डेंगीबाट प्रदेश १ का वनमन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधन
काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापाको ५६ वर्षका उमेरमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे १० बजे निधन भएको हो । मन्त्री थापा केही दिनअघि डेंगीबाट संक्रमित भएका थिए । मोरङ क्षेत्र नम्बर ३९१० मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो । थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
पोखरा विश्वविद्यालयले आयोजना गर्यो जापानमा उच्च शिक्षाको शैक्षिक संवाद कार्यक्रम
पोखरा । पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको सहकार्यमा विश्वविद्यालयको प्राज्ञिक भवन लेखनाथमा आयोजित विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले बजारको आवश्यकताअनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेर देशको सामाजिक एवम् आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए । उनले शिक्षाको गुणस्तर र नवीनताका लागि विश्वविद्यालयले अनुसन्धानमा जोड दिएको उल्लेख गर्दै विश्वका अन्य मुलुकसँगै जापान शैक्षिक अवसर र रोजगारीका लागि प्रमुख गन्तव्य रहेकाले त्यहाँ शैक्षिक एवम् अनुसन्धानात्मक गतिविधिमा सहकार्य गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । नेपालका लागि जापानी राजदूत किकुता युताकाले भिडियो सन्देशमार्फत नेपाल र जापानको सम्बन्ध अभिवृद्धि गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विचार व्यक्त गरे । इन्टरनेसनल प्रोजेक्टस प्रमोसन गु्रप, रिसर्च प्रमोसन डिपार्टमेन्ट, दी युनिभर्सिटी अफ टोक्योका सल्लाहकार काजिहिरो मोरीले पोखरा नेपालको अत्यन्त सुन्दर ठाउँ रहेको उल्लेख गर्दै विद्यार्थीको सुन्दर भविष्यका लागि पोखरा विश्वविद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्न आफू इच्छुक रहेको बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक पवन भट्टराई, रित्सुमेइकान एसियाप्यासिफिक युनिभर्सिटीका पूर्वनेपाली विद्यार्थी राशी महर्जन, नेपालस्थित जापानिज राजदूतावासका द्वितीय सचिव मायुको सातो, ग्लोबल एडमिसन अफिसका राई यिसिडा, टोक्यो युनिभर्सिटी अफ फरिन स्टडिजका साराश्री ढुङ्गाना, टोक्यो युनिभर्सिटी अफ फरिन स्टडिज एडमिसन सेन्टरका मिजुहो युनो, इन्टरनेसनल युनिभर्सिटी अफ जापानका राशी गुप्ता र क्योटो युनिभर्सिटी अफ एडभान्स साइन्सका कियोशी ताकेदाले प्रस्तुतीकरण गरे । उनीहरूले जापानको विश्वविद्यालय जीवन, अध्ययन अवसर, छात्रवृत्तिलगायत मानविकी तथा सामाजिकशास्त्र, इञ्जिनियरिङ, व्यवस्थापन विषयमा अध्ययन गर्न आवश्यक प्रक्रिया र चाहिने योग्यताका बारेमा प्रस्तुतीकरण गरेका थिए । सुन्दर र विकसित देशका रूपमा परिचित जापान नेपाली विद्यार्थीका लागि उच्च शिक्षासँगै आर्थिक उपार्जनको प्रमुख गन्तव्य रहेको छ । यहाँ विद्यार्थीलाई आइटी, इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम लगायतका विषयको माग बढी देखिएको र यी विषय अध्ययन गर्दा स्वदेशमा आएर पनि राम्ररी स्थापित हुन सकिने कार्यक्रममा जोड दिइयो । कार्यक्रममा दी युनिभर्सिटी अफ टोक्योका डा दीपेश खरेल, जगदीश खरेल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सहप्राडा उमेशसिंह यादव लगायतले जापानमा उच्च शिक्षा अध्ययनको अवस्था लगायतमा प्रकाश पारे । रासस
मलाई पैसा पुगिसक्यो, मुस्ताङको विकासकै लागि ५५ करोडको रिसोर्ट खोलेँ : सोनाम शेर्पा
