विकासन्युज

निर्वाचन नजिकिएसँगै सुरक्षा व्यवस्था कडा, तीन लाख सुरक्षाकर्मीहरु परिचालित

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् । तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् ।आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न तीनवटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ । निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रुपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा नौजनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ । ‘समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दो छ, ढुक्कसँग मत दिने वातावरण छ’, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने । उनका अनुसार यसपटक २८ साना समूहले चुनाव बहिष्कार गर्छौं भनेका छन् । ती समूहको सूक्ष्म निगरानी भइरहेको छ । ‘उनीहरुको समूह ठूलो छैन तर पनि त्यसको हामीले हरेक कोणबाट निगरानी गर्ने र उसका गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेका छौँ’, उनले भने । यस्तो छ नेपाल प्रहरीको तयारी चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीले जनाएको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना बनाएको जनाइएको छ । विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ । सबै आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् । अलिकति समस्या उम्मेदवार र दलका प्रतिनिधिबीचमा हुने विवादहरु नै रहेको प्रहरीको निष्कर्ष छ । विगत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । त्यसमा केही घटना भएको छ, त्यो कसरी भयो, सुरक्षा कहाँ चुक्यो, त्यसबाट पाठ लिएर अहिलेको सुरक्षा योजना बनाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिए । प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उनले बताए । प्रवक्ता राईले भने, ‘हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत छन् भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।’ नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको जनाइएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले पनि थप सहज भएको प्रहरीको निष्कर्ष छ । यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पुर्याइन लागिएको छ । दोस्रो घेराको सुरक्षामा सशस्त्र प्रहरी मङ्सिर ४ को निर्वाचनमा तेस्रो घेराको सुरक्षा पहरामा रहेको सशस्त्र प्रहरीले ३५ हजार जनशक्ति परिचालन गरेको जनाएको छ । आवश्यक जनशक्ति निर्वाचनमा खटिइसकेका छन् भने केही तयारी अवस्थामा रहेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । त्यसका साथै दोस्रो घेरामा रहेर सुरक्षा दिने जिम्मेवारी सशस्त्र प्रहरी बललाइ छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले सशस्त्रको निर्वाचन सुरक्षा बेस स्थापना गरी सादा पोसाक र मोबाइल गस्तीहरु सुरु भइसकेको जानकारी दिए । सीमा क्षेत्रमा समेत आवश्यक निगरानी भइसकेको उनले बताए । सुरक्षा चुनौतीका आधारमा मतदानस्थलको वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको पनि उनले जानकारी दिए । सेनाको यस्तो छ निर्वाचन सुरक्षा नेपाली सेनाले यसपटकको निर्वाचनमा कुल ७५ हजार जनशक्ति परिचालन गर्दैछ । त्यसमध्ये आवश्यकताका आधारमा परिचालन हुनेछन् । सबै जनशक्ति परिचालन हुने गरी तयारी अवस्थामा रहेको छ । विगतको अनुभवका आधारमा एकीकृत सुरक्षा योजना मुताबिक सेनालाई प्राप्त म्यान्डेडअनुसार सबै जिल्लामा सेनाले निगरानी थालेको छ । जेल, विमानस्थललगायत सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिइरहेको ठाउँँमा समेत सेनाले जिम्मा लिइसकेको पनि उनले बताए । त्यसका साथै मतपत्र छपाइ भण्डारण तथा ढुवानीसम्बन्धी सुरक्षाको जिम्मा सेनाको छ । सेना निर्वाचनको तेस्रो घेरामा रहने सुरक्षा दस्ता हो । त्यसका साथै हवाई निगरानी र बम डिस्पोजको आवश्यक सबै काम सेनाले गर्नुपर्ने भएकाले त्यसको तयारी पनि सबै प्रदेशमा गरिएको प्रवक्ता सिलवालले बताए । यसअघि रहेको बेसले नभ्याउने ठाउँमा छुट्टै बस खडा गरेर निगरानी बढाएको पनि उनले जानकरी दिए ।

