विकासन्युज

३९ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा वित्तिय संस्था

काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल फण्डहरु रहेका छन् भने अत्याधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकसहित सबै ४ वटा वित्तिय संस्थाहरु रहेका छन् ।

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

फाइल फोटो डोटी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए । उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनले भने, ‘लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन् ।’ भूकम्पछि पराकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए । यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । जिल्लाका सबै प्रहरी युनिटहरुलाई बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, ‘प्रहरी युनिटहरुलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन । स्थानीय जनप्रतिनिधिहरुलाई बुझ्दैछौँ ।’

डोटीका भूकम्प पीडितलाई साढे १ लाख दिने पूर्वमन्त्री आलेको घोषणा

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् । बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरुका परिवारलाई जनही २५ हजारका दरले एक लाख ५० हजार राहतको दिने बताएका हुन् । आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिएका थिए । त्यसैगरी उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरेकाे छ । गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका छजनाको ज्यान गएको छ भने अरू सातजना गम्भीर घाइते भएका छन् । डोटी निवासी पूर्वमन्त्री आले आसन्न मङ्सिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् ।

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

गलकोट । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् । बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । उक्त पुल ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुङ्गेपुलको काम अहिले लगभग सकिनै लागेको छ, पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ’, लामा झोलुङ्गेपुलका निर्माण व्यवसायी नरहरि खड्काले भने, ‘बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल चार वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल दुई वर्षअघि सम्पन्न भइसकेको छ ।’ खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको बताए । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल तीन करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको छ । एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पुर्याउनेछ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए । ‘यही वडासँग जोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वतको जलजला गाउँपालिका जोड्ने पाँच सय २४ मिटर लामो कालीगण्डकी माथि पुल निर्माण सुरु भएको छ’, वडाध्यक्ष क्षत्रीले भने, ‘एकै वडाबाट म्याग्दी र पर्वत जोड्ने गरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फस्टाउनेछ ।’ पुल निर्माणका लागि २०७९ साल जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पुल निर्माणका लागि बागलुङतर्फको झन्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताउनुभयो । उक्त पुल झन्डै  सात करोड लागतमा निर्माण सुरु गरिएको छ । करोडौँ लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताए । चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल २१ करोड रुपैयाँ खर्चमा निर्माण हुनेछन् । रासस

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् डब्लुपिएल’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छिन् । यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी मङ्गलबार आइसल्यान्ड पुगेकी डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त फोरम डब्लुपिएल, आइसल्यान्ड सरकार र आइसल्यान्ड संसद्द्वारा आयोजना गरिएको हो । राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गर्नुभएको सो विज्ञप्तिमा उल्लेख छ । यसअघि राष्ट्रपतिलाई दोहा विमानस्थलमा कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकाल तथा अन्य अधिकारीहरुका साथै कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरुले स्वागत गरेका थिए । त्यस्तै जर्मनीको फ्राङ्कफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले आज अपराह्न रेक्जाभिक ग्लोबल फोरममा सम्बोधन गर्नुहुने र डब्ल्युपिएल ट्रेलब्लेजर अवार्ड–२०२२ ग्रहण गर्नुहुने कार्यक्रम रहेको सो विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

इलेक्ट्रिक स्कुटर सेगवेको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ११०एल सार्वजनिक गरेको छ । सेगवे इ–स्कुटर इ११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ । विभिन्न उत्कृष्ट फिचरहरु समावेश भएकाे याे स्कुटर २४०० वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमताको साथ ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ । सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गर्दै आएको छ । आई हव नेपालमा सेगवे–नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।  

राजविराजमा निर्वाचन आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो

काठमाडौं । राजनीतिक दलहरुले आचारसंहिता विपरीत सप्तरी क्षेत्र नं २ स्थित राजविराज नगरपालिका क्षेत्रमा राखेका झन्डा, तुल, ब्यानर, झन्डाका तोरण र पोष्टर हटाउन थालेको छ । सहरको स्वरुप नै बिग्रने गरी आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि निर्वाचन अनुगमन टोलीले ती सामग्री हटाउन थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरुबीच प्रचार सामग्री झुन्ड्याउन होडबाजी भएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए । राजनीतिक दललाई आचारसंहिता विपरीतका झन्डा, ब्यानर हटाउन पटक पटक निर्देशन दिँदै सर्वदलीय बैठकमा लिखित प्रतिबद्धता गरेर नहटाएपछि अनुगमन टोलीले हटाउन थालेको सप्तरी जिल्ला अनुगमन टोली प्रमुख शरणहरि लुइँटेलले बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, अनुमगमन अधिकृत शरणहरि लुइँटेल, जिल्ला निर्वाचन अधिकारी रमेश जोशीलगायत प्रहरीले प्रचार सामग्री हटाउन थालेको हो । निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ । रासस

सालकको खपेटासहित गोङ्गबुबाट दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।