विकासन्युज

गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन, मासिक ६० हजार नाफा

नवलपुर । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वका कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका लोकल तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् । गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउँछन् । एक हजार पाँच सय स्थानीय जातका कुखुरा पालेका आचार्यले मासिकरुपमा खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुने बताए । ‘परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मज्जा नै छुट्टै छ’, आचार्यले भने, ‘विदेसिनेहरु सबैको राम्रो भएको पनि कहाँ छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।’ कुखुराका लागि आवश्यक पर्ने दाना आफैँ उत्पादन गर्ने आचार्यलाई कुखुरापालनमा उहाँकी श्रीमती र परिवारको साथ मिलेको छ । कुखुरापालनमा लागेर पाँचजनाको परिवार सहजै पालिएको आचार्य बताउँछन् । ‘कुखुरापालन गर्ने समयमा केही गाह्रो भएको थियो बिस्तारै परिवारको साथ र अनुभवले कामलाई सहज बनायो र आम्दानी बढायो’, आचार्यले भने, ‘कुनै पनि काममा निरन्तरता दिँदै र मेहनत गरेमा सफलता मिल्ने रहेछ ।’ यहाँ लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय पनि फर्किएर कुखुरापालन व्यवसायमा लागेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारमा दुबई बस्नुभएका मध्यविन्दु–३ ब्रह्मस्थानका नन्दे गुरुङ अहिले गाउँमै स्वरोजगार बनेका छन् । दुई वर्षअघि दुबईबाट फर्किएर गुरुङ व्यावसायिकरुपमा कुखुरा, बाख्रा र बङ्गुरपालन सुरु गर्दै स्वरोजगार बनेका छन् । दुबईमा रहँदा मासिक एक लाखभन्दा बढी कमाई गर्ने उनी स्वेदशमै केही गर्ने चाहना बोकेर गाउँ फर्किएको बताउँछन् । ‘दुबईमा मेरो आम्दानी राम्रो थियो, ओभरटाइम गरेर त महिनामै एक लाखभन्दा बढी पैसा कमाउने गरेको थिएँ’, गुरुङले भने, ‘अहिले घरमै बसेर आफ्नै काम गर्दा पनि राम्रो कमाई भइरहेको छ ।’ उमेरले ५२ वसन्त पार गरेका गुरुङ घर फर्किएपछि विदेश जान मन नलागेको बताउँछन् । ‘यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाई हुने भएपछि फेरि विदेश जान मन लागेन’, गुरुङले भने, ‘लकडाउनको समयमा कुखुरापालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले बाख्रा र बङ्गुर पनि थपेको छु ।’ पशुपन्छीपालनका लागि आफ्नै जग्गा प्रशस्त भएका कारण पनि उनलाई विदेश जान मन नलागेको अनुभव उनी सुनाउँछन् । ‘विदेश गएर अर्काको काम गरेर लाख कमाउनभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठूलो रहेछ’, गुरुङले भने, ‘विदेश गएर अर्काको ठाउँमा मेहनत गर्नुभन्दा स्वदेशमै पसिना बगाउँदा सुन फलाउन सकिन्छ जस्तो लाग्दैछ ।’ नन्दे गुरुङकै २५ वर्षीय छोरा उत्तम गुरुङ दुई वर्ष दुबई बसेर गाउँमै फर्किए । अरूको देशमा काम गर्नुभन्दा घरमै बसेर केही गर्ने बाबुछोराको सल्लाह भएपछि आफू पहिले गाउँ फर्किएको उत्तमको भनाइ छ । ‘अर्काको देशमा अरूले भनेकोअनुसार काम गर्नुपर्छ, केही काम बिग्रियो भने तबल पनि काट्छ अझै भएन भनेर गालीसमेत खानुपर्छ’, उत्तमले भने, ‘यहाँ हामी आफैँले फार्म सञ्चालन गरेका छौँ, बाबा र म मिलेर काम गर्छौं, धेरै सजिलो छ ।’ घरमा आएर सुरु गरेको व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको उत्तमको भनाइ छ । ‘सुरुमा हामीले एउटा ठूलो खोर बनाएर पाँच सय ब्वायलर कुखुरा पाल्न सुरु गरेका थियौँ’, उनले भने, ‘अहिले दुई खोरमा गरी एक हजार पाँच सय जति ब्वायलर कुखुरा पालेका छौँ । कुखुरासँगसँगै बाख्रा र बङ्गुर पनि थपेका छौँ ।’ बाबुछोराले पालैपालो कुखुरा, बाख्रा र बङ्गुरको हेरचाह गर्ने गरेको उत्तमको भनाइ छ । आफ्नो फार्ममा उत्पादन भएका पशुपन्छी बिक्रीका लागि बजारको समस्या नरहेको उनीहरु बताउँछन् । ‘हामीलाई बजारको कुनै समस्या छैन’, उनले भने, ‘कुखुरा, खसीबोका तथा बङ्गुर खरिदका लागि व्यापारी घरमै आउने गरेका छन् ।’ पछिल्लो समय कुखुरालाई खुवाउने दाना महँगिएका कारण केही अप्ठ्यारो भएको गुरुङले गुनासो गरे । उत्पादन लागत बढेअनुसार बिक्री मूल्य नपाउँदा भने लगानी उठाउनै मुस्किल हुने गरेको गुरुङले दुःखेसो पोखे । जिल्लामा व्यवसाय दर्ता गरेर कुखुरापालन गर्ने कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । थोरै समय र मेहनबाट पनि राम्रो आम्दानी हुँदा कृषक कुखुरापालन व्यवसायमा उत्साहित भएका छन् । सरकारले दिँदै आएको अनुदान असली व्यवसायीलाई दिन सकेको खण्डमा युवाहरुको विदेसिने क्रम घट्ने व्यवसायी बताउँछन् ।