नेपाल लाइफको बीमालेख नवीकरण गराउने म्याद थपियो, ३५ प्रतिशत छुट पाइने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ । कार्त्तिक २४ गतेसम्म रहेको उक्त म्याद थपेर कार्त्तिक ३० गतेसम्म पुर्याएको हो । यससँगै बीमितले सो अवधिभित्र व्यत्तित बीमालेख नवीकरण गराउन सक्ने छन् । र, सो समयभित्र नवीकरण गराउँदै बीमाशुल्क ब्याजमा ३५ प्रतिशत छुट समेत पाइने कम्पनीले जानकारी गराएको छ । कम्पनीले २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेसम्मको बीमालेख नवीकरण गराएमा लाग्ने बीमाशुल्क ब्याजमा बीमितलाई ३५ प्रतिशत छुट दिने भएको हो । यससँगै उक्त अवधि अर्थात विगत २ वर्ष यताको व्यतित बीमालेख आगामी कार्त्तिक २४ भित्रमा नवीकरण गराउँदा बीमितले सो मात्राको छुट पाउने छन् । तर दुई वर्षभन्दा बढी समयदेखि निष्क्रिय भएका बीमालेखमा भने यो छुट लागू नहुने कम्पनीले स्पष्ट खुलाएको छ । त्यस्तै, बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः छुट नदिइने इन्स्योरेन्सले जानकारी गराएको छ ।

युक्रेनले भन्यो : रुसी सेना फिर्ता भएपछि मात्र वार्ता गर्छौं

किभ । रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिनुभएको युक्रेनी मिडियाले जनाएका छन् । इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनले युक्रेन रुससँग वार्तामा बस्नका लागि पनि उसका सबै सेनाको फिर्ती पहिलो सर्त हो भनेकाे युक्रेनी राष्ट्रपतिको प्रेस सचिवालयले जानकारी दिएको छ । हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने भन्दै सल्लाहकार मिखाइलोले यदि रुससँग वार्ता गर्ने हो भने त्यस अगावै उसले आफ्ना सबै सेना युक्रेनबाट फिर्ता गरिसक्नुपर्छ भने । हालैमात्र युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र रुसका रक्षामन्त्रीका बीचमा कुराकानी भइरहेको भन्ने समाचारको पनि उनले सो अन्तर्वार्तामा खण्डन गरेका छन् । उनले युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि स्पष्ट गरेका थिए । उनले युक्रेनको सहभागिता र सहमति बिना युक्रेनका बारेमा कहीँपनि कुनै निर्णय हुन नसक्ने र युक्रेनी जनताले पनि आफ्ना बारेमा अरु कसैले गर्ने निर्णयलाई नमान्ने पनि स्पष्ट गरेका थिए । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो । त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । रासस

