कम्पनीलाई कोल्याप्स गर्ने, तिनैले स्थापना गरेको कम्पनी रोज्नु पर्ने कारण के हो ? यसमा म अध्यक्षज्यूको जवाफ चाहन्छु,’ एनसीसी बैंकको विगतको इतिहास कस्तो छ, हामी सबैलाई थाहा छ ।’
योग्यश्वर अमात्यको जग्गा प्रकरणपछि कुमारी बैंकको नियतमाथि पनि प्रश्न गर्नु पर्ने प्रशस्त ठाउँहरु रहेको बताउँदै उनले यसलाई कालोपर्दाले छोपेर ढाकिनेवाला नभएको धारणा राखे । ‘एनसीसीसँग मर्जरपछि काले/काले मिलेर खाऔं भाले जस्तो हुन्छ, यस विषयमा सजग बन्नु पर्छ,’ उनले भने ।
यस्तै, सेयरधनी भक्ति प्रसाद उप्रेतिले एनसीसीसँगको मर्जरपछि कुमारी बैंक बलियो हुनु पर्ने धारणा राखे । ‘अहिले कुमारी बैंक बलियो बन्दै गएको छ, एनसीसीसँग मर्जरपछि झन बलियो हुनु पर्छ, मर्जरका लागि मात्रै मर्जर गर्नु हुँदैन, सिनर्जी आउनु पर्छ,’ उनले भने । उनले पनि हरिसिद्धीको विषय टुङ्गो लगाएर मात्रै मर्जर प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा राखे । उनले मर्जरपछि २० प्रतिशतभन्दा बढी लाभांश प्राप्त गर्ने अपेक्षा सेयरधनीको रहेको विश्वास व्यक्त गरे ।
लगानीकर्ता गोगन बहादुर पराजुलीले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदा सेयरधनीहरुले धेरै पीडा खेपेको उदाहरण दिँदै कुमारी बैंकमा पनि सो घटना दोहोरिन दिन नहुने धारणा राखे । साथै उनले बैंकका सेयरधनीहरुले एनसीसी बैंकसँग मर्जरपश्चात् कर्मचारी ब्यबस्थापनमा पनि जोड दिनु पर्ने उनको भनाइ छ । उनले पनि एनसीसीसँग मर्जर गरेर एकीकृत कारोबार गर्नु अगावै एनसीसी बैंकको हरिसिद्धीसँग भएको लफडाको समाधान गर्नु पर्ने धारणा राखे ।
के हो हरिसिद्धी प्रकरण ?
कुनै बेलाको चर्चित इट्टा टायल कारखाना हो हरिसिद्धि । चीन सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको यो कारखाना पछि एनबी समूहले खरिद गर्यो । तत्कालिन नेपाल बंगलादेश बैंकका तत्कालीन सञ्चालक जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले सो कारखाना खरिद गरेर सञ्चालनमा ल्याए । सरकारले सञ्चालन गरिरहेको समयमाचर्चित यो कारखाना एनबी समूहले खरिद गरेपछि भने बिजनेस चौपट जस्तै बन्यो ।
कम्पनीको बिजनेस बढाउनका लागि श्रेष्ठ दाजुभाइले कारखानाको नाममा रहेको जग्गा धितो राखेर एनसीसी बैंकबाट ऋण लिए । हरिसिद्धिले २०५५ सालमा २०१ रोपनी जग्गा एनसीसी बैंकमा धितो राखेर १५ करोड ऋण लियो । एनसीसी पनि एनबी समूहको केही अंश सेयर रहेको बैंक हो ।
पछि ऋण तिर्न नसकेपछि एक दशकपछि अर्थात् २०६६ मा एनसीसी बैंकले हरिसिद्धीको ११९ रोपनी जग्गा लिलाम गर्यो । एनसीसी बैंकसँगै अन्य बैंकमा पनि यस कारखनाको जग्गा धितोमा राखिएको पनि बुझिएको छ । तर, एनसीसी बैंकले आफ्नो सम्पूर्ण कर्जा उठाउन भने अहिलेसम्म सकेको छैन । बैंकस्रोतका अनुसार हरिसिद्धीबाट बैंकले २ अर्ब बढी रकम (सावाँ र ब्याज) असुल्न बाँकी छ ।
हरिसिद्धी कारखानामा कर्जा दुरुपयोग गरी जग्गा लिलाम गराउन खोजिएको भन्दै साधारण सदस्यहरूबाट पनि विभिन्न उजुरी पर्दै आएका छन् । तर, यस विषयमा अहिलेसम्म कुनै पनि सुनुवाई भने हुन सकेको छैन । ऋणी र ऋणदाता एउटै समूहको भएका कारण पनि एनसीसी बैंकले अहिलेसम्म कुनै एक्सन लिन सकेको छैन ।
यही विषयलाई प्रष्ट पारेर मात्रै मर्जर प्रक्रिया अगाडि बढाउनु पर्ने माग कुमारी बैंकका सञ्चालक तथा सेयरधनीहरुको हो । यही विषयमा सोमबार कुमारी बैंकको २२औं साधारण सभाको मुख्य मुद्दा बनेको हो ।
यस विषयमा कुमारी बैंकका मर्जर कमिटीका संयोजक तथा बैंकका सञ्चालक कृष्णप्रसाद ज्ञवालीसँग बुझ्दा उनले यो धेरै ठूलो विषय नभएको धारणा राखे । उनले हरिसिद्धीको जग्गा एनसीसी बैंकले आफ्नो नाममा लिइसकेकोले त्यो धेरै चिन्ताको विषय नभएको बताए ।
‘एनसीसी बैंकले हरिसिद्धीको जग्गा आफ्नो नाममा लिइसकेको छ, कर्जा लगानीभन्दा बढी मूल्यको जग्गा आफ्नो नाममा आएपछि समस्या भएन, त्यसले झन एनसीसी बैंकलाई नै फाइदा हुन्छ, यस विषयमा कुमारी बैंक र बैंकका सञ्चालक तथा सेयरधनीले चिन्ता मान्नु पर्ने अवस्था छैन,’ ज्ञवालीले विकासन्युजसँग भने ।