तानसेन र अर्घाखाँचीले गरे साढे २१ करोडको सिमेन्ट निर्यात, भारतमा बजार खोज्दै

काठमाडौं । नेपालले तीन महिनामा साढे २१ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक (गत साउनदेखि असोज मसान्तसम्म) अनुसार २१ करोड ५६ लाख ९० हजार रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको हो । तथ्यांक अनुसार उक्त अवधिमा ८ करोड ३३ लाख रुपैयाँ बराबरको क्लिंकर र १३ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा निर्यात सुरु गरेका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो । दुई सिमेन्ट तथा एक स्टील निर्यात गरेका व्यवसायीहरु भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् । नियमित निर्यात पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएतापनि हाल नियमित रुपमा निर्यात भैरहेको बताउँछन् । ‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझन समेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने, ‘हामीले निरन्तर रुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ ।’ उनका अनुसार गत असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट सात हजार बोरा सिमेन्ट निर्यात भैसकेको छ भने एक सय ५० टन रड निर्यात भैसकेको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको हो । पाल्पा सिमेन्टले असार २४ गते, श्री स्टीलले साउन ४ गते तथा अर्घखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । तर, सञ्चालक अग्रवालले कार्यविधि बनेपनि सरकारसँग छुटको रकम नलिएको बताए । सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल नेपाली सिमेन्ट नियमित रुपमा भारतका विभिन्न सहरमा निर्यात भैरहेको बताउँछन् । ‘सरकारले निर्यातमा छुटको घोषणा गरेपछि पाल्पा र अर्घखाँची सिमेन्टले निर्यात सुरु गरिसकेका छन्, उनीहरुले भारतका विभिन्न सहरमा नियमित रुपमा सिमेन्ट निर्यात गर्दै आएका छन्, दुई सिमेन्ट उद्योगसँगै अन्य उद्योगहरु निर्यातमा तयारीमा जुटेका छन्’, उनले भने । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाईमा धेरै सिमेन्ट उद्योग रहेको उनको भनाई छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीत प्रमाणपत्र लिनुपर्नेछ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ । निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ४०० रुपैयाँले र चाँदी ३० रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।   अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ । तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताउनुभयो । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा सयको चप्पलदेखि १० हजार रुपैयाँको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताए ।

८७ करोड लागतमा पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसीटिभी क्यामेरासमेत जडान गरिएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । डिपीआरअनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको लामाले बताए । लामाका अनुसार ‘नमोबुद्ध भगवान घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती बेहोर्दै आएकाले यसप्रति विशेष ध्यान दिइएको लामाले बताए । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृखङ्ला देख्न सकिन्छ । बौद्ध धर्मवालम्बीले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । यस्तै ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । नगरले सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटेको छ । साथै नगरले युनेस्कोका नेपालस्थित प्रतिनिधिलाई औपचारिकरुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको छ । सूचीकृतका लागि प्रदेशस्तरबाटसमेत पहल भएको र सूचीकृतका लागि प्रशासनिक काम अघि बढिसकेको जनाइएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।

नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

काठमाडौं । नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। बरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिहरु हंगेरी राजदुताबास बाट मरियन यार्दो, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, समाजसेवी लायन महेन्द्र पौडेल, समाजसेवी अर्जुन खड्का, गीतकार चलचित्र निर्माता अनु शाह, कलाकार देबी थापा ओली, नेपाल हंगेरी चेम्बर अफ कमर्सका उपाध्यक्ष टंक नाथ पौडेल, महासचिब शान्त कुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र कुमार बिसुराल, सदस्यहरु चेत बहादुर सिंह, सुमन महर्जन, अम्बर बहादुर रायमाझी, काजि बहादुर श्रेष्ठ, दुर्गा बिसुराल, प्रतिक्षा पोखरेल, संदिपा थापा, नरेन्द्र कुमार मूल र सुरेश डंगोल लगायत अन्य बिशिष्ठ व्यक्तित्व, पत्रकार तथा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो। मौलिक कला संस्कृति आदानप्रदान कार्यक्रमले गर्दा दुइ देशीय अन्तर सम्बन्धलाइ प्रगाड बनाउने कुरा बक्ताहरुले कार्यक्रममा राखेका थिए भने नेपालमा संस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरियन कलाकारहरुले खुशी ब्यक्त समेत गरेका थिए । लगातार १ घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारहरुले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। उक्त कार्यक्रममा नेपालका कलाकारहरुले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए। आगामी दिनहरुमा दुइ देश बीच यस्तै मौलिक कला संस्कृतिलाइ प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुइ देश बीचको ब्यापार प्रबर्धनलाइ अझ सुदृड बनाउने र पर्यटनलाइ समेत टेवा पुग्ने कुरा नेपाल हंगेरी चेम्बर अफ कमर्सका महासचिब शान्त कुमार श्रेष्ठले बताएका थिए।

विराटनगरमा कामको पर्खाइमा भोकै श्रमिक

विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विराटनगरको भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँस चोक, भट्टा चोकमा सयौँको सङ्ख्यामा श्रमिक बिहानैदेखि भेला हुने गर्छन् । बिहानको ८ बजेसम्म काममा लागिसक्नु पर्ने भएकाले श्रमिकलाई एकाबिहानै घरबाट निस्किसक्नु पर्ने बाध्यता छ । झिसमिसे उज्यालोमा नै बहुसङ्ख्यक श्रमिक नास्तासमेत नगरी घरबाट विराटनगर हिँड्छन् । काम पाएको दिनमा मात्र विपन्न वर्गका श्रमिकको घरमा चुल्हो बल्ने गरेको छ । काम नपाएको दिन भोकै घर फर्कनु पर्ने श्रमिकलाई बाध्यता छ । घरको निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । तर हिजोआज काम भेटिन छाडेको छ । चाडबाड र आउनै लागेको निर्वाचनका कारण घर निर्माणको कार्य सुस्त बन्दै गएको श्रमिकको ठम्याइ छ । बिहान भोकै विराटनगर आइपुग्नु र फेरि निराश भएर भोकै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प श्रमिकले देखेका छैनन् । जहदा गाउँपालिका–३ का शिवानन्द राजवंशी ज्यामी काम गर्न शनिबार बिहानै विराटनगर आए पनि काम भेटिएन । बिहानको १० बजेसम्म कुर्दा पनि काम दिन कोही पनि आएन । राजवंशीले विगत डेढ महिनादेखि कैयौँ पटक यसरी भोकै फर्कनुपरेको बताए । धनपालथान गाउँपालिका–१ का कृष्णकुमार रामले विराटनगरमा काम भेटे दिउँसो खाने गरेको नत्र भोकै घर फर्कने गरेको बताए । काम नपाउँदा समस्या बढेको रामको भनाइ छ । उनले किस्ता तिर्न धौ–धौ परेको, चामल सकिएको र घरका बालबालिकालाई समेत खुवाउन मुस्किल परेको बताए । बर्जु गाउँपालिका–५ का सद्दाम हुसैन डकर्मी काम गर्न शनिबार आएका थिए । हुसैनले काम नभेटेको तीन महिना भयो । उनले घर चलाउन मुस्किल भएपछि छरछिमेकबाट सापटी लिँदै जेनतेन जीवन धानिरहेका छन् । बर्जु गाउँपालिका–५ का शम्भु यादवले ठेकेदार पनि कामविहीन हुँदा आफूहरूलाई समस्या भएको बताए । उनका अनुसार तीन महिनादेखि विराटनगरमा घर निर्माणको काममा कमी आएको छ । स्थानीय सरकारले दैनिक ज्यालामा काम गर्ने श्रमिकको समस्या सम्बोधन गर्ने विषयमा कुनै चासो नलिएको हुँदा आफूहरू भोकभोकै बस्नु पर्ने अवस्था आइलागेको यादवको गुनासो छ ।

उद्योग वाणिज्य संघद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

दाङ । जिल्ला उद्योग वाणिज्य सङ्घ दाङले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले आज एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो । आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट तीन लाख रुपैयाँ तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित दुई लाख २५ हजार रुपैयाँ सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले जानकारी दिए । तीनै व्यवसायीलाई जनही एक लाख ७४ हजार रुपैयाँ सहयोग गरिएको छ ।