प्रभावकारी बन्दै पाल्पाका विद्यालयमा स्वास्थ्य सेवा

पाल्पा । विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैँ पिरोल्दा कक्षा छाडेर उपचार लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ । विद्यार्थीलाई स्वास्थ्य सेवा सहज रुपमा विद्यालय हाताभित्र उपलब्ध गराउने उद्देश्यले रामतुलसी मावि रामपुरमा एकजना छुट्टै स्वास्थ्यकमी नर्स शिक्षकसहित स्वास्थ्य कार्यकक्ष तथा प्राथमिक उपचार सेवा प्रभावकारी बन्दै गएको छ । टाउको, पेट दुख्दा, सामान्य चोटपटक लाग्दा विद्यालयमा उपचार सेवा पाउँदा धेरै राहत पुगेको र यसले पढाइमा आत्मबल बढाएको विद्यार्थी प्रकृति पोखरेलले बताए । ‘सञ्चो नहुँदा पहिला सिधै उपचार नगरीकन घर गइन्थ्यो, धेरै असजिलो भएमा अभिभावक बोलाएर अस्पताल जानुपर्दा दुःख हुन्थ्यो, अहिले विद्यालयभित्रै प्राथमिक उपचार सेवाले धेरै सजिलो भएको छ’, उनले भने । कक्षा कोठामा सामान्य स्वास्थ्य समस्या आउदा बाध्यताले कक्षाकोठामै बसेर पढ्दा पढाइ प्रभावित हुन्थ्यो । अहिले अप्ठ्यारो परेमा विद्यालयमा स्वास्थ्य सेवा लिएर पढ्न पाउँदा पढाइमा सहज भएको विद्यार्थी स्वरुप मरासिनी बताउँछन् । बेलाबेलामा नर्स शिक्षकसँग स्वास्थ्यसम्बन्धी सल्लाह तथा उपचार सेवा नियमित रुपमा लिँदै आएको उनले बताए । रामतुलसी माविमा विसं २०७७ फागुन १६ देखि सो सेवाको व्यवस्था भएको हो । सामान्य समस्या हुँदा विद्यालय नआउने गरेका विद्यार्थीहरु अहिले नियमित आउन थालेको पाइएको छ । ज्वरो आउने, टाउको दुख्ने विशेषगरी छात्राहरुलाई महिनावारीका समय प्राथमिक उपचार सेवा लिन धेरै सहज भएको छ । स्वास्थ्य कक्षमा दुईवटा शय्या, एकवटा बिरामी बोक्ने स्टेचर, ब्लड प्रेसर जाँच गर्ने मेसिन, सेनेटरी प्याड, अक्सिजन जाँच गर्ने सामान लगायतका प्राथमिक उपचारका सबै सामग्रीको बन्दोबस्त छ । विद्यार्थीलाई प्राथमिक उपचार सबै निःशुल्क दिइएको छ । बिद्यालयमा कक्षा सञ्चालन नहुदा खेल खेल्दा लडेर चोटपटक लागेमा, एक्कासि ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्या भएमा स्वास्थ्य कार्यकक्षमा आउने गरेको नर्स शिक्षक सोनु सुवेदी बताउँछन् । नर्स सुवेदीका अनुसार एक महिनामा दुई सयभन्दा बढी विद्यार्थीले सो सेवा लिँदै आइरहेका छन् । गम्भीर खालका बिरामी भएमा अभिभावक बोलाएर थप उपचारका लागि अन्यत्र अस्पताल सिफारिस गर्ने तथा घरमै लगेर आराम गर्न सुझाव दिने गरिएको छ । नमुना विद्यालयअन्तर्गत सङ्गीत, स्वास्थ्य, खेलकुदका शिक्षक राख्नुपर्ने मापदण्डअनुसार विद्यालयले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आन्तरिक कोषबाट तलब व्यवस्थापन गरी एकजना नर्स शिक्षकको व्यवस्था गरिएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । ‘विद्यालयमा देखिने काम र सही सदुपयोग भएको छ, सामान्य समस्या परेमा अभिभावक बोलाउनुपर्ने, अस्पताल लैजानुपर्दा अप्ठ्यारो हुन्थ्यो’, उनले भने, ‘अहिले एकजना नर्स शिक्षक नै परिचालन गरेपछि गम्भीर प्रकृतिका बाहेक सबैजसो समस्या विद्यालयबाट समाधान हुने गरेको छ, फुर्सदको समयमा पालैपालो कक्षाकोठामा स्वास्थ्य सचेतना समेत दिने गरिएको छ ।’ रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले रामपुरमा सामुदायिकतर्फ रामतुलसी र जनविकास मावि, निजीतर्फ भूपूसैनिक राइजिङ बोर्डिङ स्कुलमा नर्स शिक्षकको व्यवस्था रहेको र यसले शिक्षण सिकाइमा धेरै राम्रो प्रभाव पारेको बताउँछन् । जनविकास माविमा प्रदेश नमुना विद्यालय योजनाअन्तर्गत सङ्गीत, खेलकुद, नर्स शिक्षक व्यवस्था गर्नुपर्ने रहेकाले सोही अनुसार सोको व्यवस्था गरिएको हो भने सङ्घअन्तर्गत नमुना विद्यालयमा छनोटमा परेका विद्यालयमा सङ्गीत, खेलकुद, नर्स शिक्षकको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको छ । सोही अनुसार रामतुलसीमा प्राथमिक उपचार कक्षसहित एकजना नर्स शिक्षक नै व्यवस्था गरिएको हो । रासस

