विकासन्युज

ग्यापुले सुरु गर्‍यो हजारमा बजार

काठमाडौं । नेपाली इ कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ । हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिइन् । यो योजना कार्तिक २५ गतेदेखि सुरु भइ लामो समय सम्म चल्ने बताइएको छ । लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपाल भरि नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ । ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।

बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको गए राति मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ ।

चुनाव नयाँ, एजेण्डा पुरानै

काठमाडौं । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् । सोही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न जनताको घरदैलोमा पुगेको छ । निर्वाचन चिह्न शङ्ख रहेको उक्त पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय १० उम्मेदवार उठाएको अध्यक्ष बालकृष्ण न्यौपानेले बताए । पञ्चायत समयदेखि हालसम्म सार्वजनिक उच्च ओहदामा रहेका व्यक्तिको सम्पति छानबिन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था, सांसद मन्त्रिमण्डलमा सामेल हुन नपाउने प्रावधानसहित भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली नागरिक आयोग गठनका मुद्दा उठाउँदै आएको छ । केही राजनीतिक दलले भने देशको सङ्कटापन्न स्थिति, बाह्य हस्तक्षेप, सामाजिक न्याय तथा आत्मनिरर्भता, महिला एवं बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यासमेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । ‘ढकिया’ चुनाव चिह्न तथा अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्व गरेका नागरिक उन्मुक्ति पार्टीले यस निर्वाचनमा मुलुकको विकास, पहिचान, सुशासन समृद्धिका साथै समावेशी पहिचानको मुद्दालाई प्रखररुपमा उठाएको छ । प्रतिनिसभामा ८५ र प्रदेशसभा सदस्यमा एक सय ३७ उम्मेदवार खडा गरेको उक्त पार्टीले प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्दैआएको छ । किराँत खुम्बुवान साझा पार्टीले यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक र प्रदेशसभा सदस्यमा दुई स्थानमा तथा समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ । ‘ढाका टोपी’ चुनाव चिह्न रहेको उक्त पार्टीले प्रदेश नं १ लाई किराँत प्रदेश नामाकरण, धरानमा खानेपानीको सहज आपूर्ति, भ्रष्टाचार न्यूनीकरण तथा शिक्षा र स्वास्थ्यका जल्दाबल्दा मुद्दालाई पनि त्यतिकै प्राथमिकता दिने जनाएको छ । पार्टीले मुलुकमा राजनीतिक स्थिरताका लागि जनताबाट निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन उपयुक्त हुने मत राख्दैआएको छ । तामाङ शालिङ लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशमा २० उम्मेदवार खडा गरेको छ । ‘वज्र’ चुनाव चिह्न रहेको उक्त पार्टीका अध्यक्ष सीमाङ तामाङले खर्चिलो र भड्किलो चुनाव प्रणाली रोक्न तथा जातीय जनसङ्ख्याका आधारमा उम्मेदवार छनोट हुने पूर्ण समानुपातिक निर्वाचनका पक्षमा वकालत गर्दैआएको छ । ‘घोडा’ चुनाव चिह्न तथा अध्यक्ष घनेन्द्र बस्नेत रहेको मितेरी पार्टी नेपालले यस निर्वाचनमा भौगोलिकरुपमा मुलुकलाई पाँच विकास क्षेत्र कायम गरी अलङ्कारी राजसंस्था रहनुपर्छ भनी त्यसको पक्षमा मत मागेको छ । कर्मा लामा अध्यक्ष रहनुभएको नेपाल विवेकशील पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ दुई उम्मेदवार मात्र उठाएको छ । ‘कुकुरको मुखाकृति’ चुनाव चिह्न रहेको उक्त पार्टीले वर्तमानमा अभ्यास गरिरहेको शासकीयस्वरुप र निर्वाचन प्रणालीमा व्यापक सुधार गरी अघि बढ्न सकिने प्रतिक्रिया दिएको छ । ‘कुखुराको भाले’ चुनाव चिह्न बुद्धलाल मेचे अध्यक्ष रहेको मङ्गोल नेशनल अर्जनाइजेशनले मुलुकका सङ्घ र प्रदेश गरी यस निर्वाचनमा ५० जिल्लामा दुई सय ३८ उम्मेदवार उठाएको छ । लोकतन्त्र, धर्मनिरपेक्ष, सङ्घीयता र मङ्गोलीयन मूलवासीको अधिकार तथा अस्तित्वका मुद्दालाई उक्त पार्टीले प्रमुख मुद्दा बनाएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले मुलुकाका छ प्रदेशका ८६ निर्वाचन क्षेत्रमा यस पटक पार्टीका उम्मेदवार रहेको बताउनुभयो । पहिचानसहितको सङ्घीयता, हाल कायम रहेको न्यूनतम मत सीमा ‘थ्रेस होल्ड’ हटाउने तथा प्रदेशलाई अधिकार सम्पन्न गराउने विषय उठाउँदै आएको मञ्चको चुनाव चिह्न ‘दापसहितको खुकुरी’ रहेको छ । बहुजन एकता पार्टी नेपालले समानता, स्वतन्त्रता, आत्मसम्मान र समृद्धिका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ । चुनाव चिह्न ‘सात खुड्किलाको भ¥याङ’ रहेको उक्त पार्टीले प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ४९ स्थानमा उम्मेदवार खडा गरेको छ । राष्ट्रपति होस् वा प्रधानमन्त्री दुवै कार्यकारी प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्छ भन्ने मान्यता बोकेको उक्त पार्टीले जातीय आरक्षणसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएको छ । मतदाताले पनि राजनीतिक दल र उम्मेदवारसँग शान्ति सुव्यवस्था, सुशासन, मलखाद, सिँचाइ र सडकजस्ता पुरानै माग दोहोर्याइरहेको पाइएको छ ।

बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो

बाजुरा । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए ।

राष्ट्र बैंकले २ खर्ब ५६ अर्बको आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने जनाएको हो । राष्ट्र बैंकले दोश्रो त्रैमासमा ३० अर्ब, तेश्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब गरी कूल २ खर्ब ५६ अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हो । राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट उक्त रकम बराबरको आन्तरिक ऋण निष्कासन गर्नेछ । कुल रकममध्ये ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । राष्ट्र बैंकले तेस्रो र चौथो त्रैमासमा बाँकी ऋण उठाउने छ । तेस्रो त्रैमासमा ६० अर्बको ट्रेजरी बिल, २५ अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र गरि कुल ८८ अर्बको अन्तरिक ऋण उठाईने छ । त्यस्तै चौथो त्रैमासमा राष्ट्र बैंकले १ खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउने जनाएको छ । चौथो त्रैमासमा ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र गरि कूल १ खर्ब ३८ अर्बको अन्तरिक ऋण उठाईने छ ।

यूनाइटेड इन्स्योरेन्सको लाभांश नलिए ३० दिनपछि लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश नलिएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बुझिलिन बाँकी रहेको नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । यदि सो अवधिमा लाभांश लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

युनिक नेपाल लघुवित्त नोक्सानीमा, ईपीएस २.१९ रुपैयाँ ऋणात्मक

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६.६९ प्रतिशत घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २ करोड २७ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा छ । नोक्सानीमा भएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ०९ पैसा छ । खराब कर्जा ५.७० प्रतिशत छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १४.२७ प्रतिशत बढेर ११ करोड ६ लाख ३२ हजार रुपैयाँ, जगेडा कोष १९.९३ प्रतिशत बढेर २६ करोड ५ लाख ९५ हजार रुपैयाँ, सापटि ५०.५५ प्रतिशत बढेर ८७ करोड १ लाख ११ हजार रुपैयाँ, निक्षेप १२.४३ प्रतिशत बढेर २ अर्ब ४२ करोड ८१ लाख २७ हजार रुपैयाँ र कर्जा १८.५७ प्रतिशत बढेर ३ अर्ब ९९ करोड २८ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

समृद्धि फाइनान्सलाई सेयर बिक्री गर्न सकस, तेस्रो पटक साढे ७ लाख कित्ता बिक्री गर्दै

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर १ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सको संस्थापक समूहको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो । फाइनान्सले पहिलोपटक २०७८ चैत्र २९ देखि बैशाख ७ सम्म र दोस्रो पटक गत असार १ देखि असार ९ सम्म लिलाम बढाबढ गरी बिक्री गर्दा पूर्ण आवेदन नपरेकाले पुनः तेस्रो पटक मंसिर १ गतेदखि मंसिर १५ गतेसम्म बिक्री गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँलाई आधार मानि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।