भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै
काठमाडौं । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ ।
भूकम्पमा परी ज्यान गएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गएकाप्रति दुःख व्यक्त गरेका छन् । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिनसमेत उनले निर्देशन दिएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।
समस्याग्रस्त घोषित सहकारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । समितिले पटकपटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने सूचना सार्वजनिक गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए । पन्ध्र दिनभित्र तिर्नुपर्ने साँवा ब्याज नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने भएको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, स्ट्याण्डड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् । यसैगरी प्यासिफक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास वचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल वचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको व्यवस्थापन कार्यालयले नै गर्दै आएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमख पौडेलले दिए । समस्याग्रस्त सहकारीका धेरैजसो वचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । बाँकीलाई पनि छिटो वचत फिर्ता गर्न कानुनबमोजिम कारबाहीको चरणमा प्रवेश गर्न बाध्य भएको उनले सुनाए । रासस
नबिल इन्भेष्टमेन्टले ल्यायो फ्लेक्सी क्याप फण्ड, लगानी गर्नेलाई १८९.६९ प्रतिशत प्रतिफल
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आज कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो । क्यापिटलको उक्त फण्डमा छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग रहेको छ । योजना व्यवस्थापकको परिचय म्युचुअल फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड हो । कम्पनी रजिष्ट्रारमा वि.स. २०६६ माघ २४ मा दर्ता भएको थियो । कम्पनीले मिति २०६७ बैशाख १३ मा मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीले स्थापना वर्षमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गरेको थियो । हाल कम्पनीले यसका अलवा सेवालाई विविधीकरण गर्दै सेयर प्रत्याभूती सेवा, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापन सेवा तथा वित्तीय परामर्श सेवासमेत प्रदान गर्दै आइरहेको छ । साथै यस कम्पनीले वि.स. २०६९ भदौ २७ मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति प्राप्त गरेको थियो । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गतको पहिलो योजना नबिल ब्यालेन्सड् फण्ड १ को योजना सफलतापूर्वक योजना व्यवस्थापकको रूपमा काम समापन गसिकेको छ । यस्तै, दोस्रो योजना नबिल इक्वीटी फण्डको विगत ५ बर्षदेखि र तेस्रो योजना नबिल ब्यालेन्सड् फण्ड २ को विगत ३ बर्षदेखि योजना व्यवस्थापकको रूपमा समेत कार्य गरिरहेको छ । हालै चौथौ योजना नबिल ब्यालेन्सड् फण्ड–३ को सार्वजनिक निष्काशन कार्य समापन गरी योजना व्यवस्थापकको कार्य गरिरहेको छ । कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ भने अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नबिल बैंकको ५२ प्रतिशत र सिजि फिन्कोको ४८ प्रतिशत सेयर स्वामित्व रहेको छ । क्यापिटलको आगामी योजना कम्पनीले व्यवसाय तथा कार्यक्षेत्र विस्तार, आयमिक सोचका साथ अन्तराष्ट्रिय स्तरको सेवा प्रवाह योजनाका साथ यस प्रकारको व्यवसायमा व्यवसायिक तथा प्रतिस्पर्धि संस्थाको रूपमा अघि बढ्ने रणनीति लिएको छ । यस्तै, व्यवसाय/ सेवा बृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयवद्ध रणनीति र प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा योजना व्यस्थापकको व्यवसायको भविष्य रहेको छ । कहाँ लगानी गर्छ ? फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरणमा, बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ । इकाईधनीहरुले १८९.६९ प्रतिशत प्रतिफल पाउने क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्नेछ । सोही क्षेत्रमा लगानी पश्चात् हुने आम्दानीलाई इकाईधनीहरुलाई सबै खर्च कटाएर प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल १८९.