काठमाडाैं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपैयाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रबारबाट सञ्चालनमा आएको हो । पर्यटकको चाप बढेपनि स्तरीय र सुविधासम्पन्न होटल संरचनाको अभाव रहेकाले आफूले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल बनाएको उनी बताउँछन् । बुटिक अवधारणामा करिव १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा र एक हल र अन्य आठको कोठा निर्माण कार्य पनि भइरहेको छ । होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाकोसमेत सुविधा रहेको छ । होटल सञ्चालन आएको ३५ वर्षपछि होटल मुक्तिनाथका जनतालाई हस्तान्तरण गर्ने लामाको भनाई छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मालम्वीहरु दर्शन गर्नको लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुको लागि साकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने होटलको तयारी रहेको छ । रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत उपलब्ध हुने बताउनु भयो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छन् । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा पुगेर ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी थिइन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा रिसोर्टका सञ्चालक लामासँग मुस्ताङमा नै रिसोर्ट बनाउन करोडौं लगानी गर्नुको कारण लगायत मुस्ताङको पर्यटन विकासका विषयमा कुराकानी गरेका छौं । हिमालपारिको जिल्लामा करोडौंको लगानीमा रिसोर्ट बनाउने सोच कहिलेदेखि आएको थियो ? म नेपालको हिमालपारी तथा विकट जिल्ला मुस्ताङको सामान्य परिवारमा जन्म लिएको मान्छे हुँ । म मुस्ताङ जिल्लामा जन्म लिएपनि काठमाडौंमा धेरै समय दुःख गरेर बसेँ । त्यसपछि विदेश गएँ । विदेशमा बस्दा गैर आवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्षसमेत भएर काम गरेँ । म मुस्ताङ जस्तो जिल्लामा जन्म लिएर विदेशमा गएर काम गरेर मुस्ताङको पर्यटन विकासको लागि केही काम गर्न पाउनु आफ्नो बुबा आमाको श्रेय हो । आफूसँग भए आफू जन्मको ठाँउ र समाजसेवा,आफ्नो देशलाई सहयोग गर्नुपर्छ भन्ने भावना छ । समाजसेवा गर्नु धर्म हो । मैले मेरो छोराछोरीलाई कमाइ दिनुपरेको छैन । आफैँ राम्रो काम गर्ने भएका छन् । उनीहरुबाट नै मलाई मुस्ताङको पर्यटन विकास र समाज सेवा गर्न साथ सहयोग रहेको छ । आफू जन्मेको ठाउँमा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्नु मेरो पहिले देखिको उदेश्य रहेको थियो । तर अहिले आएर सम्भव भयो । मैले मेरो लागि भन्दा पनि मुस्ताङ मुक्तिनाथ क्षेत्रको लागि पर्यटन पूर्वाधार होटलमा लगानी गरेको हो । गैरआवासीय नेपाली संघ पूर्व उपाध्यक्ष भइसक्नुभएको मान्छे तपाई विश्वका जुनसुकै देशमा होटलमा लगानी गर्न सक्नुहुन्थ्यो, तर विदेशमा लगानी नलगाएर करौडौंको लगानी मुस्ताङमा नै किन ? मानिसहरुले गर्न नसक्ने भन्ने कुरा कुनै छैन । मुक्तिनाथ क्षेत्रमा अहिलेसम्म त्यति धेरै पर्यटकको लागि सुविधा सम्पन्न होटल बनेका छैनन् । मुक्तिनाथ क्षेत्रमा सबै होटलहरु होम स्टेको रुपमा चलेका थिए । होम स्टेका रुपमा होटलहरु चलाउँदा मुक्तिनाथ क्षेत्रमा आउने पर्यटकहरुले पर्यटकीय क्षेत्रमा राम्रो होटलहरुको सुविधा नभएको गुनासो गर्ने गरेका थिए । मैले मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा विदेशी पर्यटकका लागि सुविधा सम्पन्न होटल तथा मुस्ताङका व्यवसायीहरुलाई पनि सिक्ने अवसर बनाउनको लागि रिसोर्टमा लगानी गरेको हुँ । पर्यटकहरु आएर बस्ने होटलहरुमा लजिङ, फुडिङ तथा शौचालयहरु कस्तो राख्ने, बेड रुम कस्तो बनाउने होटल तालिम समेत दिने सोच बनाएर रिसोर्ट बनाउन लागेको हो । मैले १०० रोपनी गाउँको जग्गा लिजमा लिएर होटल बनाएको हो । मुक्तिनाथ क्षेत्रलाई र यहाँको समाजलाई केही योगदान होस भनेर मुस्ताङ मुक्तिनाथ क्षेत्रमा लगानी लगाएको हो । मैले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा कमाउनको लागि लगानी गरेको होइन । मुक्तिनाथ क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि हो । मलाई कमाउनको लागि देश तथा विदेशमा ठूलो लगानी गर्नसक्छु । अहिले पनि अमेरिकामा ७ वटा डिपार्टमेण्ट स्टोर सञ्चालनमा छन् । मैले समाज सेवाको लागि मात्रै आफू जन्मेको ठाँउमा लगानी गरेको हो । मलाई खर्ब र अर्बौ रुपैयाँ पैसा चाहिएको छैन । मलाई चाहिने पुगेको छ । म शिक्षा क्षेत्रको विकासको लागि सहयोग गरिरहेको छु । मेरो चाहना दुर्गम क्षेत्रमा शिक्षा ,स्वास्थ्य तथा विपन्नहरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रहेको छ । होटल सम्पूर्ण रुपमा तयारी हुँदा लागत कति पुग्छ, होटलका सेवा सुविधाहरु के–के छन् ? होटलमा २० कोठा रहेको छ । जसमा एक हल छ । होटलमा हिटिङ समेत भएको बुटिक स्तरको छ । बाँकी ८ वटा कोठा २ महिनामा तयारी हुन्छ । त्यसमा सोना, स्पा सेवा सुविधा थप हुन्छ । चिसो ठाउँ भएकाले होटलमा मौसम अनुसारका पर्यटकको सुविधाको लागि सोना स्पाको व्यवस्था गरिन्छ । होटलमा लगानी किस्ता किस्तामा भइरहेको छ । पहिलो पटक २५ करोड लगानी लागेको छ । सम्पूर्ण रुपमा होटल तयारी हुँदासम्म ५५ करोड लगानी गर्ने सोचमा रहेको छु । मुक्तिनाथमा धेरै हिन्दु धर्मालम्बिहरु आउने भएकाले हिन्दु तीर्थयात्रीहरुको लागि होटलमा मासु रहितको छुटै रेष्टटुरेन्ट सञ्चालनमा ल्याउने तयारी छ । होटलमा नै योगा सेन्टर खोल्ने योजना रहेको छ । होटलमा सबै सेवा सुविधा थप्दै जाँदा ५५ करोडभन्दा बढी लगानी लाग्नसक्ने आँकलन रहेको छ । ५५ करोड लगानी गरेर मुस्ताङमा लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा ल्याउँदा मुस्ताङका जनतालाई के फाइदा देख्नुहुन्छ ? यो होटल भएको स्थान बरागड मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा न १ मा पर्छ । यो होटल कागवेनीदेखी देख्न सकिन्छ । रिसोर्टको वरीपरी ६०० स्याउका बिरुवाहरु पनि रोप्न शुरुवात भएको छ । यो मुक्तिनाथको मुखमा नै छ । मान्छेहरुले मुक्तिनाथ जाँदा बस्ने खाने लजिङ फुङिङ राम्रो छैन भन्छन् । त्यसको व्यवस्थाको लागि पनि होटल बनाएको हो । अब होटलमा नै उच्च हिमाली क्षेत्र रहेकाले बिरामी पर्ने तिर्थयात्रीहरुको लागि अक्सिजन तथा औषधि मेडिकल खोल्ने तयारी पनि गरेको छु । मुक्तिनाथ क्षेत्रमा आउने धार्मिक तथा अन्य विदेशी पर्यटकहरुले दुःख नपाउने गरी सबै व्यवस्था सहितको रिसोर्ट बनाउने सोच बनाएको छु । विशेष गरी विदेशी पर्यटकको लागि बढी प्राथमिकता राखेर रिसोर्ट सञ्चालन गर्न लाग्नु भएको छ, मुक्तिनाथ क्षेत्रमा आन्तरिक पर्यटकहरु पनि आउछन्, मुक्तिनाथ क्षेत्रमा आउने आन्तरिक धार्मिक पर्यटनहरुले रिसोर्टको कस्तो सुविधा लिन सक्छन ? मुक्तिनाथ क्षेत्रमा पनि नेपालीहरु धेरै खर्च गर्ने राम्रो सेवासुविधा भएको होटलमा बस्ने हुन्छन् । सोना, स्पा भएको ठाउँमा बस्ने हुन्छन् । नेपालीहरु पनि धनी छन् । सामान्य परिवारका नेपालीहरुको लागि पनि मुक्तिनाथमा त्यही अनुसारका अन्य होटलहरु रहेका छन् । त्यहाँबाट सेवा पाउन सक्छन् । तर उहाँ स्टारहरु नभएकाले यो होटलमा स्टार होटलको रुपमा विस्तार गर्ने र त्यही अनुसारको सेवा सुविधा दिन्छौं । स्टार होटलको सुविधा खोज्नेहरुको लागि यो लो मुस्ताङ हिमालयन रिसोर्ट बनाएको हो । मुस्ताङमा पर्यटन क्षेत्रको विकास किन हुन नसकेको र अब राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ? मुस्ताङमा पर्यटन क्षेत्रको विकास गर्न मुख्य बाधक सडक सञ्जाल रहेको छ । कालीगण्डकी करिडोर बनाउन लागेको धेरै समय भएको छ । तर सडक बिस्तार राम्रो हुन सकेको छैन । त्यो सडक बिस्तार व्यवस्थित बनाएर चीनको कारोला नाका जोड्नसके मुस्ताङमा पर्यटन विकासमा धेरै अवसरहरु रहेका छन् । मुस्ताङको समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ । मुस्ताङमा फल्ने स्याउ,आलु र सिमी अग्र्यानीक हुन्छ । मुस्ताङ नेपालको पर्यटकको लागि पहिलो नम्बर ठाउँ हो । त्यसको लागि सडक राम्रो हुनुपर्छ । जलवायु परिवर्तनका कारण केही असर परेकोले जलवायु परिवर्तन नहुने गरी वातावरण संरक्षण गर्नुपर्ने अवस्था छ । ट्रेकिङ र साइकिलिङ पर्यटकका लागि राम्रो रुट बनाउनु पर्ने देखिएको छ । मुस्ताङको पर्यटक विकासको लागि मुख्य गरेर म्याग्दीको सडक बिग्रिरहने समस्याले मारमा पारेको छ । मुस्ताङ जिल्लाको सडक राम्रो रहेको छ । मुस्ताङ आउँदा नेपालीहरुले नै नेपाल नै होर भन्ने गरेका छन् । मुस्ताङ पर्यटनको लागि प्रचुर सम्भावना रहेको जिल्ला हो । वातावरणका हिसावले पनि सबै मिलेको ठाउँ रहेको छ । मुस्ताङको मात्रै नभएर समग्र नेपालमा पर्यटकको कस्तो सम्भावना देख्नुभएको छ ? मुस्ताङको मुक्तिनाथमा अहिले आन्तरिक पर्यटकहरुलाई नै ठाउँ दिन सकिएको छैन । कोरोला नाका नजिक भएकाले चीन नजिक छ । हिन्दुराज्य भारत नजिक रहेको छ । त्यसले गर्दा भारत र चीनबाटसमेत धार्मिक पर्यटक ल्याउन सडक राम्रो बनाउनसके मुक्तिनाथ क्षेत्र नेपालको धार्मिक पर्यटन क्षेत्रमा पहिलो नम्बरमा आउँछ । अहिले एयरप्लेनको समरमा समस्या रहेको छ बाँकी पर्यटनको लागि राम्रो अवसर रहेको छ । मुस्ताङमा मुक्तिनाथ दर्शन गर्नेदेखि हिउँ पर्दा हिउँ खेल्न पर्यटकहरु आउछन् । अहिले मुक्तिनाथ क्षेत्रमा विद्युतको समस्या रहेको छ । चिसो समयमा होटलहरुमा हिटिङ रुपको व्यवस्था गर्दा प्रशस्त आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिन्छ । नेपाल एक अथाह पर्यटकिय सम्भावना बोकेको देश हो । गर्नसके विदेशमा जानुपर्ने अवस्था छैन । गैर आवासीय नेपाली संघमा आवद्ध नेपालीहरुलाई नेपालमा आफू जन्मेको ठाउँमा लगानी लगाउने विषयमा के भन्न चाहनुहुन्छ ? गैर आवासीय नेपाली संघमा लाखौं नेपालीहरु आवद्ध हुनुहुन्छ । उहाँहरुको सोच र मेरो सोच मिल्दैन । संघको प्लेटफर्म प्रयोग गरेर काम गर्ने होइन । एनआएरएनमा मसँग विचार मिल्ने शेष घले दाई हुन् । हामीले नेपालको विकासको लागि काम गर्ने सोच राखेका छौं । तर अहिले गैर आवासीय नेपाली संघ आफ्नो व्यक्तिगत स्वार्थको लागि कमाउने थलो बनाउने काम भएको छ । एनआरएन संस्था राम्रो हो । संस्थामा भएर नै मुक्तिनाथ क्षेत्रमा भगवान गौतम बुद्ध र विष्णुको मूर्ति बनाउन सकेको हो ।
पर्यटकको रोजाइ बन्दै लमजुङको अक्टोपस र बुङ झरना
लमजुङ । बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टा झैँ झरेको अक्टोपस झरना पनि हो । वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ । यहाँ यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘पदमार्गमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै झरनामा आउने पर्यटक आगमनमा पनि वृद्धि हुन थालेको छ ।’ यतिबेला चुनावले अधिकांशको ध्यान केन्द्रित गरिरहे पनि पर्यटकलाई भने सो लगायतका झरनाले ध्यान केन्द्रित गर्दै लोभ्याइरहेको उनको भनाइ छ । सवारीसाधनमा मनाङ गएका पर्यटकसमेत त्यहाँ पुगेपछि एकै छिन भए पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन् । छहराले त्यहाँ पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ । छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । पहिलोदेखि तेस्रो लहरको कोरोना सङ्क्रमणका कारण लामो समय सुनसान भएर उक्त सङ्क्रमण जोखिम कम भएसँगै दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेकोे छ । यस झरनामा विशेषगरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक झरनामा आउने गरेको स्थानीय सरोज विश्वकर्माले बताए । उनी मात्र नभई उक्त झरनामा पुग्ने अधिकांश पर्यटकको भनाइ उस्तै हुन्छ । यो झरना बेँसीसहर–चामे सडकको बीच भागमै झर्ने भएकाले सवारी मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई त रुझाउने गर्दछ । यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा अधिकांश पर्यटकले हाल्ने गरेको स्थानीयको भनाइ छ । केही समयसम्म सवारीसाधनमा मनाङ आवतजावत गर्नेमध्ये केही यात्रु दैनिक १०/१२ जना मात्र झरनामा रमाउने गरे पनि यतिबेला पर्यटक ह्वात्तै बढेकोे स्थानीयको भनाइ छ । यसरी पर्यटक आगमन हुँदा पर्यटन व्यवसायसमेत फस्टाउने यहाँका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । उनले भने, ‘पर्यटक लोभ्याउने यस्ता झरनाको थप प्रचारप्रसारका साथै व्यवस्थित गर्न सके बाह्रै महिना पर्यटकको आगमन हुने र व्यवसायसमेत राम्रो चल्नेछ ।’ त्यस्तै अन्नपूर्ण पदमार्ग नजिकै पर्ने सोही वडास्थित बुङ झरनामा समेत यतिबेला पर्यटकमा वृद्धि हुन थालेको छ । केही समयसम्म सुनसान रहेको यस झरनामा यतिबेला ८० देखि एक सयजनासम्म दैनिक पर्यटक आउने गरेका बताइन्छ । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहराले पर्यटकको मन तान्न थालेको छ । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्बिर लिने, सेल्फी खिच्नेको भीडभाड हुनेगरेको स्थानीय पूर्णबहादुर गुरुङको भनाइ छ । रासस
यी हुन् विवाहपछि झन् अब्बल बनेका अभिनेत्री
काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ । यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन् । सदाबहार अभिनेत्रीको ट्याग पाउनु भएकी अभिनेत्री करिश्मा मानन्धरले अभिनय यात्रामा सफलता विवाह पश्चात प्राप्त गरेकी हुन् । कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । बिस.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन् । यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ । उनले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चातनै हो । उनले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदैछ । २०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित भइन् । यो फिल्ममा उनको पति सुनिलकुमार थापाले निर्माण गरेका थिए । उनी होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित भएकी हुन् । ‘मेरो करिअरमा ‘ए मेरो हजुरको महत्व छ । यहीँ फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ । यहीँ नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो’, अभिनेत्री थापाले भनिन्,’मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाही लाग्थ्यो ।’ रेखा थापाले विवाह पश्चात अभिनय प्राप्त गरेकाे सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा झनै सक्रिय नै छन् । ‘विवाह पश्चात झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुने रहेछ । श्रीमान्को साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु,’अभिनेत्री शर्माले भनिन्,’अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन् ।’ उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ ।
तीव्र गतिमा सवारी हाँक्ने चालकले अनिवार्य सचेतना कक्षा लिनुपर्ने
काठमाडौं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ? एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय क्षति भएको भन्दै दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जरिवनासहित सचेतना कक्षाको व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीव्र गतिका कारण तीन हजार पाँच सय ४३ र चालु आवको तीन महिनामा तीव्र गतिका कारण छ सय ४९ दुर्घटना भएको छ । आव २०७८/७९ मा १८ हजार चार सय ४७ र चालु आवको तीन महिनामा आठ हजार पाँच सय ८४ तीव्र गतिमा चलाउने चालकलाई कारबाही गरे पनि सवारी चालकमा सचेतना कमी भएको भन्दै कक्षा सञ्चालन गर्न लागिएको प्रवक्ता भट्टले बताए ।
अब एउटा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने, बीमा प्राधिकरणले गर्यो कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो । उक्त निर्देशन अनुसार अबदेखि एउटा बीमा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने भएको छ । प्राधिकरणले जीवन तथा निर्जीवन सबै बीमा कम्पनीहरुलाई एउटा मात्रै कम्पनीको अभिकर्ता बनाई काम गराउने व्यवस्था मिलाउन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (७) बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भन्ने व्यवस्था रहेको हुँदा त्यस बीमकमा आवद्ध बीमा अभिकर्ताहरूलाई स्वेच्छिक छनौट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई कार्य गराउनुहुन र सोको जानकारी प्राधिकरणमा गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ उक्त निर्देशिकामा उल्लेख छ । यसअघि एक जनाले विभिन्न कम्पनीको अभिकर्ता भई काम गर्न पाउने व्यवस्था थियो । अब भने स्वेच्छिक रुपमा एउटा कम्पनीमा मात्रै काम गर्न पाइने भएको छ । यद्दपि, जीवन बीमा कम्पनीको अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न र निर्जीवन बीमा कम्पनीको अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न भने पाउने छन् ।
नवलपरासीमा एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताए । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिए । वडा कार्यालयले निःशुल्क एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो । स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै एक हजार एक सय प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताए । स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताए । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । सो वडाले चालु आर्थिक वर्ष २०७९/८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि चार लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष मल्लले बताए । आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउँछन् । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी पाँच वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताए । वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकाङ्क माथि उठाउन नसकिने मल्लको भनाइ छ । उक्त वडामा छ सय १६ घरधुरी रहेका छन् । यहाँका करिब दुई सय ५० परिवारले स्वास्थ्य बीमाको लाभ लिएका छन् । वडाले सुरु गरेको विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने अभियानले थप एक सय परिवार स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुने वडाध्यक्ष मल्लले बताए । रासस