४१ वर्ष पुरानो गण्डक जलविद्युत केन्द्र पुनर्स्थापना गरिने, ४२ करोड खर्च लाग्ने अनुमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरुको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनर्स्थापना र आधुनिकरण गर्न लागिएको हो । विद्युत केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन् । नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत उत्पादन सुरु भएको थियो । भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युतगृह ३१ अगष्ट १९८१ मा हस्तान्तरण गरिएको थियो । एनइए इन्जिनियरिङ कम्पनीले गण्डक जलविद्युतगृहको पुनस्र्थापना र आधुनिकरणको विस्तृत डिजाइन, लागत अनुमान तयार गरी प्राधिकरणमा पेश गरिसकेको छ । जलविद्युत केन्द्रको पुनस्र्थापना र आधुनिकरणका लागि करिब ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्युतगृहमा ५/५ मेगावाटका तीन वटा युनिट रहेका छन् । त्यसमध्ये २ वटा चल्ने अवस्थामा छन् भने एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन । चालू अवस्थामा रहेका युनिटका उपकरणहरु पुराना भएकोले फेर्नु पर्ने अवस्थामा छन् । दुई देशबीचको गण्डक सम्झौता बमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकोले भारतले नहरमा पानी छोडेका आधारमा विद्युतगृह सञ्चालन हुन्छ । जसले गर्दा विद्युतगृहलाई सजिलोसँग निरन्तर रुपमा वर्षैभरी सञ्चालन चुनौतीपूर्ण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको छ । कार्यकारी निर्देशक घिसिङले ४१÷४२ वर्षअघि निर्माण भएको विद्युत केन्द्रका उपकरणहरु पुरानो भई चल्न नसक्ने अवस्थामा पुगेका र केन्द्र आफैं पनि जीर्ण बनेकोले पुनस्र्थापना तथा आधुनीकरणका लागि छिट्टै टेण्डर गर्न लागिएको बताए । ‘मर्मतसम्भार र निरीक्षण भन्दै भारतीय पक्षबाट हरेक साल अक्टोबर–नोभेम्बर र मार्च–अप्रिलमा गरी झण्डै चार महिना नहर बन्द गर्ने गरिएको छ, नहर बन्द गरिएपछि पानी उपलब्ध नहुँदा विद्युतगृह सञ्चालन गर्न सकिंदैन, चार महिना विद्युत उत्पादन बन्द हुँदा हामीले दैनिक रुपमा लाखौं रुपैयाँ आम्दानी गुमाउँछौं’, उनले भने, ‘उपकरणहरु पुरानो भएकोले पानी उपलब्ध हुँदासमेत विद्युत केन्द्र पूर्ण क्षमतामा चल्न सकिरहेको छैन त्यसैले यसको पुनस्र्थापना र आधुनिकरण गर्न लागिएको हो ।’ नेपाल–भारत सीमाको बिहार राज्यको बाल्मिकी नगरमा नारायणी नदीमा बाँध बनाइएको छ । उक्त बाँधबाट गण्डक मुख्य पूर्वी र पश्चिम दुई वटा नहर निर्माण गरी भारतर्फ सिंचाइका लागि नारायणी नदीको पानी लगिएको छ । भारतको उत्तर प्रदेश राज्यमा सिंचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट विद्युतगृह सञ्चालनका लागि पानी उपलब्ध हुन्छ । बाँधबाट झण्डै १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा विद्युतगृह रहेको छ । बिहार राज्यको जलसंसाधन विभागले गण्डक बाँधको सञ्चालन र मर्मत सम्भार गर्दै आएकोले उसकै नियमनमा बाँध सञ्चालन हुन्छ । विभागले आफ्नो राज्यको आवश्यकता अनुसार बाँधका ढोका खोली पानी लैजाने हुँदा सोही बमोजिम गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन हुँदै आएको छ । जाडो मौसममा सिंचाइका लागि पानी नचाहिने भएकोले हरेक वर्ष विभागबाट मर्मतसम्भार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिंदा उक्त समयमा विद्युत उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत केन्द्र प्रमुख सुनील कुमार चतुर्वेदीले बताए । ‘हरेक वर्ष नहरको मर्मत गरिने भनिएको हुन्छ, तर हामीले हेर्दा मर्मतको काम भएको देखिंदैन, हरेक साल करिब ४ महिना नहर बन्द हुँदा विद्युत उत्पादन गर्न सकिंदैन’, चतुर्वेदीले भने, ‘हरेक वर्ष नहरको मर्मत आवश्यकता पर्दैन, यसबारे पटक–पटक विभागका अधिकारीहरुसँग छलफल गरिएको छ तर कुनै निश्कर्ष निकाल्न सकिएको छैन ।’ उत्पादित विद्युत गण्डक विद्युत केन्द्रको परिसरमा रहेको १३२ केभी गण्डक सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत बर्दघाट सबस्टेसन र भारतको रामनगरतर्फ प्रवाह गर्न सकिन्छ । प्राधिकरणले आवश्यक परेकोमा वेला रामनगर सबस्टेसनबाट करिब ४० मेगावाट विद्युत गण्डक हुँदै आयात गर्ने गरेको छ । प्राधिकरणले गण्डकमा रहेको १३२/३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरी परासी क्षेत्रमा विद्युत आपूर्ति दिइरहेको छ । गण्डकको खाली जग्गामा सौर्य विद्युत नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९।७ बिघा जग्गामा सौयै विद्युत आयोजना निर्माण गरिने छ । गण्डकसहित लमजुङ स्थित मध्यमस्र्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरिने छ । आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो रहेको छ । आयोजना निर्माणका लागि जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुने छ । अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेर्होने छन् । मध्यमर्स्याङ्दी र झुप्राखोला जलविद्युत केन्द्रमा क्रमश : करिब १ र २ मेगावाटका सौर्य विद्युत राखिने छ । सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री राखिने छैन । एक वर्षभित्र ठेक्काट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले बताए । आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।

नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध

नवलपरासी । आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो’, प्रजिअ सुमन घिमिरेले भने, ‘निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्तिसुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रीवितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।’ निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । रासस

पढ्नलाई उमेरले छेकेन : दुई छोरी र एक छोरासँगै विद्यालय

दमौली । ‘पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ’, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, ‘जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ ।’ व्यास–२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहेका परियारले विद्यालय छाडेको २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिएका छन् । व्यास–१४ स्थित केशवटार माविमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाइ छाडेका बुढाले गत वर्ष सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका थिए । एसइईमा एक दशमलव छ जिपिए ल्याएका उनले हाल बाल मन्दिर माविबाट उच्च शिक्षा सुरुआत गरेका छन् । अझ रोचक त के भने परियारका दुई छोरी र एक छोरा पनि यही विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा १३ वर्षीय शिवशङ्कर बुढा परियार कक्षा ६ मा अध्ययनरत छन् । छोरी ११ वर्षीया पूर्णिमा परियार कक्षा ४ र अर्की छोरी नौ वर्षीया लक्ष्मी परियार कक्षा एलकेजीमा अध्ययनरत छन् । छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लाग्ने गरेको परियार बताउँछन् । ‘हामी त सबै एउटै विद्यालयमा पढ्छौँ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्छ’, परियारले भने, ‘सुरु–सुरुमा त केही अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले त सबै विद्यार्थी साथी जस्तै भइसके ।’ परियारको कक्षामा ४२ विद्यार्थी छन् । सबै विद्यार्थी छोराछोरी जस्तै लाग्छन् । ‘उमेरका हिसाबले सबै छोराछोरी जस्तै लाग्छन्, अहिले त सबै मेरा साथी हुन्’, परियारले भने । सुरुमा विद्यालय जाँदा विद्यार्थीहरु खिस्स हाँस्ने गरेको उनले सुनाए । यसरी आयो पढ्ने सोच नेपाल कराते सङ्घ गोजो एकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयम्सेवक प्रशिक्षकलाई अन्तर्वार्ता दिन गएका थिए । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भने पनि उनी छनोट भएका थिएनन् । त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हीनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो । ‘खेलकुदबाट स्वयम्सेवक प्रशिक्षक खटाउने भनेर अन्तर्वार्ता दिन जाँदा एसएलसी उत्तीर्ण नहुँदा फालिएँ, त्यहाँबाट पढ्न पर्ने रहेछ भन्ने लाग्यो’, परियारले विगत सम्झँदै भने, ‘पढाइ जस्तो ठूलो केही पनि रहेनछ भन्ने अनुभूति भयो ।’ राजनीतिमा पनि आस्था रहेको र पछि गएर पढाइले केही समस्या हुन्छ भन्ने लागेर दुई वर्षअघि केशवटार माविमा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएको परियारले बताए । केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियार सम्झिन्छन् । ‘उनले सधैँ मलाई अध्ययनका लागि प्रोत्साहित गरिरहन्थ्यो, कक्षा ९ मा पुनः भर्ना हुने बेलामा पनि उनले मलाई सहयोग गरे’, परियारले भने, ‘पढ्नलाई उमेरले छेक्दैन, अध्ययन छाडेकाहरुलाई पनि पुनः अध्ययनलाई निरन्तरता दिनुस् भन्न चाहन्छु ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराते सङ्घ गोजो एकाइको प्रमुख प्रशिक्षक रहेका परियारले विद्यावारिधी गर्ने लक्ष्य रहेको बताए । ‘मेरो लक्ष्य विद्यावारिधी गर्ने लक्ष्य छ, बाँचुन्जेल पढेँ भने विद्यावारिधी गर्छु भन्ने आशा छ’, परियारले भने, ‘पढाइ भनेको जीवनलाई अति आवश्यक छ, इच्छा लाग्यो भने पढाइलाई उमेरले छेक्दैन, यत्तिको उमेरको मान्छे त आएर पढेको छ भनेर विद्यालयका बालबालिकामा पनि पढ्ने प्रोत्साहन जागेको छ ।’ परियारको पढ्ने इच्छाले पढाइलाई उमेरले छेक्दैन भन्ने प्रमाणित भएको बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनालले बताए । ‘उनको पढ्ने आँट र साहस देखेर विद्यालयमा विद्यार्थीलाई प्रेरणा मिल्नाका साथै हौसला प्राप्त भएको छ’, खनालले भने, ‘हामीहरुले पनि उनलाई हौसला दिइरहेकाछौँ ।’ रासस

प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प मलाई छैन : गगनकुमार थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् । बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन् । उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताए । महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए । ‘यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको छ, मेराे निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको छ र त्यसलाई गर्ने पूरा गर्ने प्रतिवद्धता गर्दछु,’ उनले भने । निर्वाचन आयोगले उम्मेदवारहरुलाई सभा, गोष्ठी, सेमिनार लगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरु नागरिकको घरदैलोमा पुगेर भोट माग्न ब्यस्त छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ । निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरुलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ ।