दाङ । जिल्ला उद्योग वाणिज्य सङ्घ दाङले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ ।
सङ्घले आज एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट तीन लाख रुपैयाँ तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित दुई लाख २५ हजार रुपैयाँ सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले जानकारी दिए । तीनै व्यवसायीलाई जनही एक लाख ७४ हजार रुपैयाँ सहयोग गरिएको छ ।