६९ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ । फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष १७.९८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १८.७६ प्रतिशत, तेस्रो वर्ष १८.९८ प्रतिशत, चौंथों वर्ष १९.१६ प्रतिशत र पाँचौ वर्ष १९.३५ प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ । यस्तै, कम्पनीले छैठौं वर्ष १९.३६ प्रतिशत, सातौं वर्ष १९.०८ प्रतिशत, आठौं वर्ष १९.१० प्रतिशत, नवौं वर्ष १८.९६ प्रतिशत र दशौं वर्ष १८.९६ प्रतिशत प्रतिफल दिने कम्पनीको प्रक्षेपण रहेको छ । संचालन पूर्व खर्च विवरण कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । कम्पनीले फण्ड निष्काशन पूर्व हुने खर्च विवरण र निष्काशनपश्चात् हुने खर्चको विवरण पनि इकाईधनीहरुका लागि सार्वजनिक गरेको छ । कम्पनीको योजना दर्ता शुल्क ७ लाख ५० हजार रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्ध शुल्क योजनाको ०.२५ प्रतिशत, लेखापरीक्षण शुल्क वार्षिक १ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । यस्तै, नियमित सूचना प्रकाशन शुल्क पहिलो वर्ष २१ लाख ८७ हजार ८ सय रुपैयाँ र त्यसपछि वर्षमा बार्षिक ८ लाख २० हजार रुपैयाँ हुनेछ । हरेक वर्षमा पछिल्लो कायम शुल्कमा ५ प्रतिशतले बृद्धि गरिने कम्पनीले जनाएको छ । तर, वास्तविकतामा सो खर्च फरक पर्न सक्नेछ । यस्तै, कानुनी परामर्श शुल्क वार्षिक ५० हजार रुपैयाँ, सफ्टवेयर शुल्क पहिलो वर्ष २ लाख रुपैयाँ र त्यसपछि वार्षिक ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । कम्पनीको अन्य शुल्क अनुमानित ५० हजार रुपैयाँ छ । कम्पनीको फण्ड निष्काशन गर्नु पूर्व भने ३९ लाख १९ हजार रुपैयाँ जम्मा खर्च हुने भएको छ । यसअघि निष्काशन गरेका फण्डको प्रतिफल कपनीले यसअघि नबिल ब्यालेन्सड् फण्ड १, नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड–३ म्युचुअल फण्ड निष्काशन गरिसकेको छ । नबिल व्यालेन्सड् फण्ड १ नबिल म्यूचुअल फण्ड अन्तर्गतको पहिलो योजना हो । उक्त फण्ड वि.स. २०७४ चैत्र २९ मा परिपक्व भएको थियो । उक्त योजनाको अवधि ५ बर्षको थियो । ईकाईधनीहरुलाई परिपक्व भएपश्चात् १७.४६३९७ रुपैयाँका दरले रकम भुक्तानी गरिएको थियो । उक्त फण्डका इकाईधनीहरुले पाँच वर्षको अवधिमा १ सय प्रतिशत प्रतिफल प्राप्त गरेका थिए । नबिल इक्वीटी फण्ड नबिल म्यूचुअल फण्ड अन्तर्गतको दोस्रो योजना हो । नबिल इक्वीटी फण्ड करिब ४ वर्ष अघिदेखि सञ्चालनमा आएको थियो । उक्त योजनाको अवधि ७ बर्षको रहेको छ । उक्त फण्डले इकाईधनीहरुलाई हालसम्म ४६ प्रतिशत प्रतिफल वितरण गरिसकेको छ । नबिल व्यालेन्सड् फण्ड २ नबिल म्यूचुअल फण्ड अन्तर्गतको तेस्रो योजना हो । नबिल व्यालेन्सड् फण्ड २ २०७५÷७६ देखि सञ्चालनमा आएको हो । उक्त योजनाको अवधि १० बर्षको हो । उक्त फण्डका इकाईधनीहरुलाई हालसम्म ४३ प्रतिशत प्रतिफल वितरण गरेको छ । क्यापिटलको संचालक र व्यवस्थापक टिम क्यापटलको संचालक समितिमा ४ जना संस्थापक र २ जना स्वतन्त्र संचालक गरी ६ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट वरुण चौधर छन् । उनी सिजि फिन्कोको तर्फबट अध्यक्ष बनेका हुन् । यस्तै, नबिल बैंकको तर्फबाट आदर्श बजगाई उपाध्यक्ष र गणेश प्रसाद अवस्थी सञ्चालक रहेका छन् । यस्तै, सञ्चालकहरुमा सञ्जय पोखरेल, भरत अधिकारी र शंकर प्रसाद पाण्डे छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष नारायण जोशी कार्यरत छन् । ४० वर्षिय जोशीसँग एमबिएसम्मको शैक्षिक योग्यता छ । उनले ४ वर्षसम्म सानिमा क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गमा प्रमुख कपरेट फाइनान्स तथा रिसर्चको रुपमा लगानी व्यवस्थापन तथा रिर्सच क्षेत्रको करिब ५ वर्ष भन्दा बढीको कार्यानुभव समेत रहेको छ । यस्तै, इन्फिनिटी मल्टिप्रपोजमा परामर्शदाताको रुपमा २ वर्षको कार्यानुभव, सनराईज बैंकमा कर्जा अधिकृतको रुपमा २ वर्षको बैकिंङ्ग अनुभव र अमेरिकामा वित्त विश्लेषकको रुपमा २ वर्षको काम गरेको अनुभव उनीसँग छ । यस्तै, कम्पनीको मर्चेन्ट बैंकिङ्ग प्रमुखमा मनोहर कडेल र लगानी व्यवस्थापन प्रमुख विकास चन्द्र भण्डारी कार्यरत छन् । कम्पनीले २०७८ श्रावण १ देखि आषाढ मसान्त, २०७९ को एक आर्थिक वर्षमा सीईओ जोशीलाई १ करोड ४९ लाख ९३ हजार रुपैयाँ,े मर्चेन्ट बैंकिङ्ग प्रमुखमा मनोहर कडेललाई ३१ लख १४ हजार रुपैयाँ र लगानी व्यवस्थापन प्रमुख विकास चन्द्र भण्डारीलाई २४ लाख १० हजार रुपैयाँ तलब तथा भत्ता प्रदान गरेको छ । योजना व्यवस्थापकको रेटिङ्ग योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्रा एनपी एएमसी क्वालिटी ३ प्लस प्रदान गेको छ । जसले सम्पत्ति वा कोषको उचित यवस्थापनको प्रयाप्त आधार रहेको जनाउँछ । कोष सुपरिवेक्षक म्युचुअल फण्डको कोष सुपरिवेक्षकमा सि.ए.मदन कृष्ण शर्मा, प्राध्यापक डा.फत्त बहादुर के.सी., प्राध्यापक डा.देवी प्रसाद शर्मा बिडारी, देब बहादुर बोहोरा र नवीन कुमार वर्मा रहेका छन् । बजारबाट उच्च प्रतिफल आर्जन गर्ने नबिल फ्लेक्सी क्याप फण्ड एक खुलामुखी फण्ड हो । सूचीकृत कम्पनीहरुमध्ये उत्कृष्ट प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्नेछ । फण्डले बजारको वर्तमान अवस्था अध्ययन गरी तथा भविष्यमा हुनसक्ने परिस्थितिलाई मध्यनजर गरी उच्च प्रतिफल आर्जन गर्नेमा क्यापिटलले काम गर्नेछ ।
पाँच वर्ष पुरानो लाभांश लिन नेरुडे लघुवित्तको आग्रह, ३५ दिन भित्र नलिए कोषमा जाने
काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । लघुवित्तका विभिन्न साधारणसभाबाट पारित भएको लाभांश लिन आग्रह गरेको हो । लघुवित्तको आर्थिक बर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७२/७३ सम्म (पाँच वर्षभन्दा) पुरानो नगद लाभांश कतिपय सेयरधनीहरुले बुक्रिलिन बाँकी रहेकाले लिन आग्रह गरेको हो । लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिन भित्र उक्त लाभांश लिन आग्रह गरेको हो । सूचना प्रकाशित मितिले ३५ दिनसम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न प्रक्रिया अगाडि बढाइने जनाएको छ । सेयरधनीहरुले लघुवित्तको सेयर राजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङको कार्यालय काठमाण्डौमा सम्पर्क गरी लिन आग्रह गरेको हो ।
को बन्ला अबको राष्ट्रपति ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् । सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् । गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको अवस्थामा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ । यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ । आजको राजधानी दैनिकमा समाचार छ ।
बैंकले फिर्ता गर्न थाले ब्याज
काठमाडौं । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैंकहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैंकले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको १ अर्ब ८५ करोड रुपैयाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैंकलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैंकलाई १ अर्ब ८५ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिईसकिएको छ । उनका अनुसार सम्बन्धित बैंकले रकम फिर्ताको प्रक्रिया सुरु गरिसकेका छन् । प्रिमियमबापतको ब्याज फिर्ता गर्नुपर्ने बैंकहरूको नाम भने राष्ट्र बैङ्कले सार्वजनिक गरेको छैन । प्रवक्ता भट्टका अनुसार सबै २६ वाणिज्य बैङ्कको वित्तीय विवरण आइपुग्दा यस्तो रकम ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै हुने अनुमान छ । कतिपय बैंकले आधार दरमा ०.२५ प्रतिशत मात्रै प्रिमियम थप गरेर ऋण दिने गरेका थिए । तर गत आर्थिक वर्षमा तरलता अभाव हुँदै जाँदा बैंकहरूले ब्याजको आधार दरका अतिरिक्त प्रिमियम पनि बढाउँदै लगेका थिए । ऋणीसँगको सम्झौतामा उल्लेखित प्रिमियम दर घटाउन पाइए पनि बढाउन पाइँदैन । यो घटनाक्रमले निजी क्षेत्रले बैंकमाथि लगाउँदै आएको प्रिमियममा चलखेलको आरोप पनि पुष्टि भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्स जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले प्रिमियममा बदमासी बढेको आरोप लगाउँदै आएका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते
काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छने । पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । लु १ ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ । दुर्घटनामा परी प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैमा घर्ती, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै मृत्यु भएको हो । घाइते भएका ६ जनाको जिल्ला अस्पताल उपचार भईरहेको र बाँकी ६ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ ।